~विपुल सिजापति~
‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा सल्बलाईरहेका जुठेका औंला रोकाइ मुख खोलाउन सकेनँ ।
‘बा sss, हाम्रो पानी चल्दैन रे हो ?’
‘खै sss, त्यसै भन्छन्,’ बल्ल जुठेको वाक्य खुल्यो ।
‘बा, तिमी त सधैँ दर्वाराँ सनाई बजाउन जान्छौ, पानी चलाइ माग न ।’
‘पानी त चलिसकेको छ, नबुझेर पो त, अबुझ जस्ता बनेर पो त, अरू भन्दा नि आफूलाई ठूलो भनाउनाका खातिर पो त आडम्बर गरेका ।’
केटोले जुठेका कुरा बुझेनँ, कोट्यायो र सोध्यो, ‘कैले देखि पानी चल्या बा ?’
‘आ sss, कति झिंझो लाउँछ यो, बिनसित्ती, नसुतेर ।’ जुठे झर्कियो
‘भनन् बा sss’, केटोले ढिपी गर्यो ।
जुठेले छोराको कपाल सुम्सुमाउँदै भन्न थाल्यो ।
*****************************************
‘सरकार जागा भो ?’ उनले मुनख्खादाख केलाउँदै सोधिन् ।
‘छैन महारानी, अरुबेला भए यतिबेलासम्म त जागा भैसकिबक्सिन्थ्यो । कतै गाथमा आराम पो भएन कि !’ चमेलीले जवाफ फर्काई ।
‘तेरो बोली शत्रुलाई लागेस्’, महारानीले हत्त न पत्त महाराजको लागि ढाल तेर्स्याइन्, ‘कामको बोझले गर्दा थाकिबक्सेको मात्र हो ।’
‘त्यै त,’ बेलीले चेपारे स्वरमा चीप्लो घसी, ‘यत्रो मुलुकको जिम्मेवारी सम्हालिबक्सेको छ, जलसमेत प्युँन फुर्सद पाईबक्सन्न । म त ज्युनारमा समेत रुचि घटेको देख्छु सरकारको, कविराजलाई बोलाएर देखाउनु पो पर्छ कि ?’
‘क्यै होइनँ व्यारे’, अर्कि सुसारे मिश्रीले ओड ढाकी, ‘तिमीहरुका हात ओखलमा राखेर किच्न नपुग्या मात्र हो । लतर् पतर् गरेर ज्युनार तयार गर्छौ अनि के ज्युनार गरिबक्सन्छ त ? खै ! मैले हिजो तयार गरेको ज्युनार कति मज्जाले स्वाद लिएर ज्युनार गरिबक्सियो त ! पाँच मोहर बक्सिस पनि पाएँ ।’ मिश्रीको नाकको पोरा अभिमानले केही फुलेको थियो ।
‘हो sss, यस्को हातै मीठो छ भन्या । हिजो कालीजको कवाफ त अति मीठो थियो भन्या, आलुदम पनि त्यतिकै मीठो’, महारानीले सही थापिन्, मिश्री गज्की ।
‘ए मिश्री, पायस (खीर) छड्किन लाग्यो, अब यो मसला हालुँ ?’
‘पहिले त्यो तातो पानीमा भिजाएको काजु र छोडा हालिबक्सियोस् अनि एकछिन पछि बाँकी मसला हालिबक्से नि हुन्छ ।’
‘ए चमेली’, उनले मसला पायसमा हाल्दै भनिन्, ‘एकबाजी गएर हेर त, महाराज सुकला नै हो कि जागा भैबक्सियो ।’
‘मेरो त गिरिधर गोपाला दुसरा न कोही…..मैले त जागा हुनेबित्तिकै सरकारको स्वश्ती गर्न पाएँ’, निलकण्ठ बाजे भान्साको ढोकामा झुल्किए र महारानीलाई पनि स्वश्ती गरे ।
‘गुरुको नाभी त चुलामै गाडिएको छ कि क्या हो, ज्युनारकै बेलामा टुप्लुक्क आउनु हुन्छ’, मिश्रीले छेड हानी ।
‘असत्तीका मुखाँ कोढ फुट्ला, सिद्ध ब्राम्हणलाई अनेक थरी बोल्दी रै’छे, बिहान प्रसाद टक्राए पछि म सधैँ यतिबेलै त आउँछु नि’, तयार परिकारमा नजर लगाउँदै निलकण्ठ बाजेले भने ।
‘पुरा खान पल्केका बाउन’, मिश्रीले चमेलीको कानमा साउती मारी, सबै नानीहरू गलल्ल हाँसे ।
खाजामा ज्युनारको लागि मुनख्खादाख, काजु, किसमिस, नरिवल, देशी बदाम, पेस्ता चिलगौची, छोडा र अन्जिर लपक्क हालिएको मनभोग, मनग्गे सुख्खा मसला हालिएको पायस चाँदीको गीलासमा केसर र कस्तुरी हालेर तयार पारिएको सिन्दूरी रङ्गको गाईको दूध तयार भयो ।
*****************************************************
स्वादिलो खाजाबाट महाराज प्रसन्न होईबक्सियो । आजको परिकारको बखान गर्दै पकाउनेको नाम सोधनी भयो । महारानी मुस्कुराइन् । महाराजको हृदय गद्गद् भो । ‘तिमीले यसरि खुवाउने हो भने त म मोटाएर दोजिया भुनी जस्तो हुन्छु ।’ महाराजले मुखको कुल्ला चाँदीको पीकदानीमा थुक्दै भने ।
‘छिः के मर्जि भा sss, आजकाल बल्ल रुचि जागेको छ, त्यति पनि ज्युनार नगरिबक्से त कसरी निर्वाह चल्छ !’ महारानीको अनुराग मिसिएको बोलीमा त्यतिकै लाड पनि थियो ।
महारानीको मिश्रि घोलिएको बोलीले महाराजको खुसीको सिमाना रहेन । उदार भएर सोधे, ‘महारानी, के बक्सिस लिन्छौ त ?’
‘हजुरको चरणमा बास पाइरहुँ, हजुरकै काखमा सधवा भएर मर्न पाउँ, त्यति भए पुग्छ’, बोल्दाबोल्दै महारानीको गला अबरुद्ध भएर आयो, नयन भरिएर आए । महाराजले हृदय थाम्न सकेनन्, गर्लम्म अँगालो हाल्न पुगे । अंगालैमा भने, ‘के भनेकी हिया तिमीले । तिमी त मेरो हृदयकी रानी हौ, मेरो सर्वस्व हौ, बाँच्ने आधार हौ ।’ अँगालोबाट निकालेर चिउँडो उठाएर महारानीको आँखामा हेर्दै फेरी भने, ‘महारानी, म तिम्रो प्यारमा कहिल्यै दगा गर्ने छैन, आजन्म मेरो हियार बनाएर नै राख्नेछु ।’
महाराजको अनुरागपूर्ण बचनमा महारानीले अनुहार उज्यालो पारीन् । प्रेममा वशभूत भएर महाराजले सोधे, ‘आजको मीठो खाजा बनाए बापत तिमी के उपहार लिन्छौ भन त ?’
महारानीले लाडे पल्टिएर भनिन्, ‘पहिले राज होस् न अनि भनुम्ला ।’
महाराज खाटमा बसे । महारानीले चाँदीको मसलादानीबाट सुकुमेल झिकेर टक्राइन्, महाराजले सुकुमेल मुखमा हाल्दै भने, ‘ल भन, के रहर गरेकी छ्यौ उपहारमा ।’
‘हजुरले दिने बाचा गरिसकिबक्सियो, म कुनै दिन भनुला ।’
‘कतै छोराको रहर गरेकी त छैनौ ?’ महाराजले उल्याए ।
‘छिः, कति जिस्काउन सकिबक्सेको’, महारानी सन्ध्याको सूर्य जस्ति भइन् ।
******************************************************************
‘बा, भाग्या टी’ (मैले ढोग गरेँ बा), उनले बुवाको अगाडी शिर झुकाइन् । कुशल मङ्गलको सोधनी र भलाकुसारीको एकखेप बातचित भयो । आफ्नो माईतीको कुरा चल्ने बित्तिकै बुढाले निन्याँउरो मुख लगाएर भुईँ कोट्याउन थाले ।
‘छाय बा, छु जुल (किन बा, के भयो)?’
बुढाले निस्वाश छोडदै भने, ‘तरिमैं (ठूली छोरी), छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी प्युँदैनन् । तिम्रो हातको भात चलेर पनि हामी त जूठो नै छौ । भगिरथले त्यत्रो प्रयास गरेर शिवजीलाई शीर थाप्न लगाएर स्वर्गबाट झारेको गङ्गा त सबै मानवजातिको लागि थियो । त्यस्तो पवित्र गङ्गा पनि चल्ने र नचल्ने हुन्छ र ?’ आफ्नो कथन सुनाएर बिरक्तिएका बुढाको नजर नेपथ्यमा मोडिए पनि भुईँ कोट्याउन छोडेन औंलाहरुले । महारानीले गम्भीर भएर बाबुको कुरा सुनिन्, उनका आँखामा अनौठो आगोका शिखा तैरिन थाल्यो ।
***********************************************************************
त्यस रात महारानीलाई निन्द्रा परेन, बाबुका कुरा मनमा खेलीरह्यो । ‘तिम्रो भात चल्यो sss, हाम्रो पानी चलेन sss’, यही वाक्य रातभरि नै महारानीको दिमागी घण्टामा रालो ठोके झैँ ठोकिएर लगातार गुञ्जिरह्यो । बिहान महाराज जागा हुनेबित्तिकै ढोग्न पुगिन् र पलङ्गको पाउपट्टि घोसेमुन्टो लगाएर बसिरहिन् । महाराज चर्पी गएर फर्किएपछि दतिवन टक्राइन् र मुखारीको लागि चाँदीको अंखरामा पानी लिएर उभिईरहिन् । महाराजले दतिवन चपाएर दाँत माँझे, कुल्लाको लागि महारानीले पानी हालिदिइन्, महाराजले कुल्ला गरे मुख धोए, महारानीले रुमाल अगाडि बढाइन् ।
अनुहार पुछेर महाराजले महारनीलाई हेरे । आफ्नी प्राणप्यारी हियाको मद्धिम अनुहार देखेर झस्किए, सोधे, ‘के भयो महारानी, संचो छैन कि के हो ?’
‘ठीकै छु’, महारानी पूर्ववत जवाफ फर्काइन् । महाराजले नजिकै गएर नियाँले, महारानीका आँखामा अनिन्द्राको खुमार थियो, आँखामा राता डोरा परेका थिए । महाराज झस्किए ।
‘महारानी, तिम्रो गाथमा पक्कै सन्चो छैन, अनुहार पनि झरेको देख्छु, भन त के भयो ? म कविराजलाई बोलाउन पठाउँछु ।’ महाराजले नजर दौडाए ।
‘मलाई त्यस्तो खास केही भएको छैन्, अलि निन्द्रा नपुगेको मात्र हो ।’ महारानीले फेरी भनिन् ।
‘हैनँ, तिमीले कुरा लुकायौ, केही त पक्कै भएको छ । भन न के भयो ?’ महाराजको स्वरमा प्रेम, डर र आशंकाका मिलिजुली भाव थियो ।
महाराजको निकै बेरको आग्रह र करपछि उनले बिस्तार मुख खोलिन, ‘महाराजको जय होस्, टाढा टाढासम्म कीर्ति फैलियोस्, सत्रुहरु सखाप हुन्, पशुपतिनाथले गाथमा सधैँ मङ्गल गरून् । आज्ञा भए एउटा बिन्ती चढाउनु छ पाउमा….’
महाराज गम्भीर भए । महारानीले कोमल स्वरमा भन्न थालिन्, ‘महाराजले बिर्सिबक्सिएको छैन भने महाराजबाट एउटा बाचा कृपा बक्स भएथ्यो यस दासीलाई …..’
‘भन महारानी मैले बिर्सेको छैनँ, तिमी जे माग्दछ्यौ म दिन्छु ।’ महाराजले आस्वश्त पार्न खोजे ।
‘कृपानिधान, मानिसको चोला अजम्बरी छैन, एकदिन मर्नै पर्दछ । हजुर यत्रो मुलुकको अन्नदाता होईबक्सन्छ, सबैले यशगान गाउँदछन् तर …’
‘तर के महारानी, कसले मेरो हुकुमको बर्खिलाफ के गर्यो ?’
‘त्यसो केही होइन महाराज, सबै हजुरका यश गाएर स्वश्तीमंगल गाउँछन् तर हजुर प्रजापालक भएर प्रजाका कष्ट पनि त बुझिदिबक्सनु पर्छ नि !’
‘हुँsss , प्रजालाई के कष्ट भयो ? के गर्नु पर्यो मैले ?’
‘हजुरको यश प्रतापले प्रजा कहिल्यै भोको बस्नुपरेको छैन तर उनीहरूलाई पानीको साह्रै कष्ट छ । आधा-आधा दिनसम्म पानीको लागि कुवा पँधेरो धाउनु पर्छ । बुबा महाराज बेलायत सवारी हुँदा सँगै गएकाहरुले देखेकोजस्तो कलधारा हिन्दुस्तानका शहरमा समेत आइसक्यो रे । यहाँ पनि हजुरको नामबाट कलधाराको व्यवस्था भएमा प्रजाले सुविधासँग पानी प्युँन पाउँथे । हजुरको यश फैलिन्थ्यो, रैती दुनियाले कीर्तिगान गाउँथे..’ महारानीले भावुक भएर महाराजको पाउमा छाँद हालेर अश्रुधारा चुहाउँदै भिनिन्, ‘महाराज, हजुरले बक्स भएको बाचामा पानी प्युँनको लागि कलधाराको व्यवस्था गरिदिबक्सियोस्, मैले यही माँगे, दयानिधान… कृपा हवस…कृपा हवस्…’ महारानी रुन थालिन् ।
महाराज निकै बेर अवाक रहे ।
***************************************************************************
हुकुम अनुसार प्रसस्तीमा लालमोहर लाग्यो । कलधारा झिकाईए । पाईप बिछाईयो । कलधारा शहरका विभिन्न ठाउँमा जडान गरियो । साइत निकालियो, उदघाटनमा जम्मा हुन सकल दर्जाका फौजी तथा निजामती कर्मचारीलाई उर्दी जारी भयो । उदघाटनमा एक सय आठ ब्राम्हण जम्मा भए, शान्तीस्वश्ती र पूजा अर्चना पछि महारानीले कलधाराको साँचो खोलिन्, बढाइँ गरियो । कलधारालाई वीरधारा नामाकरण गरियो । त्यस समारोहमा सामेल भएका ब्राम्हणहरुलाई मनग्गे दक्षिण दिएर ‘पचहत्तरै जिल्लामा बसी पुरेत्याइँ गर्नु’ भन्ने आदेश सहित पठाइयो । सकल प्रजाले महाराज महारानीको गुणगान गर्दै बीरधाराको पानी पिए । त्यस रात पनि महारानी सुत्न सकिनन्, मनोकामना पूर्ण भएको हर्षले ।
कथा सकेर जुठेले छोरालाई हेर्यो, ऊ सुतिसकेको थियो, त्यस बेलाको समाज जस्तै ।
प्रकाशित : पुस १८, २०७२
(स्रोत : Kharibot)