जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो ।
मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो ।
शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या ।
कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका आरोप ।
पानी परिरहेको दृश्य सबैभन्दा बढी मन पर्छ अचेल । सिसाको झ्यालबाट दर्किरहेको पानी हेरेर बस्छु ।
छोराको चुलबुले आवाजले पनि मभित्रको कठोर मौनतालाई तोड्न सक्दैन । एकाग्र भएर निरन्तर झरिरहेको बर्षात् हेरिबस्छु म । जति नै आकाश बर्से पनि मेरो मनको खडेरी उजाड नै छ । उराठलाग्दो । प्यासो हुँदै गएको छ यो मन– यस्ता थुप्रै वर्षात् पिउन सक्छ यो मन र पनि प्यास मेटिने छैन ।
तर पनि योे वर्षात्को पानीमा पर कतै म र जनक अँगालोमा बाँधिएर रंगीन सपनाका कुरा गरिरहेको दृश्य देख्छु म ।
आकाश रोइरहेको हेरिरहन्छु । म रोएको आवाज मलाई नै सुनिदैन अचेल ।
जनक पानीमा भिज्दा खूब रमाउँथ्यो ।
कुनै दिन हामी पछाडि छुटेका थियौं ।
यौवनको मार्धुयतामा समय बिर्सिएका थियौं ।
साउनको त्यो वर्षात्मा म भिजेकी थिएँ । कक्षा नौका मेरा किताबहरु उसले आफ्नो झोलामा राख्दै भनेको थियो– यसमा पानी पर्दैन । अब मज्जासँग भिज्नुपर्छ पानीमा ।
जाडोले चिसो हुँदै गएकी मैले हात छातीमा बाँधेकी थिएँ ।
सेतो ड्रेसको सर्ट पानीले भिजेर पारदर्शी भएको थियो ।
ऊ जिस्किएको थियो– छिल्लिएको थियो । अश्लीलताको सीमासम्म पुगेको थियो ।
पहिलो पटक उसले मेरो छातीमा हात पु¥याएको थियो । ओंठमा ओंठ जोडेको थियो र अँगालोमा बाँधेको थियो ।
म लाजले रातो भएकी थिएँ । शरीर एक्कासी तातो भएको थियो ।
उसले भावुक हुँदै भनेको थियो– ‘इन्दु ! तिमी बिनाको मेरो संसार अधुरो छ । मेरो साथ नछोड्नु है ।’
उसको अँगालोमा न्यानो महसुस गरेकी थिएँ मैले ।
तर कस्तो ट्रेजिडी जिन्दगीको ! चार महिना पछि नै मैले उसको साथ छोडें ।
मंसिरमा म वर्षमानकी श्रीमती बनेँ ।
म ठूला घरकी बुहारी भएँ । एक्लो छोराकी श्रीमती भएँ !
गहनाले मेरो शरीर रंगियो ! हेर्नेहरुले भन्न थाले– साह्रै भाग्यमानी रहिछे ! ठूला घरकी बुहारी भई ।
यो सम्बन्ध मेरा लागि अप्रत्याशित थियो । कल्पनासम्म गरेकी थिइन विवाहको । उन्मुक्त भई हाँस्ने खेल्ने दिनमा म बुहारी बन्दिएँ– कसैकी श्रीमती भइदिएँ ।
ठाकुरप्रसाद । गाउँमा नाम चलेका धनी मान्छे । गाविस अध्यक्षमा दुई पटक जितेका थिए । ‘माथिसम्म’ पहुँच भएका ।
मेरो बुबा उनका समर्थक । साथी । र, अहिलेका सम्धी ।
दुई जनाको सल्लाह/सनकमा मेरो भविष्यलाई अँध्यारो गल्लीमा धकेलिएको रहेछ ।
बी.ए. पढ्दै गरेको । धनी बाउको एक्लो छोरा । सम्पत्ति नपुग्दो छैन । चितवनमा घडेरी छन् । गाउँमा अधियाँबाट आएको धान बेच्छन् ।
यस्तो परिवारमा मेरो बिहे गरिदिन मेरा बाआमा हतारिएछन् । वर्षमान मेरो लोग्ने तयार भएलगत्तै म ठूली आइमाई भइदिएछु मेरो बाआमाको लागि ।
मानौं कि मनग्य धनसम्पत्ति भइदिनु एउटी आइमाईको सबैखाले इच्छाहरुको पूर्ति हो । उसको सबै सुखहरुको मूल त्यही सम्पत्ति हो ।
तर, म मात्रै होइन । घरपरिवारमा कसैलाई यो कुरा थाहा रहेनछ ।
वर्षमान– मेरो लोग्ने आइएका ब्याक पेपर दिँदै काठमाडौंमा बसेका रहेछन् ।
रक्सीको कुलत–लागूऔषध–जुवा । उनको दिनचर्या रहेछ ।
दुई पटक जेल परेपछि बुबाले जोगाउनु भएछ ‘माथिसम्म’को पहुँचका बलमा ।
बिग्रेको छोरा सुधार्न बिहे गरिदिने सोच बनेछ बुबाको । र, त्यसको लागि बलिको बोका मलाई छानेछन् उनले ।
वर्षमानलाई म मन परें परिनँ– थाहा भएन ।
मलाई वर्षमान मन प¥यो/परेन– कसैले सोधेन ।
अन्ततः जीवनसँग सम्झौता भयो । सोह्र वर्षकी दुलही भएर मैले जन्मघर छोडें ।
हाम्रो समाजमा यसलाई विवाह भन्छन् । बालविवाह होइन ।
वर्षमानसँगको वैवाहिक जीवन–
एउटा चिसो सम्बन्ध ।
उनी घरमा आएको बेला केही समयका लागि उनको ओछ्यानको साथी बनिदिनुपथ्र्यो । स्वास्नी हुनुको कर्तव्य !
ऊ भोग गथ्र्यो । त्यसपछि बिर्सिदिन्थ्यो मलाई । न प्रेमपूर्वक अँगाल्यो न प्रेमपूर्वक बोल्योध्र प्रेमविहीन स्पर्श । मृत स्पर्श !
त्यतिबेला लागेको थियो– स्वास्नी हुनु भनेको मन नहुनु रै’छ त ?!
घरका महत्वपूर्ण निर्णय बुबा एक्लैका हुन्थे ।
बिहे पछि थाहा पाएँ– चितवनको जमीन बिक्रीमा रहेछ ।
ठूलो घरको ठूलो ऋण । ठूलै सपना । ठूलै इज्जत !
मंसिरमा बिहेपछि स्कुल जान बन्द भएको थियो केही समयमा लागि । दोस्रो त्रैमासिक परीक्षा दिन जाँदा टेस्ट सकिएको थियो । जनक खलंगामा बसेर ट्युशन पढ्दै थियो ।
त्यो बेला पूर्वतिर लमतन्न सुतेको बाटो हिडेर घर पुग्थें । बाआमा भए ठाउँ । त्यस घरका लागि म छोरी थिएँ ।
अचेल पश्चिमतिर हिड्नुपर्छ । उकालो छ बाटो लोग्नेको घरसम्म नै । यो घरका लागि म बुहारी थिएँ ।
जनकले सुचित्रामार्फत् मलाई ‘बधाई’ दिएछ ।
सुचित्रा भन्दै थिई– ऊ निकै उदास थियो ।
मैले बिस्तारै उसलाई बिर्सें । यो नै जिन्दगी थियो । समझदारी थियो । एउटा सम्झौता थियो आपैmसँग गरेको ।
चितवनको घडेरी बिक्री भयो । ऋण तिर्न नपुगेर गाउँको खेत पनि बेच्नुप¥यो ।
कहाँ लागेछ ऋण ? किन लागेछ ऋण ?
मैले थाहा पाउने हक राखिनँ । म सधैं ‘आउटसाइडर’ भएँ ।
एक दिन बुबाले हप्काउनु भयो वर्षमानलाई–
गाली गर्नुभयो– कुलको इज्जत फालेकोमा । नपढिदिएकोमा । पास नभइदिएकोमा । धन पैसा उडाएकोमा ।
साह्रै खिन्न र उदास देखिएका थिए उनी त्यसदिन ।
त्यस रात पहिलो पटक मलाई उनले प्रेमपूर्वक अँगालेका थिए । उनको बोलीमा पश्चाताप थियो– प्रेम थियो– पत्नीप्रतिको आसक्ति थियो ।
नयाँ वर्ष मनाउन घर आएका उनी फेरि काठमाडौं फर्किएनन् । बरु सदरमुकाम धाउन थाले– पासपोर्ट बनाउन ।
एक दिन उनले भने– ‘इन्दु ! दुई–चार वर्ष म परदेश जान्छु । यहाँ बसेर मैले केही पनि राम्रो गर्न सकिनँ । देश पनि घुम्छु, पैसो पनि कमाउँछु । बालाई साह्रै पीर परेको छ मैले केही गर्न नसकेकोमा ।
मैले विकल्पहरु खोज्न बिन्ती गरें । फकाएँ– परदेश नजान भनें । व्यापार÷व्यवसाय गरौं भने ।
उनले मानेनन् ।
परदेश निर्विकल्प भयो । परिवार सहमत थियो । मेरो असहमतिले उनलाई रोक्न सकेन ।
***
मेरो महिनावारी रोकिएको थियो ।
उनी खुशी देखिएका थिए । परिवारमा खुशीको सञ्चार भएको थियो । डाक्टरले फागुनको समय दिएको थियो । अब म विद्यार्थी रहिनँ ।
साउनमा उनी परदेशिए ।
कमाउनका लागि ? अहँ, यो कुरा मलाई पत्यार लागेन ।
ठूला घरकी बुहारी र एक्लो छोराकी स्वास्नी भएर मैले उनी विदेश जानुको कारणलाई अनुमोदन गर्न सकिनँ ।
दशैं सकिएको थियो । तिहारको रमझम थियो गाउँभरि ।
सँगै खेतबारीको कामको चटारो थियो ।
पेटभित्र एउटा प्राण हुर्कदै थियो । उसको चालको मैले अनुभूति गर्दै थिएँ ।
एउटा डरलाग्दो खबर उडेर आयो कतैबाट ।
वर्षमानको रहस्यमयी मृत्यको खबर !
साँझ खाना खाएर साथीहरुसँग हाँसो ठट्टा गर्दै सुतेको मान्छे बिहान आफ्नै ओछ्यानमा मृत फेला परेको खबर !
यस्तो खबर पहिला फोनमा बज्यो । त्यसपछि रेडियोमा । त्यसपछि टीभी र पत्रिकामा पनि आयो ।
अठार वर्षको उमेरमा म आमा बन्दै थिएँ । आमा बनिनसक्दै म विधवा भएकी थिएँ ।
वर्षमानबाट देशले के पायो ? रेमिटान्स !
लालबहादुरले घडेरी जोडेको अथवा मानसिंहले गाडी किनेको कथा सबैको मुखमा झुण्डिएको हुन्छ ।
देशले के गुमायो ? रेमिटान्सको थोरै अंश ! त्यसैको समाचार बन्यो ।
एउटा सन्तानले बाउ गुमायो । त्यसको चिन्ता कसैलाई छैन ।
मैले सर्वस्व गुमाएँ । रंगीन सपनाहरु गुमाएँ । सुहागको सिन्दूर गुमाएँ । भविष्य गुमाएँ । जीवन बाँँच्ने जीजीविषा नै गुमाएँ । र, पनि मैले सहानुभूतिसम्म पाइनँ ।
बरु मलाई नै अलच्छिना र कुल्टाको आरोप लाग्छ !
मेरो आँसु लाग्यो रे उनलाई ! मैले रोक्दा रोक्दै उनी परदेश गएकाले यस्तो भयो रे ! म कुल्टा ! कुसाइत रे ! त्यो बेला यी हल्लाहरु गाउँभरि फिजिएका थिए ।
परिवारलाई यो बज्रपातबाट सम्हालिन लामो समय लाग्यो ।
विरक्तलाग्दो जिन्दगी र परिचित भएर पनि अपरिचितजस्तो लाग्ने परिवारबाट भागेर आफ्नो बाआमाको काखमा पुगें । कम्तिमा त्यहाँ बाल्यकालका मीठा सम्झनाहरु थिए जसको आडमा म दुःखलाई थोरै भए पनि मल्हमपट्टी लगाउन सक्थें ।
शुद्धिपछि म माइती बसें । मेरो खोजी भएन ।
फागुनमा छोरा जन्मियो । मेरो खोजी भयो ।
बुबा आफै लिन आउनुभयो । सासु आमा सुत्केरी भेट्न हस्पिटल पुग्नुभयो ।
म घर जाने भएँ ।
खै ! त्यो घर मेरो घर कसरी भयो ? यसको उत्तर म आफैलाई दिन सक्दिनँ अचेल ।
बुबाले गाउँको जमीन बेच्नुभयो । र, बजारमा एउटा घर बनाउनु भयो । छोराको बिमाको रकम पनि बुझ्नुभएछ ।
विदेश जाँदा बनेको रेकर्डमा उनी अविवाहित थिए रे !
छोराको मुखबाट पहिलो बोली ‘बा–बा’ फुट्यो । बामे सर्दै गर्दा प्रत्येक पाइलामा ‘बा–बा–बा’ भन्छ । जिन्दगीभरि उसको भरणपोषण गर्ने र उसलाई संस्कारित बनाउने जिम्मेवारी आमाले उठाउनु पर्ने तर सन्तानले पहिलो बोलीमा नै ‘बा’लाई सोध्ने ! प्रकृतिले पनि अन्याय गरेजस्तो लाग्छ ।
ऋण/धन गरेर बुबाले घरको तला थप्नुभएको छ । तल्लो तलामा भाडामा बस्नेहरु छन् । हामी माथिको तलमा बस्छौं । भाडामा बस्नेहरुमा एउटा छोरीकी आमा छिन् । जसको लोग्ने विदेशतिर छन् । अर्को कोठामा दुई जनी केटीहरु छन् । अर्को कोठामा क्याम्पस पढ्ने दुई जना युवाहरु छन् ।
ती केटाहरुलाई मैले अझैं देखेको छैन । दुई–चार दिन भयो तिनीहरु यहाँ बस्न थालेको ।
घरको सबै जिम्मेवारी सासुआमाको छ । मेरो काम भान्सा सम्हाल्ने ! छोरा र भान्जाको स्याहार गर्ने ।
परिवारमा एकजना थपिएका छन् । ठूल्दिदीका छोरा– मेरो भान्जा । यस्तै ७÷८ वर्षका छन् । बाआमाको इच्छाले हामीसँग बस्दै आएका छन् । पढाउने लेखाउने सबै हाम्रो जिम्मेवारी छ ।
उनको स्याहार सुसार, टिफिन, सरसफाई, ड्रेस सबै कुराको ख्याल राख्नुपर्छ मैले । तर भाञ्जा मैसँग डराउँछन् ।
मेरो कान्तिहीन अँध्यारो मुहार देखेर डराउँछन् सायद ।
डेरा गरी बस्ने ती बहिनी जतिबेला पनि मोबाइलमा झुण्डिएको देख्छु । कानमा इयरफोन राखेर फेसबुक चलाउँदै गरेकी । मलाई दिदी भन्छिन् । तिनलाई हाँसिरहनु पर्ने– बोलिरहनु पर्ने । १५/१६ वर्षकी तनुजालाई देखेर मलाई मेरो स्कुले जीवन याद आउँछ ।
लाग्छ सम्भव भइदिए फेरि त्यो जीवन बाँच्ने थिए, उस्तै उन्मुक्त भएर । बन्धनरहित जीवन ! र, भविष्यको यो कहालीलाग्दो बाटो हिड्दै हिड्ने थिइनँ । भावीलाई पनि चुनौती दिने थिएँ ।
लेख्दा लेख्दै लेख्नै बिर्सिएछ भावीले र लेख्दै गरेको कागज कोरा नै छोडिदिएछ । सेतो– निख्खर सेतो । रंगहीन ।
छोरीकी आमा मसँग तौलेर बोल्छिन् । एक जना लोग्ने मान्छे उनको कोठामा आइरहन्छ । उनको चम्किलो मुहार र रंगीन कपडाले मलाई गिज्याएझैं लाग्छ ।
सोध्न मन हो उनलाई– डर लाग्दैन तिमीलाई ? चूरा/पोते, यो सिन्दूरी रंगसँगको नाता कुनै दिन अनायासै टुट्यो भने !?
कठै ! नहोस् त्यस्तो तिनलाई । मेरो जस्तो उजाडिएको जीवन कसैले भोग्नु नपरोस् ।
फर्की आऊन् परदेशीहरु । घर सम्झेर– श्रीमती सम्झेर– ‘बाबा’ बोलाउने अबोध आवाज सम्झेर ।
बिदाको दिन छतमा बसेर छोरालाई तेल लगाइदिँदै थिएँ बिहानीको घाममा ।
उसको अनुहार वर्षमानसँग मिल्छ । मलाई वर्षमानको यादले एक तमासको बनाउँछ । छटपटी हुन्छ मनभरि । अँध्यारो–अँध्यारो लाग्छ भविष्यको बाटो । कुहिरोमा हराएझैं अनुभूत गर्छु ।
बाल्टीभरि लुगा बोकेर एउटा युवा कपडा सुकाउन उक्लियो ।
मलाई देखेर ऊ झस्कियो । म तर्सिएँ । यो अनायासको भेट थियो, अकल्पित थियो ।
म अन्यमनस्क भएँ । सास छातीमा अड्केजस्तो भयो । आफैलाई कतै लुकाउँ– हावामा नै विलीन होउँजस्तो लाग्यो ।
‘इन्दु !’ जनक बोलेको थियो । तीन वर्षको अन्तरालमा ऊ अग्लिएको थियो । दाह्री सेभ गर्न थालेको थियो ।
‘जनक ! हाम्रो घरमा बस्छौ तिमी ?!’ मसँग सोध्ने प्रश्न थिएन ।
ऊ हाँस्यो । उसको हाँसोमा गुनासो थियो ।
उसले कपडा सुकायो । कपडा सुकाइरहँदा ऊ केही बोलेन । मलाई फर्केर पनि हेरेन । म भने उसलाई हेरेर उभिरहें ।
उभिदै–बामे सर्दै गरी अलि परसम्म पुगेको छोरालाई काखमा उठायो र मेरा काखमा दिदै गर्दा मेरो हात समातेर भन्यो– ‘इन्दु ! धेरै गुनासो छ तिमीसँग । तिमीले खुशीसाथ जिन्दगी बाँच्न नपाएकोमा मलाई साह्रै पीडा भइरहेको छ ।’
उसले मेरो हात छोड्यो र सरासर तल ओर्लियो । रित्तो बाल्टी त्यहीँ छोडेर गएको थियो ऊ ।
म किंकत्र्तव्यविमूढ उभिरहें ।
उसको त्यो स्पर्शले मभित्र प्यास जगाइदियो । एउटा लालसा जागृत गरिदियो उसको बोलीले ।
एकपटक फेरि स्पर्शको तीव्र चाहना बौरिएर उठ्यो । एकपटक फेरि उसको ओठको माधुर्यता महसुस गर्ने इच्छा पलायो । एकपटक फेरि उसको हातको स्पर्श देहभरि सलबलाओस्, यो अघ्घोर प्यास मेटोस् भन्ने चाहना जाग्यो ।
कहाँ हराएको थियो यो प्यास यत्तिका वर्ष !
जमेको पोखरीमा प्यास हुँदैन ।
जमेको पोखरी बनी कहिलेसम्म बाँचु म ? तीव्र वेगवान नदी थिएँ म– फेरि उसरी नै सुसाउँदै बग्न मन छ । एकपटक फेरि जीवन बाँच्ने लालसा जागेको छ । मैले यस्तो सोच्नु के अपराध हो ?
अचेल म वर्षात्सँग संवाद गर्छु । झरी मन पर्छ मलाई । र, त्यो झरीमा पर कतै जनक र म अँगालोमा बाँधिएर रंगीन सपनाका कुरा गरिरहेका हुन्छौं ।
(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)