~अमर नेम्बाङ लिम्बू~
जिन्दगीको यो गोधुली साँझमा
फ्लिक्कर फोटो जस्तो देखिने
म बाँच्ने धरतीको यो कोलाजभित्र
जिन्दगीका थुप्रै पानाहरू
पल्टिसकेका रहेछन् यहाँ।
केवल लर्खराइरहेका छन्
मेरा झ्यालढोकावरिपरि
क्यान्भासमा कोरिएका
अस्थिपञ्जर रेखाचित्रहरू जस्तै
दिवंगत आफन्त र मित्रहरूका
धूमिल स्म्रितिका अवशेषहरू।
धेरै टाढा डाँडाँमा पुगिसकेका
सूर्यका असंख्य पहेंला रश्मीहरू
फर्केर पस्तैछन् मेरा झ्यालढोकाभित्र
अटेसमटेस गर्दै
कागहरूका आवाजसँगै
बास बस्न ओर्लिरहेको
गरुङ्गो रातको समाचार लिएर।
घोर एकाकीपनले लपेटेको
यो उदासिलो साँझमा
टुक्राटुक्रा भएर विलीन भएको
पाउँदैछु म आफैलाई यो महाशून्यतामा।
लाग्छ आजको यो साँझ
बिस्तार बिस्तार मर्दैछ
नजीकै बासिरहेका
झ्याउँकिरीहरूका आवाजसँग मिसिएर।
यसरी नै मैले जिएको एउटा संसार
हेर्दाहेर्दै मेटिसकेको छ यहाँ ।
केवल भावनामा ,
केवल कल्पनामा र
केवल सम्झनामा मात्र
बाँच्नुपर्ने छ त्यो संसार अब मैले यहाँ ।
-न्यूयोर्क