कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~Narendra Kumar Nagarkoti

घरिघरि ऐना हेर्छु
र कानमाथिबाट मिलाउँछु
छरिएका कपाल

मिलाउँछु
आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर
मनमा खेलिरहने कुराहरू भने
कहिल्यै मिलेर आएनन्
जतिचोटि बल्छ ग्याँसको चुल्हो
र उम्लन्छ केट्लीमा चिया
त्यति नै पटक भक्लक् भक्लकउम्लिरहेछ मनभित्रको लाभा

कसले सुनिदेला हृदयको पीडागीत ?
म जब भुइँ बढार्छु
टाठा देखिन्छन् आँखाहरू र घुर्छन् एकटकले
बोकेर पुर्‍याउँदा खानेकुराहरू
नसमाएर चियाको गिलास वा समोसाको प्लेट
समात्छन् मेरा औंलाहरू

यही होटलको छानोमुनि
चुरोटको धुवाँ बनेर उड्दै आउँछनबैंसालु ओठहरू
यही ढोकाबाट
निस्किसके मेरा बाआमाजस्तै
कैयन् खाली पाइतालाहरू

कविजस्तो
नेताजस्तो
किसानजस्तो
हिरोजस्तो
हिरुनीजस्तो
कुन्नि केके जातिजस्तो
कत्ति आए कत्ति गए

यस्तो लाग्थ्यो-
सधैं साँझपख आइरहने मेरो मनको एउटा मान्छेलाई
‘चुप्पा खाइदिन्छु कस्सेर अँगालोमा’
तर देशमा भुइँचालो गएको दिनदेखि
कहिल्यै फर्केर आएन ऊ

कोही सोध्छन्-
‘हामीसित जान्छौ?’ भनेर
देखाइदिन्छु दाँत ङिच्च
पारिदिन्छु फुस्सा
सायद उनीहरू किन्न चाहन्छन् मलाई

र बेहद माया गर्ने नाटक देखाइहाल्छन्
स्कुल छाडेर सहर आएको दिनदेखि
हररात सपनामा देख्छु-
परलोक गएका बाआमालाई
उनीहरू सोध्छन्-
‘कति बीस कमाइस् छोरी ?’

(स्रोत : Annapurnapost)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.