लघुकथा : चोर चिहान

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

रोमाञ्चक खबर विद्युत गतिमा टोलभिर फिंजियो – नेताले घडरी किने। हाम्रो टोलमा। घर बनाएर आफैं बसोबास गर्न।

नेता ऐरेजैरे होइनन्, नम्बरी सुन हुन्। त्याग–बलिदानका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमायम छ। जीवन–संग्राममा के मात्र झेलेनन् र उनले? जनतासँग माछा–पानीको साइनो गाँसेर उनले निरंकुशतन्त्रको संगीन र बन्दुकको मोहोरीलाई हाक्काकाक्की हाँक दिए। उनले मृत्युलाई कतिपटक छक्काए, कति पटक उपहास गरे। कारागारका बिजुलीका तार टाँगेका आकाश छुने पर्खाल उनले नघेनन् कि। कारागारमुनिको धरती फोरेर तानाशाहीको दमनयन्त्रलाई उनले जिल्लाएनन् कि ? के मात्र गरेनन् र उनले ?

हो, त्यस्ता नेता श्रीकृष्ण उपाध्याय अब हाम्रो टोलमा बस्ने गरी आउँदैछन्। टोलबासीहरू हर्षले गद्गद् छन्, गर्वले पुलकित छन्। वीरको बस्तीमा ठूलो बृक्षको आड लाग्न पाए पानी पर्दा ओत लाग्न पाइन्छ, चर्को घाम लाग्दा सितल ताप्न पाइन्छ।

शुभ साइत पारेर नेताका घरको जग खन्ने कार्य शुरू भयो। गजको लम्बाई–चौडाई देखेरू टोलका मूर्खहरू कुरा काट्न थाले– भोका र नांगा जनताका सुकुम्बासी नेताको यत्रो घर …..?

भूइँ तला पूरा भयो। दोस्रो तला उठ्न थाल्यो। अति तेस्रो तला, अनि चौथो तला अनि पाँचौं तलाको गजुर उठ्यो।

एकदिनको कुरा हो, नेता श्रीकृष्ण उपाध्यायको भव्य प्रवेशद्वार खुला थियो। भित्र बगैंचाका बीचको जापानी दूबो रोपेको चउरमा नेता नाक मुसार्दै घरको शानदार ढाँचाकाँचा हेरेर आफ्ना पारखी आँखाले परम् आनन्द लिंदै थिए। प्रवेशद्वार बाहिर टोलका एक हूल मानिस भेला भए। सामुन्नेमा आधुनिक ढाँचा र शिल्पकलाले सुशोभित भव्य महल छ। तिनका आँखा त्यसतर्फ उठेका छैनन्। सामुन्नेमा आफ्नै अनुपम उत्सर्ग र पराक्रमको प्रकाशरले झल्झलाकार भएका नेताको कान्तिमय अनुहार छ। तिनका आँखा त्यसतर्फ पनि आकृष्ट भएका छैनन्। तिनका भ्रान्त आँखा र नेताका भूँडीतिर कतै पो स्थिर भएका छन्। आँखा झन् झन् तल झर्दा छन्।

जङ चल्यो र मैले सोधें, “के हेर्‍या त्याँ तल त्यसरी?” टोलबासीहरूले ट्वाल्ल पर्दै मुखामुख गरे।

मैले फेरि कड्केर केरकार गरें, त्याँ तल के हेर्‍या भन्या?

आफूलाई निकै क्रान्तिकारी ठान्ने एकजना अभद्र ठिटाले प्याक्क भन्यो, घर अग्लो भयो र नेताचाहिं पुड्को भयो। छिट्छिटो होचिंदै गएको त्यही पुड्केलाई हेर्‍या।

मिति पुगेका जर्जर बूढाहरू, मूर्ख आइमाईहरू, अहंकारी पठ्ठापठ्ठी, सिंगाने केटाकेटीहरू – उचाइ के हो, निचाई के हो, के थाहा छ तिनलाई? मेरो पालो थर्काएर ती सबैलाई तितरबितर पारें।

भोलिपल्ट अर्को अनिष्ट घटना घट्यो। भर्खरै रंगरोगन गरेको नेताको भव्य प्रवेशद्वारमा अनर्थ कुरा लेखिएछ – “यो नेताको घर होइन, चोरको चिहान हो।”े

मलाई, झन्झन् ज्यादा जङ चलेर आयो। नेताका चित्तको उदारता, हृदयको विशालता उनको निष्कलंक, निष्पाप चरित्र कसैलाई थाहा छ भने त्यो मलाई थाहा छ। अरूका के मेरै कुरा गरौं न। परचक्री पार्टीको सरकारलेम मलाई बाँझो कुनातिर मिल्काएको थियो। आफू सरकरामा छँदा नेताले मलाई भन्सारमा सरूवा गरिदिए। उनैले जोडबलले यसपाला मलाई पार्टी जिल्ला कमिटिको बैकल्पिक सदस्य पनि बनाइदिए। साँच्चै भनुँ भने मेरो क ल्याकत छ र? तैपनि उस्तै पर्दा उनी मसँग सल्लाह माग्छन्। यस्तो नेताको घरलाई चिहान भन्ने ? यस्तो नेतालाई चोर भन्ने ? आफैं चिहानमा पुरिनलायकको को हो त्यो चोर?

नेताका पक्षमा नारा लगाउन मेरो जिब्रो सल्बलायो। तर टोलमा एक्लै थिएँ, अलि डरडर लागेर आयो। साँझ परेपछि सुुटुक्क भट्टीभित्र पसें र तीन ट्वाक ठर्रा लगाएँ। मेरो आँट हलक्क बढ्यो। अनि टोल थर्काउदै नारा लगाएँ, हाम्रा नेता गु खाँदैनन्। हाम्रा नेता ढाँट्दैनन्। हाम्रा नेता कुरा फेर्दैनन्। यस्ता अनमोल नेताका लागि म ज्यान दिन तयार छु। नेतालाई चोर भन्नेहरू सबै चोर हुन्।

भोलिपल्ट बिहान टोलका हुल्याहाहरूले मेरो रामधुलाई गरे।

नेताको प्रवेशद्वार सामु उही भीड जुट्यो। अनि एकजना लठ्ठकले मलाई गिज्याउँदै भन्या, भित्र हेर त, तिम्रो नेता कसरी मुन्टो टेकेर उभिएको छ। यस्ता राष्ट्रिय विभूतिले मुन्टो टेक्यो भन्न लाज नमान्ने निर्लज्ज पशुहरू

मैलो दरो हडान लिएर छ्यासें, सुल्टो र उल्टोको छ्यानविवेक गर्न नसक्ने तिमीहरू पो पशु हौं।

पशुहरू एकाएक ममाथि खिए। तिनले मलाई लछारे र मलाई पछारे। बूढाबूढीहरूले मलाई टेक्ने लौराले ठटाए। केटाकेटीहरूले मेरो आङमा मचक्मचक् कुल्चे। पठ्ठापठ्ठीहरूले मलाई मारी भकुरे। आइमाइहरूले मलाई सिस्नो पानी लगाए, मेरो मुखमा थुके। म त्यत्रोबिधी कुटिंदा पनि भित्रका नेताले नकुट भनेनन्।

बल्लतल्ल ज्यान जोगाउँदै म उठें। सहिनसक्नु गरी जीउ दुख्दै थियो। मन हुनु विधि विरक्त भएको थियो। भित्र हेरें र उल्का देखें। नेताले त साँच्ची नै पो मुन्टो टेकेका छन् ? वा हे दैव ! मेरा आँखा फुटे कि नेताको मति सड्यो। त्यो के भो?
क्रुद्ध भीड प्रवेशद्वारा तोडेर भित्र पस्यो। भित्र भीडको कसैले उग्रस्वरमा नेतालाई भनेको मैले सुनें, मान्छेको जात खुट्टा टेकेर उभिने जात हो? तैले आफ्नै अतित बिर्सेर मुन्टो टेकिस्। तँ चोर, तँ पतित – तैले हामी मान्छेका निधारमा कलंकका टीका लगाइस्। अब तँ छैनस्।

यति भनेर भित्र नेतालाई भकाभक भकुर्न थाले।

मेरो पालो टोपी हातमा लिएर टाप कसें।

(स्रोत : बेदना वर्ष २६ अंक १)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.