कथा : क्याफेमा चिसो चिया र कथा

~कल्पना आचार्य~kalpana-acharya-oli

यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन। अब मेरा दैनिकी छोरीका आवश्यकतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन्। पहिले म छोरीजस्तै सपनाहरूले भरिभराउ थिएँ। त्यतिबेलाको प्रसङ्ग सुरु गर्नुभन्दा अघि मैले आफ्नो परिवेशको चर्चा गर्नु उपयुक्त हुन्छ। त्यो परिवेशभित्र म छु, मेरो गाउँ छ।

सधैं मेलापात, गाईवस्तु, घाँस–दाउरामा जीवन धकेलिरहने केही जोर पात्र, वर्षौंदेखि चल्दै आएको उही सोच, मान्यता र परम्पराबाट चलिरहेको जीवन गाउँका हरआवश्यकतालाई धक फुकाएर पूरा गरिदिने गुनिलो गाईजस्तो नजिकैको वनको विषयमा पनि मैले चर्चा गर्नुपर्छ। गाउँका भुराहरू बाख्रा फुकाएर वनतिर चराउन जान्थे भने भुरीहरू स्याउला वा घाँस काट्न जानु परम्परा नै थियो। त्यसो त नजिक प्राथमिक स्कुल नभएको पनि होइन तर सधैं स्कुल जानु समयको बर्बादी हो भन्ने धारणा थियो बूढापाकाको। त्यसकै सजाय भोग्थ्यांै हामी।

रातामाटे डाँडो काटेपछि अर्चले पाखो आउँथ्यो। अर्चले पाखाको पारिपट्टि घाँघर खोलो सुसाउँथ्यो। बतासे मान्छेजस्तो त्यो खोलाको कुनै भर थिएन। माथि शिरतिर पानी पर्दा त्यत्तिकै उर्लन्थ्यो अनि फेरि क्षणमै शान्त हुन्थ्यो। त्यसैले मानिसहरू यसको नाम बिगारेर बौलाहा खोलो पनि भन्थे। सन्दर्भ अर्चले पाखोसँगै जोड्नु छ मैले। लगातार झरी परिरहेको त्यो दिन अर्चले पाखामा हामी रुझेका बिरालाजस्तै भएका थियौं। भर्खर १२ औं वसन्तमा हिँडिरहेको मेरो कलिलो शरीर र पचासको डाँडो काटिसकेकी साइँली बज्यै, मान्छेका रूपमा हामी दुई प्राणी मात्र थियौं–त्यो पाखोमा। घरिघरि पानी रोकिन्थ्यो घाँसमा झुम्मिएका भुसुना हाम्रा खुट्टामा ओइरिन्थे। तिनले टोकेपछि सार्‍है चिलाउँथ्यो। पानी रोकिने कुनै छाँटकाँट थिएन। बज्यै दिक्क मानेर सानो बोटको ओत लाग्दै पल्टिन्। म भने कुक्रुक्क परेर बसिरहें। बज्यैको फरिया अलिकति माथि सरेको थियो। मेरा आँखा तिनका पिँडौलामा गएर ठोक्किए। आँखाले सहज दृश्य देखेन, एक्कासि आत्तियो। हजुरआमाका खुट्टाभरि नीलडाम थिए, भर्खरै कतै कुटिएर फर्किएजस्तो। त्यस्तो खुट्टाले बज्यैले यति लामो बाटो कसरी पार गरिन्? त्यति धेरै नीलडाम किन? के ले? कसरी? मेरो मनमा प्रश्नहरू ओइरिए। बज्यै के भएको? नीलडाम भएको ठाउँमा बिस्तारै हातका पञ्जाहरूले छुँदै मैले भनें।

लामो समय धुम्मिएको आकाशबाट पानीका थोपा चुहिएजस्तो बज्यैको परेलाबाट बिस्तारै आँसुका ढिक्का झरे। बज्यै त्यसलाई लुकाउन र आफूलाई सहज बनाउन हरसम्भव प्रयत्न गर्दै थिइन्। प्रसङ्ग मोड्दै बज्यैले भनिन्–‘कान्छी जाम्, अब पानी रोकिएला जस्तो छैन जति छ त्यति बाँध्न थालम्।’ रहस्यको ढोका नखोलिएपछि मैले फेरि सोधें ‘भन्नुहोस् न बज्यै तपाईंको खुट्टामा के भएको हो?’ फन्दामा परेको कैदीजस्तो बज्यैको अनुहारमा घोर पीडा र छटपटीका रेखाहरू चलमलाएको अनुभव गर्न सक्थें म। ‘के गर्छेस् कान्छी, छोरीको जात हारेको जुनी अर्काले जति गरे पनि सहेरै बस्नुपर्दो रहेछ। सात गाम्लेका माझाँ हाइहाइ भर बसेका छन् उनी, मलाई सधै यस्तै’ बज्यैको आरोप बाजेप्रति हो भनेर बुझ्न बेर लागेन।

सवनमले कथाको यति भाग भनिसकेपछि पेज पल्टाउन खोजिन्। मैले उनलाई रोकें अब तिम्रो कथा बन्द गर। मैले भनें–तिमीले फेरि शोषित, पीडित, थिचिएकी, दमित नारी सधै विवश भएको कथा लेख्यौ होइन त? सधै शोषणको मात्र कति लेख्छ्यौ? अब तिम्रो कलम समानतातर्फ दौडनुपर्छ अब नारीले युद्ध जितेको कथा लेख्नुपर्छ, अब पुरुषको पनि राम्रा कुरा वर्णन गरी लेख्नुपर्छ। अब एकताका कुरा लेख्नुपर्छ, अब म नारी तिमी पुरुष तिमी यो कुराले नराम्रो, म यो कुराले राम्रो भनेर, पुष्टि गर्ने होइन अब दुवैका राम्रा कुरालाई निरन्तरता दिने नराम्रा कुरालाई सधैका लागि फ्याँक्ने गरी लेख्नुपर्छ। यो सभ्य मानिसहरू बस्ने युग हो। मानवीय बर्बरताको जरा उखेल्ने गरी लेख्नुपर्छ–मैले एकै सासमा भनें। यतिबेला कपको चिया चिसो भैसकेको थियो। कथामा हामी यसरी डुबेछौं कि हाम्रो चियाको तातो गायब भैसकेछ। ‘तिम्रो कुरा गलत होइन तर जब अन्याय–अत्याचारविरुद्ध कलम उठाइँदैन तब कहाँबाट आउँछन् समानताका कुरा? अग्रगमनमा जान प्रतिगमन सच्चिनैपर्छ होइन र? गाउँ–बस्तीका व्यथाहरूलाई नकेलाई हामी समानताको युगसम्म पुग्न सकौंला र? के युग भनेको दुई–चार जना पढेलेखेका बुद्धिजीवीहरूको मात्र हो? चिसो चिया घुट्काउँदै सवनमले भनिन्। हामी दुई युवतीको यो बहस वरिपरिका दुई–चार जना चाखपूर्वक सुन्दै थिए। कलेज सकिएपछि हामी सधै चिया खान जाने बानेश्वरको क्याफे आज अलि भीडभाड नै थियो। उक्त भीडभाड आजैदेखि सुरु हुन लागेको ३ घन्टे सडक नाटकका लागि हो उनले भनिन्। के अब कथाको पात्रको जीवन तिमी त्यसरी अन्याय सहने सरल र कोमल युवती बनाइदिन्छ्यौ त? त्यसो गर्‍यौ भने म पात्रमाथि अन्याय हुन्छ उसलाई यो युग हाँक्ने, समाजलाई परिवर्तनतिर बदल्न सक्ने महान् नारी बनाऊ। मैले भनें तर कथाको अग्रभागमै ऊ समाजको बन्धनभित्र त बाँधिइसकेकी छे अब उसको दैनिकी त कुशल गृहिणीमा सीमित भैसकेको छ। के गृहिणीले त्यसबाहेक अरू केही गर्न सक्ली? सवनमले जिज्ञासु पाराले सोधिन्। प्रयास गरिरहे गृहिणी हुनु जीवन समाप्त हुनु होइन।

आज हामीले सोसोलोजीको कक्षामा पढेको कुरा बिस्र्यौं? मैले भनें। अब जाउँm एकछिन साइबरमा बसौं गुगललाई दुई–चार कुरा खोज्न लगाउनु छ अनि दाइलाई अमेरिका मेल पठाउनु छ–मैले अनुरोधको शैलीमा भनें। केही क्षणको साइबर बसाइपछि हामी छुट्टियौं, म कोठामा आएँ खाना खान मन लागेन। सवनमको कथा आँखावरिपरि सजीव चित्र बनेर नाचिरह्यो साँच्चै कस्तो होला त्यो सभ्य समाज जहाँ मानव हिंसा हुँदैन, मान्छेले मान्छेसँग डराएर आफ्नो स्वतन्त्र मनमा भोटे ताल्चा लगाउनुपर्दैन, मान्छेसँग डराएर कानुन नामका बडा–बडा ठेली, सुरक्षा नामका संवेदनहीन बन्दुकहरू तयारी अवस्थामा राख्नुपर्दैन। साँच्चै त्यो युग धर्तीमै स्वर्गीय राज्य स्थापना भएको युग हुनेछ। सम्झदै मन शान्त भएर आयो। अब नारी–पुरुष होइन मानव हिंसाविरुद्ध डटेर लड्नुपर्छ। सोच्दासोच्दै रातको ११ बजिसकेछ, मोबाइलको म्यासेज टोन बज्यो खोलेर हेरें सवनमको रहेछ। उनी भन्दै थिइन्–मैले दिउँसोको कथा पूरा गरें नि म भोलि कलेज सकिएपछि सुनाउँछु है। उनको म्यासेजले मेरो मन उत्सुकताले भरियो। सवनमले कथालाई कसरी अघि बढाइन्? कुन बेला आँखा लागेछ पत्तै पाइन, एकैपटक पाँच बजेको घन्टीले ब्युँझायो। हतारहतार तयार भएर कलेज पुगें सवनमको अनुहार निकै खुलेको थियो। युद्ध जितेर फर्किएको सिपाहीजस्तो। उनी निकै उत्साहित देखिन्थिन्। मैले आज कक्षामा पढाएको केही पत्तो पाइन मेरो सम्पूर्ण ध्यान बाँकी कथा सुन्ने समयको प्रतीक्षामा थियो। मन नलागेपछि यति नजिकै बोलेको पनि नसुनिने कस्तो अचम्म † हाम्रा ज्ञानेन्द्रियहरू पनि त निर्जीव रहेछन्। जतिबेला ध्यान छ, मन छ मात्र त्यतिबेला यिनमा जीवन भरिन्छ यिनले काम गर्छन् नत्र यी सब निर्जीव रहेछन् कुनै काम नलाग्ने फगत जडवस्तु। अन्तिम पिरियड सकिएपछि हामी क्याफेमा गयौं मैले चिया मगाएँ। सवनमलाई कथाको बाँकी भाग सुनाउन भनें। उनी बाँकी कथा पढ्न थालिन्।

मेरो मस्तिष्कमा बाजेको सजीव चित्र फनफनी नाच्न थाल्यो, उनको त्यो मीठो बोली सामाजिक सेवामा उनको सक्रियता, गाउँमा गाह्रोसाह्रो पर्दा उनले गर्ने सहयोग, गाउँमा वादविवाद पर्दा उनले दिने न्याय यति धेरै गुण भएको गुनिलो वृक्षमुनि यस्तो विष घुँडा धस्रेर बसेको छ भन्ने कुरा सजिलै पत्याउने कुरा थिएन तर कुरा साँचो हो भनेर बज्यैको खुट्टाका प्रमाणहरू बोलिरहेका थिए। बज्यै यो सब हुनुको कारण के हो? किन कुट्नु भो बाजेले? मैले आक्रोशित हुँदै भनें मेरो शरीर काँपिरहेको थियो अलिअलि जाडोले अनि अलिअलि आक्रोशले। के हुन्थ्यो र कान्छी उही त हो नि। त्यो ‘उही’ भित्र ज्यादै दर्दनाक व्यथा लुकेको कुरा मैले नचाहँदा–नचाहँदै पनि बुझ्न बाध्य भएँ। तँ पनि ठूली भैसकेकी छेस् तैले पनि अब बुझ्नुपर्छ बाबै यस्ता कुरा। पढेर ठूलो मान्छे हुनु आफ्नो खुट्टामा उभिनु अनि मात्र विवाह गर्नु। बज्यैको एक–एक शब्दमा पीडाका लपेटाहरू ह्वारह्वार निस्कन्थे। आफूप्रतिको पीडाको बदला मैले लिइदियोस् भन्ने चाहन्थिन् उनी। तपाईं कति सहेर बस्नुहुन्छ? किन बाजेका विषयमा कसैसँग केही भन्नुहुन्न? मैले भनें। पहिलो कुरो त सात गाम्मा हाइहाइ भाका तेरा बाजेका बारेमा मैले भनेर कसले पत्याउलान् र? दोस्रो कुरा अब शरीरले भर पाउन छोडिसकेका बेला तेरा बाजेसँग मुन्टो जुधाएर म कसको शरणमा जाम्? त्यतिबेला सहेर बस्नुहोस् भन्नु भन्दा मेरो कलिलो मस्तिष्कले अरु कुनै विकल्प देखेन तर मेरो मनले के निक्र्योल गरिसकेको थियो भने म अन्याय सहेर पक्कै बस्दिन आफूविरुद्ध हुने हरप्रकारका हिंसाविरुद्ध डटेर लड्छु।

त्यही घटनाबाट प्रभावित भएर मैले कानुन पढें तर सामाजिक बोझबाट उम्कन बाबाले मेरा सपनाहरूमा आगो लगाइदिनुभयो, विवाहको माला मेरो जीवनको पासो बन्यो। विवाहपछि पढाइ रोकियो। बच्चाबच्ची भए। ममाथि लगातार अत्याचार हुन थाल्यो। असल बुहारी, आमा, भाउजू, यस्तै–यस्तै अनेकौं सम्बन्धहरूको जिम्मेवारी पूरा गर्दागर्दै मेरा व्यक्तिगत इच्छा–अकांक्षा लक्ष्य केही बाँकी रहेनन्। त्यो अस्तित्व पूर्णरूपमा हस्तान्तरण भैसकेको थियो विभाजित भएर। रामजी सर हाकिमदेखि पिउनसम्मका व्यक्तिहरूको प्रिय नाम हो भनेर उनका साथीहरूले सुनाउँदा मेरो रगत तातेर आउँथ्यो। त्यही व्यक्तिसँग बस्दा म कुनै पिँजडामा पखेटा काटिएकी चरीजस्तै अनुभव गर्छु र त्यस्तो कुनै दिन हुँदैन जुन दिन मैले कुनै न कुनै बहानामा पीडा खप्नु नपरेको होस्, आखिर मेरो भागमा पनि त सहनु नै लेखेको रहेछ जसरी बज्यैले सहन्थिन्। उनीसँग जोरी खोजेर म कहाँ जाऊँ? माइतीमा आमा–बुवा नै धेरै छन् के एक्लै बसेर समाजको कलेजो काट्ने आरोप खेपेर बाँच्न सकूँला? बाबाको इज्जतको पनि त प्रश्न छ के म आफ्नो घर भत्काएर बाबाको इज्जतमा आँच पुर्‍याऊँ? अनि केटाकेटीको भविष्य? यी कुराहरू नै मैले आजसम्म यो सब सहने कारण बनेका छन्। पुरुषहरू आफ्नो पुरुषत्व देखाइरहेका छन् लगातार कहिले बाजे भएर कहिले रामजी सर भएर? के फरक छ यी दुईमा? बाजे–बज्यैका पालाका प्रतिनिधि पात्र हुन् रामजी सर आजको पालाका। रंग फरक, चरित्र एउटै, ढंग फरक तर प्रकृति एउटै। अन्याय गर्ने गजबको काइदा बाजेले यिनलाई सुम्पिए, यिनले छोरालाई सुम्पदैछन्। हामी सहिरहेछौं लगातार कहिले बज्यै भएर, कहिले म भएर, भोलि मेरी छोरी भएर। छोरी सम्झनासाथ मन ढक्क फुल्यो आज मैले आवाज उठाइन भने भोलि छोरीले पनि मजस्तै चुपचाप सहिरहनेछ सुरुवात हुनैपर्छ कसै न कसैबाट। जुरुक्क उठें आफूमाथि भैरहेको हिंसाविरुद्ध रिपोर्ट लेखाउन अघि बढें। अब मेरी छोरी सुरक्षित हुँदैछे भन्ने कुराले ठूलो सन्तोष दियो।

सवनमले कथा टुंग्याइन् सवनम प्रफुल्ल देखिन्थिन्। मैले छद्म पात्रमाथि न्याय गरिन त? उनले भनिन्, मैले स्वीकारोक्तिको मुन्टो हल्लाएँ। कपको चिया आज पनि चिसो भैसकेको थियो।

जेष्ठ ६, २०७२

(स्रोत : कान्तिपुर – नारी मासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.