कथा : गुडबाइ ईशारा

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका लागि खटिएका एकजना नेपाली दाइ भेटिए । चिनजान भयो, कुराकानी पनि लामै भयो । उनको तलबदेखि नेपालको ठेगानासम्म सोध्न भ्याएँ । कुरा सकिएपछि म पहिलो तलातिर उक्लिएँ । लिफ्टको अन्तिम खुट्किला उत्रिसकेर केही पाइला मात्र के हिँडेको थिएँ पछाडिबाट कसैले मेरो हात समात्यो । जगत दाइ होइन ? मुन्टो पछाडि फर्काउने क्रममा छोरीमान्छेको स्वर सुनियो । हो, अनायासै बोलें ।अनि तपाईं ? मेरो प्रश्न थियो ।

‘अरे मलाई चिन्नु भएन, म ईशारा क्या ।’

ओ, ईशारा, नीराजन सरकी छोरी होइन ?

हो, दाइ ।

ईशारा, मेरी भावनात्मक बहिनी, निस्तेज, उदास अनुहारमा मेरो अगाडि थिइन् । पहिलेको धपक्क बल्ने उनको अनुहार अहिले तेल सकिएको बत्ती निभ्न लागेको प्रतीत हुन्थ्यो । ईशाराको अनुहारलाई मैले जति पटक हेरंे, त्यति नै पटक मनमा नमीठो तरङ्ग बग्यो । उनका दुई साथीसहित चारजना खाजा खान माथिल्लो तलामा उक्लियौं । खाजा खाई नसक्दै ईशाराले आफू धेरै थाकेको कुरा, धेरै दिनदेखि राम्रोसँग सुत्न नपाएको कुरा खोलिन् । भित्रैदेखि मायाको भाव उर्लेर आयो । हामी उड्ने जहाजको कुनै ठेगान थिएन । त्यसैले आराम कक्षमा लिएर गएँ । थकाइ र निद्राले सताइएकी ईशारा केही छिनमै निदाइन्् तर म अतीततर्फ फर्किएँ ।

दशक वर्षअघिको कुरा हो । म क्याम्पस पढ्न काठमाडौं पुगेको थिएँ । कलेज पढाइका ती दिन मेरो जीवनका लागि दु:खका पाठ सिक्ने दिन थिए । घरबाट आउने खर्च सकिएपछि धेरै टाढाको बाटो पनि पैदल हिँडें । होस्टलभित्रको बसाइ जीवनकै अनौठो मोड थियो मेरो लागि । कलेजको होस्टलमा हामी धेरै थरिका धेरै मान्छे थियांै । विकट ठाउँबाट आएका हामीहरू बसाइ पनि विकट नै थियो । यस्तैमा एकदिन होस्टल वार्डनले मलाई ‘कसैको घरमा गएर होम ट्युसन पढाउने हो ?’ भनेर सोध्नुभयो । मैले सोच्दै नसोची हुन्छ भनें । त्यही सिलसिलामा एकदिन एकजना मानिस मलाई लिन होस्टलमा आए । पुरानो हिरो होन्डा बाइकको पछाडि बसेर म उनको घरमा पुगेको थिएँ । हामी गेटबाट छिर्दा ईशारा गमलामा पानी हालिरहेकी थिइन् । तिनले मलाई उनको छेउमै पुर्‍याएर भनेका थिए, ‘छोरी, तिम्रा नयाँ गणित शिक्षक ।’ नीराजन सरको घरमा जहिलेदेखि जान थालें, म कहिल्यै खाली मुख फर्किन । कहिले खाजा, कहिले खाना, कहिले चिसो, कहिले तातो, कहिले फलफूल आदि । एक किसिमले म त्यो परिवारसँग खुब झिम्मिएँ । ईशारा पनि खुब झिम्मिइन् मसँग । उनी त्यतिबेला ९ कक्षामा पढ्थिन् । उनको भाइ प्रमेश अलि सानै थियो । सुभद्रा आन्टी -ईशाराकी ममी) ले पनि मलाई खुब माया गर्नुहुन्थ्यो । आफ्नै जस्तो लाग्न थालेको थियो मलाई त्यो घर । एउटा दसैं र तिहारको छट्टीभरि म घर गइन । त्यो बिदाको समयले मलाई ईशाराको परिवारसँग अझ नजिक बनायो । दसैंमा दिनहुँजसो म त्यो घरमा पुगें अनि तिहारमा त ईशाराले मलाई टीकाका लागि निम्तो नै दिइन् । त्यसपछि त्यो परिवार मेरो पनि परिवारजस्तै भयो । अध्ययनको एक अध्याय सकिएपछि म गाउँ फर्किएँ । गाउँबाट नीराजन सरको परिवारसँग सम्पर्क टुट्दै गयो । समयले मलाई लाहुरे बनायो । लाहुरे भएको पनि थुप्रै समय बितिसकेछ । अचानक ईशारालाई भेट्दा अतीत पल्टियो । यस्तैमा नेपाल जान ढिला भएको कतार एयरवेजको उडानका लागि यात्रीहरूलाई सूचना जारी भयो । ईशारालाई ब्युँझाएर हामी बोर्डिङ पासको गेटतिर लाग्यौं ।

प्लेन यात्रीहरूले टनाटन भरिएको थियो । एयर होस्टेजलाई भनेर ईशारा र मैले एउटै ठाउँमा बस्ने प्रबन्ध मिलायौं । हामी छुट्टएिको पनि धेरै भएछ, मैले कुराको थालनी गरें ।

हो नि दाइ, भाग्य दरो रहेछ आज मेरो । ईशाराले भनिन् ।

बहिनी तिमी आज कसरी यो अवस्थामा ? मैले जिज्ञासा तेस्र्याएँ ।

दाइ, यो छोटो जिन्दगीको कथा साह्रै लामो छ । के तपाईं सुन्न तयार हुनुहुन्छ र ?

मैले स्वीकृतिको मुन्टो हल्लाएँ । उनले कुरा गर्न थालिन्-‘दाइ, मेरो सम्झना भएसम्म, तपाईं गाउँ फर्किएको साल नै हो क्यारे मैले कलेज सुरु गरेको । कलेजको पहिलो वर्ष रमाइलोसँग बित्यो । दोस्रो वर्षको मध्यतिर बाबाको सरुवा बुटवलमा भयो । अब हाम्रो परिवार दुईतिर बाँडियो । म काठमाडौंंमा, बाबाआमा र भाइ बुटवलमा । त्यसै सालको दसैं मनाउन सपरिवार काठमाडौमा भेट हुने योजना बन्यो । आमाबाबा र भाइलाई भेट्ने उत्साहले मन प्रफुल्लित थियो । त्यो दिन अझै मलाई सम्झना छ, म घडी हेर्दै समय बिताइरहेकी थिएँ । दिन ढल्यो र साँझ पर्‍यो तर आमाबाबा र भाइ आएनन्, रात छिप्पियो, म रातभर जागै रहें । मनलाई अज्ञात भयले छोयो । उज्यालो हुन लाग्दा पनि कोही आएनन् । बुटवलमा फोन सम्पर्क गर्दा पनि कुनै जानकारी पाउन सकिएन । एकाबिहानै घरबाहिर गाडीको हर्न बज्यो । म हतारमा बाहिर निस्किएँ । तर बाहिर एम्बुलेन्स बत्ती बालेर बसिरहेको थियो । मेरो मुटु अचानक जोडले ढकढकियो । नीराजन सरको घर होइन ? कोही बोल्यो । हजुर हो, मैले भनें । तपाईं उहाँकी छोरी हो ? -फेरि प्रश्न तेर्सियो । हजुर, अनि तपाईं नि त ? मैले प्रश्न फर्काएँ । ए म तपाईंलाई शिक्षण अस्पतालबाट लिन आएको कर्मचारी । तपाईंको परिवार हिजो दुर्घटनामा परेछ । अस्पतालमा उपचार हुँदैछ । तपाईं चाँडै जानुपर्‍यो । उक्त कुरा सुनेर म जमिनमुनि भासिएझैं भएँ । मेरो गोडाहरू थरर्र कामे । म बेहोसीमै अस्पताल पुगें । त्यसपछि मलाई आईसीयुमा पुर्‍याइयो । जहाँ मेरो भाइ अचेतावस्थामा लडिरहेको थियो । थाहा पाएँ उसको एउटा खुट्टामा हेर्नै नसक्ने डरलाग्दो चोट लागेको रहेछ । त्यसपछि मलाई भित्री कोठामा पुर्‍याइयो । मेरी आमा भेन्टिलेटरमा सास अल्झाइरहनुभएको थियो । आमाको छाती र टाउकोमा लागेको चोट देखेर मैले केही सोच्नै सकिन । म आफै यो सब के भैरहेको छ बुझ्न सकिरहेकी थिइन । यत्तिकैमा कसैले मलाई बाबाको घटनास्थलमै देहान्त भएको जानकारी दियो । मलाई सपनाझैं लाग्यो । मेरो आवाज हरायो । म कहालिएर रुन पनि सकिन । म लाटी भएँ, एकदम लाटी ।’ प्लेनले भुइँ छोडेर अघि नै आकासिसकेको थियो । सँगै ईशाराको जीवन कहानी पनि गहिरिँदै थियो । ईशारा भन्दै गइन्, ‘दाइ, त्यो ठूलो दुर्घटनाबाट आमा पनि बाँच्न सक्नुभएन । भाइ बच्यो तर उसको एउटा खुट्टा बचेन । हामी बेसहारा बन्यौं । भाग्यमाथि त्यत्रो ठूलो चट्याङ पर्दा सहयोग गर्ने कोही भएन, आफन्तहरू नै आँधी बनेर आए । बाबाले कमाएर बनाएको घरलाई समेत अंकलले आफ्नो भनेर दाबी गर्नुभयो । दाइ, बाँच्न साह्रै अप्ठ्यारो रहेछ । मेरो पढाइ पनि बिगि्रयो । जीवन भताभुङ्ग भएको बेलामा अरू कुरा सप्रने त कुरै भएन । गहिरो शोक त छँदै थियो अर्कातिर अभावले यसरी गाँज्यो कि भाइ र म कति दिन त भोकै पनि बस्यौं । जागिर खोज्दै जाँदा एउटा मेन पावर कम्पनीले मलाई रिसेप्सनमा काम दियो । त्यो जागिर नै भाइ र मेरो बाँच्ने सहारा भयो । केही वर्ष त्यहाँ काम गरेपछि विदेश जाने सोच आयो । भाइको पढाइलाई खर्चसमेत जुटाउन सक्छु भन्ने सानो आशा थियो । यसरी म थुप्रै नेपालीसँगै एकदिन इजरायल गएँ । परदेशको जीवन सजिलो नभए पनि एकदम गार्‍हो भने लागेन कारण त्यो भन्दा ठूलो दु:ख भोगेर म पाकिसकेकी थिएँ । घरभित्र काम गर्नुपर्ने नोकरजस्तै । हप्ताको एकदिन छुट्टी हुन्थ्यो । त्यो दिन नजिकै पार्कमा नेपालीहरू भेला हुन्थ्यौं । आफ्नो देशमै भएजस्तो लाग्थ्यो । भाइले फेरि पढाइ सुरु गरेको थियो । उसले मेरो दु:खअनुसार पढाइमा खुबै प्रगति गरेर देखायो । सबै कुरा ठीकै थियो । तर एकदिन लुटेराहरूले भाइलाई नराम्रोसँग पिटेछन् । मार्ने थिए तर त्यति नै बेला एकजना सज्जनले देखेर अस्पताल पुर्‍याएछन् । त्यो कुरा थाहा पाएपछि म सबै काम छोडेर नेपाल फर्किएँ । मेरो भाइ पीडा सहँदै अस्पतालको बिछ्यौनामा पल्टिरहेको थियो ।

भाइलाई अस्पतालबाट निकालेपछि उसलाई छोडेर इजरायल फर्किन मनले मानेन । अनि मैले नेपालमै सानोतिनो व्यापार सुरु गरें । बाँच्नलाई धेरै दु:ख गर्नुपर्दो रहेछ. । फुटपाथमा पसल गर्दा धेरै दु:ख सहंे । पुलिसले देख्नै नसहने । यो छोरीमान्छेको जातलाई साह्रै अप्ठेरो रहेछ । सामानभन्दा मेरो बैस किन्न खोज्नेहरू धेरै आउँथे । मेरो दु:ख कसैले बुझेनन् दाइ ।’ ईशाराको आँखा अँासुले भरियो । उनी भक्कानिएर रुन थालिन् । आफूलाई सम्हाल ईशारा, रोएर कमजोर नबनाऊ । मैले सम्झाउने प्रयास गरें । उनले आँसु पुछ्दै भनिन्-‘म कमजोर छैन दाजु । अब त म समयलाई गलाउने गरी बलियी भैसकेकी छु ।’ मेरो कथा यतिमै सकिँदैन दाजु । मैले त्यो व्यापार पनि छोडिदिएँ र पोहोर साल फेरि अरब आएँ । अरबमा त मैले कुकुरले नपाएको दु:ख पाएँ । मैले काम पाएको घरका मान्छे सार्‍है क्रुर थिए । जानेबित्तिकै मेरो पासपोर्ट खोसेर राखे । बाहिर जाने अनुमति थिएन । तीन तल्लाको १२ कोठा मैले हेर्ने संसार थियो । खाना पकाउनुपर्ने, खाएका जुठा थाल सफा गर्नुपर्ने, मैला कपडा धुनुपर्ने, सुत्ने बिछ्यौना मिलाउनुपर्ने । दास भएर के गरिन मैले ? कोठा-कोठामा फूल रोपंे, पानी हालंे, हेर्दाहेर्दै मेरो पसिना फूल भएर फुल्यो । फूलले कोठा-कोठा मग्मगायो-त्यो मरुभूमिको घरमा, तर म फुल्न सकिन । म त सुक्दै गएकी थिएँ । कति रात त म अनिँदै बस्नुपथ्र्यो । मध्यरातसम्म पनि म भोकै हुन्थें । किचेनको साँघुरो टेबलमै हातलाई सिरानी बनाएर निदाउँथें म । सहरको अलि बाहिर रहेको त्यो घरमा म कैदीजस्तै बाँचिरहेकी थिएँ । टाढा सहरमा बलेको बत्तीसँग रहर आउँथ्यो । म कहालिएर रुन्थें । यस्तैमा मसँगै काम गर्न आएकी रमा भन्ने साथीले मलाई चिठी लेखिन् । मलाई त जीवनमा एकदमै ठूलो कुरा पाएझैं लाग्यो । त्यसमा उनले भोगिरहेको दु:खको बेलिबिस्तार थियो । सँगै डोल्मा भन्ने नेपाली छोरीले आफूलाई बलात्कार गर्न खोज्नेलाई मारेको कुरा पनि थियो । रमाले आफूले दु:ख भोगेर बस्नुभन्दा भाग्ने योजना बनाएको अनि सहरमा बस्ने एकजना सहयोगी नेपाली दाइको ठेगाना समेत चिठीमा लेखी पठाएकी थिइन् । मलाई बन्धनबाट मुक्त हुन जुक्ति मिलेको अनुभूति भयो । मैले पनि एक रात त्यो घर छोडें । मसँग केही थिएन सिवाय एकसरो कपडा । पासपोर्ट हुने त कुरै थिएन । घरको गेटबाट निस्किएपछि नै मैले उन्मुक्तिको सास फेरें । अनि रातभर रोडको छेउछेउ बालुवा-बालुवा हिँडें । त्यत्रो रातभर हिँड्दा पनि थकानको कुनै अनुभूति थिएन मलाई । म उज्यालो हुँदा सहरमा पुगिसकेकी थिएँ । सहरमा ट्याक्सीको सहयोग लिएर म रमाले भनेका नेपाली दाइकहाँ पुगें । सबै कथा बेलिबिस्तार लगाएँ । उहाँले नै दूतावासमार्फत पासपोर्ट दिलाउनुभयो र उहाँकै सहयोगमा म नेपाल उडेकी थिएँ । दाजु मेरो भाग्य बलियो रहेछ, तपाईंलाई भेटें ।’ जिन्दगीको कालो रात काटेर आइछौ बहिनी । अब सब ठीक हुन्छ । मैले माइतीको मन बोलंे । यसरी ईशाराको कथा सकिँदा हामी काठमाडौंको आकाशमा पुगिसकेका थियौं । प्लेनमा आरामले निदाएकाहरू बिउँझिन थालेका थिए । प्लेन अवतरण भयो र हामी एअरपोर्टबाहिर निस्कियौं । रात पर्न थालेको थियो ।

ईशारालाई भनें, आज मेरै घरमा जाऊँ ।

हुन्न दाजु, आज त मैले भाइलाई भेट्नैपर्छ ऊ बसेको कोठामै लाग्छु बरु भोलि हामी दुवै आउनेछौं ।

मैले पनि उनको कुरा काट्न सकिन । ल भोलि भेटौं है त भन्दै म छुट्टएिँ ।

मुख धुँदा बिहानै फोनको घन्टी बज्यो । बाबाले प्रमेशको फोन मेरा लागि होल्डमा भएको कुरा बताउनुभयो । मैले तत्काल फोन उठाएँ । हेलो, प्रमेश भन, दिदीसँग कति बजे आउँदै छौ ? दाइ, तपाईं अस्पतलमा चाँडै आउनुपर्‍यो । अचानक दिदीलाई हर्टएटेक भयो । उहाँ अहिले बी.एन्ड.बी. हस्पिटलको इमरजेन्सी कक्षमा हुनुहुन्छ । म एक्लै छु, सहयोगका लागि फोन गरेको दाजु । प्रमेशको आत्तिएको स्वरले म विस्मित भएँ । मनमनमा सोच आयो, ‘हे भगवान्, यो सब के

भैरहेछ ?’ म अस्पतालतिर हान्निएँ । कस्तो संयोग, बाटोमा दुर्घटना भएर जाम । पछाडि र्फकने ठाउँ छैन, अघि जाऊँ कुनै उपाय नै छैन । एकछिन खुब भुत्भुतिएँ । बल्लतल्ल बाटो खुल्यो । अस्पताल पुग्दा हि्वल चियरमा प्रमेश रोइरहेको थियो । उसको नजिकै ईशाराको लाश थियो, मसँग बोल्ने शब्द नै थिएन । मैले प्रमेशलाई अँगालो हालें । प्रमेश कहालिएर रोयो । जिन्दगी हाम्रो हातमा छैन प्रमेश, आफूलाई सम्हाल । केही ढाडस दिन खोजें । हाम्रो वरिपरि मानिसहरू भेला भैसकेका थिए । मैले मनमनै प्रार्थना गरें, ‘ईशारा, तिम्रो आत्माले शान्ति पाओस्, गुडबाइ ईशारा ! ‘

पुस १, २०७१

(स्रोत : कान्तिपुर – नारी मासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.