कथा : आमाको मन

~सरण राई~Saran Rai

समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् ।

मेरा समकालीन साथीहरू सबै मातापिता भएका छन् । एकादुई झुक्किएर अविवाहित बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ । छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ ।

विवाह गर्नै पर्ने हुँदा मेरो पनि भयो । मेरा समकालीन साथीहरूका पनि भए । अहिले हामी सबै प्रौढावस्थामा पुगिसकेका छौ‘ । आक्कलझुक्कल भेट हुँदा नचाहँदानचाहँदै पनि आफ्ना छोराछोरीको बारेमा कुरा भइहाल्छ । जसका छोराछोरी डाक्टर, इन्जिनियर, प्रोफेसर, हाकिम वा राम्रो आम्दानी गर्न सफल छन्, उनीहरू त रातदिन चिनेजानेका मान्छेहरूलाई भेट्नासाथ तिनीहरूकै बारेमा कुरा गर्न थालिहाल्छन् ।

राममान मेरो घनिष्ट साथी हो । उसको र मेरो एकै साल विवाह भएको थियो । नानीहरू पनि झण्डैझण्डै सँगसँगै जन्मिए । त्यतिबेलादेखि नै हाम्रो भेट हुँदा हामी आफ्ना नानीहरूका बारेमा कुराहरू गथ्र्यौ । ऊ त आफ्नो स्वास्नीको रूप, सीप र मायाको कुरा गर्न समेत रुचाउँथ्यो । ऊ ‘बाली अर्काको राम्रो र बाला आफ्नो राम्रो’ भनेझै‘ आफ्ना नानीहरूका बारेमा बढाईचढाई कुराहरू गरेर आनन्द विभोर हुन्थ्यौ । राममान सम्पन्न थियो । उसले जब उसका नानीहरू ५ वर्षभन्दा बढी उमेरका भए, काठमाडौंका राम्रा बोर्डिङ स्कुलमा भर्ती गरेर उतै राख्न थाल्यो । राम्रो बोर्डिङ स्कुल, राम्रो पढाइ । ऊ सुनाउने गथ्र्यो— उसका छोराछोरीको भविष्य उज्ज्वल छ । डाक्टर नै बनाउनेछ । डाक्टरहरूको राम्रो आम्दानी छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको आरम्भ भएको वर्तमान अवस्थामा पनि ‘कस्तो शिक्षा ?’ भन्ने बारे छलफल भएको थाहा पाइएको छैन । शिक्षा भनेको राम्रो आम्दानी गर्नसक्ने हुनु पर्छ भन्ने धारणा अझै व्याप्त छ ।

राममानका छोराछोरी बोर्डस भएपछि घरमा ती दुई मात्र रहन थाले । आमाबुबा भाइसँग बस्थे । आमाबुबाको जीउनी सम्पत्ति निकै थियो र भाइबुहारीले रामै्रसँग पालेका थिए । राममान बेलाबेला मसँग गुनासो गर्थे— “पत्नी यशोधरा बरालिन थालेकी छे । म घर फर्कंदा घरमा हुँदिन ।”

“पत्नीलाई तिमी समय दिदैनौ । वास्ता गर्दैनौ । तिनी के चाहन्छिन्, थाहा पाउने प्रयत्न गर ।” मैले भनेको थिएँ ।

त्यसपछि राममानले पत्नीप्रति ध्यान दिन थाल्यो । टेलिफोन आयो, पतिपत्नीबीच सम्वाद गर्न सजिलो भयो । त्यसबीचमा रेडियो, टेपरिकर्डरलाई विस्थापित गर्ने ढङ्गले टेलिभिजन देखा प¥यो । राममानको घरमा पनि एन्टेना ठडियो । रङ्गीन टेलिभिजन राख्नु सबै सर्वसाधारणको बलबुत्तामा थिएन । हामी पनि रङ्गीन टेलिभिजन हेर्न उनकै घरमा थुप्रिन्थ्यौ‘ । डेक, क्यासेट आयो । टीभी, भिडिओ महामारी जस्तै फैलियो । आजभोलि त टीभी नभएको घर घरै मान्न छाडिएको छ । आधुनिक युग ! समयले कति छिटो काँचुली फेर्दो रहेछ ।

मोबाइल फोनको घण्टी बज्छ । म मोबाइल उठाउछु “हेलो म राममान ।”

“हेलो, के छ हालखबर ?” “धेरै दिन भयो सम्पर्क नभएको । आज बेलुकि म कहाँ नै डिनर खाने गरी आऊँ । मेरो छोराछोरीहरू पनि आएका छन् । भेटघाट पनि हुने, गफगाफ पनि हुने ।”

“हुन्छ ।”

म पत्नी मायावतीलाई बेलुकि राममानकहाँ जाने कुरा भन्छु । बिहान ल्याएको पत्रिका राम्ररी हेरेकै थिएन । हेर्न थाल्छु— एउटा खबर ‘ … पेस्तोलसहित युवा पक्राउ परे । पक्राउ परेका युवाका बयानअनुसार अंश नदिने पितालाई मार्न अवैध पेस्तोल बोकेर हिडेका … ।’ छोराहरू पनि कस्ता कस्ता ! ‘साना हुँदा मर्ला कि भन्ने डर, ठूलो भएपछि मार्ला कि भन्ने डर’ साँच्चै रहेछ । छोराले बाबुआमालाई पिटेको, मारेको कैयौं घटनाहरूको सम्झना मेरो मनमा आउँछ ।

बेलुकि म राममानको घरमा पुग्छु । सोचेको हुन्छु— सबै परिवार एकै ठाउँमा भेला भएर सुखदुःखका कुराहरू गरिरहेका होलान् । राममान चाहिँ मलाई लिन गेटसम्म आए । बैठक कोठामा बसाए । उनलाई एक्लै देखेर म सोध्छु— “खै त अरूहरू ?”

“अरूहरू सबै व्यस्त छन् । यशोधरा टी.भी.मा सिरियल हेरिरहेकी छे । डाक्टर छोरा उदय यहाँको स्थानीय अस्पतालको ‘भिजिट’ गर्न गएको छ । डाक्टर छोरी नायुमा ल्यापटपमा फेसबुक हेरिरहेकी छे । ल्यापटपमा नै व्यस्त छे । म उसलाई बोलाइ हाल्छु ।”

“भयो पर्दैन । तिमी र म नै बात मारेर बसौँ ।”

“नायुमा ! यहाँ आऊँ त ।”

“हुन्छ, डैड ।”

नायुमा आउँछे । सानोमा देखेको नायुमा र अहिलेको नायुमामा आकाश जमिनको अन्तर । पूर्ण आधुनिक । छोटो कपाल, पेन्ट सर्टमा सजिएकी । “नमस्ते अङ्कल ।”

“नमस्ते । सञ्चै छौं ।”

“सञ्चै । तपाईँहरू नि ।”

“हामी पनि । अनि तिम्रो के कस्तो प्रगति छ ?”

“राम्रै छ अङ्कल । अहिले म एम.डी. गरिरहेकी छु र ल्यापटपमा त्यसैको थेसिस मिलाई रहेकी छु ।”

“डैडीले त फेसबुक हेरिरहेकी छ्यौ, भन्नुहुन्थ्यो ।’

“फेसबुक पनि हेर्छु र आवश्यक अन्य सामग्रीहरू इन्टरनेटमा खोजी गर्छु । यहाँ आएपछि अलिक होलोखुकुलो भएको छ । त्यसैबेला इन्टरनेटबाट पनि फाइदा लिइहालुँ भन्ने लागेर …”

“ठीक छ, राम्रो । जाऊ फुर्सदको सदुपयोग गर ।”

तिनी कोठामा जान्छिन् । मात्र औपचारिकता निर्वाह गर्न तिनी आएकी थिइन् । आजका युवाहरूसँग अरुको कुरा सुन्ने, अरूलाई बुझ्ने र आफ्नो कुरा सुनाउने फूर्सद छैन । यान्त्रिक दुनियामा रमाइरहने यी आजका युवाहरूसँग आत्मीयता, अपनत्व, स्नेह, माया, प्रेम, आदर, सम्मान, जस्ता मानवीय संवेगहरूको कमी हुँदै छ । हुन पनि ज्ञान आउन थालेपछि उनीहरूले पढाइ, तालिम, परीक्षामा उत्तीर्ण हुने र जीवनमा पैसा कमाउने तरिका, फर्मुलाहरू मात्र सिके । पैसा थुपार्न सके जीवनमा उत्तीर्ण भइहालिन्छ भन्ने मानसिकताबाट ग्रसित समाजमा उनीहरूले पारिवारिक वातावरणमा आमाबुबा, बाजेबोजु, भाइबहिनी, काकाकाकी, मामामाइजू, नातागोता, कुलकुटुम्ब र साथीभाइहरूसँग मानवीय, आत्मीय र रमाइलो वातावरणमा अन्तरमनको कुरा पोख्ने, सुन्ने र बुझ्ने तथा भावनात्मक सुत्रमा बाँधिने मौका नै कहाँ पाएका हुन्छन् र ?

बाबुआमा स्कुल कलेजको फिस तिर्ने, खर्च दिने मेसिन अभिभावक मात्र बने । आमाबाबुले पनि छोराछोरीलाई हरतरहले पैसा कमाउन सफल मेसिन मात्र बनाउन चाहे । कल र यन्त्रहरूमाझ कहाँ भावनात्मक सम्बन्ध हुन्छ र ?

“अँ, तिमी आजभोलि के गर्दै छौ ?” राममान सोध्छन् ।

“रिटायर्ड भएपछि के गर्ने ? भन्ने अन्योल भयो । कैयौ कामहरू गर्न सकिन्थ्यो । निरङ्कुश शासनकालमा केही गर्ने वातावरण थिएन । सँधै सशङ्कित, आतङ्कित र त्रसित भएर बाँच्नु प¥यो । सिर्जनात्मक क्रियाकलापहरू अवरुद्ध थियो । गणतन्त्र आएपछि मलाई पनि आफ्ना भावना, अभिव्यक्ति, उच्छ्वास र आफ्ना अनुभवहरू लेख्ने अनुकूल अवसर आए जस्तो लाग्यो । म अहिले लेखन र पठनमा व्यस्त हुन थालेको छु । लेखन भनेपछि लेख्नका लागि यति धेरै पढ्नु पर्दोरहेछ कि म त पुस्तक, पत्रपत्रिका र सम्बन्धित सामग्री अध्ययनको आनन्ददायी सागरभित्र डुब्न थालेको छु । तिमी चाहिँ के गर्दैछौं ?”

“म चाहिँ स्वास्नीको झर्कोफर्को, नोकरचाकरहरूको गुनासो बेहोर्दै, संघसंस्था र दलहरूलाई चन्दा दिँदै ठूलो मान्छे हुँ भन्ने भ्रम बोक्दै बेस्वादिलो जिन्दगीको स्वाद चाख्दै छु । तिमीले त ठीक काम पक्रेछौ । मलाई लेख्न, पढ्न भनेपछि पटक्कै मन पर्दैन । टी.भी. हेर्न पनि मन लाग्दैन । बुढेसकालमा कम्प्युटर सिक्न पनि मन लाग्दैन । ‘बोर’, ‘बोर’ बुढेसकाल …।”

“त्यसो भन्नु हुँदैन राममान । जबसम्म मानिस नयाँ कुराहरू सिक्न चाहन्छ, ऊ बूढो हुँदैन । रबिन्द्रनाथ ठाकुरले भनेझै‘— खुसी हुनुपर्छ भने धेरै कुराहरूमा रुची राख्नु पर्छ । धेरै कुराहरूमा चाख राख, सिक नयाँनयाँ कुराहरू । कम्प्युटर सिकेर इन्रनेट चलाउन थाल्यौ भने त्यहाँ तिमी अर्कै नयाँ संसार पाउने छौ । म इन्रनेट चलाउन थालेपछि समय बितेकै थाहा पाउदिन‘ ।”

“त्यही त, मन मान्दैन कतै अडिन … ।”

“हा. हा.. हा … पूरै गीत गाइदेऊ ।”

“हा..हा..हा … ।” हाँसिसकेपछि ऊ गाउँछ—
“ललल …लल… मन मान्दैन कतै अडिन
छोड्नै सकिनँ लत र लत कहिल्यै छोडिन‘
प्रेमको, मित्रताको लत लत कहिल्यै छोडिन‘ ।”

साच्चै उनी एकचरण गीत गाउँछन् । उनी यो गीत वैंशमा पनि गाउने गर्थे । म टेबल मादलझैँ बजाएर साथ दिन्छु । केहीबेर भए पनि हामी हाम्रो तन्नेरी कालको मनोहर मुग्धकारी, रमाइलो समय–संसारमा अवतरण हुन पुग्छौँं । अन्तरमनभित्र हामी बीचको पुरानो मित्रता, आत्मीयता र अपनत्व तरोताजा भएर आएको मधुरो आभाससँग युवा कालकोजस्तै आनन्दसागरमा थाहै नपाई चुर्लुम्म डुब्छौँ । त्यो निजी आनन्दिलो आत्मीक क्षण हुन्छ । यस्तै क्षणहरू मानिसको चाहना हो । त्यही प्राप्तिका लागि निरन्तर प्रयत्नशील हुनु मानव प्रवृत्ति बन्छ । राममान पनि चाहन्छ— उसलाई कसैले सुनिदेओस्, बुझिदेओस् । म पनि त्यस्तै चाहन्छु । तर यो यान्त्रिक युग ! अनि धन सम्पत्ति कमाउने होडमा दौडिरहेको मानिसलाई अर्काको मन बुझ्ने, वेदना सुन्ने र सुनाउने फुर्सद कहाँ ? अन्तरमनको पुकार बुझ्दा र सुन्दा प्राप्त हुने अतुलनीय सुखको स्वाद आजका स्वार्थी मानिसहरूले चाख्नै पाएका छैनन् । तसर्थ उनीहरू यसका लागि लालायित हुने कुरै भएन ।

हामीबीचको औपचारिकताको पर्खाल ढलिसकेको हुन्छ । हामी पहिलाको मित्रवत अवस्थामा फर्किसकेका हुन्छौ‘ । आफ्ना मनका कुराहरू निशंकोच एकअर्कालाई व्यक्त गर्ने स्थितिमा हुन्छौ‘ । उनलाई पनि छोराछोरीको यान्त्रिक बोलीचाली व्यवहारदेखि चित्त बुझेको रहेनछ । भनी हाल्छन्— “देख्यौ मेरा डाक्टर छोराछोरीको चालामाला । कैयौं पल्ट अनुरोध गरेपछि बल्ल दुबैजना एकसाथ केही दिनको लागि आएका छन् । एकसाथ सबैजना बसेर कुराकानी गरौ‘, खानपिन गरौ‘, म चाहन्छु । तर खोइ, उनीहरूलाई वास्तै छैन । छोरा कताकता हिड्छ, छोरी पनि त्यस्तै । म त सम्झन थालेको छु, पैसा मात्र कमाउने मेसिन डाक्टर छोराछोरी पो जन्माएछु । पोहोर तिनीहरूका आमा सिकिस्त बिरामी हुँदा ‘आऊ‘’ भनेर बोलाएँ । दुबैजनाले जवाफ दिए— त्यहीको स्थानीय राम्रो डाक्टरलाई देखाउनु । हामी पैसा पठाइदिने छौं । नभन्दै थुप्रै पैसा पठाए । रातदिन सेवासुश्रुषा गरेर पत्नी यशोधरालाई बचाएँ ।

त्यसपछि त तिनी पनि एक अचम्मकी भएकी छन् । तिनको मन के भएको छ ? कुन्नी ? टीभी मात्र हेरिरहन्छिन् । अरू आइमाईहरूसँग सिरियलकै कुरा गर्छिन् । सिरियलकै पात्रहरूसँग रुन्छिन्, हॉस्छिन्, नाच्छिन् र गाउँछिन् । छोराछोरीको वास्तै छैन । मेरोपर्यन्त वास्ता गर्दिन । तिनले आफ्ना वरिपरि कृत्रिम पर्खाल निर्माण गरेर आफ्नै संसार निर्माण गरेकी छिन् । त्यही संसारमा विलीन हुने प्रयत्नमा जीवनको अन्तिम कालखण्ड विसर्जित गर्ने अठोट गरेकी छिन् । म के गरौ‘ ? म के गर्न सक्छु र ? मान्छेको मन…मन भाडिएपछि के नै पो गर्न सकिन्छ र ?”

उनी यसरी छर्लङ्ग खुलेका थिए कि म उनलाई ढाढस दिनु आफ्नो कर्तव्य सम्झन्छु र भन्छु— “साथी राममान, भाउजूले जे गरिन् त्यो जीवनको निराशाको परिणाम हो । ज्यादै थाकेको मान्छे बस्न चाहन्छ, विश्राम गर्न चाहन्छ । शीतल छहारी र सफासुग्घर बस्ने ठाउँ पाएन भने जस्तोसुकै ठाउँमा पनि बस्न ऊ बाध्य हुन्छ । भाउजूले पनि मन बिसाउने ठाउँ टीभी. सिरियल बनाउनुभएको हो । बुढेसकालमा कसैले भजन किर्तन, कसैले सामाजिक सेवा आदि व्यसन बनाएका हुन्छन् । मैले साहित्य लेखनलाई साथी बनाएको छु । अझै उहाँभित्रको उत्साह मरिसकेको छैन । त्यसलाई जगाउन सकिन्छ ।”

“कसरी ?”

“जीवनमा नयाँ उमङ्ग, उत्साह, प्रेरणा, रुचि र चाखको विरुवा रोपेर ।”

“हिड, जाऊ‘ भाउजू भए ठाउँ । प्रयत्न गरौ‘ं ।”

टी.भी. एकाग्र भएर हेरिरहेकी यशोधरालाई ठूलो स्वरमा कराएर भन्छु— “नमस्कार भाउजू ।”

तिनी झसङ्ग तर्सिन्छिन्, हामीलाई रिसाएको आँखाले हेर्छिन् । तर झट्टै कृत्रिम मुस्कान अनुहारमा ल्याएर जवाफ दिन्छिन् “नमस्कार । बस्नुहोस् न । कतिबेला आउनु भयो ?”

“बिहानै”

“होइन, ठट्टा गर्नुहुन्छ । बिहानै आउनु भएको भए मलाई थाहा भइहाल्थ्यो नि ।”

“बिहानै भन्नाले अहिले तपाई‘ले हेरिरहनु भएको सिरियलमा बिहानै त छ । त्यही भएर बिहानै भनेको नि , भाउजू ।”

“हा .. हा .. हा … त्यसो हो भने भर्खरै ।” भाउजू साँच्चै मायालु पाराले हॉस्छिन् । स्त्रीयोचित हाँसो । सायद त्यही हाँसोले राममानलाई पगालेर पानी पानी पारेको हुँदो हो ।

“ठीक बुझ्नु भयो ।” म पनि हाँस्छु साथै राममान पनि “हा.. हा.. हा.. ।” हाँसोले वातावरण सहज बन्छ । टीभी को स्वर तिनी सानो पार्छिन् । हामी कुरा गर्न थाल्छौ‘ ।

“तपाईँबारे साथी राममान मसँग गुनासो गरिरहेका छन् ।”

“कस्तो गुनासो ? सानो नानी जस्तो पोल सार्दै हुनुहुन्छ ?”

“हो नि । उसलाई वास्तै गर्नु हुन्न रे । खाली सिरियलमै भुलिनुहुन्छ रे …. ।”

“आब्बुई । साँच्चै त्यसै भन्नुहुन्छ ?” उनी राममानलाई हेर्छिन् ।

“हो, मैले दुखेसो पोखेको हुँ ।” राममान स्पष्ट पार्छन् ।

“टी.भी. पनि नहुँदो हो त मैले दिन कसरी काट्ने ? उहाँ रातदिन बाहिर, छोराछोरी परदेशमा । म एक्लै के गरौँ ?” तिनी टीभी. बन्द गर्छिन् ।

“हो, भाउजूले ठीक भन्नुभयो । मानिस जन्मजातैले यस्तो प्राणी हो जो केही नगरी बस्नै सक्तैन । केही न केही गरिरहनु जीवनको निरन्तरता हो, बाँचेको प्रमाण हो । अहिले चारैजना भेला हुनुभएको छ । मलाई त लागेको थियो, म समेत पाँचैजना मज्जाले अहिले गफगाफ गरिरहेका हुनेछ‘ौं ।”

“आ .. नाथे छोराछोरीहरू । ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि’ भनेझैँ उनीहरूलाई आमाबुबाको कुनै वास्ता छैन ।” प्याच्च यशोधरा बोली हाल्छिन् ।

मलाई पनि हो जस्तै लाग्छ । तर भन्छु “त्यसो भन्नु हुँदैन भाउजू, बुढेसकालको साहारा । गोपालप्रसाद रिमालले ‘…तर तिमी नै हौला भन्ने मेरो जीवनभरिको सपना थियो’ भनेझ‘ै छोराछोरीहरू त हाम्रा सपना हुन् । भविष्य हुन् ।”

‘भन्नुहुन्छ नि । देखिहाल्नुभयो त डाक्टर भएका, पढेलेखेका मेरा छोराछोरीहरूका चालामाला । अनि तपाई‘का छोराहरू चाहिँ के गरिरहेका छन् ?”

“जेठो मजस्तै शिक्षक भएको छ । कान्छो र बुहारी खेती गर्छन् । माइलोका परिवार मसँग बस्छ । मेरा पनि नातिनातिनीहरू भएका छन् । सावाँभन्दा ब्याजको माया भनेझै नातिनातिनीहरूको माया अर्कै किसिमको हुँदो रहेछ, अवर्णनीय ।”

“उनीहरूको बोली, व्यवहार पनि हाम्रा छोराछोरीहरूकै जस्तो छ ?”

“मनको वह कसैलाई नकह, म भन्न चाहन्न‘ । युगका उपज हुन् उनीहरू । हामीले मात्र चाहेर केही हुँदैन । युगले जस्तो पुस्ता तयार गर्न चाहन्छ, त्यस्तै तयार हुन्छ ।”

“के युग, युग भनिरहनु भएको ?”

“युग भनेको पुस्तापुस्ताले भोगेको समयावधि । हामीले भोगेको बिताएको हाम्रो पुस्ताको युग । आउने पुस्ताले भोग्ने युग, भावी युग । पुस्तान्तरण… एकपछि अर्को पुस्तालाई । हाम्रा मातापिताका पालामा आमाबुबालाई बुढेसकालमा स्याहार्ने जिम्मेवारी छोराछोरीमा हुन्थ्यो । अब पछाडिका पुस्ताका छोराछोरीले बृद्ध मातापितालाई हेर्नुपर्ने, स्याहार्नुपर्ने अवस्था हुनेछैन । अहिले हाम्रो पुस्ता भने अन्योलग्रस्त छ ।”

भान्सा कोठाबाट भान्सेनीले इशाराद्वारा खाना तयार भएको सङ्केत दिन्छे । यशोधरा भन्छिन्— “एक छिन पर्ख । अँ तपाईँको कुरा पूरा गर्नुहोस् ।”

“म भन्दै थिएँ, हामी बलिदानी पुस्ता । निरङ्कुश शासनले पेल्नसम्म पेल्यो, पेलिएर, हेपिएर जवानी गुजा¥यौ‘ं । जीवन सङ्घर्ष, विद्रोह र आन्दोलनमा बित्यो । बुढेसकालमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकै छैन । यसको फल पनि चाख्न पाइने अवस्था छैन । राजनीतिक व्यवस्थाले नै मानिसहरूको जीवन पद्धति निर्धारण गर्ने हो । हाम्रो बुढेसकालको बारेमा राज्यले नीति नै बनाएको छैन ।…”
“राज्य वा सरकार प्रमुख कुरो हो । विकसित देशहरूमा बृद्धभत्ता, बेकारी भत्ता, अपाङ्ग भत्ता आदि अनेकौं व्यवस्थाहरू हुन्छन् । असक्त, अपाङ्ग, बृद्ध वा सबै नागरिकहरूको हेरचाह गर्ने जिम्मेवारी राज्यले वहन गरिरहेको हुन्छ । हाम्रोमा त्यस्तो छैन । त्यस प्रकारको जिम्मेवारी राज्यले वहन गरोस् भनेर अहिलेको पुस्ताले चर्को आवाज बुलन्द गर्नुपर्ने भएको छ । अबका छोराछोरीले आफ्ना आमाबुबाको सेवासुश्रुषामा जीवन खर्चिन्छन् भन्ने सोच्नु मूर्खता हुनेछ । उनीहरू त आफ्नै जीवन धान्नमा र सुख आर्जनमा यति व्यस्त हुनेछन् कि उनीहरूलाई अरूका बारेमा सोच्ने फुर्सदै हुने छैन । बरु उनीहरूले गर्न सक्ने भनेको चाहिँ बृद्ध, अपाङ्ग, बेरोजगार र असक्षम नागरिकहरूलाई हेरचाह गर्ने जिम्मेवारी राज्यको हुनुपर्छ भनेर जोडदार आवाज उठाउने हो । प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बनुन् भनेर दवाब…दवाब दिनु पर्ने हो..|.”

म बोल्दाबोल्दै टक्क रोकिन्छु र सम्झिन्छु— लौ मलाई यो के भएको ? तथाकथित नेताझै‘ धाराप्रवाह भाषण पो दिन थालेछु । म आफैं लज्जित भएर उनीहरूलाई हेर्छु, उनीहरू ट्वा परेर मलाई हेरिरहेका हुन्छन् । मैले त्यसरी हेर्दा उनीहरू हाँस्छन् हा…हा.. हा…। वातावरण सहज बन्छ ।

“ओहो, तपाईंँले भनेअनुसार हुने हो भने त भावी दिनहरूमा आजभोलि सबै गाउँहरूमा स्कुल, हेल्थपोष्ट, गा.वि.स. भवन आदि रहेझै‘ प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बन्नेछन् । त्यहाँ नयाँ सिर्जना र रचनाहरू प्रस्फुटित हुन थाल्नेछन् …कस्तो सुन्दर परिकल्पना ! त्यस्तो बृद्धाश्रम बने त हामी पनि त्यही बस्थ्यौँ, छोराछोरीले पनि वृद्ध आमाबाबु हेर्न परेन । आमाबाबुलाई पनि छोराछोरीले हेर्छन्, हेर्दैनन् भन्ने चिन्ता हुँदैन ।” यशोधरा मनको कुरो भन्छिन् ।

उनको भन्ने तरिका ठट्यौली र रमाइलोपनले ओतप्रोत हुन्छ । उनको अनुहारमा झलमल्ल उज्यालो देखिन्छ ।

उनको त्यस्तो मुग्धकारी मनोहारी मनोभाव देखेर हामी पनि प्रसन्न हुन्छौं ।

भानु रचना पुरस्कार -२०७१ ले पुरस्कृत कथा

(स्रोत : भानु मासिक अंक १७८ , २०७१ असोज कार्तिक )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.