कथा : सुन्तली

~दिनमान गुर्मछान~Din man Gumachan

बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी पकाई तरकारी।

‘आज त बिदाको दिन।’ उसले एकपल्ट सोची। ‘गाउँमा सबै रमाइलोमा छन्, आफूलाई पनि जान मन लागेको त हो तर घरमा काम गर्नैपर्‍यो। घर रूङ्ने कोही छैनन्। आफैं बस्नुपर्‍यो। विवाहमा साथीहरू पनि आएका होलान्।’ सोच्दासोच्दै चुल्हामा बसाएको भात पाकिरह्यो।

ग्ाोठमा अघिदेखि पाडो कराइरहेको थियो। चुल्हामा पकाउन बस्दा पनि गोठमा सघाउने कोही थिएन। भाइहरू विवाहतिरै लागेका थिए। त्यसैले उसलाई आज भ्याइनभ्याई थियो। अति नै झर्को लागेपछि ऊ गोठतिर लागि र दुई मुठी घाँस दिएर चुल्हामा फर्की। धूवाँले भरिएको थियो चुल्होवरिपरिको वातावरण। ऊ आगो पनि फुक्थी र केहीबेर राम्रोसँग बल्थ्यो आगो। पाकिसकेको भातको भाँडो चुल्हा छेउको बिँडामा राखेकी छे। फर्सीको मुन्टाको तरकारी कराहीमा पाक्दै छ।

सुन्तली उसको नाम। गाउँमा सबैले यही नामले चिन्छन्। ऊ चुल्हो छेउमा पिरामा बसेकी थिई भात-तरकारी पकाउन भनेर, तर उसको सोच अन्तै थियो।

उसकी बालसखा थिई कमला। जो ऊसित खुब मिल्थी। उनीहरू एउटै साल जन्मिएर सँगै हुर्किए। विद्यालयमा पनि सँगै पढेका थिए। त्यही कमलालाई सम्झिरहेकी छे ऊ।

कमला र सुन्तली सँगै बाख्रा गोठालो जान्थे। गाउँकै छेउमा रमाइलो जङ्गल थियो। जङ्गल छेउमा सानो खोला पनि थियो, जहाँ उनीहरू गोठालो जाँदा दिनहुँ नुहाउँथे। उनीहरू धेरै मिल्थे, राम्रो प्रेम थियो। बाख्रा चराउन जाँदा दुवैका बाख्रा एउटै हारमा चरिरहेका हुन्थे। उनीहरू भने कहिले गीत गाएर, कहिले पढाइका गफमा त कहिले एक-अर्काका जुम्रा हेरेर समय कटाउँथे। साँझ नपर्दै सँगै घर र्फकन्थे। वनमा उनीहरूले गाएको मीठो गीतले वनै गुन्जिन्थ्यो। कमला भन्थी, ‘सुन्तली !हाम्रो साथ कति रमाइलो हुन्छ। हेर, हामी जहाँ गए पनि सँगै हुनुपर्छ, बुझिस् !’ कमलाले भनेको कुरा यतिखेर सुन्तलीको कानमा गुन्जियो। एक किसिमको विस्मातले उसको अनुहार धूमिल भएर आयो। नैराश्यले छोयो। त्यतिबेलाको रमाइलो अब कहाँ रह्यो र !

ऊ अब एक्ली हुन पुगेकी थिई। चुल्हा वरिपरि धूवाँले कुइरीमण्डल बनायो। सुन्तली झस्किई, ‘ओहो !आगो बल्न छोडेछ।’ छेउको ढुङ्ग्रो उठाई र आगो फुक्न थाली। आगो बल्न थाल्यो। धूवाँ विस्तारै आफ्नो बाटो पहिल्याउँदै बाहिरियो। सुन्तलीको अनुहारमा चमक देखापर्‍यो। तरकारी पाकिसकेकाले भाँडो झिकी र चुल्हामाथि पानीको भाँडो बसाली।

बाहिर राम्रोसँग घाम लागिसकेको थियो। घरभरिका मान्छे त्यहाँ थिएनन्। त्यसैले यति चाँडो भात पाकेकोमा खुसी थिएन उसलाई। ऊ आज बिहानदेखि काममा व्यस्त थिई। थकित ऊ चुल्हाबाट उठी र बाहिर आँगनमा चरिरहेका कुखुराका चल्ला गन्न थाली। यताउता आँखा घुमाउँदै आँगन वरिपरि हेरी। आज उसलाई यो घर-आँगन नै बिरानोझैँ, कताकता आइपुगेजस्तो अनौठो अनुभूतिले गाँजिरहेको थियो। सुन्तलीले दूरदृष्टि लगाउँदै कमलालाई सम्झिन पुगी।

बालसखासित वनचौरमा सँगै घुमेको, डुलेको सम्झिई। सुन्तली सम्झनाको भुमरीमा आफूलाई लपेट्दै थिई। एउटा नारीसुलभ मन भरिएर आइसकेको थियो ऊभित्र। त्यसैले ऊ ढुंगोझैँ चिसिइसकेकी थिई। एक्कासि कानमा पसेको चर्को आवाजले ऊ झस्की। भैंसीको एकोहोरो चर्कोर् आवाजले उसको मस्तिष्क एकछिनसम्म रनभुल्लमा परिरह्यो। भैंसी एकोहोरो वाइँ-वाइँ भन्दै कराइरहेको थियो। सुन्तलीको एक मनले त भन्यो, ‘कति झर्कोलाग्दो गरी कराउन सकेको होला’, तर यति सोच्न नपाउँदै ऊ हिँडिसकेकी थिई। गोठमा पुग्दा भैंसीले आफूलाई आशलाग्दो दृष्टिले हेरेेको देखेर उसमा भित्रैदेखि माया जागेर आयो। पल्लो छेउमा रहेको घाँसको थुप्रो उठाई र भैंसीको छेउमा ल्याएर दिई। घाँस र्झन नपाउँदै भैंसी र पाडो घाँस तान्न तम्सिसकेका थिए। उसले तिनीहरूको क्रियाकलाप देखेर सोची, ‘धेरै भोकाएछन् क्यारे !’ पर खसी-बाख्रा पनि उसैगरी हेर्दै थिए जुन अघिसम्म थाहा पाएकी थिइन। सुन्तली तिनीहरूलाई देखेर अचम्ममा परी, ‘किन यिनीहरू नकराएका, यिनलाई पनि घाँस दिनुपर्ला !’ उसले घाँस हालिदिई।

बिहानको नौ बजिसकेको थियो। घाम छरिने क्रमले अनुमान लगाउन सकिन्थ्यो। बाबुआमा र भाइहरू आइसकेका थिएनन्, त्यसैले उसलाई के गरूँ, कसो गरूँ भयो। ऊ गोठबाटै बाहिर हेर्न थाली, जहाँबाट कमलाको जन्मघर देखिन्थ्यो।

भैंसी फेरि पनि उसैलाई आशलाग्दो गरी हेर्दै थियो। ‘दिएको घाँस पनि कति चाँडो सिध्याएछ।’ सुन्तली यसरी सोच्छे, ‘तेरो पनि कति दिन नै छ र यो घरको अन्नपानी, घाँसपात खान। आजभोलिमै बेचिँदैछस्।’ फत्फताउँदै थिई, ‘यतिका दिनसम्म घाँसपात गरेर, वनचौर डुलाएर हुर्काइयो। अब त पराइको हातमा सुम्पिनुपर्ने भयो तँलाई। कुन्नि केका लागि पैसाको खाँचै परेर बेचिँदै छस् तँ पनि।’ ऊ एक्लै भुत्भुताउँदै थिई। एक अंगालो घाँस दिई त्यसलाई, माया लागेरै दिएकी थिई।

सुन्तली एक मनले सोच्न थाली, ‘छोरीको जात र यो भैंसीको जीवनमा के नै फरक छ र ? जन्मायो, हुर्कायो छोरी अर्कैको घरमा दिएर पठाइन्छ। यो भैंसीलाई पनि पाल्योपाल्यो, बेचिदिन्छन् अरू कसैलाई।’

सहनाईको एकोहोरो धुनले सुन्तलीको सोचाइलाई एक्कासि बिथोलिदियो। उसको घरछेउको बाटो हुँदै अघि बढिरहेको थियो जन्तीको लावालस्कर। बेहुली अन्माइवरी जन्ती फर्किएको हो भन्ने प्रस्ट हुन्थ्यो। बेहुलीको क्रन्दन उसको कानमा ठोेक्कियो। त्यो रुवाइ आफू जन्मिएर, हुर्किएर बढेको घर-आँगनलाई आज चटक्क छाडेर जानुपर्दाको पीडानुभूतिस्वरूप प्रस्फुटित क्रन्दन थियो। सुन्तलीले पनि त्यो रुवाइलाई आत्मसात् गरी-‘हरेक नारीले यसरी एकदिन आफ्ना आमाबाबुको घर-आँगन, जहाँ हुर्कियो, खेलियो, आफ्नो मानेर बसियो, त्यही जन्मभूमि छाडेर जानैपर्छ।’ झलक्क उसले आफ्नी साथी कमलालाई सम्झिई। कमला पनि यसैगरी रुँदैरुँदै बाबुआमाको घर र सुन्तलीको साथ छोडेर पराइघर गएकी थिई।

ऊ एकटक लाएर बाटोतिरै आँखा दौडाउँदै थिई। जन्तीको लस्कर बेहुलीको रुवाइको कुनै मतलब नै नराखी विजय उत्सव मनाएझैं नाच्दै, उफ्रिदै अघि बढिरहेको थियो। सुन्तली त्यो देखेर भित्रैदेखि तापमान बढेको महसुस गर्छे। उसलाई त्यो विजयोत्सव पटक्कै मन परेको थिएन। एउटी अबला नारी, आफ्नो जन्मभूमि त्याग्नुपरेको पीडामा छटपटाइरहेका बेला ती भने खुसी मनाउँदै थिए। कसैलाई पनि उसको रुवाइको मतलब थिएन। ‘कमला पनि यसरी नै बिदा भएकी थिई’ सुन्तली मधुरो आवाजमा फुसफुसाउन पुगी। उसलाई भित्रैदेखि रुन मन लाग्यो। एउटी नारीले भोग्नुपरेको पीडाबोध उसभित्र सल्बलाइरहेको थियो। सुन्तली सम्झन थाली कमलाले भनेका कुरा-‘सुन्तली !मेरो त विवाह हुँदैछ, तेरो र मेरो भेट अब कहिले हुने हो, थाहा छैन। यो जन्मघर र तेरो साथ छोडेर जानुपर्ने पीडाबोधले म हरेकक्षण भित्रभित्रै रोइरहेकी हुन्छु, जुन कसैले बुझेका छैनन्। हामीले कस्तो कर्म पाएका रहेछौं हगि !जन्मिएर हुर्किएको घर छाडेर जानुपर्ने।’

अझै पनि यी कुराहरू सुन्तलीका कानमा गुन्जिरहेका थिए। उसले कमलालाई सम्झिएरै बिहान काटी। दिउँसो सबै जना खाना खाएर आँगनमा घाम तापिरहेका थिए। सुन्तलीका बाबुआमा कुरा गर्न थालेका थिए।

‘हाम्री सुन्तलीलाई पनि हेर्न आउँदै छन् है, पल्लो गाउँको थापाको छोराका लागि।’ बाबु पुलुक्क सुन्तलीकी आमालाई हेर्दै भने, ‘बिहान रमिलाको माइतमा बेहुली अन्माउन लाग्दा मसित कुरा गरेका थिए। केटो राम्रो छ रे ! राम्रै घरानाको केटो हो रे !’ आमा के-कसो हो भन्ने भेउ खोज्दै थिइन्। आफ्नी छोरीका लागि ठूलै चिन्ता छ जस्तो गरिन् उनले।

बाबुआमाको कुरा सुनेकी सुन्तली छिटोछिटो भाँडा मस्काएर उठी र घरभित्र गई। ऊ थरथर काँपेकी थिई, भित्रैदेखि एउटा अस्वाभाविक डरले जरो गाड्दै गएको थियो। ऊ आफूलाई सम्हाल्न नसक्ने अवस्थामा थिई। लगलग काँपेका गोडा लिएर आफ्नो कोठामा पुगी। खाटमा बस्दा उसलाई आफूले टेकेको धरातल घुमेको अनुभव भयो। उसले आफूलाई सम्हाल्नै सकिन। जब उसले आफूसामु आफ्नै संगिनी कमला र मैयाँको तस्बिर कोठाको भित्तामा टाँसिएको अवस्थामा देखी। कमला र मैयाँको तस्बिरले केही भनेझैं लाग्यो उसलाई-‘सुन्तली !तँ पनि पर्ने भइस् पुरुषको फन्दामा बुझिस् ? बेहुली हुँदा तँ कति राम्री देखिन्छेस् होला, हा…हा…हा…।’ तस्बिरले अट्टहास गरेझैँ लाग्यो। सुन्तली झन् डराई। उसलाई विवाहको कुराले नै मनमा भुइँचालो ल्याएको थियो। सोची, ‘पुरुषको फन्दामा पर्ने भएँ। ला !अब के गर्ने होला, तर त्यस्तो के नै हुन्छ र !कमला पनि विवाह गरेरै गएकी हो। मैयाँ त झन् लडाकुहरूको जत्थामा भर्ती हुन पुगेकी थिई। बिचरी मैयाँ !जबर्जस्ती लगेको थियो उसलाई त झन्। छोरीले त जन्मै पाएको रहेछ पुरुषका लागि। उनीहरूकै घर भित्रिनुपर्ने, कस्तो भाग्य हो !’ ऊ भित्रभित्रै मुर्मुरिई। भित्तामा सजाएर राखिएका तस्बिरहरू च्यातेर मिल्काइदिऊँजस्तो भएर आयो। कमलाको विवाहको दिन खिचेको तस्बिर, सुन्तलीलाई औधी मन पथ्र्यो। त्यही तस्बिर हेर्न पुगी। मनको रिस शान्त पार्दै भनी, ‘कमला !तँसित भेट नभएको पनि धेरै भयो। यो शृंगारमा कति राम्री देखिएकी !’ उसको आवाज ऊसम्म मात्रै गुन्जियो।

आज उसलाई आफ्नै शरीर शिथिल र भारीजस्तो भएर आएको महसुस भयो। त्यसैले ऊ बेलुकीको छाक टार्ने मेलोमेसोमा लाग्न पनि अल्छी मान्दै भान्सामा बसेकी छे। एकाग्रताले अनौठो पीडा दिइरहेछ। ऊ हार खान्छे आफ्नै आलस्यसित र अल्छी मान्दै पकाउन थालेकी छे।

राति सपनामा पनि ऊ बेहुलीका रूपमा सिंगारिएकी थिई। उसको दुलाहा जन्ती लिएर आउँदै थियो, जसलाई देखेर उसका साथीहरू रमाएका थिए। उनीहरू भन्दै थिए, ‘सुन्तली !तँ भाग्यमानी छेस्, तेरो दुलहा त राजकुमारजस्तै सुन्दर छ।’ कोही सुन्तलीको सिंगार देखेर रमाउँदै भन्थे, ‘सुन्तली !तँ बेहुलीका रूपमा साह्रै राम्री देखिन्छेस्। सधैँ यही सिंगारमा बसिस् भने तँलाई तेरो लोग्नेले औधी माया गर्छ, बुझिस् !’ धेरैका धेरै थरी कुरा सुन्दासुन्दै सुन्तली भित्रभित्रै मख्ख परेकी थिई। हिमाल हिउँले छपक्कै ढाकेर मुसुक्क हाँसिरहेको दृश्यझैं ऊ भित्रैदेखि रोमाञ्चित भैरहेकी थिई र भित्रभित्रै खितखिताउँदै हाँसिरहेकी थिई। उसको हाँसो भित्रबाट ओठसम्म आएर बाहिरिएको थियो। जब ऊ खित्खिताउँदै थिई त्यतिबेला उसले आफूलाई ओछ्यानमा लमतन्न परेर सुतेको अवस्थामा भेटी। लज्जावती झारझैँ पैतालादेखि शिरसम्मै एउटा लज्जाबोधले छोएर गयो। कस्तो सपना देखेछु, ऊ मनमनै भन्न थाली र सपनाको एउटा अदृश्य सुखानुभूतिभित्रै रमाइरही।

हिजोआज सुन्तली भैंसीको स्याहारमा लागेकी छे। बिहानदेखि बेलुकीसम्म ऊ त्यही भैंसीको चारोमा ध्यान पुर्‍याउँछे। भैंसी बलियो हुँदै गयो र दूध पनि प्रशस्त दिन थाल्यो। घरका सबै मख्ख थिए। एउटा आकर्षण थपिएझैं उसले त्यसैको स्याहारमा समय बिताउन थालेकी थिई। ऊ जसरी हुन्छ भैंसी सप्रियोस् भन्ने सोच्थी। घरका सबैजना त्यसले दिने दूध र भैंसीको बदलिँदो शरीरप्रति मख्ख हुँदै सोच्थे, ‘ठूलै रकम आउँछ।’ सुन्तलीका बाबुआमा भैंसी बेचेर भए पनि छोरीको विवाह गरिदिनुपर्छ भन्थे। गएकै हप्ता पल्ला गाउँका थापाका छोरा हेर्न आइसकेका थिए। केटा पक्षलाई केटी मन परेकी थिई। सुन्तलीका बाबुआमा आफ्नी छोरीको भाग्य राम्रै रहेछ भन्थे। त्यसैले भैंसी बेच्न ग्राहक खोज्दै थिए।

एक दिन सुन्तली विद्यालयबाट चाँडै घर पुगेकी थिई। त्यस दिन उसलाई सन्चो थिएन। ऊ छोटो पाइला चाल्दै लुरुलुरु घर पुगी। पाइला उचाल्दा उचाल्दै देखेकी थिई, भैंसी ग्राहकले घिस्याउँदै गोठबाट बाहिर निकाल्दै थिए। एकछिन त उसले सोच्न पनि पाएकी थिइन। ‘के गर्दैछन् हँ यिनीहरू हाम्रो भैंसी घिस्याएर ?’ उसको मनले तत्क्षण सोचेको थियो तर छेवैमा आफ्ना बाबुले रुपियाँको ठेली गनिरहेको देखेर ऊ कुरा बुझेझैँ लामो सास फेर्न पुगी। सुन्तलीको नजर भने त्यही भैंसीमा अडिएको थियो। भैंसी हिँड्न मानिरहेको थिएन। सबै भैंसीलाई घिसारेर अघि बढाउने प्रयासमा थिए। त्यही भैंसीको आकृतिमा सुन्तलीले आफूलाई प्रतिबिम्बित भएको पाई। विजयोत्सव मनाउँदै नाच्दै, उफ्रदै हिड्नेहरूको हूल देखी। पर कतै नेपथ्यमा कमला रोइरहेकी थिई, सुन्तलीलाई हेरेर। सुन्तली र कमलाका आँखा चार भए र एक-अर्कालाई मनका कुरा साटासाट गर्न पाए। सुन्तली कमलाको आकृतिमा आफूलाई खोज्दै थिई।

भैंसी हिँड्न मन नलागे पनि घिस्सिँदै थियो। सुन्तलीका आँखा भने परको पीपलबोटतिर भैंसीको पछिपछि पुगे। उसले त्यो कालो भैंसीको गोरो स्वभावप्रति एउटी नारीको बिम्ब पाएकी थिई। माया त लागेको थियो तर गर्न भने केही नसकिने थियो। आफू उभिएको भुइँ भासिएजस्तै महसुस हुन्थ्यो। भित्रैदेखि रुन मन लागेर आयो। जतिजति भैंसी पर पुग्थ्यो सुन्तली सोच्न बाध्य हुन्थी, ‘अब यो घर छोडेर जाने पालो मेरो।’

– फाल्गुन १, २०७०

(स्रोत : कान्तिपुर – नारी मासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.