बाल कथा : सेते कुमालको खुत्रुके

~विनय कसजु~Binay Kasaju

गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का छिराएर पैसा निकाल्ने कोशिस गर्थ्यो । धेरै बेर मेहनत गर्दा कहिलेकाहीँ एक दुई रूपैयाँको ढ्याक खस्थ्यो र ऊ दंग पर्दै मिठाई पसलतिर दगुर्थ्यो ।

गानदेवको घर तनहुँ जिल्लाको खैरेनी टारमा हो । उसको बाबु सेते कुमालले मर्स्याङदी खोलामा माछा मार्थ्यो । गानदेव पनि कहिलेकाहिँ बाबुसँगै खोलामा जान्थ्यो र बगरमा बसेर माछा बटुलेर फर्लुङमा राख्न बाबुलाई सघाउँथ्यो । फर्लुङभरि माछा भएपछि बाबु छोरा खैरेनी बजारमा जान्थे र भट्टीमा माछा बेच्थे । माछा बेचेको पैसाले बजारबाट दाल चामल, नुन तेल किनेर घर र्फकन्थे । सेते कुमालले आफूले कमाएको पैसामध्ये केही रकम खुत्रुकेमा खसाल्न कहिल्यै बिर्सन्नथ्यो । खुत्रुक्केमा संगालेको पैसाले गानदेवलाई पढाएर ठूलो मान्छे बनाउने उसको सपना थियो ।

सेते कुमाल हलो जोत्न निक्कै बलियो र सिपालु पनि थियो । जस्तोसुकै बदमास गोरु पनि सेतेले जोत्न थालेपछि बिज्याइँ नगरी खुरुखुरु जोत्थ्यो । अरुले तीन दिनमा सक्ने मेलो उसले दुई दिनमै सिध्याउँथ्यो । यसैले गाउँमा जसको खेत बारी जोत्न परे पनि सेतेलाई नै बोलाउँथे । सेतेको जाँड रक्सी, चुरोट आदि केही अम्मल थिएन । दही र मोही भनेपछि उसले हुरुक्क गथ्र्यो । दही भयो भने एक माना चामलको भात खान उसलाई अरु सितन चाहिँदैनथ्यो ।

गानदेव स्कुल जान थालेपछि सेतेले खुत्रुकेमा सकेसम्म धेरै रुपैयाँ खसाल्न थालेको थियो । कहिलेकाहिँ दशबीस रुपैयाँको नोट पनि खुत्रुकेमा राख्थ्यो । एक पल्ट खोलामा दश किलोको सहर माछा समातेको दिन उसले खुत्रुकेमा सय रुपैयाँको नोट राम्ररी पट्याएर राखेको थियो । उसको बैँक भने पनि भंडार भने पनि त्यही खुत्रुके थियो । खुत्रुकेको भरिलो आवाज सुन्दा ऊ दंग पथ्र्यो ।

यता खुत्रुकेको अर्कै बिलौना थियो । खुत्रुकेलाई कसैले पनि सजिलोसँग नेभेटाओस् भनेर सेतेले त्यसलाई कोठाको भित्तमा माथि टाँडमा राख्ने गथ्र्यो । कोठाको खोपा र भुइँमा गानदेवका खेलौना र किताब कापी कलम छरिएका हुन्थे । सेतेले बजारजाँदा भेटाएका र गानदेवले बटुलेका काठको ढिकी, जाँतो, प्लास्टिकका कुकुर, खरायो, मोटर, चरा, दम दिँदा उफ्रने भ्यागुता आदि पुराना खेलौनाहरू थिए । एकान्त पाउने बित्तिकै ती खेलौनाहरूले खुत्रुकेलाई जिस्क्याउँथे ।

राती घरका सबै जना सुतिसकेपछि खेलौनाहरू गफ गर्न थाल्थे । खोपामा बस्ने प्लास्टिककी सानी नानीको स्वर निक्कै मिठो थियो । उनले गीत सुनाउँथिन् । खेलौनाहरू सबैजसो पुराना र खुइलिएका थिए । तर तिनीहरूलाई पुरानो भएकोमा दुःख थिएन । तिनीहरू आफूलाई धेरै अनुभवी ठान्थे र यो कुरामा गर्व गर्थे । प्लास्टिकको कुकुरले आफूलाई देखेर साँच्चैको बिरालो डराएर भागेको घटना सुनाउँदा अरु खेलौनाहरू पेट मिचीमिची हाँस्थे । ती सबै खेलौनाका आआफ्ना कथा थिए र उनीहरू आफ्नो अनुभव सुनाउन सँधै सम्सन्थे । उनीहरू आफूलाई अरुभन्दा बाठो र काम लाग्ने, उपयोगी छु भनेर साबित गर्न खोज्थे ।

तर खुत्रुकेलाई उनीहरूले आफ्नो गफमा कहिल्यै सामेल गर्दैनथे । उनीहरू भन्ने गर्थे, “यो अल्छी खुत्रुकेको केही काम छैन । दिनभरि बसिरहन्छ । रुपैयाँ पैसा खाँदाखाँदा टुन्न मोटाएको छ । कुन दिन यसको भुँडी फुटछ । तर यो कसैको काममा आउँदैन । खानमात्रै जानेको छ यसले ।”

खेलौनाहरूको कुरा सुन्दा खुत्रुकेलाई निक्कै पीर पर्थ्यो । उसलाई पनि केही उपयोगी काम गरेर देखाउँजस्तो लाग्थ्यो । तर के गर्ने थाहा थिएन । बेलाबेलामा सेते कुमालले उसलाई हातमा लिएर गानदेवको भविष्य बनाउने कुरा गरेको सुन्थ्यो । त्यो सुन्दा उसलाई आफू कसैको लागि उपयोगी रहेछु भन्ने लाग्थ्यो । तर कहिले र कसरी उसको इज्जत बढछ भन्ने उसलाई थाहा थिएन ।

एक दिन गानदेव स्कुल गएको फेरि कहिल्यै फर्केन । सेतेको घरमा रुवाबासी चल्यो । खुत्रुके पनि निक्कै रोयो । अब उसलाई माया गर्ने मानिस पनि बाकी रहेन र उसको उपयोगिता पनि रहेन भनेर ऊ निक्कै दुःखी भयो । दर्घटनामा परेर गानदेवको निधन भएपछि सेते कुमाल धेरै दिनसम्म काममा गएन । खुत्रुके पनि धेरै दिनसम्म भोकै रह्यो ।

गानदेव नै नभए पछि खुत्रुकेको के काम ? सेतेले खुत्रुकेबाट पैसा निकालेर जग्गा किन्ने, गानदेवकी आमाको लागि लुगा गहना किन्ने अनि चार्डपर्वमा खर्च गर्ने विचार गर्यो । तर गानदेवकी आमाले खुत्रुकेबाट पैसा निकालेर खर्च गर्न मानिनन् । खुत्रुकेलाई देख्दा उनलाई आफ्नो छोराको सम्झना हुन्थ्यो । गानदेव नभए पनि उसको सम्झनामा अरूको भलो हुने काममा पैसा खर्च गर्नुपर्छ भन्ने उनको विचार थियो । आफूसँग दुईचार रूपैयाँ उब्रँदा उनले खुत्रुकेमै राख्ने गर्न थालेकी थिइन् ।

गानदेवकी आमाको बिचार सुन्दा खुत्रुके पनि मख्ख परेको थियो । अब उसले अरु खेलौनाको अगाडि आफूलाई उपयोगी सावित गर्ने बेला आएको थियो । यसो गर्न सकेको खण्डमा उसले पनि फूर्तीसँग उनीहरूको अगाडि छाती फुलाएर बातमार्न सक्ने थियो ।

त्यो अवसर चाँडै नै आयो । दुले गौँडाका गाउँलेहरूले यज्ञ गरेर धेरै पैसा संगालेर गाउँमै ठूलो अस्पताल बनाइ छाडे । अस्पताल सुरु हुने दिन गाउँमा चाडजस्तै भयो । गाउँलेहरूले फेरि मन फुकाएर अस्पताललाई चन्दा दिए । यही मेसोमा सेते कुमालले पनि आफ्नो जीवनभरिको कमाइ गानदेवको नाममा दान गर्ने निधो गर्यो ।

अस्पतालमा ठूलो समारोहमा चन्दादाताहरूले पालैपालो मंचमा गएर पैसा बुझाए । धेरै बेर पर्खेपछि सेते कुमालको पालो आयो । मंचमा गएर सभापतिको अगाडि टेबुलमाथि उसले खुत्रुके राखिदियो । खुत्रुके खोलेर पैसा गन्दा पचास हजार एकसय एक रुपैयाँ निस्क्यो । जीवनको आखिरी समयमा आफ्नो पसिना अस्पतालमा खन्याउन पाएकोमा ७५ वर्षपुगेको सेते कुमालको अनुहार खुशीले धपक्क बलेको देखियो ।

भोलिपल्ट छिमेकीले सेते कुमालको दानको खबर अखबारमा छापिएको कुरा घरमा आएर सुनायो । अखबारमा हलो जोतेको कमाइ अस्पताललाई भनेर सेतेले गरेको दानको तारिफ छापिएको रहेछ । छिमेकीले अखबार पढेर सुनाउँदा कोठामा भएका खेलौनाहरूले पनि यो कुरा सुने । उनीहरूको मनमा खुत्रुकेप्रति निक्कै सम्मान जाग्यो । खुत्रुकेलाई पनि अखबारको खबर सुनेर निक्कै खुशी लाग्यो । तर अखबारमा कहीँ पनि उसले यत्तिका बर्षम्म कसरी त्यति धेरै रकम संभालेर राख्यो भन्ने कुरा चर्चा नभएको देखेर उसलाई चसक्क दुख्यो ।

राती सबै जना सुतिसकेपछि खेलौनाहरूले खुत्रुकेलाई पनि आफ्नो गफमा सामेल गरे । उनीहरूले खुत्रुकेको धैर्य र सहने शक्तिको निक्कै तारिफ गरे । रित्तिएको खुत्रुके खुशीले हाँस्दा उसको अनुहार अँध्यारोमा पनि चम्कियो ।

भोलिपल्ट विहान गानदेवकी आमाले खुत्रुकेमा दुई रूपैयाँको ढ्याक खसालिन् र खुत्रुकेलाई टिका र माला लगाइ दिइन् ।

(स्रोत : Binaya Kasajoo’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.