~दीपेन्द्रकुमार जोशी ‘निक’~
निर्माणाधिन घर छ । घर नजिकै एक खँदिलो झोला भेटिन्छ । कहाँबाट, कसरी र किन आयो भन्ने कुरा कसैलाई थाहा हुँदैन । तुरुन्तै मानिसको भीड जम्मा हुन्छ । विभिन्न किसिमको हल्ला चल्छ । वातावरण आतङ्कित हुन्छ । धेरैले धेरै किसिमको अड्कल काट्छन् । कोही भन्छन् – ब्यागमा इट्टाहरू भरिएको हुनुपर्छ । कोही भन्छन् – होइन, त्यसमा हातहतियारहरू हुनुपर्छ । कोही भन्छन् – त्यसमा पक्का पनि बम राखिएको छ किनभने त्यसबाट तार पनि निस्केको जस्तो देखिन्छ । तर नजिक गएर हेर्न भने सबै डराउँछन् ।
कसैले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्छन् । सुरक्षाकर्मीबाट झोला नजिक नजान र तुरुन्तै आउने आश्वासन पाउछन् । कारणवश सुरक्षाकर्मीहरू त्यहाँ आइपुग्न केही ढिलाई हुन्छ । एकजना भलाद्मी देखापर्छन् । भीडको पर्वाह नगरी आफ्नो सुकाइराखेको झोला टिप्छन् र आफ्नो बाटो लाग्छन् । सबैजना छक्क पर्छन्, चकित पर्छन्, खिस्रिक्क पनि पर्छन् ।
दिपेन्द्रकुमार जोशी ‘निक’
प्रेशमार्ग, नारायणगढ, चितवन ।
पल्लव साहित्यिक पत्रिका अङ्क- ६, कथा विशेष, २०६० बाट साभार गरिएको ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)
