~प्रकाश आस्था~
पहिलो रात
‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’। लामखुट्टेको आक्रमण थियो। आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्री निन्द्रा विथोल्न लामखुट्टेहरुको बगाल अर्को ‘टिँईँ आन्दोलन’मा थिए। काठमाडौ कब्जा गर्न आएका कमरेटहरु जति पातला थिए, चौर र झाडीमा बास गर्ने भोका लामखुट्टेहरु उत्तिकै पातला थिए। राती पानी ओइरियो। पानीको बाछिटाले कमरेटहरु सुतेको हललाई पनि भेटेछ। दिनभरीको निन्द्राले सबै ‘भुस्’ थिए।
घोर निन्द्रामा तिनले आफू भिजेको चाल पाएनन्। तीन/चार बजे कमरेट दाप्सेले सपनामै केही छाम्यो। उसले ‘स्युस्यु’ महसुस गर्यो। उसको हातले पानीको आहाल छाम्न पुगेको थियो। ‘लौ साथी हो उठ, लुगाकपडा सप्पै भिज्यो।’ कमरेट दाप्से बिउँझेर कराउन थाल्यो, ‘ए काका, उठ। अब के गर्ने?’लामखुट्टेका टोकाइले तिनका अनुहार सुन्निएका थिए।
बिहान
टाटेपांग्रे पहिरनको कमरेट कमाण्डर आँखा मिच्दै बोल्यो, ‘अब सटकमा हाजिर हुने। बाहिरीयालाई पस्न नदिने। भित्रका बाहिर जान नमिल्ने।’ आआफ्ना बाँसका कप्टेरा समातेर अरिगांलको बथानको चालमा सप्पै कमरेटहरु सडकमा निस्किए। रातिको पानी र शरिरको पसिनाको ‘फ्युजन’ले भिजेका तिनका एकसरो पहिरनमा उति मिठो गन्ध थिएन।
सडकमा गाडी थिएनन्। एकाबिहानै भएकाले होला, पैदलयात्री कम थिए। कमरेटहरुले एकअर्काका बाँसका कप्टेरामा आफ्ना बाँसका कप्टेरा जोडे र साङलो बनाए। ‘जा, मैले त टोपी उतै छोडेछु। थुइक्क।’ , हत्केलाले टाउको सुम्सुम्याउँदै कमरेट पात्लेका काका कमरेट सिस्ने बोले।’ ‘अब के गर्नु?’ एउटै गाउँबाट आएको दाप्सेले भन्यो, ‘कमाण्डरको आदेशबिना त टोपी लिन जान त मिल्दैन।’ ‘हरे, तेरो टोपी छुट्यो। मेरो त पटुकै पो छुटो त।’ दाप्सेकै साखै बाउ कमरेट डाँडाघरे बोले, ‘ए दाप्से जा, टोपी र पटुका दुइटै लिएर आ।’ दाप्सेले इन्कार गर्यो। भन्यो, ‘भन्दैछु। कमाण्डरको आदेशबिना मिल्दैन। अहिले पछि आदेश लिएर जाउँला।’
सडकमा विस्तारै पैदलयात्री बढ्न थाले। तर तिनलाई मुलसडकमा हिँड्न प्रतिबन्ध थियो। सडक छेउछेउ मात्र पैदलयात्रीलाई हिँड्नु भन्ने ‘कासन’ थियो माथिको। मूलसडक हुँदै कोही आयो। कमरेटहरु जोशिए, ‘बीचबाट हिँड्ने होइन।’ परबाट साइकल आयो, कमरेटहरु एकैस्वरमा चिच्याए। साइकल आफू आएकै दिशातर्फ फिर्तान्मुख भयो। अनि कमरेटहरु खुसीले चिच्याए। दाप्से, पात्ले, सिस्ने र डाँडाघरे एउटै लाईनमा थिए, एउटै कमाण्डमा।
आन्दोलन चलिरहँदा समेत कमरेट सिस्ने र कमरेट डाँडाघरे भने हलमै छुटेका तिनको टोपी र पटुकाको नियास्रो मानिरहेका थिए। कमाण्डरको आदेश थियो, ‘खाना खाने बेलामा छुट्टी मिल्छ। उति नै खेर गएर टोपी र पटुका खोज्ने।’
विदेशी नियोग, प्रहरीका गाडी र एमबुलेन्स आउँदा अलि चनाखो भएर साङ्लो छुटाउनु बाहेक खासै अरु काम थिएन यो कमाण्डको। सडकमा बसिरहेकै बेला खुसुक्क डाँडाघरेले सिस्नेलाई भने, ‘ओए.. पानी पर्यो त। गाउँमा पनि पर्यो होला। मेरो त गोरु पनि छैन।’ ‘अँ त नी’, सिस्नेले पनि चाल मार्दै बतायो, ‘अहिले मकै नरोपे चिसो सुकिहाल्छ , के गर्ने?’ ‘अहिले पछि भात खान जाँदा खुसुक्क सल्लाह गरौँला।’
विस्तारै सडकमा घाम कडा रुपमा प्रस्तुत हुन थाल्यो। पेटेन्द्रियले भोजन माग गर्न थाल्यो। केहिछिनसम्म उभिएर नारा लगाइरहेका कमरेटहरु समेत भोकले लत्रिएर बिच सडकमा बसे। कमरेटहरुबाहेक सडकमा अरु सबै स्थिर थिए।
दिउँसो
बल्लतल्ल मध्याह्नमा कमरेटहरुको पेटको हड्तालको समाधान भयो। पार्टी प्यालेसको लाइनमा उभिएका सयौँ कमरेटको लाइनमा यिनले पनि कागजको थाल समाते। यही मौकामा सिस्ने र डाँडाघरेबीच गोप्य रुपमा राती परेको पानी र त्यसका कारण बारीमा आएको परिवर्तनका बारेमा छलफल भयो, ‘अब मकै रोप्न घर जाने’ , डाँडाघरेले भने। सिस्ने बोल्यो , ‘कमाण्डरले जान दिन्नन्?’ ‘खुसुक्क जाने नि। केटाहरु यतै बस्लान्। हामी दुई जनाचाहीँ जाने। शहर पनि देखिइहालियो। अब हिँडेरै जाने।’ तिनले आजैको साँझ घर प्रस्थान गर्ने योजना बनाए। तिनीहरु मटर चढेर शहर आएका थिए तर अहिले त तिनका लागि मटर थिएन। हिँडेरै घर जान ति कस्सिए। तिनले हलमा गएर टोपी र पटुकाको खोजी गरे। टोपी भेट्टाइएन। पटुका बेन्चीमै पल्टिरहेको भेटियो।
सडकमा ‘रोटेसन’ले भोजन कार्यक्रम चलिरहेको थियो। सिस्ने र डाँडाघरे कमरेट फेरी सडकमै गए। भोजनको उर्जाले सडकले अर्कै रौनक प्राप्त गरेको थियो। फेरी गानाबजाना चल्यो। ‘मेरा नी बाबै, उपल्लोथोककी च्यान्टी र सुन्तली पनि नाच्न र गाउन आएका रहेछन्। यिनले यहाँ के-के गर्ने हुन्!’ तिनले लाल दोहरी घन्काउन थाले। दिउँसै सडकमै ‘रतेली’ जम्यो।
सांगीतिक माहौल फेरी थाक्यो। घाम चिरिक्क चर्क्यो। कमरेटहरु पसिनाले भिजे। कोही कमरेट घरका सिँढीको सिँयालमा गए त कोही रुखको। तर यो अब्बल आन्दोलन थियो। परबाट पानीको टयांकर आयो। आन्दोलनकारीहरुले अन्यथा ठानेर सिटी लगाए। यो त उनीहरुलाई नै पानी खुवाउन आएको टयांकर पो रहेछ। कोहीले बोतलमा पानी थापे, कतिले गर्मीले गर्दा आतुस भएर आफ्नो शरिरै थापे। बरफ र काँक्रो बेच्नेहरु वरपर आइपुगे। केही कामरेडहरुले थपीथपी काँक्रो र बरफ खाएको देखियो। सिस्ने र डाँडाघरेले काँक्राको चिरोको दर्शनमात्र गरे। तिनले खल्ती भने अवश्यै छामे। अनि पानीले घाँटी भिजाए।
टयांकरले पानी बाँडिरहेकै बेला कमरेट डाँडाघरेले दुइटै ठिटालाई बताए, ‘तिमेरु पछि आउनु। अब हामी हिँडेरै घर फर्कन्छौँ। बाउ बाजे पनि हिँडेरै नेपाल आइपुग्थे। मकै छर्न जान परेन?’ दाप्से र पात्लेले असहमति जनाएनन्।
साँझ
साँझ नै दुई कमरेटजन शहर छाड्ने निचोडमा पुगे। तिनले आफ्नो डडाँल्नोमा कसिएको झोला झनै कसे। मटरमा चढेर गाउँबाट शहर छिर्दा तिनको मुहारमा छाएको कान्ति अहिले उति देख्न सकिन्नथ्यो तर प्रधानमन्त्रीले राजिनामा दिने बित्तिकै केही न केही अवश्य हुन्छ भन्ने विश्वास यिनको मनमा थियो। यत्तिकैमा चक्रपथमा चिल्लो सवारी देखियो।
आमहड्तालमा कसको गाडी? तिनको आँखा गाडीमा केन्द्रित भो। ‘किन लखेटेनन् हाम्रा कमरेटहरुले यो गाडी?’ यी दुइले ठाने तर चिल्लो सवारीमा तिनले पोस्टर र पम्प्लेटमा बारम्बार देखेका जुँगामुठे कामरेड थिए। कामरेड जुँगामुठे विजयभावमा गाडीभित्रैबाट ‘सटकका कमरेट’हरुलाई हात हल्लाउँदै चक्रपथ परिक्रमा गरिराखेका थिए।
घर पुग्न यिनका लागि अझै दुई दिनको बाटो थियो। भुटेको मकै बाहेक अरु कुनै खाद्यान्न केही नबोकेका यी सर्वहाराजन केही अतास्सिएका थिए। तैपनि जाने बेला आफ्ना आदिगुरु सडकमै प्रकटमा हुँदा तिनको आत्मबल बढेको थियो। तिनले ठाने, ‘अब विजय नजिक छ।’ अनि झोलाका तुनाले आफ्ना पातला कम्मर झनै बेस्सरी कसे र घरतर्फ अगाडि पाइला बढाए।
………………………………………………………………………………………………
सिस्ने र डाँडाघरेले शहर छोडेको छ दिनपछि पात्ले र दाप्से पनि कलंकीमा निन्याउरो अनुहारमा एकाबिहानै भेटिएका थिए। उनीहरु घर जान बस खोज्दै थिए। उता जुँगामुठे कामरेड अब अर्कै रणनीतिमा छन् भन्ने खबर एफएमहरुले फुकिरहेकै छन्। तपाईँलाई के लाग्छ, दाप्से, पात्ले, सिस्ने र डाँडाघरे फेरि जँगामुठे कामरेडको कुर्सीका लागि शहर आइदेलान्?
May 8th, 2010
(स्रोत : Mysansar)