कथा : मदेस ! तिम्रो नाममा

~रत्नमणि नेपाल~Ratnamani nepal

काठमाडौं खाल्डाको एउटा कुनामा बसेको छु । वरिपरिका छिचरापहाडहरूले हिउँदको चिसो छेक्न सकेका छैनन् । कोठाको दाहिने कुनाको झ्यालबाट बेलाबेला बाहिर हेर्छु । काठमाडौंको छातीमा कोरिएका नागबेली बाटाहरू पनि सुनसान सुनसान छन् । चिसा आँखा ठोकिन्छन् केवल चिसा दलिन, चोटा, चोक, कार्यालय र सडकहरूमा । कठ्याङ्ग्रिएको छ काठमाडौं ।

मेरा हात चिसा भएका छन् । खुट्टा फुट्न थालेका छन् । गाला निचोरिएका जस्ताफुस्रा भएका छन् । नाक रातो भएको छ । रातो नाकेडाँडीबाट चुहुँदो छ चिसो तपतप । शरीर तातो खोजिरहेछ । मन तातो खोजिरहेछ । मन तताउन मन छ । तन तताउन मन छ । आगोमा सेकाउन मन छ । तर केले तताउनु ? दाउरा पाउनु कहाँ ? पाइए पनि चिर्ने केले ? बाल्ने कहाँ ? मट्टीतेल छैन । ग्यास छैन । हिउँदको घामजस्तै भएको छ बिजुली पनि । कठै छ हजार नदीनाला भएको मेरो देश †

यसो टाउको उचालेर हेर्छु । आँखा त यहीँ हुन्छन् । तर मन पुग्छ मधेसतिर । बयलीखेल्छ चन्द्रगढीतिर । केहीबेर बस्छ त्यहाँ । अनि हानिन्छ जनकपुरधामतिर । अड्दैन त्यहाँ पनि । लहान पुग्छ । वीरगन्ज पुग्छ । टीकापुर पुग्छ । भारदहको बूढाको गुलियो पेडा । ढल्केवरको बाक्लो जंगल । कुनै चित्रकारको सभ्य कल्पनाजस्तो महोत्तरीको भङ्गाहा । मितेरी पुल । रानी भन्सार । हिउँद त त्यही हो मधेसमा पनि जो यहाँ पहाडमा छ । तर त्यहाँ जताततै आगो दन्किरहेछ । तातेको छ मधेस त्यही आगोमा । अनि मेरो पनि मन तातिन्छ त्यही आगोको रापले । र त न्यानो महसुस गरिरहेछु । र त जोगिएको छु । सारोगारो पर्दा छिमेकीले सघाउने हाम्रो परम्परा नै हो । साधुवाद मधेस † जब बर्खा लाग्ला । जब लु लाग्ने गरी तातो हावा चल्ला । म रूखका पातहरू हल्लाउँला । पहाडको छाती र यसको चेप चेपबाट बग्ने नदीको चिसो पानी लिएर तिम्रो आँगनमा आउँला । अंकमाल गरौंला ।

———-

मलाई थाहा छ मधेस†तिमी आन्दोलनमा छौ । अधिकार र पहिचानको आन्दोलनमा छौ । तिमीले नेपाल राज्यमा आफ्नो समावेशिता खोजेका छौ । मलाई लाग्छ, राज्यमा भन्दा पहिले तिमी नेपाली समाजमा समावेशिता चाहन्छौ । मलाई यो पनि थाहा छ कि तिमी मविरुद्ध छैनौ । तिमी शासकविरुद्ध छौ । एकलकाटे, एकअर्थी, एकमुखे शासनका विरुद्धमा छौ । तिमी आफूलाई नेपाली हुँ भनेर दाबी गरिरहेछौ । कस्तो विडम्बना ? आफ्नै देशका नागरिकले नागरिकताको दाबी गर्नुपर्ने ? किन राज्य यति कठोर हुन्छ ? किन राज्य बेइमान हुन्छ ?

बेलाबेला म यो कुनाबाट बाहिर निस्कन्छु । सहरतिर टहलिन्छु । चियापसल, चोक, अड्डा छेउछाउ पुग्छु । जताततै तिम्रो आन्दोलनको चर्चा छ । त्यहाँ म सुन्छु तिम्रो आन्दोलनबारे । कतिपय मानिसहरू भन्छन् नेपालको आन्दोलन होइन । मधेसको आन्दोलन हो । कति भन्छन् नेपालीको आन्दोलन होइन, मधेसीहरूको आन्दोलन हो । उनीहरू भन्छन् भारतले उचालेका मान्छे हुन् ती । अझ कतिपय भन्छन् भारतीयहरूको आन्दोलन हो त्यो । मधेसी भनेका भारतीय हुन् । उनीहरू देश टुक्राउन चाहन्छन् । उनीहरूको राष्ट्रियता छैन । मैले यस्तै सुन्नुपरेको छ ।

तर म तिमीलाई त्यस्तो देखिरहेको छैन । आन्दोलनमा हुँदा र नहुँदा तिमी बेग्लै देखिएका छौ मेरा लागि । आन्दोलनमा नहुँदा तिमी मधेसी नै देखिएका थियौ । तर जब आन्दोलनमा आयौ म तिमीलाई झन्झन् नेपाली देखिरहेको छु । हामी भारतीय होइनौं नेपाली हौं भन्न तिमीले आन्दोलन गरेको म देखिरहेछु । मान्छेहरू तिमीलाई भारतीय देख्छन् म नेपाली देखिरहेछु । तिम्रो आन्दोलनको नारा ‘मधेसी मधेसी’ होइन ‘मदेसी’ ‘मदेसी’ सुनिरहेछु । मान्छेहरू त्यो समथर ठाउँलाई ‘मधेस’ देख्छन् । म ‘मदेस’ देखिरहेछु ।

———-

तिमी सम्झन्छौ हामीले जानकी मन्दिर छेउको पसलमा बसेर सत्तु पिएको ? मैले पूरा तीन गिलास पिएको थिएँ । त्यसो त हामीले भङ्गाहाको सतार भाइ सत्तुलालले टिपेका आँप पनि त सँगसँगै खाएका थियौं † यो छयसठ्ठी सालको कुरा हो । म त्यतिबेला मधेसबारे कथा लेख्न भनेर आएको थिएँ । खासमा म उन्नाईस दिने मधेस आन्दोलनको कथा लेख्न चाहन्थें । त्यसैको खुराक खोज्दै म त्यहाँ पुगेको थिएँ । दैनिकीले भरिएको मधेस डायरीका पानाहरू पल्टाउँदै मैले त्यो मधेस आन्दोलनको कथा सुनेको थिएँ ।
तिमी त्यो आन्दोलन ‘मदेस’को बनाउन चाहन्थ्यौ । त्यसकारण तिमी आन्दोलनमा ‘प’डिया विरुद्ध भन्ने नारा नलागोस् भन्ने चाहन्थ्यौ । सीतारामप्रसाद र दाहाल सरहरूलाई जनकपुरमै राख्न चाहन्थ्यौ । रामजीप्रसाद र गुप्ताहरूलाई सीतामणि नजान तिमीले अनुरोध गर्‍यौ । तर तिनीहरूलाई राज्यले सुरक्षा दिएन । ज्यानभन्दा ठूलो के हुनसक्थ्यो र ? करोडौंको घरजग्गा सस्तैमा बेचेर हिंडे उनीहरू ।

तिमी आन्दोलन मधेसको अधिकार प्राप्तिको आन्दोलन बनाउन चाहन्थ्यौ । तर कसले नारा लगाउँथ्यो, भाषण गथ्र्यो, कसले पर्चा बाँड्थ्यो र भारतलाई जोडिदिन्थ्यो । अनि आन्दोलन बद्नाम गरिदिन्थ्यो । र त आन्दोलन लछुवाहरूको नेतृत्वमा गएको थियो । समाजमा हरिकुमारहरूको भूमिगत आतंक थियो । आन्दोलनमा नचिनिने केटाहरूको प्रवेश भएकोमा तिमीलाई शंका लागेको थियो । प्रहरीको काममा पनि तिमी सन्तुष्ट थिएनौ । जग्गा दलाल, युवाहरूको मन भाँडेर विदेश पठाउने अनेक बहानामा युवाहरूलाई अलपत्र पार्ने गिरोह । अनि व्यापारीसम्मका कर्तुतहरू तिमीले डायरीमा नोट गरेका थियौ ।

मलाई मधेस आन्दोलन बुझ्नु थियो । मलाई त एउटा कथा लेख्नु थियो । त्यसैले म तिमीसँग प्रश्न गरिरहन्थें । सायद म काठमाडौं हिंड्ने अन्तिम साँझ हुनुपर्छ । सुनसान पिडारी चोकको कुनामा चिया पिउँदै गर्दा तिमीलाई सोधेको थिएँ– के मधेसको आन्दोलन सकिएको हो ?

तिमीले विद्यापतिको उजाड सालिक देखाउँदै भनेका थियौ । ‘मधेस’को आन्दोलन मात्र सकिएको छ । अब ‘मदेस’को आन्दोलन हुनेछ । म प्रतीक्षामा छु । त्यसो भन्दै गर्दा बेलाबेला मात्र झिमझिम गर्ने तिम्रा आँखा राता देखेको थिएँ । त्यसो त जिरो माइल जाने सडकमा पनि आकाशको पश्चिम कुनाबाट रातै रङ झरेको थियो । त्यो देख्दा मेरो जीउमा काँडा उम्रिएका थिए । मुटु चिसो भएको थियो । तिम्रो अनुहारको कठोरता पढेर म नि:शब्द पनि भएको थिएँ । मेरो अप्ठ्यारो अनुहार देखेर होला सायद तिमीले आफ्नो भनाइलाई सरल बनाउँदै भनेका थियौ ‘वास्तविक मधेस आन्दोलनको प्रतीक्षामा छ ।’

तिमीले त्यो मधेस भन्ने कथा पढेका छौ ? त्यसको अन्त्य तिम्रो यही वाक्यबाट गरेको छु मैले ।

अहिले तिमीले मधेसमा आन्दोलन गरिरहँदा मैले तिम्रा तिनै कुरा सम्झिरहेको छु । र, तिमीबाट त्यही अपेक्षा गरिरहेछु । आज मेरो प्रश्न छैन तिमीलाई । केवल केही सुझाव छन् । तिमी यो आन्दोलनलाई पवित्र बनाऊ । कुनै समुदायको मात्र नबनाऊ । ‘मदेस’ भन्ने सबै त्यसमा अट्न सकुन । हेटौंडा र बर्दीवास आएकाहरूलाई पनि आन्दोलनमा ल्याऊ । सीतामणि पुगेकाहरूलाई फिर्ता बोलाऊ । फेरि लछुवाहरूको हातमा आन्दोलन नजाओस् । हरिकुमारहरूको भूमिगत आतंकलाई वेलैमा चिन्न सक । तिमी राज्यसँग लड्दैछौ तर यहाँ राष्ट्रहरूले दु:ख पाइरहेकाछन् । बहानामा राज्यले थप आराम पाएको छ । तिमीले अरूको अधिकारको सम्मान गरेमात्र अरूले पनि तिम्रो अधिकारको सम्मान गर्ने हुन् ।

अहिंसामा विश्वास गर । भलै यस्तो आन्दोलनले लामो समय लेला । तर तिम्रो पछि सबै हुनेछन् । म हुनेछु । तिमीले अवश्य जित्नेछौ । ‘मदेस’ भन्नेहरूको भोक, रोग, अशिक्षा, अन्धविश्वास हट्ने कुनै पनि आन्दोलन गर्न तिमी स्वतन्त्र छौ । त्यसो गर्दा कसैले तिमीलाई भारतीय भन्छ भने भन्न देऊ । कसैले पहाडीविरोधी भन्छ भने भन्न देऊ । कसैले देश टुक्राउन खोज्यो भन्छ भने पनि भन्न देऊ । तिमी पवित्र छौ भने, तिमी सत्याग्रही हौ भने । तिमी ‘मदेसी’ हौ भने । कसैको तिखो जिब्रोले तिम्रो केही बिगार्दैन । तिमीले गोलीको जवाफ पनि सजिलै दिनेछौ । र तिमी विजयी हुनेछौ । तिम्रो विजयमा नेपालको विजय हुनेछ । नेपालको विजयमा तिम्रो विजय हुनेछ ।

———-

र, म फेरि आउनेछु एकदिन तिम्रो पाहुना बन्न । अनि लेख्नेछु ‘मदेस’को अर्को कथा ।

काठमाडौं

प्रकाशित: मंसिर २६, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.