~खगेन्द्र संग्रौला~
मुसागणको सनातनी आतङ्कले सताइँदा म निरुपाय र हैरान भएको थिएँ । नाथेहरू वस्त्र भेटे वस्त्रै काट्ने । अन्न भेटे अन्नै बिमाख पार्ने । अनुशासन र मर्यादा एक पित्को जान्नु छैन, जथाभावी हगेर लिँडैलिँडको लस्कर बनाउने । हुँदाहुँदा यति अराजक भए, ती त ए रात्तै ! राति सुतेको बेला हेपेर मेरो टाउकै टेकेर हिँड्न पो थाले । मुसिक आतङ्कबाट मुक्तिको खोजीमा मैले जानेसम्मका सबै उपायहरू अबलम्बन गरेँ । धराप थापेँ । जब एक–दुईवटा मुसा धरापबन्दी भए, त्यसको सुइको पाएर तिनका सबै कुल–कुटुम्बहरू चङ्ख भइहाले । चक्की विष राखेँ, एक–दुईवटाले कुनाकानीमा मरेर प्रतिशोधकारी गन्ध फैलाए । बाँकी सबैले हरि रोकाको प्रिय आहानमा झैँ ‘कुरा बुझ्यो कुलेले, खाएन दुध’को कार्यनीति अपनाए । नागरिक सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीको काम–कर्तव्यको दायराभित्र यो आतङ्क परेन । गणेशथानका अनस्तित्ववासी गणेशजीलाई पुकारेर आखिर केही लछार्पाटो लाग्ने होइन । भन्नुस्त, अब म बेसाहारा मनुवा गुहार माग्न कहाँ जाऊँ ?
थकित, आजीत र पराजित मनोदशामा थिएँ म । एक बिहान कताबाट हो कुन्नि एउटी किशोर बिराली हठात् मेरो आँगनमा आइलागी । त्यो ख्याउटी र निन्याउरी थिई । देखेँ, त्यसका आँखामा आसा र त्रासमिस्रित याचनाकारी भाव छ । लख काटेँ, पक्का पनि यो बिल्ली जगत्की सुकुम्बासी शरणार्थी हो । र, त्यसैत्यसै हौसिँँदै सोचेँ, जसरी हुन्छ मैले यस उद्धारकलाई रत्याउनै पर्छ । अनि परैबाट उसका अगाडि एक टुक्रो मासु फालिदिएँ । नयाँ ठाउँ, नौलो वातारण, नवीन आश्रयपति — के होला, कसो होलाको मनोभावमा भययुक्त सङ्कोच मान्दै गेटभित्र दायाँ कुनामा बसेर बिराली नानीले मासु कुपुकुपु खाई । अनि त्यो किञ्चित् भयमुक्त भएर सुस्त चालले मेरो पिँडीमा आई । मलाई टुलुटुलु हेर्दै त्यसको मुखबाट ‘म्याउँ’को मसिनो आवाज निस्क्यो । त्यो ‘म्याउँ’मा छोरीले बाल्यकालमा मलाई ‘बाउ’ भनेर पुकारेको झल्को आयो । मलाई मुसाहरूको सातो लिने जाँगरिली बिराली चाहिएको थियो, उसलाई मेरो कृपापूर्ण शरण चाहिएको थियो । हामी दुईमाझ ट्याक्क मौन सम्झौता भयो । र, यसरी नवागन्तुक बिराली र मेरोबीचमा छिनभरमै सहअस्तित्वको चौतारीमा अनुरागपूर्ण नाता गाँसियो ।
बिराली आई र मेरो घरको वातावरण चैनयुक्त एवं जीवन्त भयो । हुर्मतकारी मुसाहरूलाई भूमिगत हुन विवश तुल्याउन बिरालीको मसिनो म्याउँम्याउँ, उसको गन्ध र उसको क्रियाहीन उपस्थिति नै मनग्गे भयो । माथि जस्तापाताको छानो र तल प्लाइउडको ढकनीबीच अनामन्त्रित पाहुना टाइपका परेवागणको ज्यादती खपिनसक्नु भएको थियो । तिनले घुरेर, जुधेर र बिस्ट्याएर तलामाथिको वातावरणलाई बसिनसक्नु हुने गरी अशान्त र अस्वच्छ तुल्याएका थिए । मैले फुच्ची बिरालीको भरपूर उपयोग गर्ने जुक्ति रचेँ । र, भाँटाका टुप्पमा मासुको टुक्रो उनेर लोभ्याउँदै उसलाई मैले लिस्नोबाट माथि चढाएँ । बस्, परेवा आतङ्क पनि चट् भयो । यसरी अतिथि बिरालीको गुनप्रति म हृदयदेखि नै कृतकृत्य भएँ । र, सट्टामा उसले अगाध मायाँ पाई । हामी बुढा–बुढीबीच बात मार्ने विषय निख्रिँदाका क्षणमा त्यो एकाघरको प्रिय सन्ततिझैँ बात मार्ने प्रीतिकर विषय पनि बनी । जब त्यो आई, त्यसले परदेशबासी छोरीको बाल वयको याद मेरो हृदयको झनै नजिक ल्याई ।
कथाको यो प्रकरण बडो स्वादको छ । म पिँडीमा पढ्दै, हाते फोनमा संवाद गर्दै वा अगाडिको आरुको बोटमाथिको प्रदूषित आकास हेर्दै जब बस्छु, बिराली मेरो दायाँतिरको गोलो टेबुलमा लुसुक्क उक्लिन्छे । टेबुल र मेरो काखबीचको दुरी एक हातजति छ । बिराली लोभी नजरले मेरो काख हेर्दै अनुमति माग्न विनयशील भाकामा ‘म्याउँ’ गर्छे । उसलाई आश्वस्त तुल्याउन म हल्का औँलाले उसको ढाड मुसार्छु । र, निर्भयसाथ फुत्त उफ्रेर ऊ मेरो काखमा छोरीझैँ मग्नसँग बस्छे । काखमा बस्नु के छ, डल्लो परेर पलभरमै ऊ उसैगरी भुसुक्क निदाइहाल्छे जसरी छोरी निदाउँथी । लाग्छ, मानिसको सामीप्यताको चाहना गर्ने र मानिससँग यति साह्रो झ्याम्मिने घरेलु चौपाया बिरालै हो । छोरी मेरो काख छाडेर, बढेर, पढेर एवं ज्ञान र सीपका किञ्चित् आत्मनिर्भर पखेटा हालेर उड्दै सात समुन्द्रपारिु गई । ऊ पैत्रिक सम्पत्तिको बन्धनकारी प्रलोभन र पराश्रयको अभिशापबाट मुक्त भएर आफ्नै मुक्त आकासमा उड्दै गई । र, मेरो न्यास्रिएको रित्तो काखमा बस्न बिराली आइलागी । मलाई हेरेर त्यो ठान्दी हो, यो मेरो बाउ हो र मेरो सेवक पनि । आखिर सानी फुच्ची छँदा चुल्बुले छोरी पनि त यस्तै ठान्थी ।
छोरीलाई झैँ पात्तिएकी बिरालीलाई छेकथुन र निषेध केहीमा छैन । मन लागे ऊ लुसुलुसु भान्छामा जान्थे । मन लागे ऊ फुक्काफाल ओछ्यानमा उक्लेर सिरकभित्र गुँडुल्किन्छे । त्यसो त ऊ ज्ञानी पनि छे । र नै त ऊ राति दराजको तल्लो खापामा थाक लाएका लुगामा पसेर मस्तसँग निदाउँछे र दिउँसो टन्न गोजेरो भरेपछि पिँडीमा वा आँगनमा तातेका ढुङ्गा वा सिमन्टीको तप्त लेपनमाथि मस्तसँग सुत्छे । हेर्छु, उसको सुताइका उदेकलाग्दा मुद्राहरू विविध छन् । कहिले ऊ अगाडि र पछाडिका दुबै जोर खुट्टा तनक्क तन्काएर सुत्छे, कहिले नाक र चाक जोडेर शङ्खे किरोझैँ हाँसउठ्दो आकारमा ऊ डल्लो पर्छे । जब भोक लाग्छ, ऊ अतिशय चाकरीमय मुद्रामा हल्का ‘गुर्र’ आवाज निकाल्दै शरीर डोलाएर मेरा खुट्टा स्पर्श गर्दै पटक–पटक परिक्रमा गर्छे । ऊ नङ्ग्राले भुइँको कार्पेट वा मेरो ट्राउजर कोतर्दै मेरो ध्यानाकृष्ट गर्छे अथवा कारुणिक आवाज निकालेर ऊ रुन खोज्छे । ऊ छोरीको रिक्त स्थानमा छे । र नै त ऊ मौन अभिनय गर्दै छोरीले पाएका सबै सेवा–सुविधाहरू भोग–चलन गर्ने हकको हाक्काहाक्की दाबी गर्छे । ऊ आई र हाम्रो परिवारमा एकजना अनपेक्षित नयाँ सदस्य थपियो । ऊ आई र हाम्रो परिवारमा नव–जीवन सञ्चार भयो । ऊ जीवनको एउटा पाठ भएर आई र उसले मलाई मानिस, पशु र वनस्पतिको सह–अस्तित्वको अनिवार्य पाठ पुन:स्मरण गराई ।
बिराली पुल्पुलिई जसरी हाम्री छोरी पुल्पुलिएकी थिई । यी दुबै पुल्पुलिनुका उचित कारण छन् । छोरी हामी जोई–पोइको युवा रहरको पहिलो सन्तान थिई । मोहवश हामीलाई ऊ संसारभरिकी सबैभन्दा राम्री र अनमोल बालिका लाग्थी । यसै पनि ऊ हाम्रो जीवनको निरन्तरता र अमरत्वको प्रतीक त थिई नै । हाम्रो त्यो मनोहारी र अनमोल मणिलाई नौ महिनाको निम्छरो उमेरमा निमोनियाले डरलाग्दो गरी गाँज्यो । कल्कलाउँदो जिउ सुकेर सिठ्ठा भयो, ख्याउटे गाला कान्तिहीन भए, छातीबाट डरलाग्दो घ्यार्घ्यार् आवाज आउन थाल्यो र आँखा रसातलमा भास्सिए । उसका रुग्ण आँखामा मृत्युको घातक छायाँ देखेर म अताल्लिएँ । तर, संयोग र सौभाग्यले गर्दा भनुँ, उसले नर्स आमा पाएकी थिई । त्यसैले त कालको मुखैनेर पुगेको उसको क्लान्त जीवन हरियो र रसिलो हँुदै पुन: आरोग्यपथमा फर्कियो । यसरी हामी आमा–बाकालागि गुम्नै लागेको अनमोलको त्यो चीज काखैमा र साथैमा रहिह्यो । र, अतिशय लाड–प्यारले स्वभावत: ऊ पुल्पुलिई जसरी हाम्रा झन्झटहरू हरिदिन आइलागेकी बिराली पुल्पुलिई । जसरी छोरी खानमा नाकनिक गर्थी, उसैगरी बिराली नाननिके निस्किई । दुध दियो फर्केरै नहेर्ने, खालि मासुमै हत्ते हालिरहने । मासु नपाए चाकरी गरेर, घुर्की लाएर, रोएर हैरान पार्ने । पुल्पुलिएकी छोरीलाई उसकी आमाले ‘अल्छी’को उपाधि दिएकी थिइन् । पराश्रयी बिराली त झन् महाअल्छी निस्किई । यो छौँडी ध्यान मुद्रामा मुसाको सिकार गर्न मरेकाट्टे जाने होइन । डर लाग्यो, यसले अस्तित्व धान्नका लागि मुसा मार्न बिर्सने पो हो कि † कतै यो पराश्रयी अल्छे जातिच्यूत पो हुने हो कि ! त्यसैले अब आफैँ गरिखाओस् भनेर उसलाई मासु दिन चटक्कै छाडियो । अनि एक दिन त मेरी बास्सै, एकाध घन्टाको अन्तध्र्यानपछि घरमाथिको झ्यासबाट जङ्गी कालो मुसो मुखमा च्यापेर हल्लाउँदै शानका साथ सिकारी बिरालीको गृह आगमन भयो । आँगनको बीचमा मृत मुसो राख्दै त्यसको छेवैमा बसेर उसले गर्वोन्नत दृष्टिले मलाई अपलक हेरी । आफ्नो पौरख देखेर ऊ आफैँ फुरुङ्ग परेकी थिई जसरी जागिर खाएर पहिलो महिनाको तलब थाप्दा हाम्री छोरी फुरुङ्ग परेकी थिई । बिराली नानीको भङ्गिमाले मानौँ भनिरहेको थियो — आफ्नो यत्नको फल हातलागी हँुदा जुन आत्म–गौरव र आनन्दको अनुभूति हुन्छ, पारश्रयबाट हात लाग्ने नाथे कृपा वा भिक्षादानमा कहाँ हुन्छ त्यो ?
बिरालीको जीवनमा नयाँ आयामको थालनी भयो । मलाई लाग्छ, त्यो अपरिपक्व र असामयिक थालनी थियो । तीनवटा कामातुर र लुब्ध ढाडे तीन दिशाबाट उसलाई ताकेर आउन थाले । एउटा सेतो, एउटा खैरो र एउटा पाङ्ग्रे । कचेरे सेतो बृद्ध र शुष्क थियो । ख्याउटे खैरो थियो अलि सङ्कोचशील । तर, बलिष्ट पाङ्ग्रे भने एकदमै आक्रामक थियो । आलोपालो गरी जब ती आउँथे, बिराली अताल्लिँदै घरभित्र पस्थी । मौका पर्दा उद्दण्ड पाङ्ग्रे बिरालीलाई पन्जाले झ्याप्प हान्थ्यो । पाङ्ग्रेको अथक र आक्रामक प्रणय–निवेदनबाट अन्तत: बिराली बशीभूत भई । र, विवशतायुक्त समर्पणको मुद्रामा ऊ उसको पछि लागी । तीन दिनपछि जब त्यो फर्की, त्यसको स्वभावमा मैले परिवर्तनका स्पष्ट लक्षणहरू देखेँ । ऊ थकित तर सन्तुष्ट थिई । उसले सदाको लागि मेरो काख परित्याग गरी । ऊ झुम्म नशा लागेभैँm भएर मदेखि अलग्गै बस्न थाली । ऊ अचम्मसँग अन्तर्मुखी भई । त्यो सब उसले गर्भ धारण गरेको यथार्थको नि:शब्द उद्घोष थियो ।
बिरालीको त्यो परिवर्तित औतारले मलाई फेरि छोरीको सम्झना गरायो । छोरीले न्यूयोर्कमा नाति पाएकी थिई । स्नेह र सेवा चाहिने उसको दोजिया अवस्थामा हामी आमा–बा ऊदेखि धेरै टाढा थियौँ । त्यसैले हामीमा पछुतोको तिक्तता थियो । तर, बिराली भने हाम्रो काखको समीपमा थिई । छोरीलाई दिन नपाई सञ्चित भएको स्नेह र सेवा पनि यही भाग्यमानीले पाई । पेट ढुस्स फुलेकी बिराली एक दिन सुइत्त गायब भई । सोच्यौँ, त्यसले कतै एकान्त र सुरक्षित कुनो रोजेर छाउरा पाई होली । बडो खुल्दुलीसाथ मैले भुइँतालका सबै कुनाकानी चियाएँ । अहँ, बिरालीको चालचोल छैन । तलामाथि भित्तामा ठड्याइएका प्लाइउडमुनि झुत्राझाम्रा लुगाफाटा, झोलासोला, पुस्तक–पत्रिका आदि अलपत्र र अस्तव्यस्त थिए । मैले त्यहाँ पनि दृष्टि डुलाइहेरेँ । अहँ, सुत्केरी बिराली मेरा स्थूल दृष्टिमा पर्दै परिन । तर, आमा बिरालीको गुप्तबास आमा जातकी घरबूढीका सूक्ष्म दृष्टिमा भने परिनै हाल्यो । त्यसले प्लाइउडको रक्षाकवचमुनि झत्ता लुगाको थुप्रोमा तीनवटा छाउरा पाइछ । सुत्केरी बिराली बल्ल तीन दिनपछि तल प्रकट भई । हामीले दुध र मासुको मात्रा बढाएर मातृ बिरालीको हार्दिक स्वागत गर्यौँ । पाँचौँ दिनमा बिरालीले छाउरा अलि कम गोप्य ठाउँमा सारी, र मैले पनि देखेँ । आँखा अझै राम्रोसँग खुलिनसकेका चिल्ला चिन्डे शरीर भएका सुकसुकाउँदा तीन थान छाउरा हृदयभरि नै करुणाभाव जगाउने खालका थिए । बिरालीले मलाई चिन्ता, त्रास र क्रोध घोलिएका आक्रामक नजरले यसरी हेरी, मेरी आमा † म तर्सिँदै हत्तपत्त पछि हटेँ । जजसका सन्तान बेपत्ता पािरएका छन्, ती आहत आमाहरूको मलाई सम्झना भयो । तिनले पनि त आफ्ना ती सन्तानहरूलाई अनिष्टहरूबाट यसैगरी जोगाएर हुर्काएका हँुदा हुन् ।
बैरीका आँखा छलेर सन्तानको जोगाउ गर्ने सहज चेतनाबाट डोरिँदै बिराली बच्चालाई तलामै यहाँबाट त्यहाँ, त्यहाँबाट उहाँ, कहाँबाट कहाँ सारिरही । अलि दिनपछि बिराली खान्की माग्न तल झरेको मौका छोपेर मैले छाउरा त्रयको सुटुक्क निरीक्षण गरेँ । कोमल भुवादार रौँ पलाएर ती त निकै ठूला पो भइसकेछन् बा । दुईटा खैरा छन्, एउटा पाङ्ग्रे । बलात्कारी बाबुको सम्झना गराउने त्यो पाङ्ग्रे बिछट्टै राम्रो देखियो । त्यसको हप्ता दिनपछि बिरालीले गोप्य गुँडबाट छाउरा बाहिर निकाली । म हेर्दैछु, बिराली बडो सतर्कता साथ आफ्ना नवजात सन्तानहरूको रखवारी गरेर बसेकी छे, छाउरा लुला खुट्टा चाल्दै यताउति हिँड्दा छन्, आपसमा जिस्किँदा छन्, लुछाचुँडी गर्दै आमाका थुन चुस्दा छन् । तिनका आँखामा म बिरानो छु, मेरो छेउ पर्न ती हच्किन्छन् । तिनको त्यो चन्चल क्रिडा हेर्दै म परदेशबासी मेरो नाति आकासलाई सम्झन्छु । र, आनन्दित हँुदै तिनको बालक्रिडामा म उसको न्यास्रो मेट्छु ।
बिस्तारै–बिस्तारै झलक्क हेर्दैमा म्वाइ खाउँजस्ता लाग्ने अबोध छाउराहरू मेरो छेउमा आउन र मलाई स्पर्श गरेर खुर्र दगुर्न थाले । मन रित्तो भयो कि म तलामाथि जान्छु र छाउराहरूको बालक्रिडा हेर्दै धीत मर्ने गरी मन बहलाउँछु । तर, मन बहलाउन एक बिहान तलामा जान्छु त मातृ–शिशुहरू सबै गायब छन् । निम्छरो शरीर भएकी अनुभवहीन मातेले ती चिचिलाहरूलाई कसरी कहाँ सारिहोली ? मनभरि चिन्तायुक्त जिज्ञासा मडारियो । दुई दिन बिते, तैपनि मातृ–शिशुहरूको नाक–मुख देखिएन । तेस्रो दिन बल्ल सन्तान पछि लाएर बिराली मेरो लौहद्वारबाट बडो शानले भित्र पसी । म देख्छु, भाले पाङ्ग्रे सैबभन्दा ठूलो छ । अनि चञ्चल र फुर्तिलो पनि त्यत्तिकै । पोथी खैरी अलि सानी छे । तैपनि ऊ स्वस्थ र प्रसन्न देखिन्छे । बरा लघुकाय खैरे भने ख्याउटे र फुकिढल छ । शरीरका लक्षणहरू हेरेर मैले तिनका नाउँ जुराएँ । पाङ्ग्रेको नाउँ शैलेन्द्र उर्फ ठुटे । खैरीको नाउँ चेली । र, ख्याउटेको नाउँ च्याँसे ।
अँ, शैलेन्द्र उर्फ ठुटे † यो नाउँ जुराइको कथा बडो रोचक छ । पाङ्ग्रेको अनुहारमा आँखा गाडेर एक दिन घरमूलीले भनिन् — छ्या: यो कति नराम्रो ! हेर हेर, यसको छाँट न छन्दको नाक ! नियालेर नाक हेरेँ । मेरो दृष्टिमा पाङ्ग्रेको नाक गजब छ । श्री शैलेन्द्रकुमार उपाध्यायको जस्तो । उपाध्यायजीको दैहिक निजत्वको निथार उनको नाकमा छ । उक्त नाकबारे एउटा मनोविनोदी किस्सा छ । सृष्टिकर्ता चतुर्मुखी बह्माजीलाई लाग्यो, नरलोकमा नाकको विविधता पुगेन । र, विविधतामा मौलिक बान्की थप्न उनले नाकको नयाँ कारखाना खोले । तर दुर्भाग्यवश, नयाँ कारखानामा एउटै नाकको उत्पादन लागत यति धेरै भयो कि बरा ब्रह्माजी टाट पल्टिए । संयोगवश, नरलोकमा जन्मिने पालो शैलेन्द्रजीको परेछ, र ब्रह्माजीले उनको अनुहारमा त्यही दुर्लभ र विलक्षण नाक थपक्क टाँसिदिएछन् । नाकको विलक्षण निजत्व बृद्ध पर्वतारोही शैलेन्द्रजीको परम् सौभाग्य हो । कसैले एक पटक उनलाई देख्यो कि जिन्दगीभरि बिर्सँदैन । यो अविस्मरणको कारण उनका नाकको अधिकतम् निजत्व नै हो । पाङ्ग्रेको नाकले मलाई शैलेन्द्रजीको याद दिलायो र नै यस मूलाको नाउँ पनि मैले शैलेन्दै्र राखिदिएँ ।
पिँडीबासी बिल्लीगणको गतिमान् दिनचर्याले मेरो घर झनै रसमय र जीवन्त भयो । कुर्सीमा बसेर म हेर्छु, छाउराहरू अनेक क्रिडा प्रदर्शन गर्दै मलाई दङ्गदास तुल्याउँछन् । ती एकअर्कालाई पन्जाले हान्छन्, टोकाटोक गर्छन्, ङ्याक्छन् । चिथोरिएर चोट लाग्ला कि भनेर म त्यसैत्यसै पिरोलिन्छु । तर, तिनमा पीडाको अनुभूति दृष्टिगोचर हँुदैन । त्यो झम्टाझम्टी, त्यो लुछालुछ, न्यो ङ्याकाइ — त्यो सब आत्मरक्षा र सिकारको सीप सिक्ने सहज अभ्यास हो । अभ्यासमा च्याँसे कान्छो कमजोर छ । त्यसो त ऊ जेमा पनि कमजोर छ । ठुटे र चेली तँछाडमछाड गर्दै आमाको दुध चुसिसक्छन्, च्याँसे कान्छो हेरेको हेर्यै हुन्छ । च्याँसेलाई छेउ पर्नै नदिई मातेले मारेको मुसो तिनले खाइसक्छन्, बरा च्याँसे फेरि पनि फुस्रा ओठ लिएर हेरेको हेर्यै । त्यसको दुर्दशा देख्दा मेरो सम्झनामा चाल्र्स डार्बिन आए । लौ, प्राकृतिक छनोटमा यो च्याँसे नालायक ठहरिएर मर्ने भो ! दुई दिनको पाहुनो हो, मेरो पिँडीमा यसको चोला उठ्नु हुन्न । यसरी गम खाँदै च्याँसे दु:खीलाई मैले खान्कीको अलग्गै चाँजो मिलाएँ । अलि दिनमै त्यो यसरी पुष्टियो, अब त त्यो शैलेन्द्र र चेलीलाई आक्रामक क्रिडामा हाक्काहाक्की हाँक दिने पो भयो ।
छाउरा बढ्दै जाँदा आमा चाइने सुकेर सिद्रो हुन लागी । दुध दियो, ऊ केवल सन्तानले खाएको टुलुटुलु हेरिबस्छे । मुसो ल्याउँछे, गर्धन कुटुकुटु काटेर टाउको छुट्याउँछे र सन्तानलाई सिङ्गै सुम्पिदिन्छे । हदै भए उसले खाने सन्तानले छाडेको रहलपहल हो । छाउराका पेट बढ्दै जाँदा ऊ त्यही रहलपहलबाट पनि वञ्चित भई । तैपनि गए बरु प्राणै जाओस्, सन्तानका पेट काटेर ऊ केही नै खान्नँ । मलाई फेरि बेपत्ता पारिएका नागरिकहरूका उत्सर्गकारी आमाहरूको याद आयो । तिनले पनि त आफ्ना प्रिय सन्तानहरूलाई यसैगरी आप्ू: भोकभोकै बसेर खुवाएका हँुदा हुन् । कत्रा दु:खले हुर्काएका तिनका सन्तानहरूलाई रक्षक नाउँका क्रूर व्याधाहरूले कसरी भक्षण गरे † अनुरागमयी बिरालीमा ती शोकाकुल आमाहरूको कल्पना गर्दै म भावुक र उदास हुन्छु ।
खान्कीको दुखले बिराली हाड–छालामात्र भइसकी तैपनि ऊ आफ्ना अबोध शिशुहरूलाई अस्तित्व रक्षा गर्ने सीप र कौशल हस्तान्तरण गर्न अहोरात्र यत्नशील छे । ऊ तिनलाई घरमाथिको झ्यास र छरछिमेकको सेरोफेरोकोपरिक्रमा गराउँछे, जुध्न इख्याउँछे र रुख चढ्न सिकाउँछे । जब ती फुर्सदमा हुन्छन्, उही गोलो टेबुलको बाटो गरी उफ्रेर मेरो काखमा गुडुल्किन आइहाल्छन् । ठुटे शैलेन्द्र यो क्रिडामा पनि रोलनम्बर वानको स्थान कब्जा गरिहाल्छ । यो ठुटे हरिप छ । म जे खान्छु, ऊ त्यही खान्छ । उसको रुचिमा बिल्ली प्रजातिको खाद्य संस्कृतिमा विचित्रको विचलन गोचर हुन्छ । आलु पाए ऊ आलु खान्छ, हरिया मकै पाए त्यही कुटुकुटु चपाउँछ । चेली र च्याँसे छक्क परेर उसलाई हेर्छन् ।
कतै बास फेर्न गएका माते र शिशुहरू एक बिहान हरिबिजोकको रुप लिएर फर्के । हेर्छु, सबैको चाल सुस्त छ, अनुहार खिस्रिक्क छन्, भुँडी सारङ्गी भएका छन्, आँखामा मृत्युको छायाँ छ । दुध, मासु केही खानु छैन । खालि भुइँको पानीमात्र ल्याप्प–ल्याप्प चाट्छन् । कसैले विष खुवायो कि अथवा विष खाएर मरेको मुसो पो खाए कि † मेरो घरै अँध्यारो, मनै अँध्यारो भयो । हिजोसम्म कस्तो चहलपहल र उमङ्ग थियो, आज यो कस्तो सन्नाटा र उदासी †
बेलुका चारै थान चौपाया पुन: गायब भए । दुई दिन बिते, तैपनि ती फर्केनन् । सबै मरे हुनन् ! सुस्केराको भाकामा मैले आत्म–संवाद गरेँ । तर तेस्रो दिन ती किञ्चित् तङ्ग्रिएर फर्के । र, तीसँगै मेरो हराएको खुसी पनि फर्कियो । दिनानुदिन छाउराहरूको आहार बढ्दै गयो, आमाको दुध सुक्यो र मेरा थाप्लामा तिनको भरणपोषणको बोझ झनै बढेर गयो । यहाँ मलाई फेरि डार्बिन बाजेकृत शास्त्रको सम्झना भयो । आफ्नो अस्तित्वलाई निरन्तरता दिन के अब यी योग्यतम् भइसके ? थाहा छैन । तर, म भने अब यिनलाई ‘लौ आफैँ गरिखाऊ’ भनेर बिदा गर्न विवश भएँ । शैलेन्द्र ठुटेसँग मेरो प्रगाढ ममता थियो । त्यसैले त्यसलाई मैले काखैमा राखिछाडेँ । घरधन्दामा सघाउ–पगाउ गर्ने चमेली नानीले चेली र च्याँसेलाई भत्केको पुलवारि कतै लगेर छाडिदिइन् । भनेको थिएँ — कतै घरछेउमा छाड्नू । मजस्तो कोही मुसा–पीडितले भेटे यिनलाई माया गरेर भित्र्याउला । पछि सुनेँ, संयोगवश भएछ पनि त्यस्तै ।
दुई सन्तान अलप हँुदा आमा बिराली अत्यन्तै शोकाकूल भई । ऊ कतै झ्यासबाट मुसो मारेर ल्याउँछे । खान आऊ भनेर करुण स्वरमा छाउराहरूलाई डाक्छे । आसालु दृष्टिले चारैतिर हेर्छे । तल्लो घर, माथ्लो घर, ओल्लो घर, पल्लो घर, ऊ विदिर्ण चित्कार प्रकट गर्दै चारचौरास चाहार्छे । र, त्यसैत्यसै थकित र उदास भएर ऊ फर्किन्छे । ठुटे एक्लै मुसो खान्छ । क्लेशको करौँतीले रेटिएको हृदय लिएर आमा छेउमा बसेर ठुटेलाई अपलक हेरिरहन्छे ।
आमा सिकार खोज्न जाँदाको क्षणमा दिदी–भाइसँगको वियोग व्यथाले एक्लो ठुटे साह्रै न्यास्रिन्छ । ऊ ‘म्याउँ–म्याउँ’ गर्छ, यता खोज्छ, उता खोज्छ, सहयात्रीहरूलाई कतै देख्दैन । र, फेरि ‘म्याउँ–म्याउँ’ गर्दै ऊ रुन्छ । उसको न्यास्रो मेटिदिन मैले एउटा क्रिडा रचेँ । म क्रिकेटको बल हुत्त फाल्छु, कुद्दै गएर ठुटे बल च्याप्प समात्छ । हँुदाहँुदा त्यसको बल पक्राइ यति अच्चुक भयो, मलाई अकालमै कालको मुखमा पर्न विवश महावीर टिमका मेरा सहपाठी अनुप राणाको गोल्की–कलाको याद आयो । र, ठुटेको नामको लहरमा शैलेन्द्रपछि अनुप राणा थपियो ।
एक्लो ठुटे मेरो छायाँतुल्य भयो । उसको अन्नदाता, सँगी, सेवक जे जे हो त्यो सबै मै भएँ । म कम्प्युटरमा बस्छु, ठुटे झ्यालबाहिरको जालीमा चढेर ‘म्याउँ–म्याउँ’को भाकामा मलाई ‘बाउ–बाउ’ भन्छ । म ढोका खोलिदिन्छु, ऊ दगुर्दै आएर कम्प्युटरको पर्दामाथि थपक्क बस्न पुग्छ । म तल लेखनमा मग्न हुन्छु, ऊ माथि सुकलामा मस्त हुन्छ । बायाँपट्टि दराजमा नातिको तस्बिर छ । त्यो पनि चतुर आँखाले एक टकले मलाई हेर्दै ‘बुढा बाउ’ भनुँलाझैँ गर्छ । त्यसको भावमय अनुहार हेर्दा त्यसले आफ्नो जन्मभूमिका आँडु मनुवालाई यसो भन्ला कि झैँ लाग्छ — जुनियर जर्ज बुस बाजे † काका होचि मिन्हले धुलो चटाए, तर केही सिकेनौ । इराक र अफगानिस्तानमा लोकतन्त्र र शान्तिका नाउँमा अतिक्रमण र लुटको ताण्डव नृत्यपछि अब तिमी हार्दैछौ । तिमीजस्ताका दिन अब गए ! ठुटेलाई सोध्छु – ऊ त्यसो भन्दैछ, तँ के भन्छस्, बाबु ? ठुटे फुत्त उफ्रेर मेरो टाउकोमा अवतरण गर्छ । र, हल्का चालले मेरो टाउको कोतर्दै ऊ खान्की माग्छ ।
एक बिहान घरबूढीको खटनबमोजिम उनी आफू र चमेलीले ठुटे आमा–छोराका उपियाँ मार्न तिनलाई कपुरजलले स्नान गरिदिएछन् । मैले चाल पाउँदा आमा कतै गायब भएकी थिई, मधौरु ठुटे भुइँमा मडारिँदै र्याल काडिरहेको थियो । दिनभरि ऊ केही नखाई पिँडीमा झोक्राएर लतारियो । राति हरायो । पछि थाहा भयो, तल्लाघरे छिमेकी मनराम भण्डारीकहाँ गएर त्यसले प्राणपखेरु त्याग गरेछ । जब त्यो सुनेँ, म त्यसैत्यसै सङ्ज्ञाशून्य भएँ । दराजको नातिलाई हेरेँ, ऊ उस्तै प्रसन्न थियो । तर, कम्प्युटरमाथि ठुटे थिएन । छोरी अमेरिकामा सकुशलै होली, यता बिराली सके कतै झ्यासमा लुकेर मरिसकी ।
जीवनको समापन आखिर दु:खान्त न हो !
(स्रोत : Recordnepal