~खेमलाल पहारी~
थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो भएका रहेछन्| उनी कुनै घरानियाँ बिदेशी नश्लका ‘एल्सिसिएन्’ थिए रे| मेरी आमा यही सहरको कुनै सबर्बमा जन्मेर गरिबीमा हुर्किएकी अभागिनी थिईन्| मान्छेहरू भन्छन् बैंसमा त स्याल पनि घोर्ले हुन्छ त्यस्तै मेरी आमा पनि बैंसमा निकै लोभलाग्दी हुँदिहुन् र त सहरका गन्यमान्य भनाउंदाहरु उनको पछाडि तँ छाड म छाड गर्दै पछि लाग्थे रे| मेरी आमाको एक रात पाउन, टौवामुनि दुई चार घण्टा बिताउन, बाटोनेरको कुलाको डिलमा, करेसा बारीमा, बनमाराको झाडीमा उनलाई अंगालो हाल्न, उनका अंग प्रत्यंगको नापतौल लिन अथवा भनौं उनको उर्बर भूमीमा उनीहरुको जवानीको पसिना बगाउन उनिहरु ज्यान लिन र दिन पनि हिच्किचाउँदैनथे रे| उसबेला तिनै अंगिकृतले स्थानीय बंसजवालाहरुलाई दपेटन सफल भएर आमाको मन जितेका रहेछन्| तर आमासँग छुटेकै पल त्यहाँबाट आफ्नो निवास लागेका मेरा जैविक पितासँग मेरो कहिल्यै भेट हुन सकेन| हामी चम्ल्याहा जन्मेका थियौं रे| कुन्नि के भएर म बाहेक अरुलाई कुन पापीले नारायणीको पानीमा डुबाएर ज्यान लियो रे; र त आमासँग म मात्र रहेछु|
त्यसदिन आमा वरपर थिइनन्| म भोकले ब्याकुल उनको आगमनको प्रतिक्षा गरिरहेको थिएँ| मनमा के कुराले डेरा जमायो कुन्नि, धुलो माटोमा मेरी आमाले खोजेर बिछ्याएको पाराले थान्ग्नोबाट बाहिर निस्केर बाटोमा पार ताप्दै भोक बिर्सने असफल प्रयत्न गरिरहेको थिएँ; सारा जीउ लुगलुग काँपिरहेको थियो यस्तैमा कसैले मलाई पछाडिबाट च्याप्प समात्यो| म उम्कन सक्ने अवस्थामा थिइन त्यसैले उपयुक्त मौकाको पर्खाइमा उसको बाहुपासमा परिरहें| मलाई अपहरण गर्नेले मलाई च्यापेर बारीबारी कुद्यो र फेरि बाटोमा आएर एउटा गाडी चढेर मेरो बस्तीबाट टाढा टाढा हुँदै गयो| मलाई आफ्नो छोराको हातमा देख्नेबित्तिकै उसकी आमा च्यांठिईन्, “फेरि कसको सिसोबासो उठाएर ल्यायो मुर्दार अपराधीले?” मलाई आँफु कुनै खराब आचरण भएको मानिसको पन्जामा परेको आभाष भयो र मलाई खोज्दै मेरी आमा कति रोईन् होला भन्ने बोधले मलाई छट्पटी हुन थाल्यो| बुढीमाउ दयालुनै ठहरीइन्| जीवनमा पहिलो पटक दूधभात खाने सौभाग्य मिल्यो मलाई| भोलि बिहान आज यसलाई जहाँबाट ल्याएको थिइस त्यहीं लगेर छोडेर आइनस भने तेरो ढन्डेसो सोझ्याउँछु भन्दै उनी सुत्न गईन्| त्यो चोरले मलाई रातभरि खुब यत्न गरेर राख्यो| राति उठेर पिसाब पनि गरायो र एका बिहानै मलाई च्यापेर हिंड्यो| एकरात भनेपनि मिठो मसिनो खाएर न्यानोमा सुतेर आमा भेट्न जान पाएकोमा म खुब खुशी थिएँ| तर मेरो खुशीमा त्यसबेला तुषारापात भयो जब उसले मलाई आफ्नो घर देखि केहि पर बाटोको डिलमा एउटा ढुंगामा छोडेर भाग्यो| कुनै दयालु चोरको निर्दयी व्यवहारले मलाई ठुलो चोट पुर्याएको थियो त्यसबेला| म न त उसको पछिपछि लाग्न सक्थें न त आमा खोज्दै घर जान नैं| म सक्थें त केवल रुन; र मैले त्यही गरें| आमा आमा भन्दै रुँदै गर्दा मेरो गला सुकिसकेको थियो यो बिरानो बस्तीमा म नितान्त एक्लो थिएँ| भोक र जाडोले मेरो प्राण पखेरु उड्नै लागेको थियो| केहीबेरमा मलाई ज्ञान भयो कि त्यहाँ मेरो बिलौना बुझ्ने कोही थिएन किनकि त्यहाँका मानिसहरू मेरो भाषा बुझ्दैनथे र ममा पनि उनीहरुको भाषा बुझ्ने सामर्थ्य थिएन| किम्कर्तब्य बिमुढ म चिसो ढुंगामै बसेर आमा आमा भन्दै रोइरहें रोइरहें|
म आमाको काखमा लडिबुडी खेल्दै मस्तसँग रमाउंदै उनको स्तनपान गरिरहेको थिएँ| आमा मेरो कपालमा लिखाजुम्रा खोज्दै थिईन्| मेराबा पनि मलाई भेट्न खानेकुरा लिएर आएका थिए| उनी आमाको अगाडि बसेर आफ्नो छोराको उछलकुद खेल हेरिरहेका थिए| एकैक्षणमा म घरि आमाको घरि बाको बुईमा चढ्दै ओर्लंदै गरिरहेको थिएँ| आमाले बालाई त्यतिनै चिन्दिहुन् जति उनलाई म चिन्दथें किनकी उनीहरु एकदिन केहीक्षण भन्दा धेरै संगै बसेका थिएनन्| बातिर हेरेर अलिअलि लजाउँदै आमाले भनिन् ठ्याक्कै तिमि जस्तै छ| बा जुरुक्क उठेर मछेउ आए अनि मलाई म्वाई खाए| पहिलो पटक आमा बाहेक अरुले म्वाई खाएकोले होला मलाई कताकता काउकुती लाग्यो र म भाग्न थालें| अचानक मलाई चिलले चल्ला टिपेझैं केले टिप्यो| म “आमा!” भनेर चिच्याएँ|
सपनामा रहेछु! न आमा थिइन्, न त बा नै| थियो त एउटा दश बाह्र बर्षको केटो! मैले अघिल्लो दिनको चोरलाई सम्झिएँ| जीउ थर्र काप्यो| “मलाई मेरै हालतमा छोदिदेउ दाइ,” मैले बिन्ति बिसाएँ| “यति राम्रो तिमीलाई कसले बाटोमा छोडेर गयो? कि ती तिम्री आमा थिईन् जो हिजो बेलुकी यहाँ ट्रकले कुचेर मारिएकी थिईन्?” भन्दै उसले मलाई काखमा लिएर मेरो चिसो नाकमा म्वाई खायो र बाटो लाग्यो| उसको घर नजिकै रहेछ| मलाई लगेर पिंढीमा बिसाउँदै उसले मलाई भन्यो, “तिम्रो नाम आजदेखि ‘लियो’ (सिंहको बच्चा) हुनेछ र तिमीलाई सबैले यहि नामले बोलाउने छन्|” उसले मलाई मेरो नामको ईज्यत राख्न पनि सम्झायो| बाबुको अनुहार समेत नदेखेको म नयाँ नाम पाएर दंग फुरुंग भएँ| उसले मलाई कचौरभरि दुध दियो र पटक पटक मेरो नयाँ नामले पुकार्यो| भोक र चिसोले गर्दा मेरो प्राण जानै लागेको थियो त्यसैले दायाँबायाँ केहि नसोचिकन मैले सबै दुध कचौरै समेत चाट्चुट पारें| मेरोलागि बिस्ताराको व्यवस्था गर्दै उसले भन्यो, “हेर भाइ, भागेर जान पाउन्नौ; आज बाबाआमा घरमा हुनुहुन्न| मामाघर जानु भएको छ| वहाँहरुलाई आउन दुई तीन दिन त लागिहाल्छ| बाबालाई त म जसरिपनि पटाइ हाल्छु| बाँकी रह्यो आमाको कुरा, वहाँ अलि कडा स्वभावकी हुनुहुन्छ| तर केहि छैन यो दुई दिनमा म तिमीलाई यस्तो यस्तो कला सिकाउनेछु कि त्यसको सहाराले तिमीले आमाको मन सजिलै जित्ने छौ|”
साँच्चै दुई दिनमा उनले मलाई यति स्नेह दिए कि मेरो मनमा उनको लागि आदर बढेर आयो| अझै मेरो मनबाट आफ्नी आमाको खोजी गर्ने र आमाको काखमा खेल्ने भन्ने कुरै आउन छोडेछ| मलाई पछि अनुभव भयो| मेरो धर्मदाइका बा भोलिपल्ट र आमा पर्सिपल्टै आउनु भयो| मलाई लाग्यो यस घरमा पनि मेरो खैरियत छैन तर त्यस्तो भएन| वहाँहरुले छोरालाई जति गाली गरे पनि मलाई कतै लगेर छोड्ने कुरा गर्नु भएन त्यहि मेरोलागि अहोभाग्य थियो| मलाई भोलिपल्टै स्वस्थ्य परीक्षणकोलागि लगियो र हप्तादिनको फरकमा बिभिन्न रोगबाट जोगाउने सुईहरु दिइयो| साथै मलाई दुध पिलाउने र खाना खाने भाँडाकुँडाको पनि व्यवस्था गरियो| भर्याँगको मुनि नै सहि, ओभानो ठाउँमा मेरोलागि छुट्टै बिस्ताराको पनि बन्दोबस्त भयो| दाइ र दिदि लगायत घरमा मसँग खेल्न अरुपनि धेरै दाइ दिदीहरु हुनुहुन्थ्यो| बिहान बेलुकी सबैजना सँग खेल्न पाउंदा मलाई निक्कै रमाइलो लाग्दथ्यो तर दिनभरि घरमा एक्लै हुनुपर्दा भने अलि खल्लो अनुभव हुन्थ्यो नै| दाइका धेरै साथीहरु हुनुहुन्थ्यो| वहाँहरु दाइसँग आएर मलाई खेलाउनु हुन्थ्यो| छुट्टीको दिनमा दाइ मलाई बोकेर आफ्नो साथीको घरमा पनि लानु हुन्थ्यो| त्यो मलाई औधि मन पर्थ्यो| बिस्तारै मैले उफ्रन कुद्न र आफ्नो मातृभाषामा बोल्न पनि जानें| मेरो भाषा धेरैलाई नआए पनि म धेरैको भाषा जान्दथें| वहाँहरु मसँग अंग्रेजी र नेपालीमा कुरा गर्नुहुन्थ्यो| कहिले काहीं म लुसुक्क दाइदिदी पढ्ने पाठशाला वाल्मिकी जान्थें र वहाँहरुको कक्षाकोठाको ढोका अगाडि बसिरह्न्थें| कहिले भने म भित्रपट्टी नै लुकिछिपी बस्दथें| मलाई यसो गर्न खुब रमाइलो लाग्दथ्यो| पाठशालामा पनि मलाई सबैजनाले चिन्नु हुन्थ्यो र माया गरेर ‘लियो’ भनेर बोलाउनु हुन्थ्यो|
कहिले काँहीं मलाई ससाना केटाकेटीसँग जिस्किन मन लाग्दथ्यो। म उनिहरूले खाजा खाने बेलामा विद्यालयको अशोकवाटिकामा पुग्दथें र उनिहरूले खाजाखाने पेटिको मुनि थुचुक्क बस्दथें। उनिहरूले खाजा खाइरहँदा मैले मुख बाएर लामो जिब्रो बाहिर निकालेर र्याल चुहाउँथें। यो देखेर कति केटाकेटी ‘लोभी लोभी’ भन्दै मलाई जिस्क्याउँथे भने कतिले आफ्नो खाजाबाट केही मलाई दिन्थे। म पनि उनिहरूले दिएको खाजा मिठो मानेर खान्थें। यदि कसैको बट्टाबाट खाजा भुईंमा खस्योभने त्यो मेरो भाग हुन्थ्यो। कुनै दिन म कसैको खालीबट्टा वा त्यसको ढकनी लिएर चहुरमा कुद्दथें। यो देखेर कोही खुशी हुन्थे त कोही चारहात खुट्टा फालेर रुन्थे।र कोही गएर दाइ वा बाबाको कान फुकिदिन्थे। फलस्वरूप मलाई सजाय हुन्थ्यो। सजायमा पनि कम्ती रमाईलो हुँदैनथ्यो। बाबाले हावामा उछालेका रोटीका टुक्रा, चनाका गेडालाई मैले हावामा उफ्रेर मुखमा च्याप्प समात्नु पर्दथ्यो। यसो गर्दा घरिघरि म भुईंमा बजारिन पुग्दथे। यो देखेर अघि रुने बालक पेट मिचिमिचि हाँस्दथ्यो र अर्कोदिन ऊ स्वयं मलाई आफ्नो खाजा पनि दिन्थ्यो र बट्टा बोकेर कुद्न पनि उक्साउँदथ्यो। दाइदिदीको पाठशाला जान पाउनु मेरोलागि खुशीको कुरा थियो।
म यहाँ आएदेखि घरको एउटा सदस्यकै रुपमा गनिएको छु| नजिकैको त कुरै छोडौं सयौं किलोमिटरको यात्रामा पनि म वहाँहरुको साथसाथै गएको छु| मलाई बसको भन्दा मोटरसाइकलको यात्रा खुब मनपर्यो| खाने कुरामा पनि वहाँहरुले लियोले यो खान्छ भनेर मेरो बिशेष ख्याल राख्नुभयो| एकदिन दाइको बाबा राम्रा कपडा लगाएर स्कुटर चढेर कतै जानुभयो| साँझ फर्कंदा वहांले मलाई मसलादार मासुको परिकार ल्याइदिनुभयो| अर्को पटक पनि जव वहांले त्यसै गर्नुभयो, मलाई लाग्यो वहांले राम्रो सुट लगाएको दिनमा मलाई मसलादार मासुको परिकार ल्याउनु हुन्छ| पछि थाह्भयो कि वहाँ भोज भतेरमा जाँदा मेरोलागि पनि मिठा परिकारहरु ल्याउनु हुँदोरहेछ| एक दुई पटक मैले वहालाई पिछा गर्दै त्यस्ता ठाउँमा पुगेको छु| तर यसरि कसैलाई थाहै नदिइ भागेर जाँदा बाटोमा अर्काको आक्रमणमा पनि परिने रहेछ| एक पटक मलाई जीउ जोगाएर घर आउन हम्मे परेको थियो| त्यसपछि मैले घरबाट भाग्न छोडें|
जतिजति म ठुलो हुँदै गएँ, उतिउति मलाई आफ्नो स्वतन्त्रताको क्षेत्र बिस्तार गर्ने चाहना बढ्न थाल्यो| दाइदिदी पढ्न गैसकेपछि घरका अन्य सदस्य आफ्नो काममा लागेपछि मपनि लुसुक्क बाहिर निस्केर यात्रतत्र घुम्थें| हिजो पुगेको भन्दा अलि पर पुगेर राम्रा आचरण भएका म जस्तै अरुलाई साथी बनाउँदै जोरि खोज्नेलाई डराउँदै धम्काउँदै तर्साउँदै आफ्नो स्वतन्त्रता पूर्वक हिंडडुल गर्न पाउने अधिकार कायम गर्थें म| कहिले काहीं कुनै टोलका दादा भनाउंदाहरु हुल बाँधेर ममाथि आइलाग्थे| यस्तो देख्नेबित्तिकै म बिनम्रतापूर्वक सन्धि सम्झौता गर्न तयार हुन्थें| यसरि मेरो दिनचर्या बित्न थाल्यो|
कुनै वर्षायामको साँझको कुरा हो, दाइले स्कुटर बाहिर निकालेर चलाउँदै आफ्नो टोल वरिपरी कुद्नुभयो र म पनि दाइको पछिपछि कुद्न थालें| यत्तिकैमा घनघोर वर्षा हुन थाल्यो| दाइ बाटोको डिलमा स्कुटर रोकेर बेतोडले घरतिर कुद्नुभयो| मलाईभने स्कुटर कसैले चोरेर लान्छ र आमा टाढाको पाठशालामा हिंडेरै जानु पो पर्छकि भन्ने शंकाले सतायो त्यसैले म भाग्न सकिन| एकदिन दाइले भन्नुभएको थियो, “बाबालाई त म जसरी पनि पटाउँछु तर आमाको मन जित्ने जिम्मा तेरै|” मलाई लाग्यो यही उपयुक्त मौका हो| म पानीमा भिजेरै स्कुटर कुरेर बसें| साँझ अबेर बाबा स्कुटर लिन आउनु भयो| मैले मेरै भाषामा बोलेर वहाँलाई म त्यहीं भएको आभास गराएँ| वहांले दौडेर आइ मलाई अंगालेर घरतिर कुद्नु भयो र मात्र स्कुटर लैजानु भयो| त्यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण थियो|
यो बर्षको तिहारतिरको कुरा हो म बयस्क भैसकेको रहेछु| ममा आएको परिवर्तनलाई देखेर बाबाले मलाई सम्झाउनु भयो, “हेर ठिटा, एउटा जाबो कान गए जान्छ; यसपालिको कत्तिक खालि जान दिन्न भन्ने जात हो रे तिमीहरुको| बरु म अर्को साल एउटी राम्री ठिटी खोजेर तेरो बिहेको व्यवस्था गरि दिउँला र तँ पनि अर्को साल बाबु बन्लास तर यसपालि अलि संयमी हुनु|” खै, बैंस मातेर हो वा किन हो, मलाई वहांको कुरा त्यति उपयुक्त लागेन र म मौका पाउनासाथ नखरमाउलीहरुलाई भेट्ने आशमा घरबाट भाग्न थालें| म घर फर्कने कुनै खास समय थिएन त्यसैले म दिउँसो कोठामा थुनिएर राखिन थालें| रात परेपछि मलाई मुक्त गरिन्थ्यो| मैले त्यहि मौकाको फाइदा उठाएँ| कतिदिन म घरै आइन| तिनै नक्कलीहरुको बारेमा मेरो अरुहरुसँग खुब झगडा पर्यो| साँच्चैनै मैले कतिको कान लुछेंहोला र कतिले मेरो|
यसैबेला झन्डै एकहप्ता जति तराईमा शीतलहर चल्यो| प्राय घर बाहिर रात बिताउने, चिसो खाना खाने, आराम नगर्ने, लुछाचुंडी गर्ने आदि कारणले म सिकिस्तै बिरामी परेपछि मात्र मलाई घरको र बाबाको खवरदारीको याद आयो| म खुसक्क घर गएँ र लुकेर बसें| अचानक मलाई जोड जोडले खोकी लाग्यो| बाबा दौडेर आएर हेर्नुभयो र रिसको आवेगमा मेरो शिरमा एक मुक्का जमाउनु भयो| मलाई पुछपाछ पारेर खाना दिएर वहाँ सुत्न जानुभयो| भोलिपल्ट मलाई जुका परेको र पखाला लागेको जानेर दाइले मलाई औषधि खुवाउनु भयो| मरेका जुका त मेरो दिसाबाट गए तर पखाला रोकिएन| आमाले पनि मलाई गाली गर्दै यसलाई थुनेर राख्नुपर्ने थियो भनेर पछुताउनु भयो| वहाँले भन्नुभयो, “कुकुरलाई कुनै देशको राजा बनाइयो भनेपनि भोक लागेको बेलामा त्यो राजाले थोत्रा जुत्ता कोपर्छ भन्थे, हो रहेछ| यो बदमासलाई यति माया गरेर आफ्नै सन्तान झैं पालियो; हेर आज घरै छोडेर भागेर यो हालत!” मलाई आमाको कुराले कत्तिपनि दुख्ख लागेन बरु आफ्नो मुर्ख्याईंप्रति पश्चाताप भयो| पर्सिपल्ट मलाई अस्पताल लगियो| दुई दिनमा आठ आठ वटा सुई लगाउँदा मेरो हालत खस्कीइ सकेको थियो| अपचको कारण ले मेरो भोक हराइ सकेको थियो| शरीरमा पानीको मात्रा पनि कम भैसकेको रहेछ| पखालाको कारणले खाएका औषधि पनि जिउमा भिज्न पाएन| मलाई गल्लीका एक दर्जन कुकुरहरुले एकसाथ कोपरेझैं पिडा भैरहेको थियो| अस्ति दाइले ल्याएको मासु हेर्नैमन लागेन| मैले देखें मैले मेरो मनपर्ने खाना त्यागेको देखेर मेरो बारेमा दाइदिदीलाई बढी चिन्ता भैरहेको थियो| हुँदाहुँदै मैले दुध पनि निल्न सकिन| म फेरि अस्पताल लगिएँ| औषधि थपियो तर व्यथा कम भएन| यही पुषको वीस गते दिउँसो बाबा आमा दाइदिदी सबैजना पाठशाला गएको बेला मलाई लिन यमराजका दूतहरु आए| मलाई एक पटक सबैलाई हेर्ने धोको थियो| आफ्नी जन्मदाता आमाको पनि याद आयो| मर्ने बेलामा पनि मैले उनिलाई एकपटक देख्न समेत पाइन| मैले यसो आँखा घुमाएर हेरें| छेउको थालमा पोलेको कुखुराको मासु थियो| कचौरामा मैले बान्ता गरेको औषधि सहितको दुध थियो| मैले ओढ्ने कम्बल ले ठाउँ छोडिसकेको थियो| बाहिर पहारिलो घाममा म यमदुतहरुबाट घेरिएको थिएँ| उनिहरु खै के के को तयारी गर्दैथिए| मेरो बेला भैसकेको थियो; श्वासप्रश्वास फुलिरहेको थियो; मैले सम्झिएँ दाइले सस्तो साबुनले नुहाएर मलाई बिदेशी साबुन र स्याम्पो लगाएर नुहाइधुवाइ गरिदिनु हुन्थ्यो| अस्ति भर्खरै ल्याएका साबुन र स्याम्पो त्यसै छन्| मेरो जीउमा घस्ने उपियाँको दबाई, मेरो नाम अंकित रातो रंगको पेटी! ऊफ! म सबैलाई त्यागेर जाँदै थिएँ| मलाई मन नपर्ने त्यो टल्किने सांग्लो छिन्द्रिंग छिन्द्रिंग गर्दै आएर आज मलाई कसेर बाँधे पनि हुन्थ्यो जस्तो लाग्यो तर त्यो जड पर किलामा बाँधिएर मलाई हेरिरहेको थियो| हुन त मेरो जीवन कालमा त्यसको खासै काम आएन अब मर्ने बेलामा त्योजाबोले मलाई के बाँध्न सक्थ्यो र!
मेरो प्रतिक्षाको घडी समाप्त भैसकेको थियो| अन्तमा म सबैको माया बोकेर सदाकालागि बिदा भएँ| तर कसैलाई बस्नुस है भन्न पाइन| यही जीवनको धोको रह्यो| अर्को जुनीमा मान्छे भएर जन्मिन पाएँ भने हजुरहरुकै छोराछोरी भएर जन्मन पाउँ|
यही हो मेरो आत्मा कथा| बाबा आमा दाइदिदी अंकल आंटी, बिदा!
हजुरहरुको आज्ञाकारी
लियो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )