लघुकथा : डोरीतान्ने खेल

~खेमलाल पहारी~Khemlal Pahari

तथाकथित ”मधेस पहाड’ विखण्डन कप’ डोरीतान्ने खेल झण्डै छ महिनाको राजनितिक रस्साकस्सीपछि दर्जनौं खेलाडी र सयौं रमितेहरूको प्राणकै आहुति दिएर बल्लतल्ल टुंगियो। यति लामो समयसम्म डोरी तानिरहदँदा कतिका हत्केलाका खाला गए र कतिका पैतालै च्यातिए। टन्टलापुर घाममा बिच सडकमा घम्साघम्सी गरिरहँदा कतिका लगाएका लुगा फाटे त कतिका कपाल र छातिका रौं समेत गायब भए। के डाक्टर इन्जीनियर, के शिक्षक ब्यापारी सबै कामधन्दा छोडेर यो खेलका मुक दर्शक बनेका थिए।

यता खेलमा बेलाबेलामा थकाइ मार्ने छुट्टी हुन्थ्यो त्यही मौका छोपेर दुवै पक्षका खेलाडीहरू दिल्लीको बजारबाट बिभिन्न पोषण मगाएर शक्ति संचय गर्दथे र फेरी मैदानमा झर्दथे।

भन्न त यो नेपाल कप पहाड र तराई मधेसको बिचमा खेलिएको भनिन्थ्यो तर वास्तविकता अर्कै थियो। निमुखा पहाडीया तथा सोझा मधेशीहरूलाई यो खेलको बारेमा ज्ञान र चासो थिएन। उनिहरू अनन्तदेखि जीवन धान्ने तुनेलोमै ब्यस्त थिए। मुट्ठीभर पहाडीया देखिने मधेशी, पर्यटक मधेशी र मधेशकै हौं भन्ने पहाडीया राजनितिक खेलाडी लाई नै द्वन्दी प्रतिद्वन्द्वी बनाएर शुरु भएको खेलको प्रभावले के तराई के पहाड सर्वत्र चुल्हो बल्न छोडेको थियो। डोरी तानेर न पहाडीया भनिनेहरूले मधेशीलाई आफ्नो घेरामा छिराउन सके न त मधेशीहरूले पहाडीयालाई आफ्नो बसमा पारे। आधा वर्षसम्म रात दिनको शीतले ओसिएको र घामले झुर्रिएको डोरी अन्तत: च्वाट्ट चुँडियो।

मधेसको पक्षबाट खेल्नेको हातमा आधा र बाँकी पहाडीया बताइनेहरूको हातमा आधा डोरी भागमा पर्यो। पुरस्कारकोलागि राखिएको देशको चार सिमाना पूर्वबाट पश्चिमसम्म थान कपडा च्यातेझैं धररर च्यातियो र बाँडिए खेलाडीहरू दुई कित्तामा। ठाउँठाउँमा आआफ्नै प्रकारका विजय जुलुस निकालिए। नेपाल आमाको लाज ढाक्ने कपडा हरेर नयाँ झण्डा बनाइयो र उनी उभ्याइईन् चोकमा नग्न। आउने जाने सवैले उनलाई लाज नभएकी भनेर हिस्सी गर्दै थुके पनि।

समयले सबै घाउ पुरियो तर खाटो उस्तै थियो।

केही समय पछिको कुरा हो एकदिन एकजना पौढ व्यक्ति काम विशेषले गोरखाबाट बिराटनगर जाने रात्रीबस चढेर यात्रामा निस्किए। चितवन आउँदा सम्म उनले, बसको सीटमै भटेका प्राय: गोरखातिर रद्दी बटुल्दै गरेको देखिने सँगै आएका छेउका यात्रुलाई यो फलानो ठाउँ, उहिल्यै हाम्रा बाजे- बाबु नुन तेल कपडा आदिको जोहो गर्न ओहर दोहर गर्दा खाजा खाने खाना खाने बास बस्ने ठाउँ भन्दै चिनाउँदै आए। उसले पनि उनको बोलीमा अँअँ मिलाउँदै आयो। भरतपुरमा खाना ख्वाएपछि जसै बस अगाडि बढ्यो उनी भाते निन्द्रामा परेछन्।

“लेलो भाई नमक और उबलाहुवा अंडे”, कसैले कानमै चिच्यायो।

“हामी कहाँ आइपुग्यौं?” उनले छेउको यात्रुलाई सोधे।

“के कहलैछ?” उसले प्रतिप्रश्न गर्यो।

“यो कुन ठाउँ हो?” उसले फेरि सोध्यो।

“ये मिथिला छे”, उसले जवाफ दियो।

गोरखेलाई लाग्यो अघिको सँगै बस्ने मान्छे झरि सकेछ, पूर्वै जाने भन्थ्यो किन झरेछ भन्दै उ सोचमा डुब्यो।

“तपाईं कहाँ सम्म नि?” उसले सोध्यो।

“कहत रहि, पुरब जाएछि!” उसले अलि झर्केर भन्यो।

के के सोच्दासोच्दै गोरखालीका आँखा फेरि लागे।

बस घ्याच्च रोकियो। एक हुल मान्छे भित्र पसे। गोरखाली आँखा मिच्न तल्लिन थियो।

“लेलो गरमा गरम चाए और ताजे जलेबी और पुरियाँ”, एउटा चिच्यायो।

“खाओ, चने अण्डे खाओ”, अर्को आयो।

“उत्रिए भाई, हातमुहं धोलिजिए। सुबह होचुकाहै, कुछ लीजिए गरमागरम।”

“एता सुन्नु न, हामी कहाँ आयौं? तपाईं कहाँ सम्म जाने हो?” गोरखालीले छेउकोलाई सोध्यो।
अबे वे भुतनी के! तेरेको क्या परेशानी है वे? तु नेपाल से यहातक एकही रट लगाए बैठाहै की हम काहाँ हैं ? आपको को कहाँ जाना है?” मेरेको जहन्नुममे जानाहै। अब् बोल जाताहै क्या मेरे साथ?”

गोर्खालीको सातो उड्यो। उसले फरक्क फर्केर वरिपरि हेर्यो। शहर उसको चिर परिचित सुन्दर बिराटनगर जस्तै थियो। “ए, यो त बिराटनगर नै हो भन्दै ऊ अघिकै सहयात्रीतिर फर्कियो। उसको अगाडि त्यही गोर्खातिर देखेको कवाडी संकलक थियो जो अहिले सेतो धोती कुर्ता र बिर्के टोपीमा सजिएर मुस्काउँदै ऊ पर उत्तरतिर हेरि रहेको थियो। गोरखालीले उतै हेर्यो। उसले जे देख्यो उसलाई विश्वास भएन। उसको राष्ट्रीय गौरव सगरमाथा उसको साम्नेमै रहेछ तर त्यसमा फहराइरहेको झण्डा तीनकुने थिएन। न त त्यहाँ थिए उसका सानदार चन्द्र सूर्य नै। थियो त केवल तीनवटा धरा गाँसेर बनाइएको चार कुने टालो र त्यसको बिचमा थियो- भत्केको चर्खाको पांग्रो!

“आज पढाई छैन र बाबु?” पछाडिबाट कसैले बोलायो। हातमा पानीको अंखोरा लिएकी आमा थिईन्।

“थुक्क, कस्तो नराम्रो सपना!” यति भनेर आमालाई दर्शन गरेर ऊ बाहिर गयो। उसको घरदेखि उत्तर पूर्वमा उसको सगरमाथा छाति खोलेर उभिइरहेको थियो। उसलाई जोश पूर्वक प्रणाम गरेर ऊ नियमित कर्ममा लाग्यो।

(स्रोत : फेसबुकको ‘कथा-चौतारी’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.