~गिरीप्रसाद बुढा~
अनौठो यो ब्रहमाण्ड
अनन्त छ नि भनिन्छ
यसको शुरु कहाँ हो
कुन विन्दुमा सकिन्छ !
।१।
रहस्य मात्रै होइन यो
संसार बोधगम्य छ
यो धर्ति भित्र मान्छेको
अस्तित्व सुन्दर रम्य छ
।२।
पृथवी हुनु पूर्व नै
शुरुमै थियो विज्ञान
मान्छेले पछि बनायो
“ईश्वर” तथा “भगवान”
।३।
मान्छेले आफै कुनै दिन
ईश्वरको चिहान खन्ने छ
सृष्टीको साक्षी त्यस पछि
विज्ञान मात्रै बन्ने छ
।४।
शुरुमा थियो विश्वमा
त्यो वर्गविहीन समाज
मान्छेले आफै जन्मायो
उचो र निचो लौ आज
।५।
ध्र्तिको पूर्व इतिहास
मतृसत्ताले चल्दथ्यो
हरेक पुरुष त्यो बेला
नारीलाई श्रद्धा गर्दथ्यो
।६।
मान्छे त्यो आफै गयो नि
पितृसत्ताको बाटोमा
नारी पुरुषको बीचमा
विभेद रोप्यो माटोमा
।७।
मान्छेले आफै कुनै दिन
मेट्ने छ विभेद सरासर
एक दिन् त पक्कै हुने छ
मानव जाति बरावर
।८।
धर्तिको पहिलो मानव
कुन होला आमा पुकार्ने
विचित्र छ यो प्रकृति
सृष्टीको दैलो उघार्ने
।९।
यही छ हावा त्यो पानी
यहि छ आगो खरानी
यही छ मान्छे जाती त्यो
सँगसँगै अनेक प्राणी
।१०।
सर्व प्रथम धर्तिमा
आमा बन्ने को होलीन ?
ति बनि आमा शुरुमा
कुन शिशुलाई जन्माइन ?
।११।
आमाहरुका ताँतीमा
एउटी आमा आएर
यो जन्म दिइन् मलाई
अपार माया लाएर
।१२।
महलको शिशु भा’भए
महलकै दादा हुँदा हु
घोचेर दुःखी जनलाई
क्रान्तिमा काँडा हुँदा हुँ
।१३।
पछुटो छैन मलाई
जन्मेर गरिब कुलमा
बासना हुन्छ आखिरी
फक्रेको सानै फुलमा
।१४।
यो जन्म दियौ तिमीले
संसारै देख्न म पाए
काँडाको बीच फुलेर
आस्थाको गीत म गाए
।१५।
तिम्रै खुनको बलले
हजार चोट सहें म
धन्य आमा तिमीलाई
तिमी भयौ र भएँ म
।१६।
२. वाल्यकालको अनुभूति
इलमी मेरी यि आमा
पसिना धारा बगाउने
माली बनेर बारीमा
आस्थाका फुल सजाउने
।१७।
मेरी यि दुःखी आमाको
श्रममा ठुलो भक्ति छ
आस्थाको फूल फुलाउने
यिनीमा असिम शक्ति छ
।१८।
यिनै आमाको काखमा
हुर्केर धर्ति म डुले
यिनै आमाको आँखामा
आस्थाको फूल भइ फुले
।१९।
भन्थिन् रे मेरी आमाले
चाहिन्न मिठो रसिलो
भोकै र प्यासै हुँदा नि
हुन्थिन् रे सधै हँसिलो
।२०।
वहाना कुनै नपारी
हजारौ काम सक्थिन् रे
विरामी जिउ भए नी
कर्तब्य पथमा बढ्थीन् रे
।२१।
प्रशव व्यथा हुँदा नि
थिइन रे साहुको मेलामा
गोठको ओट मिल्यो रे
म जन्मदाको बेलामा
।२२।
जन्मेर रुन थाल्दा म
पीडामा आमा थिइन् कि
सुकेको ओठ भिजाउँदै
आँसुको घुट्को पिइन् कि
।२३।
पेटमा राखी भ्रुणलाई
लेक र बेसी डुलाइन्
आखिरी आफ्नै काखमा
प्रीतिको फूल फुलाइन्
।२४।
गर्भमा राखी जोगाउने
आमाको महान् क्षमता
देखेर आज दंग छु
उनैको अपार ममता
।२५।
आमाको छात्ति भरी त्यो
दुधको खानी थियो की
अमृत रस चुसाउने
आमाको बानी थियो की
।२६।
आमाको दुध चुसेर
उनैको काख विगार्ने
कसरी बनूँ असल म ?
संसारै सारा सिंगार्ने
।२७।
प्हिलो प्रथम धर्तिमा
आमाकै दुध चिने हुँ
दुधको भारा तिर्न त्यो
अग्रिम लक्ष लिने छु
।२८।
हँसाउँदै र खेलाउँदै
काखमा राखी पालिन् की
कहिले काही आवेगमा
भुँइमा पनि फालिन् की
।२९।
रोए कि हाँसे थाहा छैन
कोक्रोमा पिङ खेलेर
रमाए हुँला सँधै म
आमाको मुहार देखेर
।३०।
यता र उति आमाले
दोकोमा बोकी घुमाउथिन्
दन्ते कथा सुनाउँदै
मझेरीमा झुङाउथिन्
।३१।
आमाकै पहिलो देनले
यो तोते बोली सिकेर
उनैको औला समाई
पहिलो पाइला हिडेर
।३२।
सुख र दुःख जगतको
सँगाल्न थाले आफैले
जीवन जिउने पद्धति
अँगाल्न थाले आफैले
।३३।
पिँडीमा बसि आमाले
मुर्चुङ्गा बाजा बजाउँदा
उचाली मलाई आमाले
हत्केला माथि नचाउँदा
।३४।
रोदन रोकी तत्कालै
मुस्कान भर्थे ओठमा
बाख्राको पाठो उफ्रदा
अचम्मै पर्थे गोठमा
।३५।
क्षितिजको रेखा देखेर
आकाशै छुन मन लाग्थ्यो
क्षितिजमा जब म पुग्थे
माथिको आकाश झन् भाग्थ्यो
।३६।
आमाको काँधमा चढेर
आकाशको तृष्णा मेताउँथे
आमाकै न्ययानो काखमा
धर्तिको माया भेटाउँथे
।३७।
झरीको बेला आमाले
स्याँगुले छोपी बचाउथिन्
कोदो बारीमा लगेर
गड्यौला समाई हँसाउ्थिन््
।३८।
मेला र पर्व गाउँको
बिहेमा पनि डुलाउथिन्
तिहारको बेला आमाले
सयपत्री फूल फुलाउ्थिन्
।३९।
कञ्चन पानी धारामा
गुँरास फूल नजिकै
आमाले नुहाईदिँदा त
प्रफुल्ल हुन्थे म निकै
।४०।
कुलोको सानो खाल्डोमा
धमिलो पानी हेलिन्थ्यो
त्यही धमिलो पानीमा
मजाले पौडी खेलिन्थ्यो
।४१।
आमाले पारी पाखामा
ईन्द्रेणी आ’को देखाउँदा
साह्रै नै खुशी भइन्थ्यो
चराको गुँड भेटाउँदा
।४२।
विरामी हुँदा म सानु
गाउँकै झाक्री बोलाउथिन्
सन्तानको दुःख पीडामा
एकहोरो उनी टोलाउँथिन्
।४३।
जीवनको खेल खेलिन्थ्यो
आमाको सुख दुःखमा
भोकाउँदा खाली हेरिन्थ्यो
आमाकै मुखमुखमा
।४४।
अलि म ठुलो भएर
काखमा जान लजाएँ
आमाको माया सँधैलाई
मुटुमा लगि सजाएँ
।४५।
कोक्रो र डोको आमाले
दलिन माथि राखिन् रे
सन्तानको माया साँचेर
दलिन्मै उनी हाँसिन् रे
।४६।
रहर जाग्यो आमाको
स्कुल मलाई पठाउने
सपना उनको थियो त्यो
छोरालाई महान् बनाउने
।४७।
आमाले स्कुल जा भन्दा
नजान भनि रुन्थें म
आमाले मावलो लैजाँदा
खुशिले दङ्ग हुँन्थें म
।४८।
खुर्सानी बोटै उखेल्ने
चक्चके साह्रै भएँछु
आमाको आँखा छलेर
काफलै खान गएँछु
।४९।
काफल टिप्न के सक्थें
अग्लो र ठूलो रुखको
रुखको काँपमा अल्झेर
ओर्लन ठुलो दुःख भो
।५०।
आमाले आई त्यै ठाउँमा
गालामा हानी रुवाइन्
पाकेको काफल टिपेर
उनैले फेरी खुवाइन्
।५१।
मामाको घर सुटुक्क
खाएर टन्न सुतेछु
लाजले भए भुतुक्क
ओछ्यानै माथि मुतेछु
।५२।
सवेरै उठी आमाले
पलङको तन्ना उठाइन्
बिहानी लाली किरणमा
धोएर ओछ्यान् सुकाइन्
।५३।
ममाको कोठा पसेर
टि.भीमा कार्टुन हेरियो
कम्प्युटर समेत खोलेर
रमाईलो खेल खेलियो
।५४।
ममाको घर आँगनमा
कलले लुगा सिएको
लगाएँ नयाँ त्यो लुगा
मामाले मलाई दिएको
।५५।
छुट्टिने बेला मामा र
आमाको अाँसु देखियो
थहा छैन माइती देशको
रहस्य त्यहाँ के थियो
।५६।
फर्कदा बीच बाटोमा
असिना गेडी झरेको
देखियो कठै ! चरीलाई
खोलीको तिरमा मरेको
।५७।
झ्याउझ्याउ गर्दै झाडीमा
झ्याउकिरी पनि करायो
बाटैमा कोरी भ्यागुतो
उफ्रदा होशै हरायो
।५८।
उकाली चढी थाकियो
पुर्णिमा लाग्ने साँझमा
यो वालो मनै आत्तियो
जंगल झाडी माझमा
।५९।
फर्केर घर बेलुका
आमाले ढिंडो पकाइन्
गुन्द्रुक झोल राखेर
खा बावुुुु…….. भनि फकाइन्
।६०।
विहानै उठी आमाले
बिरह गाइन जाँतोमा
मामाको माया झन् बढ्यो
घरको ढिँडो आँटोमा
।६१।
करोडौं तारा सँग सँगै
एउटा ठुलो जुन मामा
सन्तानलाई मुटु ठान्ने ति
धर्तिकै ठूला हुन् आमा
।६२।
भइन्छ भन्छन् टुहुरो
साथमा आमा नभए
पुकारा गर्छु त्यसैले
हे आमा ! टाढा नगए
।६३।
आमाकै न्यानो हातमा
बित्यो है मेरो बालापन
सन्तानको निम्ति निरन्तर
फुलीनै रहोस् आमाको मन
।६४।
(गिरीको प्रकाशोन्मुख खण्डकाव्य “आस्थाका फूलहरु” बाट)
– गिरी राप्ती साहित्य परिषद रुकुमका अध्यक्ष हुनुहुन्छ ।
(स्रोत : RealKhabar)