उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । साँझहरु प्रेमिल लाग्नथालेका थिए । त्यस्तै डुब्नलागेको घामलार्ई भोलि उदाउन आग्रह गर्नथालेकी थिई ऊ । फूलहरुले ढपक्कै ढाकेका पैयुँका छायामुनि पल्टिएर सुन्दर प्रेमका कविताहरु लेख्नथालेकी थिई ऊ । पुतलीको चञ्चलताहरुदेखि इष्र्या गर्नथालेकी थिई । उसका आँखाहरुमा मैले प्रेमका अंकुरहरु टुसाएको देखेको धेरै भएको थिएन ।
हो, केही रातमात्र भएको थियो उसले दुःस्वप्न र ऐठनलाई रंगीन सपनाहरुले प्रतिस्थापन गरेको । आशाका कुराहरु गर्नथालेकी थिई ऊ । मेरा प्रत्येक न्याना स्पर्शहरुको प्रतिक्रियास्वरूप न्यानो आलिंगनको उपहार दिनथालेको धेरै भएको थिएन । तर त्यो धेरै लामो भएन । प्रेमदिवसको रात मेरी प्रेमिकाले आत्महत्या गरी । त्योभन्दा पहिले ऊ केवल जिउँदो लास थिई र अन्ततः ऊ फेरि लास नै बनी । सारा सपनाहरुको चिहान बनेको उसको छातीभित्रको स्थिर मुटु सायद कहिल्यै चिसो भएन । त्यो साँझ अरु के भयो त्यो भन्दै गरौला तर पहिले हाम्रो प्रेमसम्बन्धको बारेमा केही बताउने अनुमति चाहन्छु :
0-0-0-0-0-0
घामले विस्तारै विदा लिइसकेको समय थियो त्यो । आर्यघाटमा एक किशोरीको लास जलिरहेको थियो । आर्यघाट निकै व्यस्त थियो । हुलका हुल मलामीहरु काँधमा लास बोकी आउँथे, तिनलाई चितामा सुताउँथे अनि आगो झोसेर शोक मनाउँथे । तिनका आफन्त कोही रोइरहेका हुन्थे त कोही धार्मिक रीति पुर्याउने कर्ममा लागिपरेका हुन्थे । जे होस् मचाहिँ त्यो अज्ञात किशोरीको शवदहन हेर्दै ‘कमान्डर दैनिक’को वर्गीकृत विज्ञापनमा रोजगारीका अवसरहरुमा रेजा लगाउँदै थिएँ । त्यो जलिरहेको लास एक किशोरीको हो भन्ने कुरा एक हुल अर्का किशोरीहरुको सम्वादबाट सुनेको थिएँ । ती किशोरीहरु सायद त्यो ’फायर सावर’ लिइरहेकी किशोरीका साथी हुँदा हुन् ।
एक हुल विदेशी र स्वदेशी पर्यटकहरु आधुनिक क्यामेराले ती दृश्यहरु कैद गर्दै थिए । मृत्यु कसैको लागि पीडा त कसैको लागि तमासा बनिरहेको त्यो दृश्य आर्यघाटलाई बिल्कुलै नयाँ लाग्दैन ।
‘मृत्यु अजीव हुन्छ है ?’ म बसेको बेन्चको रिक्त स्थान ओगट्दै एक अपरिचित नारी बसी । उसको आवाज मेरो कान नजिकै गुन्जिएको थियो । मैले उसको अनुहार हेर्न जरुरी सम्झिनँ, न त कुनै प्रतिक्रिया दिन नै आवश्यक ठानेँ ।
‘सिगरेट पिउनुहुन्छ ?’ उसको आवाज दोस्रोपल्ट सुनेँ मैले । सूूर्य चुरोटको बट्टा उसले मतिर फर्काई । मैले धन्यवाद भनेर एउटा चुरोट ओठमा च्यापेँ । मेरो चुरोटको बट्टा रित्तिएको अवस्थामा यो निकै लोभलाग्दो आग्रह थियो । मैले नकारिनँ । “तपाईलाई मृत्यु अजीव लागेको कुरा मलार्ई बडो अजीव लाग्यो”, मैले भनेँ । ऊ फिस्स हाँसी । ठाउँ र परिस्थितिको हिसाबमा उसको हाँसो मलार्ई बिल्कुल अर्थहीन, कटाक्षपूर्ण र वाहियात लाग्यो ।
उसले तर्क प्रस्तुत गरी, ‘हेर्नुस् महाशय ! जब एउटा नवजात शिशुले यो संसारमा पहिलोपल्ट आँखा खोल्छ, ऊ रुन्छ । कुनै पशु या पन्छी जन्मँदा रोएको देख्नुभा’छ वा कतै सुन्नुभा’छ ?’ कुुतर्कको अर्को उदाहरण पेस गरी उसले तर कुरा पूरा सुनेर निष्कर्ष गरेँ । मेरो अनुहार कुनै ठूलो प्रश्नवाचक चिह्नजस्तो देखिएको हुँदो हो त्यसबखत । सिगरेटको कस तानेर ऊ आर्यघाटमा जलिरहेका लास हेर्दै बोल्नथाली –
“जब एउटा शिशु जन्मिन्छ सबैभन्दा पहिले ऊ रुन्छ । उसको रुवाइले सबैभन्दा पहिले उसकी आमा हर्ष समेट्न नसकेर रुन्छे । हो, आमा पनि रुन्छे तर उसको आँशु खुसीको हुन्छ । उसको बाऊ जुँगामा ताऊ लगाएर हाँस्छ । सबै खुसी नै खुसी हुन्छन् । बधाईहरु आदानप्रदान हुन्छ । उत्सव मनाइन्छ । तर यो उत्सवको हिस्सा ऊ कहिल्यै हुँदैन । ऊ त केवल एक दुर्घटनाको शिकार भएको हुन्छ र त्यो दुर्घटना हो – जन्म । एक पुरुषको बाबु बन्ने पुरुषत्वको सामथ्र्य र एक नारीको आमा बनेर दुनियाँलाई म बाँझी छैन भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियाको शिकार बन्छ – एक शिशु । “
उसको कुरा निकै क्रूूर थियो । उसका प्रत्येक शब्दहरु हजम हुनेखालका थिएनन् । तैपनि आफैँलाई यातना दिँदै भए पनि उसलाइ सुनिरहेको थिएँ । सुन्नु मेरो बाध्यता थियो र सुनाउनु उसको । ऊ अगाडि बढी – “सायद जन्मसँगै एउटा दौड सुरु हुन्छ । जिन्दगीको या मृत्युको ? त्यो तपाईँको रोजाइ । तर ऊ फेरि पनि मृत्युतिरै बढिरहेको हुन्छ । त्यो दौडमा तपार्इँ पनि हुनुहुन्छ र म पनि छु । त्यो जलिरहेको लासका आफन्त पनि त्यही दौडमा छन् : मृत्युसम्मको । तैपनि ती रोइरहेछन् तर जो लास बनेको छ त्यो कति शान्त छ, कति आनन्दित छ । के कुनै कुराले उसको शान्ति भंग गर्नसक्छ ? उसका सारा गुनासा, समस्या र पीडाहरुको निदान भएको छ तर यो उत्सवमय घडीमा संसार आँशु बगाउन व्यस्त हुन्छ । अनि छैन त मृत्यु अजीव ?”
आफ्नो बयान सिध्याएर ऊ मलाई हेरिरहेकी थिई । मानौं ऊ मेरो प्रतिक्रिया सुन्न चाहन्छे । मैले भनेँ, “तिम्रो कुराहरुमा केवल तर्क छ । तर त्यसमा कुनै मानवीय संवेदना छैन । के संवेदनाविना मान्छे मान्छे हुन्छ र ?” उसले चुरोटको ठुटो भुइँमा ठोसेर भनी– “मलाई हेर न, के म मान्छे हैन ? मसँग मात्र तिम्रोजस्तो भावना, संवेदना छैन, सपना र आकांक्षा पनि छैनन् र सौखको रुपमा म चिता जलेको हेर्न मन पराउँछु । तर पनि म छु… ठीक तिम्रो सामु । के म मान्छेजस्तो लागिनँ तिमीलाई ? तर जब तिम्रो मान्छे हुनुको परिभाषाभित्र पर्ने सबै तत्वहरु मसँग थिए, तब मेरो श्वास पनि मेरो निमित्त थिएन । जीवित हुनुको आदत थियो तर त्यसमा आत्मा थिएन । “
उसले फेरी उद्घोष गरी – “जिउदो हुनु हाम्रो आदत मात्र हो, किनकि मृत्युपश्चात्को अनुभव सुनाउन कोही फर्किएर आएको छैन । नत्र यहाँ जन्मिनेभन्दा मृत्यु रोज्नेको संख्या भयानक ठूलो हुने थियो ।
आफ्नो कुरा सिध्याएर ऊ मलीन साँझको तामसी धूूवाँसँगै विलीन भई । ऊ न आउँछु भनेर आएकी थिई, न जान्छु भनेर विदा भई । र यो पनि निक्र्योल थिएन कि ऊ भोलि आउली या नआउली । मसँग प्रश्नका भकारीहरु थिए तर उत्तरहरु बोकेर ऊ फरार भई । आजको साँझ अजीव अजीव कुराहरु सुनेर बित्यो तर जति अजीव त्यो आइमाई थिई, त्यति अजीव उसका कुराहरु थिएनन् ।
0-0-0-0-0-0
अर्को दिन हाम्रो औपचारिक परिचय भएको थियो । प्रतीक्षा बताएकी थिई उसले आफ्नो नाम ।
‘यो मूूर्दा पोलेको हेर्नुबाहेक के काम गछ्र्यौ तिमी ?’ मैले सोधेको थिएँ ।
उसले हाँस्दै भनकी थिई, “म वेश्या हुँ । ” यसो भनिरहँदा उसको अनुहारमा किञ्चित पनि संकोच र डर थिएन । न त उसका नजरहरु नै झुकेका थिए । बरु लाग्थ्यो – उसलाई वेश्या हुनुमा केही ग्लानि छैन ।
“अनि तिमी ?”
“म एक शिक्षित बेरोजगार ।”
मैले असहज हाँसो हाँसिदिएँ फिस्स । मेरो बाध्यता । सायद मेरो हाँसोमा प्रस्टसँग पढ्नसकेकी हुँदी हो ।
“म पनि शिक्षित वेश्या हुँ । ” उसको भनाइमा मेरो निम्ति कटाक्ष थियो वा सहानुभूति मैले बुझ्नसकिनँ । “तिमी केटी हुन्थ्यौ भने हामी एउटै पेसा गर्दा हौँ सायद ।” उसले भनी ।
हाहा…..!! मैले हाँसो थाम्नसकिनँ । ऊ पनि जोडजोडले हास्नथाली । तर जुगले ‘जिगोलो’ जन्माइसकेको कुराबारे हामी दुवै वाकिफ थियौ ।
ऊ वेश्या हुनुभन्दा पहिले कसैकी श्रीमती थिई । एक अवसादग्रस्त श्रीमती । यद्यपि उसलाई उसको निजी जिन्दगीसँग कुनै गुनासो थिएन । र खास कौतूूहलता मलाई पनि थिएन । जे होस् ! उसले मसँग आफ्ना कथाव्यथा बाँड्ने हिम्मतको जुगाड गरिसकेकी थिई ।
“मेरो डिप्रेसनको कुनै उपचार थिएन र मैले पाँच पटकसम्म असफल आत्महत्याको प्रयास गरेकी थिएँ । “
यसो भनिरहँदा उसको मुहारको आभामा गुलाबी रंग पोतिएको थियो । आर्यघाटको मूूर्दागन्ध मिसिएको बतासले उसको केशराशी उदाउँदा म दंग परी हेरिरहेको थिएँ ।
हाम्रो एक रोमान्टिक भेटमा उसले आफ्नो कथा अझ विस्तृतरुपमा सुनाई । बेरोजगारको चिर्पटले कन्चट चर्किने गरी पिटिएको म अखबारका वर्गीकृत रोजगारमूूलक बक्सभित्र रेजा लगाउनबाहेक अर्को काम पनि गर्दै थिएँ; एक भूपू अवसाद मरिज र वर्तमान नगरवधूूको रामकहानी सुन्ने । म उसको काखमा पल्टिएको थिएँ र उसले आफ्नो केशले मेरो मुहारमा पर्ने तेज घामका लप्काहरु छेकिदिएकी थिई ।
कुनै बालकलाइ लोरी सुनाएझैँ ऊ मलाई आफ्नो विषाद कथा सुनाउदै थिई :
“एक दिन कोटेश्वर चोकमा म मेरो भलादमी पतिको पछि पछि हिँड्दै थिएँ ।बाटो काट्ने क्रममा सडकमा एउटा दुर्घटना घट्यो । मेरो कानुनी पतिलाई विपरीत दिशाबाट हुइँकिएको ट्रकले ठक्कर दियो । त्यो मान्छेको रगतले कोटेश्वरचोकको त्यो कालोपत्रे सडक रक्ताम्य भयो । मान्छेहरु जम्मा भए । ऊ केहीबेर छटपटायो र यस संसारबाट विदा भयो । हाँस्न बिर्सिएका मेरा प्रस्तर ओठहरुमा बिहे गरेको पाँच वर्षपछि मुस्कान छरियो । म निकै बेर हासेँ । मलाई याद छ, त्यो हाँसोले मेरा ओठका काँपहरुमा पीडा दिएको थियो । उफ्फ ! हाँसोमा पनि पीडा…..!! एकै छिनमा भीड नै जम्मा भएछ । सोध्नेहरुको जवाफमा म मुस्कुराउँदै जवाफ दिँदै थिएँ । हो ! ऊ मेरो पति थियो । “
आफ्नो पतिको दुःखद मृत्युमा रमाइरहेकी आइमाई देखेर भीड अचम्म थियो । आइमाईहरु उक्त दृश्य हेर्न नसकेर चक्कर खाई ढल्थे ।
‘यो आइमाई पागल हो । ’
भीडका प्रतिक्रियाहरु ओइरिनथाले । अर्कोले भन्यो –”यसको परपुरुषसँग अनैतिक सम्बन्ध हुँदो हो । त्यसैले यो रोइन । अर्कोले भन्यो –”
यसलाई पागलखाना लैजाओ” । “हैन, हैन यसलाई यही ढुंगाले हानी हानी मारौँ ।”
एक छिनमा पुलिस घटनास्थलमा उपस्थित थियो । लासको मुचुल्का तयार भयो । अनि प्रश्नहरु सोधिए । “के मृतक तपाईँको श्रीमान् हो ?”
प्रश्नकर्तालाई मैले प्रतिप्रश्न गरेँ – “के ऊ अझै जिउँदो छ र ?”
“जिउँदो हुने त चान्स नै छैन उहाँको मृत्यु भइसकेको छ । तपार्इँ केवल जवाफ दिनुस् ।” प्रहरीको फुलिवाल अफिसर आफ्नो लवजमा क्रोधको लेपन गर्दै भन्यो । मैले हाँसेर भनेँ – “अब ऊ केवल भूूत हो । वर्तमानबाट उसको अस्तित्व विलीन भइसकेको छ ।” फुुलीवाला अफिसरको दोस्रो प्रश्न थियो – “के तपाईंलाई उहाँको मृत्युमा कुनै खेद छैन ?”
“यो तपाईँको व्यक्तिगत प्रश्न हो भने ठीकै छ । कानुनी हिसाबमा तपाईँको यो सवाल वाहियात छ महोदय !! कसैको मृत्युमा खुसी हुनु वा दुःखी हुनु मेरो निजी कुरा हो । के नौटंकी गरेर म रोनाधोनामा लागेको भए तपार्इँ मलार्ई यो प्रश्न गर्नुहुँदो हो ?” मेरो कुराले फुलिवाल पुलिस निकै आक्रोशित भयो – “उहाँको हत्या नियोजित ढंगले तपाईँले गरेको हो भनेर मैले भनेँ भने ?”
“तपाईँले भनिसक्नुभएको छैन । तर अब सोध्ने नै विचार गर्नुभएको छ भने म यसो भन्थेँ : यो घटनामा मेरो कुनै दोष छैन तर केही वर्षसम्म यो दुर्घटना नहुँदो हो त । हुनसक्छ मैले यो मान्छेको हत्या गर्दी हुँ । फेरि त्यो भविष्यको कुरा हुन्थ्यो र सायद भविष्यमै तपाईँले मलाई ज्यान मुद्दामा गिरफ्तार पनि गर्नुहुँदो हो । तर मलाई अफसोच यो कुरामा छ कि उसको मृत्यु मेरो हातबाट लेखेको रहेनछ ।”
0-0-0-0-0-0
पतिको मृत्युपश्चात् ऊ यायावर बनेकी थिई । उसलाई उसको घरबाट निकालियो र माइतीबाट पनि ऊ तिरस्कृत बनेकी थिई ।
पतिको अन्त्येष्टि उसले आर्यघाटको त्यही बेन्चमा बसेर हेरेको कुरा बताएकी थिई मलाई पुनः त्यही बेन्चमा बसेर । प्रत्येक दिन ऊ त्यही बेन्चमा बसेर चिता जलेको दृश्य निकै मजा मानेर हेर्थी । मानौँ ऊ कुनै रोमान्टिक चलचित्र हेरिरहेकी होस् ! मेरो दिमागमा खालि यही प्रश्न घुमिरहेको थियो – कसरी एउटी पत्नीले आफ्नो पतिको मृत्युपश्चात् अवसादको दीर्घ रोगबाट मुक्ति पाउनसक्छ ?
हाम्रो भेटघाट बाक्लिँदै थियो । हाम्रो सम्बन्ध बाक्लिँदै थियो । ऊ कुनै न कुनै बहाना बनाएर मलाई भेटिरहेकी हुन्थी । एक साँझ एक अमुक क्याफेमा कफी पिउँदै गर्दा उसले भनी –”तिमीलाई याद छ ! तिमी एक वेश्यासँग कफी पिउँदै छौ ?”
मैले भनेँ – “केही फरक पर्दैन । आखिर वेश्या पनि यही समाजकै मागपूर्ति गर्ने ज्यामी नै त हो । हैन र ?”
दिल खोलेर हाँसेकी थिई ऊ र हाम्रो संवादले त्यहाँको भलाद्मी माहोल अलि खल्बलियो । सायद साहुनीले कर्के नजर फ्याँकी मतिर । उसले भनेकी थिई – उसको पतिको तस्बिर अझै उसले नै राखेकी छे कहीँकतै । मैले उसको पतिको तस्बिर हेर्ने जिज्ञासा तेस्र्याएँ । उसले भनी – “त्यस दिन हाम्रो सम्बन्धको अन्त्य हुनेछ । त्यसैले यो इच्छा मनमा नराख” ।
“किन ?” – मैले प्रश्न गरेँ । आँखाभरि आँशु लिएर हेरी उसले मलाई । मैले जोड गरिनँ । त्यसपछि हामी छुट्टियौ ।
0-0-0-0-0-0
धेरै दिन भइसकेको थियो प्रतीक्षासँग भेट नभएको । मैले अनुमान गर्दै थिएँ । उसले मलाई सम्झिरहेकी होली । तर त्यो किञ्चित् अनुमान थियो । हुनसक्छ ऊ बिरालो मुसार्दै छालाको कालो कौचमा बसेर ‘Schindler’s List’ फिल्म हेरिरहेकी होस् अनि मजा लिइरहेकी होस् । यहुदीहरुलाई जिउँदै जलाइएको दृश्य हेरेर मदिराको चुस्कीसँगै । या ऊ पढिरहेकी होस् क्रिस्टिना रोजेटीको ‘इन थे डेथ अफ माइ डियरेस्ट’ या बाथटबमा आँखा चिम्म गरी ग्लुमी सन्डे सुन्दै निदाएकी पनि हुनसक्छ ।
या…. आफ्नो ग्राहकलाइ सेवा दिइरहेकी होस् र उसको बूूढो घरबेटीले ढोकाबाट चिहाउँदै होस् ।
0-0-0-0-0-0
उसको लागि एक गुच्छा बुकी फूल बोकेर म उसको डेरा जाँदै थिएँ । भर्याङमा उसको घरबेटीसँग जम्काभेट भयो । हमेसाजस्तै उसले मलाई घृणा भरिएको नजरले हेर्यो । ख्वाक्क खोक्यो र पित्त खकारले भुइँ पोत्यो । हमेसाझैँ मैले कृत्रिम मुस्कानले कृतज्ञता जनाएँ । ऊ बरबराउँदै सिँढी झर्यो – “वेश्याको नपुंसक प्रेमी…!!!”
हमेसाझैँ ढोका खुल्ला थियो । कुनै सांकेतिक आवाजविनै म उसको बैठक कोठामा छिरेँ । झ्यालबाट ऊ आर्यघाटतिर चिहाइरहेकी थिई । घाम मलीन हुँदै विलीन हुने सुरसारमा थियो ।
प्रतीक्षा मेरै प्रतीक्षा गरिरहेकी थिई । म ढिला भएको थिएँ । किनकि बुकी फूल कुनै पुष्प दोकानमा उपलब्ध हुँदैनथ्यो । त्यसैले बुकीको खोजमा म निकै टाढा निर्जन पहाडका पाखापखेरा पुग्नुपरेको थियो । ती पखेराहरुमा गोठालाहरु बाँसका छातीमा झिर उनीहरु बाँसुरी बनाउँदै थिए ।
“तिमीलाई बुकी फूल किन मन पर्छ ?” मैले उसलाई एक दिन सोधेको थिएँ उसलाई ।
“किनकि यो अरु कसैलाई मन पर्दैन” उसको जवाफ थियो ।
“अर्को कुरा बुकी फूल सारा फूलहरु भन्दा शक्तिशाली । वसन्त सकिएपछि सारा फूलहरुले आत्महत्या गर्छन् तर तिनै फूलहरुको चिहानबाट उम्रेको बुकी प्रत्येक उष्ण ग्रीष्महरु झेल्दछ । चैते हुरी अनि हिउँदे असिनाहरुसँग लडिरहन्छे । मलाई लाग्छ बुकी फूल एक विधवा हो, जो संसारसँग जुधिरहन्छे आफ्ना बचेखुचेका खुुसीका खातिर । बचेखुचेका आफ्ना सपनाका बगैँचामा आशाका तरल पौष्टिक मिश्रित ऊर्जाले सिँचाइ गरिरहन्छे । यसकारण मलाई बुकी मन पर्छ ।” मिठो मुस्कानको पूर्णविरामसहित ऊ रोकिई ।
मैले उसलाई आलिंगन गर्दै भनेको थिएँ – “मलाई तिमी र बुकी फूल दुवै मन पर्छ ।”
उसको गर्दनपछाडि का केशराशि हटाएर बुकी फूलले स्पर्श गरे । आँखा चिम्लिएर उसले लामो श्वास तानी । श्वास छोड्दा उसले अस्पष्ट मेरो नाम पुकारी । उसको शरीरको पृष्ठभाग तिरबाट आलिंगन गरेर बुकी फूलको गुच्छा उसको कोमल हातमा थमाइदिएँ ।
उसले भनी – ‘भन यो बुकी फूल दिएबापत के चाहन्छौ ?’
‘म तिमीलाई चुम्न चाहन्छु’, मेरो जवाफ थियो ।
ऊ : “म तयार छु ।”
म : “म आतुर छु ।”
ऊ : “मेरो एक शर्त छ ।”
म : “शर्त मञ्जुर छ ।”
ऊ : “तिमीले मेरो पीडाहरुलाई अनुभूत गर्न सक्नुपर्छ । पहिला मेरा घाउका डोबहरु चुम्न सक्नुपर्छ तिमीले ।”
म : “तिम्रो जो इच्छा,त्यसको लागि म के गरुँ ?”
ऊ : “मेरो शरीर चिहाएर हेर, मप्रतिको तिम्रो प्रेम, भयङ्कर त्राससहित मेटिन पनि सक्छ । कुनै चिताको अन्तिम अस्तुझैँ ।”
म : मौन । ऊ : सिलिंग तर्फ पिठ्युँ फर्काएर भुइँमा लम्पसार परी ।
मैले किचनबाट गैरधारिलो चुप्पी खोजेर ल्याएँ। उसले भनी – “तिमीले जे देख्नेछौ त्यसले मप्रति घृणा भाव उत्पन्न गराउनसक्छ तिमीलाई।”
“कुनै शर्त र अवस्थामा पनि त्यो हुनेछैन ।”, मैले भनें।
उसले मलाई एकपल्ट निधारमा चुमी र यथावस्थामा मुर्तिवत् बनी । उसको कम्मरनेर चुप्पी छिराएर मैले विस्तारै रेट्नथालेँ र उसको गर्दनतर्फ चुप्पी बढाउनथालेँ । ऊ आनन्दविभोर भइरहेकी थिई । मानौँ म उसको पिठ्युँको चिलाइ मेट्दै छु । चिरिएको श्वेत गाउनलाई मैले बीचबाट च्यातेर चुटाइदिएँ । हनुमानले छाती चिरेझैँ ।
उसको पिठ्युँभरि गहिरा घाउका सुकेका खतहरु थिए । कुनै ब्लेडले चिरेजस्ता । कुनै तातो वस्तुले डामेजस्ता । म करुणाले द्रवीभूत बनी उसको पिठ्युँ सुम्सुम्याएँ । उसले भनी – मेरो भूतपूर्व पतिको परिचयका सक्कली भग्नावशेषहरु कस्तो लाग्यो तिमीलाई ? म मौन थिएँ ।
“तिम्रो कौतूूहलतापूर्ण प्रश्नको जवाफ यही हो । यसकारण म मेरो कानुनी पतिको मृत्युमा रोइनँ । बरु हाँसेँ, रमाएँ । दुनियाले मलाई फेरि एकपल्ट पागल भन्यो तर म उसको मृत्युको उत्सव मनाएँ । आर्यघाटमा जलेको उसको चिता हेर्दै रोमान्चित बनेर ।”
मैले उसका प्रत्येक घाउका खतहरु चुमेँ । करुणाका भाव आवेगहरुमा आँखाभरि आँशु भरेर धित मरुन्जेल चुमेँ । उसले कोल्टो फेरी । उसको मुटुको धड्कन सुन्नसक्थेँ म । उनको र मेरो दूूूूरी योभन्दा पहिले कहिल्यै मेटिएको थिएन । उनको र मेरो श्वास कहिल्यै यसरी मिसिएको थिएन । यो मलाई अत्यन्तै प्रीतिकर लाग्यो ।
उनका दुवै स्तनका पिँधहरुमा अर्धचन्द्राकारका भयानक खतहरु थिए । ठीक मुनि नाभिस्थल वरिपरि चुरोट निभाइएका गोला खतहरु थिए ।
“उसले कहिले मसँग सम्भोग गरेन । प्रत्येक रात उसले मलाई घाउहरु दिन्थ्यो, रगत चाट्थ्यो अनि कहिलेकाहीँ फेरि मेरो नाभिस्थल वरिपरि चुरोट ठोसेर निभाउँथ्यो अनि सुँगुरझैँ घुरेर तृप्तनिद पूरा गथ्र्यो ।” उनले यसो भन्दा म पुरुष हुनको गर्व स्खलित भएर शिर झुकाइरहेको थिएँ । ऊ बोल्दै थिई । म सुन्दै थिएँ ।
“तिमीले कहिल्यै प्रतिकार गरिनौ ?” मैले सोधें ।
“सुरु सुरुमा म रुन्थेँ, कराउँथे र सक्दो प्रतिकार पनि गर्थेँ तर उसको मनमा दया माया र करुणा भन्ने कुनै चिज नै थिएन । हिउँदमा खोलाकिनारको पत्थरजस्तो चिसो र कठोर मनमा कहिल्यै मेरो पीडाको कारण पग्लेन । अझ उसले परिवारदेखि टोल छिमेकसम्म मलाई पागलपनको समस्या भएको प्रचार बाजी गर्यो । तर जब दिनहरु विस्तारै बित्दै गए । मैले पीडाहरु त्यति नमीठा लागेनन् । र विस्तारै पीडाहरको प्रतिक्रिया गर्न छोडेँ । मेरो पति त्यस दिन खुसी भएको थियो । त्यही रात उसले मेरो स्तनमुनि चन्द्राकारमा ब्लेडले चिर्यो र मेरो रक्ताम्य वक्षस्थल हेर्दै कविता लेख्यो । त्यही कविता जुन तिम्रोअगाडि हाँसिरहेको छ ।”
भित्तामा एक हरफ कविता थियो । जुन यस प्रकार थियो :
म तिमीलाई प्रेम गर्छु त्यसैले त अनवरत पीडा दिन्छु …!!
मेरो दर्दहरु तिमीलाई उपहार
तिम्रो आँशुमा म मुस्कुराउँछु
मेरो मुस्कान तिमीलाई श्राप …!!!
तिम्रा चित्कार मेरो सिम्फोनी !!!
जब म छाती पिटी–पिटी रुन्थेँ, ऊ सिगरेट सल्काएर पियानो बजाउँथ्यो । मैले कहिल्यै नसुनेका बेसुरा आलापहरु ।”
मैले भनेँ – “म तिम्रो मुस्कानहरुमा गीत लेख्न चाहन्छु ।”
“अनि ?”, उसले भनी ।
“हिउँ परेका बिहानीहरुमा धुुपीको पारिलो सियालमा बसी ग्वालाहरुलाई बाँसुरी बजाउन लगाउँछु । अनि ती धुनहरुमा त्यही गीत सुसेल्नेछु ।”
उसले मलाई अंकमाल गरी र भनी –”त्यो गीतको नाम के राख्नेछौ ?”
“प्रतीक्षा ।”
तेसपछि नषालु मुस्कान र मादक नजरसहित ऊ किचनकोठामा प्रवेश गरी । काठको सानो दराजका खापा खोली । त्यहाँबाट ‘ओल्ड मोंक’ रुमको बोतल निकाली । अर्को दराजबाट दुईवटा गिलास निकाली र भरी अनि मनतातो पानी हालेर हाम्रो पेय तयार पारी । भाँडा धुने सिंकको टेबलमा खुट्टा खप्टाएर बसी र उद्घोष गरी:
“मेरो राक्षस पतिको आत्मा अनवरत नर्कमै जलिरहोस् । चियर्स !”
“चियर्स !”
0-0-0-0-0-0
मैले उसलाई उपहारस्वरूप तीनथरि फूल दिएको थिएँ । पहिलो सुकेको गुलाब, जसका पातहरुमा हरित कण कहीँ थिएनन्, त्यसका पुष्पदलमा कुनै चमक थिएन । तैपनि त्यो कुरूप थिएन । अर्को गुलाबका डाँठबाट मैले काँडाहरु खुर्किएको थिएँ र ठाउँ ठाउँमा ब्यान्डेज गरेको थिएँ अनि तेस्रो थियो सेतो बुकी फूल, बिल्कुल कुनै नव विवाहित विधवाजस्तै । यी तीनमध्ये उसले एक छान्नुपर्ने थियो ।
0-0-0-0-0-0
बिहान उसको घरबेटी मलाई भेट्न हाम्रो प्रिय स्थानमा आयो । त्यस दिन उसले मलाई हेरेर थुकेन । न त कुनै अप्रिय शब्द नै बोल्यो । उसले नै भनेको थियो मलाई – “प्रतीक्षाले आत्महत्या गरी” । उसको आत्महत्या पत्रमा उसले यो कदम आफ्नो जीवनदेखि निराश भएर उठाएकी र यसमा कोही/कसैको दोष नभएको कुरा लेखेकी रहिछ । घरबेटीले उसको लासलाई अग्नि दिने प्रबन्ध गरेछ ।
यति कुरा बताएपछि उसले मेरो हातमा एउटा खाम थमाइदियो । जसमा पाउनेको नाममा मेरो नाम लेखिएको थियो ।
आर्यघाटको त्यही कुर्सीमा बसेर मैले उसको पत्र पढेँ ।
प्रिय प्रेम !!
मलाई थाहा छ भोलिदेखि तिम्रो फेरि त्यही पुुरानो दिन दोहोरिनेछ । मात्र म त्यहाँ हुनेछैन तिम्रो समीपमा । तर तिमीसँग अरु कोही अवश्य हुनेछ किनकि आजकल कथाहरु धेरै छन् तर सुनिदिने र बुझिदिने तिम्रोजस्तो निःस्वार्थ मनहुनेहरु थोरै छन् । तिमीसँगको पहिलो भेटपछि मेरो जीवनलाई हेर्ने परिभाषा बदलियो । तिमीले दिएका तीन फूलहरुले मलाई फेरिर आफ्नो जीवनका भोगाइहरुका समीक्षा गर्न बाध्य तुल्यायो । म त्यो सुकेको गुलाब पनि बन्न सकिनँ, जसले टिपिनुअघि बगैँचालाइ नै सुन्दर पारे होला । भँवराहरुका पैतालामा टाँसिएका त्यस गुलाबका पराग कणहरु आउँदो पुस्ताको लागि वसन्त ल्याउने सपना देखे होलान् तर मेरो भविष्यमा भविष्य नै छैन । मेरो निरन्तरताको अन्त्यले न कुनै वसन्तलाई कुत्कुत्याउँछ, न कुनै अघोरीको भोको पेट भर्दछ ।
दोस्रो काँडा ताछिएको गुलाब…..वाह… गुलाबको काँडा केवल एक देखावटी सुरक्षा कवच हो । काँडाको सुरक्षा घेराका बाबजुद कति गुलाब बचे होलान् र निर्दयी फूलव्यापारीका हातबाट ? एउटी आइमाईको सुरक्षाको ठेक्का उसको श्रीमान्ले लिने गर्दछ तर कसलाई मतलब ? कति श्रीमतीहरु आफ्नै पतिका निर्दयी आकांंक्षाबाट दिनरात वधशालाका चौपायाझैँ रेटिँदै होलान् ? त्यसैले गुलाबमा काँडा भएको देख्न चाहने हाम्रो अभिलाषा मात्र हो । गुलाब त विना काँडा पनि सुन्दर नै हुन्छ, जब मान्छेले काँडालाई बाहिष्कार गर्नेछ ।
यो प्रेम दिवसमा मैले सेतो बुकी रोजेँ !!!!
जाँदाजाँदै मैले तिम्रो घोर जिज्ञासाको चाबी अर्को खामभित्र राखिदिएकी छु । हेर्नु र बुझ्नु – मैले किन तिमीलाई माया गरे र किन तिमीबाट हमेसाको लागि टाढा भएँ ?
मेरो मृत्यु तिमीलाई प्रेम दिवसको उपहार ! नयाँ जीवनको शुभकामना तिमीलाई !
उही तिम्री प्रतीक्षा ।
0-0-0-0-0-0
म उसको मृत्युमा रुन पनि सकिनँ । मुटुमा केवल गाँठो परिरह्यो ।
लामो श्वास तानेर खामभित्रको अर्को खाम खोलें । मेरा मगजका गिर्खाहरु तन्किन थाले । खामभित्र एउटा तस्बिर थियो उसको पतिको ।
र त्यो अनुहार मेरो अनुहारसँग दुरुस्त मिल्दथ्यो ।
पारी प्रतीक्षाको चिता जलिरहेको थियो ।
(स्रोत : Hulaaki)