~सन्तोष पौड्याल~
अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको छ। कति बेला पैतला मुसारिदिन्छ। गाह्रोसारो सोधिरहन्छ। प्युबिक हेयर उसैले काटिदियो।
‘छि छि छि, यी झाम्टा काट्नु पर्थेन?’ अनितालाई सेभिङ नगरी आएका आईमाई फोहरी लाग्थे। उनी गाली गर्थिन्। तिनीहरू मसिनो गलामा प्रस्ट्याउँथे। अनितालाई कारण पेश गर्नु परेन। मेरा श्रीमान घरमा हुनुहुन्न, पेट बढेकाले आफैं काट्न मिलेन भनेर। सायद उसलाई थाहा भएकोले नसोधेको होला।
उनलाई गर्वपिडाले निस्लोट पारेको छ। अन्जानमै मुखबाट दर्द फुत्किन्छ। ऐया…….. ऐया……….। अरु हुँदा हुन त उनी सजिलै भन्थिन् ‘कति कराउनु परेको। यस्ताले त बुढासँग सुत्दा सोच्नु नि।’ तर यहाँ उनलाई ज्वाप लगाउने कोही छैन। छन् त केवल माया गर्ने मात्र।
अहिले अस्पतालमा भर्ना भएकी दुई जिउकी आईमाई नर्स हुन्। एक वर्ष यता अष्ट्रेलियाको मेलबर्नमा बुढाको डिपेन्डेन्ट छिन्। समर रम्न आएको बेला गर्भ बसेछ। बुढाले भने -यतै बच्चा जन्माएर जाउ। उनलाई कुरा ठीकै लाग्यो। अनि बेतलवी बिदा मिलाएर यतै बसिन्। उनले टिचिङ हस्पिटलको कोठा नम्बर ३१ मा धेरै गर्भवतीलाई जाँच गरेकी छन्। र अब्ट्राटिक वार्डमा धेरैलाई आमा बन्न मद्दत गरेकी छन्। तर यता र उताको सिन धेरै फरक छ।
फर्स्ट ट्राइमेस्टर
एकबिहान उठ्नासाथ उनलाई बान्ता भयो। बुढा आत्तिए। केही दिन यता उनिहरूले विथड्रवल मेथड अपनाएका थिए। उनलाई शंका लाग्यो। किट ल्याएर जाँच गरिन्। पोजेटिभ। दुबै चिन्तित भए। क्युरेट गर्ने कि? सल्लाह गरे। बुढाले एकपटक घरमा सोध्ने विचार गरे। घरकाले पहिलो गर्भ फाल्नु हुन्न भनेपछि दुवैजना अस्पताल पुगे।
शुरुमा उनलाई एक नर्सले परामर्श गर्यो, शिष्ट र मधुर आवाजमा। त्यस्तो सत्कार त नेपालमा ठुलाबडाको भाग्यमा मात्र छ। नर्सले अर्को कोठामा पठायो। ‘हाए! आइ एम स्टिना, गाइनाकोलोजिस्ट।’ हात मिलाउदै डाक्टरले भनी। स्टिनाले अनितालाई नर्स हो भन्ने चिनेर त्यसो गरेकी होइन। यहाँका सबै स्वास्थ्यकर्मी यसरी नै पेश हुँदा रहेछन्। उसले सम्झाउदै भनी-एच सि जि हर्मोन बढेकाले प्रिग्नेन्सीमा बान्ता हुने गर्छ। यो नर्मल हो। गर्भावस्था भनेको असक्तता वा बिमार होइन। साकारात्मक चिन्तन, नियमित काम र हल्का ब्यायम तपाईं दुबैको स्वास्थ्यका लागि हितकर हुन्छ।
प्रसुतीसेवा अनिताले धेरैलाई दिइन्। आफूलाई पर्दा चाँही अलि फरक हुँदोरहेछ। अलि मात्र होइन धेरै नै। उनले सम्झिइन्।
‘कैले गर्भ बसेको?’ लाइनमा बसेकी महिलालाई उनले झ्याल भित्रबाट सोधिन्।
‘भर्खर- भर्खर हो।’ महिलाले लाज मानी।
‘ए भख्खरै यहीँ पाउने भयौ? खुरुक्क डेट भन न!’ आफूभन्दा धेरै पाकी महिलालाई उनले च्याँठ्ठिदै सोधिन्।
‘खै त्यस्तै तीन चार हप्ता भो कि?’ महिला रातोपिरो भई।
उनले स्याम्पल ट्युबमा पिसाब भरेर आउन भनिन्। अर्की आईमाईले ऊ छेलिई। भित्र ओजन लिने ठाउँमा अर्की महिला सरासर आई। अनिताले थर्काइन् ‘तिमीलाई कस्ले आउन भन्यो यता?” आईमाई बाटो लागी।
अनिताको प्रशासनको सबैले खुलेर तारिफ गर्छन्। उनी मात्र हुनुपर्छ बिरामीको जति चाप पनि सजिलै टर्छ। बिरामी र भिजिटर तह लगाउन उनी खप्पिस छन्। हुन त अरु नर्स पनि कम होइनन्। नर्सको मात्रै के कुरा। डाक्टर, नर्स, गार्ड, एटेन्डर सेतो कोट लागाउने सबै।
तर यहाँ सबै राम्रो। भवन, डाक्टर, नर्स सबै। कस्तो मिठो बोली-बचन। हाम्रोमा त बिरामी र भिजिटर नै गतिला भए पो त? उनले प्यासेन्ट पार्टीलाई दोष लगाइन्- कस्तो इरिटेट पार्छन्।गवार मात्रै अाउछन्, सरकारीमा।
‘मलाई फोलिक एसिड खाँदा बढी बान्ता भयो। नखाए हुन्न?’ एक महिलाले सोधेकी थिई उनलाई।
‘अनि तिमीले नखाएर मैले खानु त?’ अनिताले सातो खाइन्।
‘बोल्ने तमिज छैन? अाइरन त हो नि नेचुरल सोर्सबाट खाएर हुँदैन?’ महिला जब्बर परीछ। उल्टै थर्काइ।
‘यस्ता जान्ने बुझ्ने ले घरमै पाउनु नि’ अनिताले भनिन्। आईमाई कालो मुख बनाएर फर्की। अनितालाई स्मरण भयो। कुनै त जान्ने अाउँछन्। मेडिकल टर्म पनि थाहा भएका। ‘ह्या जो जे भएनि के मतलब? कतिलाई बुझाएर सक्नु?’ तर उनलाई स्टिना र नर्सले हरेक भेटमा राम्ररी सम्झाएर पठाउँछन्। हरियो सागमा प्रयाप्त अाइरन हुन्छ। जति गाढा उति धेरै। नेचुरल फुडबाट लिए ट्याबलेट नखाए नि हुन्छ। तर नियमित हुन्न कि? भनेर मात्र खाने हो।
सेकेन्ड ट्राइमेस्टर
चार महिना लाग्दा उनी खाइलाग्दी देखिन थालिन्। लुगा टमक्क मिल्न थाले। छाती पुष्ट देखिन थाल्यो। पहिला जस्तो बान्ताले सताउन कम भयो। बरु छाती अलि चर्केजस्तो लाग्यो। उनलाई थाहा थियो, स्तनको आकार बढेकाले यस्तो भएको हो। आफैं भारी हुँदाको अनुभव फरक हुँदो रहेछ। अरुलाई हुँदो हो त उनी सजिलै भन्थिन्-दुःख भयो भन्नेले किन रहर गर्ने नि? अलिअलि त सहनै पर्छ। उनलाई घर बस्न मन लागेन। आफ्नो भन्दा देख्दै नदेखेको सन्तानको चिन्ता थियो उनलाई। केही हुने पो हो कि? सानो कुरामा अनेकथरी सोच्ने भएकी थिइन् उनी। लगभग एन्जाइटी नै भै सकेको थियो उनलाई। उनी अस्पताल पुगिन्।
स्टिनाले प्रेमपुर्वक परामर्श दिई। ठुलो साइजको ब्रा लगाउन भनी। देब्रे कोल्टो परेर सुत्न भनी। पेटको आकार बढ्दै जाँदा आउने धर्साहरू कम गर्न चिल्लो लोसन लगाउन भनी। रक्तप्रवाहको वृद्धिले नाक र म्युकस झिल्लीहरू कोमल र फुल्न सक्ने हुँदा नुनपानीले सेक्न सल्लाह दिई। एन्जाइटी कम गर्न काममा व्यस्त हुने, म्युजिक सुन्ने र योगा गर्ने उपाय बताई। अनितालाई धेरै ढाडस मिल्यो।
नेपालमा यस्ता कुराको कसले पो हेक्का राख्छ र? एन्जाइटी भन्ने त कुनै पनि गर्भवतीलाई थाहा हुन्न होला। उनले सोचिन् -पढे लेखेकाले त जानेका होलान नि। हुन त अरु पढेका लाई मेडिकल नलेज कसरी होला र? ह्या जे होस् मैले मात्र गरेर कती नै हुन्छ र?
उनले टिचिङ अस्पतालमा आफ्ना बिरामीलाई यसरी हेरचाह कहिल्यै पनि गरेकी छैनन्। वा उनको सम्झनामा छैन। गर्दै नगरेको कुरा सम्झनामा होस् पनि कसरी? हुन त सरकारीमा यस्तै त हो नि। पैसा पनि कम लाग्छ। यहाँ जस्तो महँगो कहाँ छ र? महँगोमा त नेपालमा पनि राम्रो सेवा हुन्छ नि। बजारमा पनि त्यही त हो, धेरै पैसा तिरे राम्रा समान थोरै तिरे ठीक्कका। उनले बिरामीलाई ग्राहक र स्वास्थ्य सेवा लाई समानसँग तुलना गरिन्। समान ब्यथाका धनी बिरामीले राम्रो सेवा पाउने र गरीबले सरकारीमा नराम्रो। जे होस् आफ्नो यो तर्क उनलाई चित्तबुझ्दो लाग्यो।
थर्ड ट्राइमेस्टर
उनको पेट निकै बढेको छ। खाना खान पनि समस्या हुन थाल्यो। थोरैले पनि अटसपटस हुन्छ। तल्लो कम्मर दुखेर असह्य हुन्छ। नसहेर सुखै छैन। च्वाइस भए पो दुख्यो भन्नु। पिसाब पनि छिन-छिनमा लाग्छ। तकियामा राख्दा पनि फुलिएको खुट्टा बिसेक भएको होइन। मुटु पोलेर केही खान हुँदैन।
उनलाई यी सबै कुराको इलाज थाहा नभएको कहाँ हो र? सबै कण्ठ छ। नर्सिङ पढ्दा उनी क्लासकी प्रथम हुन्। टिचिङमा पनि एक नम्बरमै नाम निकालिन्। पढेको भुले पनि गर्भवती आईमाईहरूलाई दिनहुँ सम्झाउँदा उनलाई मुखाकार छ। उनलाई लाग्थ्यो -किन एकै किसिमका कुरा सोधेर हैरान पार्छन् यी आईमाईहरू? उनलाई चिढ्चिढाहट हुन्थ्यो। अहिले जान्दाजान्दै पनि आफ्नो फैसला चित्तोबुझ्दो लाग्दैन उनलाई। किताब हेर्छिन् र गुगल गर्छिन्। केही फरक भेटिन्छ। अब कुनलाई मान्ने? द्वुविधासँगै चिन्ता बढ्छ। नर्स वा स्टिनाको अनुमोदनले मात्र मन शान्त हुन्छ। तर स्टिना र नर्स कहिल्यै चिढिदैनन्। उनको स्वागतमा खुसी देखिन्छन्। सरासर इमान्दर जवाफ दिन्छन्। हरेक प्रश्नमा हाँस्छन् र हाँसेरै उत्तर पेश गर्छन्। कसैलाई चेताउने नियत पटक्कै छैन उनीहरूमा।
पेट चल्न छाड्छ, पिर लाग्छ। बच्चाले किक गर्छ। उनी प्रशन्न देखिन्छिन्। आँखामा बच्चाको मुहार बनाउँछिन्। कोख सुम्सुम्याउँछिन्। लाग्दैन, उनको शिशु भित्र छ। उनलाई लाग्छ, कङ्गारुजस्तै आफ्नो बच्चालाई पासमा राखेकी छन्। आफ्नो मुटुले भन्दा शिशुको ढुकढुकीले न्यानो दिन्छ।
उनले एकपटक बच्चाको ढुकढुकी सुन्न आईमाईको पेटमा डोप्लार राखिन्। ठन्डी मौसम। ‘आत्था कस्तो चिसो’ महिलाले भनी। स्वाङ पार्ने महिलादेखि उनलाई रिस उठ्यो। पिभी चेक गर्न लुगा खोलेर बेडमा बस्न लगाइन्। महिला कपडा उतारेर बेडमा बसी। उनी धेरै बेर गइनन्। महिला कुरी बसी। पन्ध्र मिनेट पछि उनी गइन्। ‘चिसो भको छैन बैनी?’ उनले ब्यङ्ग गरिन्। ‘अली अली।’ कठ्याङ्ग्रिएका निला पैताला र काँडा उम्रेका गोडालाई ढाँटेर महिलाले जवाफ फर्काइ। महिलालाई ठेगान लगाउन पाएकोमा उनले गर्व गरिन्। स्टाफलाई ब्रेकमा सुनाइन्। सबै गलल्ल हाँसे।
उनलाई बोध भयो ‘जान्ने छु र त परिस्थितिले अज्ञानी जस्तो बनाइरहेछ मलाई। मनमा दस थरी तर्क उत्रिन्छ। एक हेरफेरमा जिज्ञासाले हजार हाँगा हाल्दछ। स्टिना नगुहारी सुखै चल्दैन भने ति अबोध ग र्भवतीले मलाई नसोधेर कसलाई सोधुन् त? सबैले तारिफ गर्ने उनको भूमिका आफैंलाई खोटो लाग्यो। आमाहरूलाई माया नगरेकोमा उनलाई पछुतो भयो। उनले सोचिन्- आमालाई माया नगरी आमाभित्रको बच्चालाई कसरी माया गरिन्छ? अनी बच्चा त सबैको उस्तै हो। मेरो जस्तै। गर्वमा। उनिहरू माथिको बेवास्ता मेरै शिशु माथिको अन्यायजस्तै हो। यो अपराध हो।
***
भर्ना भएको आठ घण्टामा बच्चा जन्मियो। नर्मल डेलिभरी। नेपाल हुँदो हो त सि एस गरिसक्दा हुन्। उनका तर्कना अझै निख्रेका छैनन्। नर्सले तीन किलो दुई सय दस ग्रामको बच्चा जन्मेको सुनायो। हेल्थी बेबी। बच्चालाई छातीमा टाँसिदियो। उसले तीन जनालाई बधाई दियो। आमा, बच्चा र बुवालाई। अनिताको मुहार प्रसन्नताले फक्रियो।
छ महिना पछि उनी काममा फर्किइन्। अस्पतालमा थुप्रै आकारका अनुहार देखिन्। थुप्रै वर्णका मुहार देखिन्। तर सबैका चेहेरामा आमा बन्ने अभिलाषा र सन्तान प्रतिको प्रेम मात्रै थियो। अरु केही थिएन। उनिहरू चिन्तामा थिए। जिज्ञासामा थिए। अनेक थरी प्रश्नमा थिए। किनकी उनिहरूको कोखमा हुर्किदो सन्तान थियो। नर्सलाई चिढाएर धेरै जान्ने बन्नु थिएन उनिहरूलाई। लोकसेवा पास गर्ने अपेक्षा थिएन। केवल आफ्नो सन्तानको खबर बुझ्न भेला भएका थिए।
कोही काम छोडेर आएका थिए। कोही काम गरेर आएका थिए। कोही शहरकै थिए। कोही सुदुरका थिए। त्यहाँ भाकल गर्ने पनि नभएका होइनन्। ब्रत बस्ने पनि नआएका होइनन्। अनिताले विचार गरिन् ‘विचराहरू तिर्थ सम्झेर आउँछन् अस्पताल। विधाता सम्झन्छन्, सेतो कोट लाउनेलाई। अनि हाम्रो तुच्छ वचनले कति पोल्दो हो? कती घोच्दो हो? ‘
उनले प्रसुति सेवाग्रही हेर्ने दृष्टिमा परिवर्तन ल्याउने सोच बनाइन्। उनमा यो सोच अष्ट्रेलिया बसेर आयो वा आमा बनेर आयो, उनी द्वुविधामा छन। तर प्रण गरेकी छन्- सबै आमाहरूलाई आमाका सबै बच्चालाई माया अनि सबै मान्छेलाई माया गर्ने।
प्रकाशित मिति: शनिबार, पौष ४, २०७२
(स्रोत : Setopati)