कथा : एक्लोपन

~एकराज प्रधान~Ekraj Pradhan

उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। साँझ–बिहान आउँछ, पकाउँछ र जान्छ।

सधैँजसो सुनसान रहने त्यो घर बेलाबखत उजेलिन्छ। चाडपर्वमा भरिन्छ। हिजोसम्मका आफ्नैहरु पाहुना बनेर आउँछन् र फर्कन्छन्। छोरा–बुहारी काठमाडौँ बस्छन्, छोरीहरु ज्वाइँकहाँ। कामले छोराको फुर्सद छैन, छोरीहरु ज्वाइँको अधिनमा। त्यसैले उनी एक्लै हुन्छन् प्रायः। मन बहलाउन छतमा पुगेर क्षीतिजसम्म आँखा डुलाउँछन्, बाटोहरु नियाल्छन््। खरले छानो छाएको, धान झाँटेको, डोका–डोका मल बोकेको, दाउरा चिरेर हातभरि ठेलैठेला भएको उनलाई हिजो जस्तै लाग्छ। चाउरिएको अनुहार, सेताम्मे कपाल, बुढ्यौलीले च्याप्दै लगेको शरीर। उमेर धेरै बितेको छैन, ५५–६० को हाराहारी मात्रै हो। ४–५ वर्षअघिसम्म मजदुरी गरेका उनी सकेसम्म कामै गरेर समय बिताउन चाहन्छन्।

छोरोले बनाइदिएको त्यो घर हरेक सुविधाले सम्पन्न छ। टीभी, फ्रिज, टेलिफोन सबथोक छ। गाउँमा धनीमानीमा गनिन थालेका छन् उनी। हिजो ‘नरे’ भन्नेहरु आज ‘नरबहादुरजी’ भन्छन्। टाढैबाट अराउखटाउ गर्नेहरु घरमै गएर भेट्छन्, घण्टौँ गफिन्छन्।

एक दिन उनी सुकेर पातहरु पहेँला भइसकेका फूलमा पानी हाल्दै थिए। परैबाट कराउँदै आए कार्की जेठा, ‘के गर्दै छौ हौ नरबहादुरजी ?’

‘घामले फूल मर्न लागेछ, पानी पो हाल्दैछु त, बसौँ न दाइ भित्रै।’ उनले पानी लगाउन छाडेर कार्की जेठालाई भित्रै लगे।

‘तिम्रा त दिन खुले हौ’, सोफामा ढल्किँदै कार्की जेठा बोले, ‘छोरो पाउनु त यस्तो पो ! सर्लक्कै पो फेरियो त तिम्रो जुनी।’ नरबहादुर मनमनै गद्गद् भए। हिजोको दुःखलाई चटक्कै भुलेर रम्न थाल्यो उनको मन। अचानक उनको आँखा भित्तामा पुग्यो र टक्क अडियो। एक्लोपन हुँडलिएर आयो, गह भरियो। भित्तामा परिवारको सानो तस्वीरलाई ठूलो पारेर झुन्ड्याइएको थियो। रहरले खिचेको त्यो फोटोमा छोरीहरु निता र गीता दुई छेउमा, काखमा छोरा निर्मललाई लिएर श्रीमती नमुना अनि उनी थिए।
जेठाले नजर घुमाए, उनले हेरेतिरै। अनि, सम्झाउन खोजे, ‘जे नहुनु भइसको, फेरि किन आँखा टिलपिल पार्छौ ?’,

‘मन काँ मान्दो र’छ र दाइ ! पोलिरन्छ। मैले नमूनालाई तेस्सै गुमाएँ।… टाउको दुख्छ भन्थी, गम्छाले कसेर बाँध्थी, सकेसम्म खप्थी। खप्न नसके पसलबाट टाउको दुखेको औषधी ल्याइदिनु भन्थी। थुइक्क जिन्दगी ! कहिलेकाहीँ त तेत्ति दुइटा टेब्लेट किन्ने पैसा पनि खल्तीमा हुन्थेन। धेरै वर्ष यसरी नै बित्यो। घामपानी नभनी जोइपोइ खट्दा पनि वर्षभरि चामलको भातै खान पुग्थेन। कहिले मकैको च्याँख्ला मिसाएर, कहिले गहुँको डल्ला मिसाएर खाइयो। छोराछोरी साना थिए, चामलकै भात खोज्थे। चामलमा पानी धेरै हालेर पिठोको डल्ला पकाउँथी ऊ। अनि छोराछोरीलाई भात दिएर डल्ला टोक्थी’…

उनी केहीबेर रोकिए। चश्मा उतारे, रुमाल झिकेर पहिले आँशु पुसे अनि चश्मा। भन्दै गए, ‘एक दिन ऊ टाउको दुखेर साह्रै भई, हप्ता दिनसम्म औषधी खाँदा पनि निको भइन। ओछ्यानै परी। धेरैले ‘अस्पताल लैजा नत्र मर्छे’ भन्न थाले। रिन काडेर सर्खारी अस्पताल पु¥याएँ। खै के–के जाँच्नुपर्छ, मेसिन छैन, डाक्टर पनि हुनुहुन्न, अन्तै लानुपर्छ भने। टाढा लान सक्ने स्थिति मेरो थिएन। प्राइभेटमा लाँदा खर्च धेरै लाग्ने भो। ज्यान बँच्छ भने लागोस् खर्च, बाँचुञ्जेल कमाएर तिरौँला न भन्ठानेँ। त्यहाँ थुप्रै टेस्ट गरे, टेस्ट गरेपिच्छे खर्च। रिन गरेर जोडजाम गरेको पैसा सकियो। पत्याउनेले दिइसकेका थिए, थपिने ठाउँ थिएन। सीटी स्केन कि के गर्नुपर्ने भो, आईसीयूमा राख्नुपर्छ भने। पैसा पुगेन, कतैबाट जुटेन। आखिरीमा रोगै पत्ता नलागी उसले आँखा चिम्लिई सदाका लागि, मैले ब्युँझाउन सकिनँ।’

‘आऽ छाड हौ पुराना कुरा। हिजोलाई सम्झेर रुनुभन्दा आज जे छ त्यसमै खुसी हुनुपर्छ। हिजोका बीसबिघेहरु अहिले कटेरामा पनि पुगेका छन्। तिम्रो त छोरोले कमायो, यत्रो घर बनायो। तिमीसँगै ज्याला–मजदुरी गर्नेहरु अझै पसिना बगाउँदै छन्। तिमीले त अब बसी–बसी खाँदा हुन्छ, सुखै–सुख’, जेठाले भने।

‘खै के सुख भन्नु र ! खाने बेलामा एक्लै हुन्छु। छोरालाई यतै आइज भन्छु मान्दैन, मलाई उता जान मन छैन। गए पनि कुरा उही हो, त्यहाँ मैले के पो गर्नु र ? गाउँको जस्तो गफगाफ गर्ने कोही हुँदैनन्। कोठामै थुनिएर बस्नु पर्छ। बुहारी पनि काममा गइहाल्छिन्। अनि उही टुङ्गो ! अस्ति दुई हप्ता बसेँ। मन भुलाउन सकिनँ, फर्किएँ। उसलाई त फोन गर्ने फुर्सद पनि छैन। कामले बाउलाई पनि बिर्संदो हो। मैले फोन गर्दा पनि कहिले काटिन्छ, कहिले उठ्दैन। पैसा चाहिँ पठाइरहन्छ। भाग्य पनि कस्तो ! हिजो परिवार थियो पैसा थिएन, आज पैसा छ परिवार छैन। एक्लो भएरै होला आजभोलि नमूनाको याद धेरै आउँछ मलाई…’ उनी फेरि टिलपिलाउन थाले।

‘आऽ यी बूढा कति भन्दा पनि जहिल्यै रुनै खोज्छन्, तिमी एक्लो काँ छौ र हामी छैनौँ ? लु टीभी खोल हौ, यसो खबर सुनौँ !’ दुवै जना टीभीतिर भुलिए।

भोलिपल्ट बिहानै कार्की जेठा पुगे नरबहादुरको घर। उनी सरसामान प्याकिङमा जुटेका थिए। ‘कहाँ जान लाग्यौ हौ एकाबिहानै ?’, जेठाले सोधे।

नरबहादुरको अनुहारको चमक बेग्लै देखिन्थ्यो। उनी हर्षविभोर हुँदै बोले, ‘हिजो बेल्का फोन आ’को थ्यो, मेरो नाति जन्म्यो रे ! अब म उतै बस्छु नातिलाई हेरेर। कति बस्नु एक्लै, अब त नातिको अनुहार हेरेरै पनि बसिएला नि !’

उनले घरमा ताल्चा लगाए र भने, ‘जेठा दाइ, अब म जान्छु, फोन गर्दै गरुँला नि।’ छुट्टिएपछि उनी जोशका साथ फटाफट हिँडे। कार्की जेठा उनीतिर निकै बेरसम्म हेरिरहेका थिए।

epradhan@yahoo.com
बुधबारे, झापा

(स्रोत : Pratidin DAILY Newspaper – FB Page)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.