संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन

~निराजन प्रभात~Nirajan Prabhat

आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव बटुल्नु छ। केही आशाले, केही उत्साहले मन पुलकीत हुनु सामान्य मानें।

भंगालबाट सुरुभएको यात्राको पहिलो चरण स्वरूप रोकिएँ गोपिकृष्ण हल अगाडि। गाडीको लाम, बेतुक कुदेका मोटरसाइकल, बस, माइक्रो नियालें अनि बाटाका धेरै थान पैदल टाउकाहरु पनि। यतिविघ्न टाउकाहरु कहाँ हिडेका होलान् , यिनिहरुको लक्ष्य/गन्तव्य कहाँ होला? मजस्तै समय गुजार्न मात्रै पो दगुरेका हुन् कि? प्रश्नहरुको खातले रन्थनिएँ। एउटा माइक्रो छेउमै आएर रोकियो। खलासी हेरें, सानो फुच्चे तर कडा आवाज भएको ‘दाइ कहाँ जाने? आउनुस्….आउनुस्….बस्नुस्’ भन्दै चिच्यायो। म फकीर त्यहि माइक्रोमा चढें। चढें पनि के भन्नु, किचिएँ। टाउकाहरुको थानले अटेसमटेस म शरीरको मध्यभाग टेको लगाएँ। खलासी भाई, बेप्रवाह कराइरह्यो। मान्छे चढे, उत्रिए। म भने चुपचाप चुपचाप।

‘दाइ पैसा ?’ खलासी भाइको आवाजले झस्किएँ। गोजीबाट रु.१०० को नोट झिकेर दिएँ। उसले समातेर सोध्यो ‘कहाँ जाने ?’ ‘ यो जहाँ जान्छ उहीं जाने।’ मैले ऊतिर हेर्दैनहेरी जवाफ दिएँ। ‘लु फिर्ता’ उसले पैसा मतिर बढायो। ‘भो पर्दैन राख आफै।’ मैले पैसातिर हेर्दा पनि हेरिन, म बाहिरको काठमाडौँ नियाल्दै थिएँ । ‘दाइ नयाँ हो?’ सोच्दै नसोचेको प्रश्न तेर्सायो खलासी भाइले। ‘होइन पुरानो हो। किन?’ मैले प्रतिप्रश्न गरें। ‘त्यसै सोधेको।’ यत्ति बोलेर ऊ पुन: आफ्नो काममा लाग्यो।

माइक्रो रोकिदै, मान्छेका टाउका कोच्दै र उतार्दै हुँइकियो सडकको छातिलाइ पेल्दै, धुवाँको मुस्लोले वातावरण धमिल्याउदै। धेरै समयको मौनतापछि आफ्नै सिटको पछाडि हेरें। ओहो, बर्बाद! कुनचाहिँ मुर्दारले चुइगम खाएर सिटमा टासेर मरेछ, मेरो सर्टमा टासिएछ। गाडीको हल्लाई र बाटाका खाल्डाहरुको धङधङीलेभन्दा त्यो चुइगमले पीडा दियो।

‘भाइ यहाँ हेर; मेरो लुगा सबै बर्बाद भयो, मान्छे उत्रिएपछि सिट चेक गर्नुपर्दैन?’ मैले केही कड्किएर सोधें। ‘ह्या दाइ यस्तै हो यहाँ, म एक्लोले कहाँकहाँ हेर्नु? आफ्नै छेउमा भएकी च्वाँक तरुनी त हेर्ने फुर्सद हुन्न।’ उसको पछिल्लो वाक्यले सबै गलल्ल हाँसे, हाँसोको छालले मेरो प्रश्न कहाँ पछारियो मलाई पनि चेत भएन।

माइक्रो घ्याच्च रोकियो एउटा बसपार्कमा। ‘ल सबै उत्रनू…’ खलासी भाइ करायो। सबै थान टाउकाहरुसँग म पनि उत्रिएँ। बिहानको नौ बजिसकेको हुनाले भुँडीमा मुसाले दौड प्रतियोगिता सुरुगरिसकेका थिए। यसो यताउता नजर दौडाएँ, अलिक पर एउटा नास्ता पसल देखें अनि लागें उतै। अघिभन्दा अहिले बाटोहरु अलिक व्यस्त भएका थिए, सायद अफिसटाइम भएर होला। मलाई बाटो काटेर पारी पुग्न हम्मेहम्मे भयो। विदेशमाजस्तो बाटो काट्ने जेब्रा क्रसिङको अभावले बटुवालाई बाटो काट्नु युद्धमा लड्न जानुभन्दा कम लागेन मलाई काठमाडौँमा। गाडीहरुको एकोहोरो हुईक्याइ, बाटो काट्नेलाई त पालो दिने कोहि होइनन्। सबैलाई हतार। केही समयको पर्खाइमा म पनि बाटोको अर्को भाग पुगें, लाग्यो मैले संसार जितें। होइन, यसरी कसरी चल्दो हो बटुवाको जीवन? मोटर,गाडी नचढ्ने त मान्छे नै होइनन् भन्ने हाउगुजी आखिर कहिलेसम्म यो राजधानमा? अब त राजा पनि छैनन् राजधानी भन्दा पनि लोकधानी भनौ क्यारे। हो, यो काठमाडौँ कहिले हाम्रो हुनसकेन, काठमाडौँ सधैं अभिमानले ठडियो, एउटा सोमतविनाको भएर बस्यो सबैको मुटुमा। हामीलाई बाध्यता काठमाडौँ आउनै पर्ने, यदि बिकल्प हुँदो हो त यो स्थान टेक्न कसलाई रहर?

बाटोको पेटी हुँदै लुखुरलुखुर लागें नास्ता गर्न। हुन त यो समय नेपालीहरुको खाना खाने समय हो, परदेशको बसाइले आफ्नो भने बानी बिग्रेको छ १२-१ नबजेसम्म खाना खान मन नै नलाग्ने। मानिस साँच्चै आदतको दास हुँदोरहेछ। पसें यौटा होटलमा। हेर्दा यो होटल हाम्रो गाउँकोजस्तै थियो, यहाँ सिङगडा, पुरी पाक्दै थियो, मीठो मीठाइको वासनाले मन तान्दैथियो। दुईवटा पुरी एउटा जेरी अर्डर दिएँ। अर्डर लिनेले एउटामात्र जेरी दिने गरेको छैन, एक प्लेटनै अडर गर्नुपर्ने जानकारी गरायो। ‘होइन, कस्तो नियम हो भाइ यो?’ मैले उसलाई प्रश्न गर्न चाहें तर मुखबाट आवाज आएन। ‘आखिर लुट्न बसेका हौ लुट लुट’ मनमनै भनेर एकप्लेट पुरी अनि एकप्लेट जेरी मगाएँ। अब मूल्य कति होला, यिनिहरुको दादागिरी पक्कै होला, जे होला होला मनलाई बुझाएँ।

खाइसकेर बिलतिर्दा थाहाभयो हाम्रो ठाउँभन्दा मात्र तीनगुणा त रैछ मूल्य, थुइक्क स्याला काठमाडौँ। तँ कहिले लुटेराबाट कहिले हाम्रो काठमाडौँ हुनेछस्? मनमनै प्रश्न गरेर बाहिर निस्किएँ। पैसा तिरेकोभन्दा पनि खानाको गुणस्तर, बोल्नेशैली दादागिरीयुक्त हुनाले चित्तदुखाइ अझै भयो, आफ्नो पैसाले खानु छ तैपनि संतुष्ट हुननसक्ने कस्तो बिडम्बना?

बाटोभरि सडकपेटीमा अनेक किसिमका पसल। फुटपाथ पसलको मूल्य सुनेर लाग्यो यी नै हाम्रा हुन्। सटरभित्रको सामानको मूल्य सुनेर त चिटचिट पसिना आउँछ। त्यही फुटपाथबाट एउटा माक्स किनेर लगाएँ, माक्सवादी नहुँदासम्म काठमाडौँमा हिड्न सकिन्न भन्थे एक साथीले आज थाहा पाएँ हो रैछ। मजाज-मजाकमा सत्यता पो ओकलेका रैछन ती मित्रले। सोचें यी फुटपाथका पसललाइ पनि व्यवस्थापन गर्नसके कति राम्रो हुनेथियो। तर यसको बारेमा सोच्ने कसले? सोचको आधीले हुर्याइहुर्याइ म घुम्न थालें हाम्रो लोकधानी। यो काठमाडौँ खाल्डोले कसरी धानेको होला यो आवादी। जता हेर्यो मान्छेका हुल मात्र। धन्य काठमाडौँ तेरो छाती विशाल नै हो, त्यो छातिमा आखिर किन दयारामलाई भने अटाउन नसकेको होला?

आजको दिन खोई कसरी चिप्लियो चिप्लियो। पत्तो नै भएन। दिनको यस्तै ३ बज्दो हो म कुनै खुल्ला पार्कजस्तो ठाउँको छेउमै थिएँ। कुनै प्रयोजन, कुनै लक्ष्यविना घुम्नुको मज्जा जो लुट्दै थिएँ। नजर डुलाएँ खुल्ला चौंरीतिर। सबै आफ्नै तालमा, सबै आफैमा व्यस्त। प्रेमिल-जोडीदेखि एक्लो मान्छेहरु थिए त्यहाँ। अलिक कुनो परेको खोंचजस्तो एक स्थानमा देखें केही हुल युवाजमात। उनीहरु चुरोटको धुवाँसँगै गफ गरिरहेका थिए। हेर्दा कुलीन वर्गका शन्तानजस्ता देखिन्थे। छेउमा पार्क गरिएको ती मोटरसाइकल पक्कै यिनीहरुकै हुन् अन्दाज लगाएँ। आवाज अलि मधुरोहुनाले उनीहरुको आवाज मछेउ आइपुगेको थिएन। मलाई एउटा रहरभयो यी शहरी अझै भनौं लोकधानीका युवाहरूको कुरासुन्ने।

पार्कछेउमै बदाम बेच्ने मान्छे बदाम बेच्न व्यस्त थियो, कति कमाइ हुँदो हो यो मान्छेको? जतिसुकै होस् ऊ आफ्नो काम देखि संतुष्ट देखिन्थ्यो। हो, काम पैसा होइन आत्मसन्तुष्टि नै प्रमुख हो। यो व्यस्त शहरमा आज दिनभरमा देखेकामध्ये यिनै लाग्यो मलाई सबैभन्दा खुशी, अरु त सबै तनावको पहाड बोकेर हिडेका, जिउनुको बाध्यताले जकडिएकाजस्ता। बदाम बोकेर म नि पुगें तिनै युवाहरुको छेउमा। एउटाले मतिर हेर्यो तर पुन: आफ्नै गफमा भुल्यो। म छेउमै बसें किनकी मलाई ती युवाको कुरा सुन्नुथियो, एउटा जासुसजस्तो आँखा बदाममा कान युवातिर लगाएँ।

जब जब म ती युवाहरुको कुरा सुन्दैगएँ ‘अहो! देश कहाँ जादैछ?’ एउटा अनकन्टार प्रश्न मेरो माथिङलमा तेर्सियो। उनीहरु भविष्यको चिन्तामा त पक्का थिए, तर उनीहरुको चिन्ता भोलि आफु कसरी प्रगती गर्ने, भविष्य कसरी बनाउने भन्ने कुरामा थिएन। भोलि गाँजा कहाँ पाइएला, बाइकमा तेल कसरी हाल्ने होला अनि आफ्नो गर्लफ्रेन्डलाई कहाँ लगेर तनको प्यास बुझाउने भन्नेमा थियो। आफ्नो बावुले धेरै भ्रष्टाचार गरेर घर बनाए पनि आफुलाई भने कन्जुस्याइँ गरेर पैसा नदिएकोमा गुनासो थियो। उनीहरुको आवाजमा एउटा रोष थियो, घृणा थियो आफ्नो भ्रष्टाचारी बावुप्रति तर त्यो रोष, त्यो घृणा भ्रष्टाचार गरेकोमा होइन आफ्नो ईच्छा पूरा नगरिदिएकोमा थियो। उनीहरुलाई देश कता जाँदैछ त्यसको चिन्ता थिएन थियो त ठमेलको बारमा प्रहरीले छापामारेकोमा, पेट्रोलको मूल्य बढेकोमा अनि मसाज सेन्टरमा पनि प्रहरीज्यादती बढेकोमा। चिन्ताले उनीहरु टेन्सनमा थिए।

मेरो मन कताकता भक्कानियो। छि! कुनदिन यो यात्रा थालेछु। अब मैले मेरो देशको सरकारलाई मात्र कसरी गाली गरौँ? आजसम्म मैले जति गाली गरें नेतालाई त्यो सम्झदा आफैलाइ ग्लानि भयो। औडाह भएर आयो मलाई। बदामको पोकोलाई रिसले वा खोइ केसले हो मज्जाले समाएँ, बदामहरु थैलीमै कुच्चिए।

‘ओ दजु किन एक्लै, जोडी पाउनुभएन? अब रत्नपार्क जानुस् जस्तो पनि भेटिन्छ।’ तिनै युवामध्ये एकले भन्यो। ‘सुड्डोको ज्यान नै छैन। रत्नपार्क गएर पैसाको नास, आफ्नो हात जगन्नाथ।’ अर्कोले झन् गतिलो वचनवाण बर्साएर गयो। उनीहरु गायब भए त्यहाँबाट तर म भने अझै स्वस्थ हुनसकिन।

(स्रोत : Hulaki)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.