~कल्पना बान्तवा~
प्रिय मित्र !
तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ !
के तिमीले भेउ पाएकै छैनौ कि मजस्ता बहुसंख्यक नागरिकले सकिनसकी एक मुठी सास धानिरहेको कष्टपूर्ण र कुटिल समय हो यो? के तिमीलाई मेरो स्वअस्तित्व र आफ्नो प्रेम-आवेग यति सस्तो लाग्छ कि सोचविचारै नगरी फेसबुकमा ढुक्कैले लेखिदिन्छौ ‘आई लभ यु !’? चिन्नु न जान्नुको मानिससँग यति सजिलै र सहजै, सौदापात किन्दा फुस्सामा पाएको फावाजस्तो प्रेम हुने भए एकोहोरो मायाको पीडामा रन्थनिएर कोही अवसादको भुमरीमा डुब्दैनथ्यो होला । मलाई शंका लाग्छ, कतै तिमी मार्खेजको ‘लभ इन द टाइम अफ कोलेरा’ को लभ एट फस्ट’ साइटकै धङ्धङीमा त छैनौ?
तिमीलाई के थाहा यथार्थमा म कस्ती छु ! मेरो बोलीवचन, आनीबानी र व्यवहार कस्ता छन् । मलाई प्रेम गर्नु भनेको मेरा दुःखका भारीहरूलाई पनि काँध थाप्नु हो भन्ने सायदै तिमीलाई लाग्ला। अनि?
डिजिटल क्यामेराले चलाखी गरिदिएर निकालेको नक्साकै भरमा तिम्रो मसँग प्रेम भएको? मलाई लाग्दैन, फेसबुकको तस्बिर देखेर पनि कहीँ हृदयमा माया जाग्छ। तिमीले जसरी हैन, इनबक्समा सुटुक्क प्रेम-सन्देश केही अरू साथीले पनि पठाए। सम्झाएर साध्य थिएन, चुपचाप नाम काटिदिएँ। तर तिमी खुला रूपमा घरिघरि ‘आई लभ यु !’
लेखेर पनि अघाएनौ, र इनबक्समा ‘विल यु म्यारी मी?’ नै भन्यौ, जसका कारण यो चिठी लेखियो। हैन, प्रेम र बिहेजस्तो जीवनको महत्वपूर्ण कित्तामा तिमी यस्तो सतही खेल कसरी खेल्न सक्छौ, हँ?
मेरो कल्पनामा आजभोलि, फेसबुकमा यदाकदा देखिने सोमालियाको हाडछाला मात्रको त्यो सानो बच्चा र छेवैमा ढुकिरहेको भीमकाय गिद्धको तस्बिर आइरहन्छ। त्यो दृश्यमा कतै हाम्रो भविष्य प्रतिविम्बित भइरहेको त छैन? भनेर कहाली लाग्छ।
सम्भावित अनिकाल र भोकमरी भविष्य कल्पेर म त्यसै डराएकी हैन, केही आधार र छाँटकाँटले मेरो त्रासलाई मलजल गरिरहेका छन्। हाल मसँग त्यस्तै दस किलो जति चामल, हुलासको दुई किलोवाला आँटाका दुई पोका र परारसाल मधेसबाट पठाइदिएको पाँच किलो जति मडुवा छन् अन्नका नाउँमा।
फर्निचर बनाउने ठाउँबाट किनेका टुक्राटाक्री दाउराले चुलो बल्दैछ। दाल पनि खाइन्थ्यो कहिल्यै भन्ने सत्य एकादेशको कथा बन्यो, अझ जिम्बुले झानेको मासको दाल खानु भनेको उग्र विलासिताको उदाहरणै बन्यो। अन्नपात र नुनभुटुन अभावको के कुरा, जीवन बचाउने दबाई पाउन छाड्यो। फर्निचरको दाउराले कतिन्जेल धान्ला? सामलतुमल तुरिएपछि के खाएर बाँच्ने?
के तिमीलाई मुलुकको भयावह अवस्थाले छोएको छैन?कि तिमी सात पुस्ता बसीबसी खान पुग्ने मुखमा चाँदीको चम्चा लिएर जन्मने वर्गका पर्यौ? तिमी नै भन, यस्तोमा कसरी प्रेम टुसाउन सक्छ? हुन त युद्ध-विभीषिकाबीच पनि अफगानी माटोमा पिरतीका फूल फुलेका कथा खालिद हुसेनीले ‘अ थाउजन् स्प्लेन्डिड् सन्स’मा लेखेका छन्, तर यी र यस्ता केही किस्सा अपवाद हुन्।
हाम्रो स्थिति बेगल छ। न त हामी बैरीसँग सीधै जाइलाग्न सक्छौं, न त सहेर यथास्थितिमा रहिरहन सक्छौं। निल्नु न ओकल्नुको अप्ठ्यारो परिस्थिति छ हाम्रो। घोषित लडाइँ भइदिएको भए हामी वीरबुद्धुहरू लडेर भिडेर पक्कै समरजित हुन्थ्यौं, हाम्रो अदम्य साहस, हामीले देखाएका रणकौशल र हाम्रा विजयी युद्धका साक्षी संसार छ । आफ्ना बहादुर शत्रुका सम्मानमा अंग्रेजहरूले निर्माण गरेका स्मारकहरू हाम्रै पुर्खाका हुन्।
तर हाम्रो हालको दयनीय हालत फौदारी मुद्दासँग सम्बन्धित परेन, अघोषित नाकाबन्दीको छलछामले भोकै मार्ने चरमबिन्दुमा पुर्याउँदा पनि हत्केला खप्ट्याएर बस्नुबाहेक केही गर्न सकिरहेका छैनौं। निर्धो र निरीह हुनु व्यक्ति विशेष र मुलुककै लागि पनि अरूले हेप्ने, साथ दिनबाट तर्किने मेसो बन्दो रहेछ।
हामीलाई जानाजान सकसमा पारिएको, हाम्रा साँधसिमाना मिचिएको र हाम्रो सार्वभौमिकतालाई बाल नदिएको तथ्य दुनियासामु छर्लंग छ । तर कोही अगाडि आएर ‘नेपालीलाई यसरी चिथोमिचो गर्न पाइँदैन’ भन्न सकिरहेका छैनन्।
मजबुत अर्थतन्त्र र दिगो जगमा उभिएको मुलुकसँग जोरी खोज्न कोही नचाहँदोरैछ, निहुँ चाहे सत्यकै पक्षमा किन नहोस् ! फेरि एक पटक, बलियाले निम्छरोलाई पेल्ने ठेक्कापट्टाको चक्र इकोसिस्टम जत्तिकै सर्वमान्य ठहरिएको छ।कुरामा कुरा, तत्कालीन भारतीय राष्ट्रपति एपिजे अब्दुल कलामलाई संसारका तमाम मानिससरह म पनि अत्यन्त श्रद्धा गर्थें।
एक पटक उनको भाषणको अंश पढ्ने मौका पाएँ, जहाँ उनले भनेका थिए, ‘हाम्रो देश न कसैलाई थिचोमिचो गर्छ, न कसैको साँधसिमाना मिच्छ, न त कसैले आफूलाई त्यसो गरेको सहन्छ।’ मलाई त्यतिबेला लागेको थियो, के उनलाई थाहा छैन भारतले हाम्रा केही दशगजा नजिकका जमिनहरू कब्जा गरेको तथ्य?
के उनी अनभिज्ञ छन् कालापानी र सुस्तामा भएका भारतीय बलमिच्याइँका कपटसँग? लिपुलेकको चर्चा अहिले आएर चुलिए पनि त्रिपक्षीय गञ्जागोलको थालनी त उहिल्यै भइसकेको रहेछ नि? के उनी यो मामिलामा पनि बेखबर थिए?
राष्ट्रपतिजस्तो जिम्मेवार पदमा आसिन उनले ‘हामीले कसैको सिमाना मिचेका छैनौं, कसैलाई पेलेका छैनौं’ भनेयता उनीप्रति मेरो मन उस्तै सङ्लो रहेन।
प्रेम मेरो पनि प्रिय विषय हो । म पनि प्रेममा पर्न र कसैले मलाई मैले जत्ति नै माया गरोस् भन्ने चाहन्छु।
विजयकुमारले ‘खुसी’मा लेखेजस्तै, आवरणहीन भएर मन साटासाट गर्न, दुःखसुखमा दिलोज्यानले मद्दत गर्न र एकअर्काको निम्ति सच्चा मनले प्रार्थना गर्न सकिने प्रेमको खोजिमा म पनि भौंतारिन्छु, तर त्यसका लागि कालजमाना सही छैन। अहिले प्रेमभन्दा पेटको भोक र स्वाधीनताको मूल्य चर्को छ।
पेटको भोक र स्वतन्त्र मुलुकको सार्वभौमिकता दाउमा राखेर प्रेमबारे सोच्न पनि सक्दिनँ । म यस्तै छु, त्यसैले त पारिजातको ‘शिरीषको फूल’मा, मर्नुबाँच्नुको ठेगान नभएको, मुर्दा ज्यान छरपस्टिएको बीभत्स परिवेश र लडाइँको भयानकताबीच कसरी सुयोगवीरले निर्दोष युवतीहरूमाथि बलात्कार गर्न सक्यो भनेर उदेक लाग्छ, जब की यस्तोमा प्रेमजस्तो कोमल भाव पनि बिझाउँछ मलाई !
भारतको चलाखीपूर्ण परपीडक व्यवहार र ढोंगी अनुहार सम्झियो कि मलाई प्राचीन खसकाल र किँरातकालको विशाल नेपालको अग्घोरै झझल्को लाग्छ । आफ्नो ‘टर नेपाल’ डक्युमेन्ट्रीमा मनोज पण्डित भन्छन्, ‘इतिहास परिचय हो राष्ट्रको र नागरिकको।
संसारका प्रायशः राष्ट्रलाई आफ्नो उपनिवेश बनाउँदै, कहिल्यै सूर्य नअस्ताउने देश बनेको ब्रिटिससँग बहादुरीको परिचय दिँदै एक वर्षसम्म युद्ध गरेर उपनिवेश बन्नु नपरेको वीर गोर्खालीको देश हो हाम्रो …’
सोही डक्युमेन्ट्रीमा चेतेन्द्रजंग हिमाली भन्छन्, ‘सम्राट् समुद्रगुप्तको इलाहावादस्थित स्तम्भमा, नेपालको पूर्वी सिमाना कामरु कामाक्षा, दक्षिणी सिमाना पाटलीपुत्र-कतुर र पश्चिममा उधमपुर भनेर व्याख्या गरिएको छ। कामाक्षा भनेको आसामको राजधानी, पाटलीपुत्र भनेको पटना, कतुर इलाहाबादनजिक पर्छ र उधमपुर भनेको उत्तरपश्चिम बंगाल।
र यो ईशाको ३५० वर्षपूर्वको शिलालेख हो। त्यस अवस्थामा नेपाल विशाल थियो, र किँरातकालको अन्त र लिच्छविकालको प्रारम्भ थियो। लिच्छविहरू कमजोर हुँदै गएपछि यो देश ५३ टुक्रामा विभाजित भयो।
नेपाल किराँतकाल र खसकालमा विशाल थियो भन्ने कुराका आधारहरू, स्कन्ध पुराणको ८१औं अध्यायमा स्पष्ट व्याख्या छ । र ईशापूर्व एक हजार वर्षको अथर्ववेदमा व्याख्या छ । कौटिल्यको अर्थशास्त्रमा व्याख्या छ । र चाणक्यको नन्दवंशमाथि अलेक्जेन्डरको आक्रमणकाल (थर्ड सेन्चुरी) नेपाल नरेससँग सहयोग लिनका लागि ६ जना श्रेष्ठीलाई पत्र दिएर यहाँ पठाएका छन् …।’
विक्रम सम्बत् १७९९ मा गोरखाका राजा पृथ्वीण्नारायण शाहबाट सुरु भएको नेपाल पुनर्एकीकरण, विक्रम सम्बत् १८६३ मा काजी अमरसिंह थापासम्म आइपुग्दा पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म एकीकृत भएर विशाल नेपालको रचना भयो।
यसरी पुर्खाले आर्जेको विशाल नेपालको दुर्भाग्य तव शुरु भयो, जब १ नोभेम्बर सन् १८१४ का दिन इस्ट इन्डिया कम्पनीका तर्फबाट जनरल हेस्टिङ्सले नेपालविरुद्ध विधिवत् रूपमा युद्धको घोषणा गर्दै सत्लज, देहरादुन, बुटवल, वीरगन्ज र मोरङ, पाँच स्थानबाट धावा बोले। त्यो युद्धमा नेपालले तीन ठाउँमा विजय प्राप्त गर्यो भने, दुई ठाउँमा हार बेहोर्नु पर्यो। यदि तीन ठाउँमा पनि नेपालीको विजय नभएको भए हाम्रो नेपाल राज्यको अवस्था अहिलेको पनि हुन्थेन।
अंग्रेजहरूले नेपालको सुदूरपश्चिम सतलजबाट आक्रमण गरे, तर अमरसिंह थापाको टोलीले वीरतापूर्वक लडेर किल्ला जोगाए। सतलज हत्याउन नसक्ने भएपछि अंग्रेजहरू अर्को युद्धमार्ग नालापानीबाट नेपाली भू-भाग छिरे। आधुनिक हातहतियारले सुसज्जित चार हज्जार अंग्रेज सेनासँग नेपालका बलभद्र कुँवर, बूढाबूढी, आइमाई र बालबच्चासहितका जम्मा ६ सय लडाकुले बहादुरीसाथ नालापानी युद्ध लडे।
त्यो भीषण नालापानी युद्धमा जनरल जिलेस्पीसहित एक हजार अंग्रेज सेना मारिए। अन्त्यमा नेपाली सेनालाई युद्ध कौशलबाट हराउन नसकेपछि अंग्रेजहरूले किलामा आउने पानीको मुहान नै काटिदिए। धेरै दिनसम्म पानी पिउन नपाएपछि बलभद्र कुँवर, बाँचेका आफ्ना ७० जना योद्धासहित नांगो खुकुरी नचाउँदै किल्ला छाड्न बाध्य भए।
नालापानी युद्धपछिको निर्णायक युद्ध मलाउँ युद्ध थियो। अंग्रेजले सम्पूर्ण शक्ति लगाएर मलाउँको देवथल किल्ला आफ्नो बनाउन सफल भएपछि ७० वर्ष नाघेका वीर योद्धा भक्ति थापा पुनः यो किल्ला फर्काउन अंग्रेज फौजमाथि जाइलागे। तर अंग्रेजहरूको तोपबाट छुटेको आगोको गोला उनको छातीमा लाग्यो र उनी त्यहीँ ढले।
लडाइँमा मलाउँ किल्ला हारेपछि अमरसिंह थापाले ब्रिटिससँग महाकालीवारि आउने सन्धि गरेका थिए। सोही पराजयका कारण सन् १८१५ डिसेम्बर २ तारिखमा नेपालले ब्रिटिससँग सुगौली सन्धिजस्तो असमान सन्धि गर्नुपर्यो, जसअनुसार, नेपालले काली र राप्ती नदीबीचमा पर्ने सम्पूर्ण तराई, राप्ती र गण्डकीबीचको बुटवलबाहेकका सबै तराई, गण्डकी र कोसीबीचको तराई, मेची र टिष्टाबीचको समथल भू-भाग, मेचीपूर्वका सबै भू-भाग तथा कालीपश्चिमका भू-भाग इस्ट इन्डिया कम्पनीलाई बुझाउनुपर्ने भयो।
यो सन्धिलाई १५ दिनभित्र हस्ताक्षर गरी नेपालका राजाले ब्राड शालाई बुझाउनुपर्ने भन्ने थियो, तर तराईका थुप्रै भू-भाग गुमाउनु परेकोमा राजाको चित्त नबुझेपछि अंग्रेजहरूले केही तराई फिर्ता गर्ने गरी ८ डिसेम्बर १८१६ मा मकवानपुरमा सन्धि भयो। जसअनुसार कोसीदेखि गण्डकी तथा गण्डकीदेखि राप्तीसम्मका केही तराईका भू-भाग नेपालले फिर्ता पायो।
सन् १८५७ मा भारतमा इस्ट इन्डिया कम्पनी सरकारविरुद्ध उठेको सिपाही विद्रोह दबाउन जंगबहादुरले सेनासहित ठूलो सहयोग गरे। त्यसबाट खुसी भएर अंग्रेजले १८६० को नोभेम्बरमा सुगौली सन्धिअनुसार नेपालले गुमाएको भू-भागमध्ये केही तराई फिर्ता दियो।
यसरी सुगौली सन्धिपश्चात् दुई पटक तराईका केही भू-भाग फिर्ता भएपछि वर्तमानको नेपाल बनेको हो।मनोज पण्डितकोब वृत्तचित्र ‘ग्रेटर नेपाल’मा फणीन्द्र नेपाल भन्छन्, ‘सुगौली सन्धिमा गुमेका भू-भागको जिम्मेवारी बेलायतले लिनुपर्दछ, किनभने इस्ट इन्डिया कम्पनी बेलायतको उत्तराधिकार प्राप्त एउटा संस्था हो।
हामीले इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गर्यौ भनेको भए पनि बेलायतसँग गरिएको हो।र जब बेलायतबाट भारत स्वतन्त्र भयो, त्यो पनि ‘इन्डिया इन्डिपेन्डेन्ट एक्ट’ भन्ने ब्रिटिस पार्लियामेन्ट बाट एक्ट पास गरेर भएको स्वतन्त्रता हो।
यसले के बुझाउँछ भने बेलायत सरकार सुगौली सन्धिप्रति सीधा उत्तरदायी छ।पछि आएर, १९५० को नेपाल-भारत सन्धिको धारा ८ ले सुगौली सन्धिलाई रद्द गरेको छ। यो सन्धि सन् १९४७ अगस्ट १५ मा नयाँ राष्ट्रको रूपमा जन्मेको इन्डिया र सयौं वर्षदेखि स्वतन्त्र राष्ट्रको रूपमा रहेको नेपाल सरकारबीच भएको हो। सुगौली सन्धिमा जुन जमिन हामीले गुमाएका थियौं, त्यो चाहिँ ब्रिटिस इम्पायरमा गाभिएको थियो । त्यतिबेला ब्रिटिस इम्पायरको एउटा भाग चाहिँ इन्डिया भन्ने मुलुक थियो।
१९५० मा गरिएको सन्धिको धारा ८ ले ‘भारतको तर्पmबाट ब्रिटिस सरकारले नेपाल सरकारसँग गरेका सबै सन्धि रद्द हुन्छन्’ भनेर ब्रिटिससँग नेपालले गरेको सुगौली सन्धि रद्द गरेको प्रमाणित गरिसक्यो । भनेपछि यो अवस्थामा नेपालको सिमाना टिष्टा र सतलज हो भन्ने कुरा कायम हुन्छ।
स्वतन्त्र भारतसित भएको सन्धिपश्चात् ३० अक्टोबर १९५० मा नेपालले संयुक्त अधिराज्यसँग पनि शान्ति तथा मैत्री सन्धि गर्यो। त्यो सन्धिको धारा ८ मा पनि ‘बेलायत र नेपाल सरकारबीच यसअघि भएका सबै सन्धि रद्द गरिन्छन्’ भन्ने उल्लेख गरिएको छ। त्यसो हुँदा सुगौली सन्धिलाई बेलायतले पनि औपचारिक रूपमा खारेज गरेको प्रमाणित हुन्छ।’
प्रिय साथी ! नेपालीको वीरता, साहस, युद्धकौशल, पराजय र नियतिको यति लामो बखान म यसकारण गरिरहेकी छु कि नेपाली युवाले अरूको मुख ताक्ने हैन, आफैं कम्मर कसेर इतिहास खोतल्ने बेला आएको छ। शदीयौंदेखि पराधीन बनेर भारतको उपनिवेश बनेको हाम्रो भूमि फिर्ता ल्याउन तिमी हामीले नै पहल गर्नुपर्दछ । यस विषयमा नागरिक चासो जगाउन लागि परौं।
प्रत्येक नेपालीलाई मनोज पण्डितले ठूलो दुःखले बनाएको ‘ग्रेटर नेपाल’ हेरेर आफ्नो इतिहासमा गर्व गर्दै भारत अधीन अद्यापि रहेका नेपाली भू-भागबारे चासो लिन अभिप्रेरित गरौं। यस सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनले के भन्छ, अध्ययन गरौं, विज्ञहरूसँग परामर्श गरौं। अन्तर्राष्ट्रिय अदालत हेगमा यो मुद्दाको छिनोफानो हुन्छ हुँदैन, बुझौं।
पोहोर परार यो मंसिर महिनामा जता हेर्यो उतै विवाहको चटारो हुन्थ्यो । यो पालि आधाउधी मंसिर गइसक्यो, तर पनि टोलबजारमा विवाहको रौनक छैन सुनसान छ । भनेपछि, बेला अत्यन्तै टिठलाग्दो र क्रुर बनेको छ हाम्रा लागि।
तिमी पनि विवाहका कुरालाई केही समय थाती राखेर मनभित्र देशप्रेमको दीप बाल र सुगौली सन्धि खारेजीको पक्षमा जनमत तयार गर्न कदम बढाऊ। प्रशान्त तामाङ, तेरिया मगर आदिलाई रातारात हिरो बनाइदिन सक्ने हामी नेपालीले चाह्यौं भने के चाहिँ गर्न नसकौंला र? फेसबुकमा ‘लभ यु !’, ‘विल यु म्यारी मी?’ भन्दै अल्छे र अनुत्पादक समयको सारथि नबन। बरु आऊ, मिलाऔं हाम्रा हातहरू !
२०७२ पौष ४ शनिबार
(स्रोत : अन्नपूर्ण पोस्ट)