~सुकुम शर्मा~
साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम र वस्तुको सीमा देखिन्छ। यसलाई लामो कविता भनिए पनि त्यसअनुसारको आयाम र वस्तुको सीमा देखिन्छ। यसलाई लामो कविता भन्न सकिन्छ। कथावस्तु नभए पनि विभिन्न तर्क र वर्णनहरूले लामो बनाइएको कविताका रूपमा गरिएको मूल्यांकन स्मरणीय छ (अधिकारी, २०४४ : १४४)। यसो भए पनि गोलघरमा थुनिंदाको अवस्था, नेपाली जनताको क्रान्तिप्रतिको उत्साह, विगतका वीरहरूको जेल बस्दाका अनुभूति आदिलाई आफूमा केन्द्रित बनाएर प्रस्तुत गरिएकाले यसमा लघुकाव्यको संरचना छ। यस काव्यमा १३ खण्ड रहेका छन्। यी खण्डमा आएका विचारको केन्द्र क्रान्ति र त्यसको सफलताको गर्जन नै मुख्य रहेको छ।
जब सल्कँदै गए फेरि मुटुका दिया
अँध्यारो भाग्न थाल्यो देशबाट
“भूत बड्डलाका नरभक्षी पिचासहरू
तिल्मिलाउन थाले तर्सेर .. (पृष्ठ १)।
माथिका पंक्तिबाट यस लघुकाव्यको गति अघि बढेको छ। अध्याराहरू विरूद्ध जुधेका क्रान्तिकारीहरूको गति र प्रतिबद्धतालाई देखेर तर्सेका नरभक्षी पिचासहरले त्यही कालो रात थमौती गर्ने प्रस्ताव पास गरी क्रान्तिकारीहरूलाई झम्टन थालेका अवस्थाको बिम्बसहित काव्यको सुरूआत भएको छ।
यसै क्रममा धर्ती गाढा निद्रामा परेको एक रात कवि लगायत केही क्रान्तिकारीलाई नरभंक्षीका खुनी पंजाले जकड्न सफल भएको यहाँ उल्लिखित छ। केही क्रान्तिकारीलाई पक्रन सफल भएपछि निरंकुश शक्ति इतिहास थुन्ने ताल्चा फेला पारेझैं गर्वले फुलेको अवस्था कविले बताएका छन्। यसरी नै काव्यमा निरंकुश शक्तिले आफ्नो वशमा लिएपछि कविको मनोबल भाँच्न शरीरमा लौरा भाँचेको, गोप्यता बकाउन बुट र बन्दुकका कुन्दाले खाँदेको, गतिहीन बनाउन नेल हत्कडी लगाएको र जोश चिस्याउन एक्लै सिमेन्टको कोठामा राखेर चिसोमा पल्टाएको (पृष्ठ २) प्रसंग आएको छ। त्यस अवस्थामा कवि झन् दृढ हुँदै बोलेका छन् –
काटे शरीर ढल्छ, तर विश्वास ढल्दैन मेरो
मारे हाडखोर गल्छ, तर विचार गल्दैन मेरो (पृ.३)
चर्को यातनाले कविको विचार र आस्थालाई गलाउन नसकेपछि प्रतिक्रियावादीले साँघुरो खोरमा थुनेर भोटेताल्चा लगाउँदा सफल भएको गर्वमा मख्ख परेको प्रसंग यहाँ छ। एउटा मान्छेको महिनौंको कसरतले त्यस खोरमा पुर्याउन सकेकामा रमाउने प्रतिक्रियावादी सत्ता र नरभक्षी मान्छेलाई घृणा गर्दै उनले लेखेका छन् –
“महिनौंको कसरतले
यतिसम्म गर्न सकेकोमा
ठूलो पौरख ठानेर गर्वले
सगरमाथाको शिखर छाएझैं
थुतुनाको पसिना पुछे र,
किच्च मुर्दाको हाँसो हाँसे (पृष्ठ ३)
यसपछि विवेकहीन मूढहरू रक्सीको घ्याम्पामा हामफालेर सत्यलाई थुन्न सकेकामा रमाएर निदाएको प्रसंग उल्लेख गरिएको छ। यस काव्यको दोस्रो अंकमा आफू चिसो खोरमा भए पनि साथीहरूको तातो सास आएर आफूलाई अँगाले झैं छोइरहेको, आमाको ममताले थुम्थुमाएको, भाइ–बैनीका आङमा उम्रेका काँढाले छोएको र प्रियका आँखा बिझाउन आइपुगेको (पृ.४) कविले अनुभव गरेका छन्। यसरी नै जनविद्रोही, युगविद्रोही, देशद्रोहीहरूको यन्त्रणागृहमा खुङ्खार दाह्रा र तीखा नङ्ग्राका बीचमा रहेका कविले आफूलाई कुकुरको गन्हाउने मुखले परेवाको बच्चा चपाएझैं कुनै पनि बेला चपाउन सक्छन् भन्दै लेखेका छन् –
“भर्खरै कमरेड रत्न, हरी र “आजाद”हरूलाई
चपाएका राता दाँत गाड्न सक्छन्
गंगा, नेत्र, कृष्ण, रामनाथ, वीरेनहरूलाई जस्तै
खोरबाट झकेर बारूदले उडाउन सक्छन्
शुक्र, धर्मभक्त, दुर्गा आदिलाई झैं
नृशंस जल्लाद बनेर
फाँसीमा
झुन्ड्याउन सक्छन्। (पृष्ठ ५)
यस किसिमको निरंकुश सत्ताका व्यक्ति र संयन्त्रलाई कविले संङ्ग्राहलयमा लैजान तयार भएका माटाका मूर्तिहरूभन्दा विशिष्टमानेका छैनन्।
तेस्रो खण्डमा निरंकुश व्यवस्थाले मान्छे मार्नेपेशा ठानेर रगतमा होलाी खेलेको, सत्ताको उन्माद देखाएर स्यालले कुखुरा थुतेझैं देशव्यापी एकताको राग अलापेर जनता मार्ने गरेको, देशलाई हरिकंगाल पारेर राष्ट्रवादको गीत गाएको, हजारौं चेलीबेटीलाई लगेर बेचेको जस्ता करतुतलाई लुकाएर शान्तिको गीत गाउने दृष्टहरूलाई दुत्कार्दै कवि लेख्छन्–
हो, पक्कै पनि यिनीहरूले
हत्या, दमन, जालझेल र षड्यन्त्रको आफ्नो राजधर्म छोडेका छैनन्,
र, हामीले पनि साहस, दृढता, संघर्ष बलिदान
देश र जनताको मुक्ति–अभियानको
आफ्नो जनधर्म छाड्दैनौं। (पृष्ठ ९)
माथिको जनधर्म नछोड्ने प्रतिबद्धता दोहोर्याउँदा कविका आँखा गोलघरका सामुन्नेका खोरमा परेका छन्। उनले १९८८ सालमा त्यस खोरमा पर्ने मैनाबहादुर र खड्गमान सिंहको निर्भिकतालाई स्मरण गरेका छन्। पछि खड्गमान सिंह पलायन भएपनि कवितामा स्फूर्ति थप्न पहिलेका खड्मानको जोश सहायक भएको यहाँ व्यक्त भएको छ।
त्यसभन्दा अघि र पछि यस हिमाली भेगमा भएका संघर्षलाई स्मरण गर्दै नेपाल आमाको मुहार हँसाउन संघर्षरत वीरहरूको कुर्वानी र आत्मआहुतिलाई कविले मुक्तकण्ठले गाएका छन्। मुक्तियुद्धमा शहीद भएका वीरहरूको रगतले भिजेको माटोलाई छोएर जनताले श्रद्धाञ्जली चढाउनेछन् भन्दै उनले लेखेका छन्ः
“मेरो स्मृतिपटमा झल्झली नाँचिरहेछन् अहिले
ती कहिल्यै नगल्ने इस्पाती अनुहारहरू (पृष्ठ ११)
डर, त्रास भागेकाले कवि आफूलाई दुर्धर्षसिंह जस्तै भएको ठानेर लेख्छन् –
जो, संजोगको फन्दामा यहाँ आएथ्यो
जो, सुकेर खाने छैन कहिल्यै घाँस
र, फुत्कनासाथ फेरि जंगलमा पुगी
झन्झन् जोडले दहाडिरहनेछ घ्(पृष्ठ११)
यसपछि कविको दृष्टि गोलघर अगाडिको साँघुरो आँगनमा परेको छ। त्यति ठूलो पर्खाल, बारबन्देज अनि पहरेदारहरूको यन्त्रणागृहको क्रुर छातीमा फुलेका सुकुमार कोमल फूलमा उनको मन भावुक भएको छ। ती फूलहरूलाई देखेर कवि लेख्छन्ः
नहाँसुन किन यी फूलहरू
जब यी तिनै वीरले उमारेका सन्तान हुन्
ती तपसीहरूका तपोवनका
दृढ तपस्याका साथी हुन्
मलाई लाग्छ, हाम्रा वीर शहीदहरूको पवित्र रगत
मेरो साम्नेका गुलाबहरूमा मुस्कुराइरहेछ (पृष्ठ १२)
कविले नेपाली माटोको महिमा गाउँदै नेपाल आमाको छातीमा रहेको सम्पत्तिको अक्षय भण्डार उनका सन्तानहरूका लागि गर्व हुने पनि बताएका छन्।
यसपछिका खण्डमा उनले चारैतिरका दृश्य बन्द भए पनि, खुट्टा बन्दगरेर लडाए पनि, नजरबन्दमा थुने पनि भित्री आँखाको दृश्यलाई, वर्गीय मायालाई र क्रान्तिकारी समर्पणलाई थुन्न नसक्ने बताएका छन्। उनको मन पृथ्वीकी बहिनी अर्थात् कविकी सानिमा, पृथ्वीका बाबु अर्थात् कविका बाजे र आमाको माया ताराहरूसित साटिएको छ। झ्यालखानाको फुच्चे पर्खालले मनको विशाल दृष्टिलाई रोक्न नसक्ने दृढता पनि कविमा आएको छ।
रातको मध्यरातमा बन्दीहरूको खलबल सुनेर ब्यूँझेका कवि त्यहाँको वातावरणमा अभ्यस्त भइसकेको स्वरलाई यसरी व्यक्त गरेका छन्–
तर नपरून्जेल हो दमाली हो “डर” लाग्दो हुने
परिसकेपछि नेल हतकडी पनि बानी हुन्छन्।
कालकोठरी पनि साथी हुन्छ,
कोदो, सिस्नो, खुर्सानी, आलपिन
विजुलीको करेन्ट र जाडोको सिमेन्ट पनि
शरीरका सहज अभ्यास हुन्छन्। (पृष्ठ१५)
कविले आफूमा देखिएको सहज अभ्यास र दृढता बुझेर आफ्ना कामरेडहरूलाई सुर्तानलिन आग्रह गरेका छन्। यसरी नै उनले आततायीहरूको जनविरोधी कार्यलाई दुत्कार्दै जुटेका हजारौं मुटुको स्नेहमा आफ्नो पनि मुटु धड्किएकाले आन्दोलनको गाथामा आफू साटिएको उल्लेख गरेका छन्। आफू खोरमा भएपनि मध्यरात्रीमा साथीहरू सासैसासले कुरा गर्दै क्रान्तिदुत बनेर बस्ती, देहातमा हिंडेको उनले आफ्नो दिमागी टेलिभिजनमा हेरिरहेका छन्। त्यसैले कवि स्पष्ट शब्दमा भन्छन्–
देशैभरी होइन संसारैभरी
क्रान्तिका दुतहरू निशाचरलाई मास्न
निशाचरै बनेर हिंडेका तस्वीरहरू (पृष्ठ १७)
साथीहरू बिरालोचालले हिंड्दै, सेता महलहरूलाई छल्दै गरिबका बुकुरामा चेतना जगाउन हिंडेको देख्दा कवि उनीहरूसँग उत्साहका हात मिलाउँदै जोशिलो अभिवादनमा साटिंदा हर्षित छन्। क्रान्तिकारीहरूले ओजस्वी तस्वीरमुनि बसेर आस्था स्मरण गरेको उनले आफ्नो दिमागी तस्वीरमा स्पष्टसँग हेरेका छन्। मध्यरातमा परजीवी संसार लमतन्न परेपछि श्रमजीवीका झुप्राहरूमा मनमस्तिष्क चनाखा हुँदै साटिएको पाउँदा कविले आफूलाई गोलघरभित्र सीमित भएको ठान्दैनन्। यसै भएर कवि भन्छन्–
“त्यहाँ मुठी बोकेर सबले भन्दैछन्
हामी “पन्चानब्बे”हरू “पाँच” मान्दैनौं
बहुमतको रगतले ढाडिएको
“पाँच”को पंचायत मान्दैनौं
न हामी यो देशको मान्छौं
सामन्त, दलाल, नोकरशाह, भ्रष्टाचारी र तस्करीहरूको
गठबन्धनको पंचायत,
न हामी यो देशको मान्छौं
साम्राज्यवाद, उपनिवेश, युद्ध प्रभुत्व र
अणुवमहरूको विश्वासघाती पंचायत (१९)
यस किसिमको व्यवस्थाका विरोधमा जुटेका आवाजहरूमा कविले जनगणतन्त्र नेपालको, भव्य सुन्दर रमाइलो तस्वीर सजाएका छन्। झुप्रा–झुप्रा, वस्तीबस्तीबाट भोकनिद्रा बिर्सेर क्रान्तिमा समर्पित भएका बालक, युवा, बृद्धालाई देखेर कविले आफ्नो पीडा, मर्म र यातनालाई भुलेका छन्।
झुप्रे पाठशालामा जातपातको मैलो पखाल्दै पहाडी, मधेसीको साम्प्रदायिक जालो च्यातेर, सहरिया र पर्वतेको पर्खाल भत्काएर तागाधारी र मतवालीको भेदको भर्याङ मिल्काएर क्रान्ति अघि बढेको कविले जनाएका छन्। क्रान्तिकारीका मुठीमा “नेपाल बन्द” भएको र तानाशाहीको कालो संसार माटिदै गएको उल्लेख गर्दै उनले भनेका छन्–
हो, वास्तवमा यो देश
पशुपतिको हातमा हैन र अरू कसैको हातमा हैन
यिनै युवाहरूको हातमा आएको छ,
किनभने
यो संसार शेषनागको टाउकोमा हैन,
युवा शक्तिकै पाखुरामा अडिएको छ। (पृष्ठ २३)
यसरी नै काव्यकारले नयाँ उर्जाले चेतनालाई संचरण गरेकाले किसान, ज्यामी, शिक्षक, विद्यार्थी, कर्मचारी, लेखक, कलाकार, बुद्धिजीवी, पत्रकार सबै क्षेत्र क्रान्तिमा समर्पित भएको पनि बुझेका छन्। यी सबै ऊर्जामा आफ्नो उर्जा थप्न कवि गोलघरबाट यसरी बोेलेका छन्
“म दुःखी छु देशका यिनै दुःखले
मेरो छुट्टै अर्को कुनै दुःख छैन,
म पिरिएको छु, देशका यिनै पीरले
मेरा छुट्टै अर्को पीर छैन” (पृष्ठ २८)
अन्तमा कविले गोलघरमा पाएका तमाम यातना र दुःखहरू बिर्सेर संघर्ष फैलिएकामा, चेतना तीब्र भएकामा सन्तोषको सास तानेका छन्। उनमा मातृभूमि स्वतन्त्र हुने र तानाशाही व्यवस्था धराशायी हुने दृढ विश्वास छ। देशलाई जेलेका तमाम साङ्लाहरू चुंडालेर परिश्रमीहरूका हातमा राज्यव्यवस्था ल्याउन बाहेक उनमा अर्को सपना छैन। यस कार्यमा गोलघरलाई उनले अग्निपरीक्षा ठानेका छन् र कविको अभिव्यक्ति यसरी टुगिंएको छ–
त्यसैले निर्भिक छु यहाँ
सुकाउन सक्दैन कसैले मेरा सगरमाथा
अजेय छ हाम्रो श्रमिक–मुक्तिको महायात्रा
अमर छ हाम्रो मानवमुक्तिको अभियान (पृष्ठ ३०)
यस काव्यमा कवि स्वयं पात्रका रूपमा आएका छन्। उनल भोगेका यातना, बुझेको आस्था र मुक्ति संघर्ष नै यसको कथ्यवस्तु हो। यस सन्दर्भमा “म” पात्रलाई दृष्टिकेन्द्र बनाएर आत्मकथनात्मक शिल्पपद्धितमा रचिएको यो लघुकाव्य राजनैतिक प्रपञ्चमा परी थुनिएका कवि प्रश्रितकै आत्मजीवनको प्रतिच्छाया पनि हो र कविले आफ्ना अन्त पीडा, आक्रोश, रोष र विद्रोहका अग्निवीजहरू यसभित्र पोखेका छन्। काव्यमा एउटा मुक्तिकामी वीर योद्दाका क्रान्तिकारी चेतना, कहिल्यै नडगमगाउने साहस र वीरतापूर्ण अविजेय भावहरूलाई कवितात्मक वाणीमा आबद्ध गरिएको छ” (शर्मा, पौडेल, २०४६ः ५२) भन्ने मूल्यांकन उपयुक्त देखिन्छ।
यस काव्यको लेखनशैली कविको स्मृतिको केन्द्रमा आधारित छ। “तिमी” अर्थात् निरंकुश राज्यव्यवस्था र कवि अर्थात् क्रान्तिकारी शक्तिहरूका बीचको द्वन्द्व नै यस काव्यको मूल मर्म हो। कविले साथीहरू, आमा, भाइबहिनी, प्रिया, किसान, मजदुर शहीदहरू खड्गमान, मैनाबहादुर, शिक्षक, पत्रकार, विद्यार्थी आदिलाई क्रान्तिका पृष्ठभूमिमा सम्झेका छन्। यिनै पात्रहरूको स्मृतिमय विचरणमा यो काव्य सिर्जिएको पाइन्छ।
यस काव्यमा पंचायतकालीन व्यवस्थाको जर्जरता, बर्बरता र तानाशाही कार्य र त्यसका विरूद्धमा जुझारू बनेका मुक्तिकामीको द्वन्द्व परिवेशका रूपमा आएको छ। त्यस बर्बरतालाई चिर्न जुटेका क्रान्तिकारीहरूको अवस्था र आस्थाप्रतिको प्रतिबद्धता गोलघरमा पर्दा पनि कविमा मरेको छैन। राजनीतिक जागरणका उद्देश्यमा यो काव्य लेखिएको पनि स्पष्ट हुन्छ। यस काव्यमा “कविलाई जेलको यातना भोग्न बाध्य हुनेहरूका पछाडि सारा जनताको सहानुभूति र स्नेह प्राप्त हुने कुरामा दृढ विश्वास रहेको” (चापागाई, २०५२ः १६६) छ भन्ने मूल्यांकन पाइन्छ। यसरी नै “गोलघरको सन्देश” मूलतः देश तथा कालकोठरीभित्रको सन्देश बोकेर आएको (चैतन्य, २०५४ः १४८) काव्यका रूपमा हेरिएको छ। यति मात्र नभई “कुनै पनि व्यक्ति चाहे कालकोठरीमा बन्द होस् वा उसलाई जेलनेल, हत्कडी, गोली र फाँसीकै सिकार हुन किन नपरोस्, यदि ऊ जनताको हकहित र उद्देश्यहरूप्रति निष्ठावान छ भने त्यो कहिल्यै पनि दुश्मनसँग झुक्दैन बरू मर्न तयार हुन्छ” (चैतन्य, २०५४ः १५७) भन्ने मूल्यांकन छ। यो नै यस काव्यको प्रेरणा र सन्देश हो। क्रान्तिप्रति आस्था, विश्वास र दृढता नै यस काव्यको उद्देश्य हो।
प्रस्तुत काव्यमा केही स्वच्छन्द–कल्पना आएको छ। चन्द्रमालाई पृथ्वीकी बहिनी हाम्री सानिमा, सूर्यलाई पृथ्वीका बाबु र हाम्रा बाजे जस्ता नाम जुराएका कविले “भावविभोर भई चिप्लेटी खेल्छु इन्द्रेणीको धुरीबाट” भन्ने जस्ता स्वच्छ भावलाई पनि प्रस्तुत गरेको पाइन्छ। यसो भए तापनि तात्कालिन व्यवस्थालाई परिवर्तन गर्ने एक मात्र विकल्प जनक्रान्ति र त्यस शक्तिले स्थापना गर्ने “स्वतन्त्र जनगणतन्त्र नेपाल” अनि त्यस व्यवस्थाका मालिक किसान–ज्यामी अर्थात् सर्वहारावर्ग हुने कविको स्पष्ट ल73य रहेकाले प्रस्तुत कृतिलाई प्रगतिवादी काव्यका रूपमा स्वीकार्नुपर्ने हुन्छ।
यसमा पश्चिम नेपालको भाषिका जनाउने शब्दहरू प्रयोग भएका छन्। शैली सरल र आकर्षक छ। विम्ब, प्रतिक र भाव प्रवाहले काव्यिक स्वाद थपेका छन्। त्यसैले “क्रान्तिकारी चेतना, वैचारिक प्रखरता र जनताप्रतिको प्रतिबद्धताका दृष्टिले यो काव्य प्रगतिवादी नेपाली कविता परम्परामा बेजोडको छ” (शर्मा पौडेल, २०४६ः ५३) भनिएको हो। यथार्थको प्रस्तुतिमा कतै आक्रोश र कतै कल्पनाले कविमा जुन दृढता ल्याएको छ, त्यो नै यस काव्यको प्राप्ति हो। समग्रमा भन्दा प्रस्तुत काव्य लघु रूपमा भएपनि यसले दिएको सन्देश व्यापक छ र क्रान्तिकारीहरूका लागि प्रेरक रहेको छ।
सन्दर्भ–सामग्री
(१) अधिकारी रविलाल (२०४४) प्रगतिवादी नेपाली कविता पोखराः लेकाली प्रकाशन।
(२) चापागाई, नरेन्द्र (२०५२) सम्पा.काव्य समालोचना विराटनगरः पूर्वाञ्चल साहित्य प्रतिष्ठान।
(३) चैतन्य (२०५४) मार्क्सवादी कला, दृष्टि र समीक्षा, काठमाडौंः चिन्तन प्रकाशन।
(४) प्रश्रित, मोदनाथ (२०४०) गोलघरको सन्देश काठमाडौंः पैरवी प्रकाशन
(संस्मरण चौथो २०४७)
(५) शर्मा पौडेल, हीरामणि (२०४६) रचना विवेचना फलेवास : इन्दिरा शर्मा पौडेल।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १० – २०६६ पौष २९ गते, बुधबार )