~प्रमित आचार्य ‘लिबाङी’~
बिहानै बजारमा एउटा हल्ला चल्यो कि— उ मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश चौराहामा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा पनि थिएन । कहिले बिद्रोही पक्षले सरकारी सेना, प्रहरी अनि अरु कैयौ निहत्थालाई सुराकीको नाममा मार्ने अथवा बेपत्ता पार्ने गर्थे त कहिले राष्ट्र अनि जनताको सुरक्षा गर्ने कसम खाएको सरकारी सेना प्रहरीले बिद्रोहीलाई दमन गर्ने क्रममा कैयौ निहत्था सर्वसाधारणलाई मार्ने अनि बेपत्ता पार्ने गरिरहेकै थिए । तर उसको मृत्युले यहा गम्भीर अर्थ बोकेको आज मलाई किन हो किन अनुभुति भयो । उ न त कुनै बिद्रोही पक्षसंग सम्बन्धित अझ भनौ कसैको झण्डा बोकेको थियो न कुनै सरकारी सुराकी वा जासुस नै थियो । जसले मारेपनि उ एक निहत्था र निर्दोष थियो । हुनत मृत्युमाथि लेख्ने तर जिवित केहि विद्वान भन्छन, जिबन जस्तै मृत्यू पनि मानबले भोग्नैपर्ने एउटा प्रहर हो ।
केही धर्मभिरु भन्छन, मृत्यु मानब चोलाबाट अर्को चोलामा जाने प्रक्रिया हो । अझ भन्छन मर्ने देह हो आत्मा कहिल्यै मर्दैन तर फेरी जटिल प्रश्न उठ्छ यदि आत्मा जान्छ कहाँ त ? यसको जवाफ फेरि ठ्याक्कै कोही दिन सक्दैन । अर्कोतिर लेखेरै बिश्वका धनिको सुचिमा पर्न सफल लेखिका, जे.के. रोलिङ पनि भन्छिन, जिबन पछिको अर्को रोमान्चक यात्रा मृत्यु हो । अब मृत्यु रोमान्चक हो अथवा दुःखद यात्रा, त्यो पनि कि उनी त्यो यात्रामा गएर फर्केपछि नया किताब लेखिन भने थाहा होला कि आफै त्यो यात्रामा गए थाहा होला । हो यहा धेरैले अरुको मृत्युको बारेमा धैरै थोक भनेका छन । कसैले पनि आफ्नो मृत्यु आफ्नै आखाले देख्न नसक्ने हुदा सायद मान्छे अरुको मृत्युको ब्याख्या गरेर चित्त बुझाउने गर्छन । यहा मानिस जिबनभन्दा मृत्यु र संयोगभन्दा बियोग बढि लेख्छन र बेच्छन । अझ भनौ यसले मानब संबेदनामा खेल्ने हुदा यी चाहिनेभन्दा बढि पनि बिक्छन । यहि तथ्यलाई मध्यनजर गर्दै कैयो मान्छे मृत्यु, बियोग र निराशा मात्र लेखे अनि कैयो प्रकाशक त्यहि कुरा क्याश गरेर रातारात धनि पनि भए । तर तेस्को हामीलाई केहि मतलब नि भएन, कमाउने कमाउन , लुटिने लुटिउन ।
अब हामी प्रसङ्गमा आउदा बेश होला । हो कुरा सत्य रहेछ । उ मर्यो, उ आकाशतिर एकतमाशले हेर्दै सदाको झै निश्चल र निर्दोष हासो लिएर मुस्कुराई रहेछ । मेरो मन एकतमासको निस्तब्ध भयो । एकाएक आखाहरु भिज्न थाले यस्तो लाग्दैथियो, मेरो सदियौ पुरानो आफन्त सदाका लागि छुटेर जादैछ ।
हुनत मैले मृत्युको खबर पाएको यो पहिलो पटक अबश्य नि होइन । आजसम्म कैयो मृत्यु देखेकै हो । कैयौको चितामा आगो झोसेकै हो । हो सानोमा म मृत्युदेखि धेरै डराउथे, अझ भनौ मृत्युभन्दा नि मृत्युको खबर र मृतकको लाश देखेर डराउथे । मृत्युसंग त म आजपनि डराउछु । यदि मृत्यु मलाई भेट्न आफै आएँन भने म सकेसम्म मृत्युसंग सितिमिति भेट्ने पक्षमा पनि छैन । हो मैले यो भन्दा अगिपनि कैयो मृत्यु देखेकै हो । ति मर्नेहरुमा कैयौ आफन्त पनि थिए, कैयौ साथीसंगी पनि थिए, कैयौ मैले थानेका आदर्श थिए, कैयो मैले सजाएका सपना पनि थिए, अनि कोहि म जस्तै गुमनामहरु पनि थिए । हो मान्छे मर्दा पिर लाग्छ अनि एकछिन मान्छे संयम गुमाउछ । आसु मैले पनि अबश्य बहाए हुला । तर आज उसको मृत्युको खबरले जति मलाई कहिल्यै बिचलित अनि दुःखी अरु कसैको मृत्युले पारेको थिएन । हुनत ऊ मेरो आफन्त थिएन । सायद उसको मेरो जात नि मिल्दैन थियो । अझ त्यसमाथी उसलाई शुद्द नेपाली पनि बोल्न आउदैनथ्यो अनि कति ठाउमा उसले बोलेको कुरा म बुझ्दैनथे । हो उ मेरो आफन्त थिएन न मेरो उमेरको दौतरी नै थियो । हो उ म भन्दा कथित जात अनि बर्गमा सानो थियो होला तर उमेर, सिद्दान्त अनि आदर्शमा मभन्दा कैयौ गुणा ठुलो थियो । उ मेरो आफन्त थिएन तर आफन्तभन्दा माथि थियो । उ उमेरका हिसाबले साथी भन्ने जस्तो थिएन तर आम साथीभन्दा ठुलो थियो । उ मेरो आदर्श थियो । हिजसम्म ऊ मेरा लागिमात्र होइन, धेरैका लागि समाजको अभिन्न अङ्ग थियो । एउटा आँधी आयो अनि उ यस समाजका निम्ति बिखण्डनकारी, अराष्ट्रिय तत्व अनि आतङ्ककारी भयो । त्यही समाजमा, जसले हिज उस्लाई वाह वाह गर्थ्यो, तर आज उ मर्यो- अझ भनौ ऊ मारियो ।
उ कहाबाट आएको हो, त्यो कसैले भन्न सक्दैन । उसले पनि कहिल्यै खुलस्त भनेन । हामीले चिनेको उ मात्र उसको नाममा मात्र सिमित थियो । उ आफ्नो नाम कर्मबिर बताउथ्यो । उसको यो नाम साचो हो या होइन कसैलाई थाहा थिएन । जे होस् मेरो लागि उ कर्मबिर थियो । तर मान्छेहरुले उसको शारिरिक बनोट र रङ्गकै भरमा उसको जात र धर्म छुट्याउने जस्तो निच कार्य गरिरहे तर उ सधै मौन बसिरह्यो । जस्तो उ कुनै मानब नभएर कुनै अमुख प्राणी हो । उसको शारिरिक बनोट हेर्दा उ तिख्खर कालो थियो । त्यसैले कतिले उसलाई दलित भन्थे, कतिले मधेसी भन्थे । उसले दाह्री पाल्थ्यो, शुद्ध नेपाली बोल्न सक्दैनथ्यो कतिले उसलाई अनपढ गवार अनि पाखे भने । उ मन्दिर जादैनथ्यो त्यसैले कतिले पाखण्डी नास्तिक पनि भने । तर त्यो सदाझै मुस्कुराई रह्यो केबल मुस्कुराई रह्यो । अब राज झन उसको मृत्युसंगै उसको त्यो राज पनि उसंगै गयो । उ गाउको पुछारमा एउटा सानो झुपडीमा एक्लै बस्थ्यो । उ उसको बिगतबारे सितिमिति कुरा गर्न चाहदैन थियो । कति पटक मैले उसको बिगत कोट्याउन नखोजेको होइन । तर उ हरेक पटक अनेक बहाना बनाउदै यो बिषयबाट पन्छिने गर्थ्यो । एउटा कुरा के चाही प्रष्ट थियो भने उसको बिगत त्यति सुखद थिएन किनकि उ हरेक साझ र बिहान प्राय टोलाएर बसेकै देखिन्थ्यो । उसका बारेमा गाउँमा अनेक हल्ला अफबाह नचलेका होइनन तर उ त्यसमा कहिल्यै कुनै प्रतिक्रिया जनाउदैनथ्यो । त्यस बिषयमा मैले कहिले काहि उसंग बुझ्न नखोजेको भने होइन । तर उ त्यस बिषयमा यत्ति भनेर मुस्कुराउथ्यो कि ‘मेरो बिगत मरिसकेको छ, त्यसलाई सम्झेर दुःख मनाउनु व्यर्थ छ । भविष्य जन्मेकै छैन त्यसमा टाउको दुखाउनु मुर्खता हो । म जे छु अनि जे हु त्यो बर्तमानमा तिमीहरु देखिरहेछौ ।’ उ जहाबाट आएपनि उसले यहि गाउलाई आफ्नो ठानेको थियो । यहाको माटोलाई यहिका मान्छेले झै माया गरेको थियो । यहाका मान्छेको दुःखमा दुखि र सुखमा उ पनि रमाएको थियो । उ यहा आएको खासै धेरै पनि भएको थिएन । तर उ लगभग एक दशकको समयमा धेरैको ह्रिद्यमा स्थान बनाउन सफल भएको थियो ।
उ सधै मानब सेवा नै ठुलो धर्म हो भन्थ्यो । आफ्नो ठाउको बिकास गर्न अरुको मुख नताकी आफै गर्नुपर्छ भन्थ्यो । उ अनेक सुधारका कुरा गथ्र्यो । पढाई र घोकाई होइन शिक्षा र ज्ञानको कुरा गथ्र्यो । उ अरु झै केबल न माक्र्स,लेलिन,माओ को मात्र नाम जप्थ्यो न उ केबल बि.पी को नाम मात्र जप्थ्यो न कुनै सामन्तलाई जि हजुरी नै गर्थ्यो । न त उ कुनै कथित बर्गीय क्रान्ति गर्छौ भन्ने नाम मात्रका पार्टीको झण्डा बोकेको वा ओडेको नै थियो । उ एक आम नागरिक थियो तर उसको ज्ञान र अध्ययन नेपालका कैयौ कथित नेताभन्दा धेरै गुणा माथी थियो । उ ब्यक्ति पुजाभन्दा धेरै माथि पुगेर समावको अध्ययन गथ्र्यो, ज्ञान बटुल्थ्यो । उसको ज्ञानको दायरा न शास्त्रिय दर्शनमा थियो न उत्तर आधुनिक साहित्यसम्म नै थियो । तर उसको ज्ञान यहि समाजलाई देखेर, भोगेर, सुनेर बिकसित भएको थियो । उ सधै बिकास, संघर्ष अनि परिवर्तनको कुरा गथ्र्यो । उ मन्दिरलाई ठगको डेरा भन्थ्यो । उ धेरैले भगवान भनेर पुज्ने ढुङ्गालाई ठग्ने साधन भन्थ्यो । उ ठुला बडासंग खासै बाद प्रतिबाद गर्दैनथ्यो । जति हेपे पनि बरु हेपिएर बस्थ्यो । तर उ निमुखा, उत्पिडित, शोषित बर्गमा चेतनाको दियो बाल्ने प्रयासमा थियो । उ हरेकलाई बालबच्चा पढाउन प्ररित गरिरहन्थ्यो । बिस्तारै उ गाउका केहि सदियौ देखि शोषण गर्दै आइरहेका बर्गको आखामा तारो बन्दैथियो । यस कुराको बारेमा उसलाई पनि थाहा थियो । तर पनि उ निस्फिक्री आफ्नो कर्ममा लागिरहेकै थियो । उ गाउका असहाय तथा शोषित मान्छेहरुको ज्ञानको दियो बन्दै थियो । उ असहायको सहारा बन्दै थियो । अन्धकारमा उनिहरुको आशाको ज्योती बन्दै थियो । अब बिस्तारै बिस्तारै उ पनि समाजको अभिन्न अङ्ग बन्दै थियो । एकदिन उ देखिएन भने धेरैलाई नियास्रो लाग्ने भईसकेको थियो । पहिला पहिला उसको लामा दाह्री देखेर डराउने गाउका बालबच्चा पनि अब उसंग जिस्कन झ्यामिन थालिसकेका थिए । उ धनिभन्दा गरिब, सुखिभन्दा दुःखी अनि बुढाभन्दा बालकको दिन प्रतिदिन प्रिय बन्दैथियो । बिस्तारै देशमा नया क्रान्तिको दियो नि बल्दै थियो । बिद्रोहीहरु क्रमशः गाउ पस्दै थिए । अब उ पनि बिस्तारै गाउका शोषक सामन्तको लागि अघोषित खतरा बन्न लागेको उनिहरुलाई भान पर्दैथियो । तर फरक यत्ति थियो कि उ ति बिद्रोहीको हत्या रणनितिको सधै बिरोध गर्थ्यो ।
उसको र मेरो मित्रता अचम्मको थियो । हाम्रो सम्बन्ध कहिलेबाट भयो भन्ने कुरा म पनि ठ्याक्क यकिनसाथ भन्न सक्दैन । हाम्रो मित्रता पनि अचम्मको थियो । हाम्रो बिच चलन चल्तीको जस्तो दोस्ती हुनलाई कुनै पनि समानता थिएन । हामी दुइको उमेरको अन्तर लगभग मेरो उमेर जति नै थियो । रङ्गको कुरा गर्दा उ तिख्खर कालो अनि म गोरो थिए । उ साचो रुपमा भन्नुपर्दा एक बिशुद्द सर्बहारा थियो भने म सामन्ती समाजको एक अबशेष थिए । म नेपाली राम्रोसंग बोल्न सक्थे भने उ त्यति शुद्घ नेपाली बोल्दैनथ्यो । यदि सम्बन्ध स्थापित हुनलाई यि कुरा अनिबार्य हुन भने हाम्रो सम्बन्ध एक अपबाद थियो, भन्दा फरक नपर्ला । हो पहिला पहिला उसलाई देख्दा म तर्कने गर्थे । खै किन हो कुन्नी उसलाई देख्दा पहिला पहिला खासै चासो नि कहिल्यै जागेन । हुनसक्छ त्यहा मलाई यो समाजले दिएका अनेकथरि मान्यताहरुले प्रमुख भूमिका खेले होलान । हामीलाई यो समाजले कहिल्यै पनि साधारण देखिने ब्यक्तिमा असाधारण क्षमता हुनसक्छ भनेर कहिल्यै सिकाएन । यो कुरा साचो हो कि प्रारम्भिक चरणमा यस कुराको प्रभाब म मा बलियो गरि परेको थियो । तर जब म त्यो साँघुरो घेरा तोडेर आए तब उ मलाई कैयौ कथित महानभन्दा कैयौ गुणा महान लाग्न थाल्यो । हुनत उ कुनै नेता पनि थिएन न समाजले पुझ्ने कुनै कथित बिद्घान ज्ञानी सन्त नै थियो । तर मलाई ति ठुला ठुला किताबमा लेखिएका क्लिष्ट सिद्घान्तका कुराभन्दा उसका ठेट कुराहरु धेरै गुणा नेपाली सामाजिक धरातल नजिक र बढि सान्दर्भिक लाग्थे । कैयौ कथित प्रा.डा.हरुले काठमाण्डौंको चार दिवारभित्र बसेर अन्तराष्ट्रिय किताब हेरेर गरेको नेपाली समाजको बिश्लेषनभन्दा धरातलमा रहेर नेपाली समाजको बिश्लेषन ठेट भाषा अनि बोलीमा गर्दथ्यो । हो यिनै कुराले मलाई उ प्रति झन नजिक तान्दै थियो । म मा उसका कुराको गहिरो छाप बस्दै थियो, जो आज नमेटिने गरेर मेरो मष्तिस्कमा अझै ताझा छ । त्यहि क्रममा एउटा आँधी नमजासंग आयो । अनि उसलाई सदाका लागि उडाएर लग्यो । केबल उसले छाडेको छापमात्र मेरो मष्तिस्कमा झनपछि झन ताजा बनेर बाकी छ ।
खै किन हो मलाई केहि दिन अगाडी देखि नरमाइलो महसुस भइरहेको थियो । नराम्रा सपनामात्र देख्न थालेको थिए । केहि दिन अघि देखि गाउमा दिनभरि सरकारी सेना प्रहरी अनि रातमा बिद्रोही जनसेनाको अघोषित गस्तीको क्रम बढिरहेको थियो । यो अवस्य पनि गाउमा राम्रो घटना घट्ने सङ्केत त थिएन । यसरी नै त्रासै त्रासमा जिन्दगी बितिरहेको थियो । रातमा वा दिउँसै अब दुइ चार राउण्ड गोली चल्नु कुनै अचम्म थिएन । प्राय जसो रातमा एक दुइ राउण्ड गोली र केहि थान बम पड्केका आवाज सबैका लागि सामान्य झै हुदै थिए । बिहान बाहिर निस्केको मान्छे बेलुका घर नफर्केसम्म उ र उसका परिवार पूर्ण असुरक्षित महसुस गर्थे । हो यस्तै एक रात त्रासदीपूर्ण रातमा उ मर्यो । अझ भनौ मेरो एक निर्दोष साथी मारियो । बन्दुकका नालमुनि सुरक्षित महसुस गरेर सुत्दा कस्लाई पो मिठो निन्द्रा लाग्दो हो र । म त्यहि परिबेशमा थिए । त्यस दिन म अलिक अबेला उठें । अनि आफ्नो नित्यकर्म तिर लागे । त्यसैक्रममा एउटा नमिठो खबर कानमा ठोकिन आयो । अनि म लागे गाउको पुछारतिर । उसको क्षत बिक्षत लाश उसको घर बाहिर पल्टेको थियो । आकाशतिर एकतमाशले हेर्दै सदाको झै निश्चल र निर्दोष हासो लिएर मुस्कुराई रहेको झै मलाई भान पर्दै थियो । उसको लास वरपर बिस्तारै भिड जम्मा हुदैथियो । त्यतिकैमा केहि भ्यानमा तत्कालिन राज्य पक्षको शाहीसेना आयो अनि सबैलाई केरकार गर्नलाग्यो । सबै बेकारमा फसिने डरले तितरबितर भए । उसको त्यसगाउमा हुनपनि कोही आफन्त नि थिएन, लासमा उत्तानो परेर रुनलाई अनि लास दाबी गर्नलाई । म पनि आखिर यहि स्वार्थी समाजको अङ्ग न परे, बिस्तारै उसलाई मनमनै अन्तिम बिदाई गर्दै भिडसंगै ताप कसे । अनि लास लिएर सेना गयो । साझ रेडियोले माओबादी बिद्रोही द्वारा आज राती सनाखत हुन नसकेका एकजनाको सुराकीको नाममा हत्या भनेर फुक्यो । म समाचार सुनेर एकट्वाकले रेडियोलाई हेरिरहे । मलाई हत्या कसले गर्यो थाहा नभएपनि के चाही थाहा थियो कि उ कुनै सुराकी थिएन । जब बिस्तारै रातमा निशाले छोप्दै आयो । गाउमा बिद्रोही पक्षले सभा राखेको र जानैपर्ने खबर आयो । म मन नलागी नलागी पनि सभातिर लागे । त्यहा पुग्नासाथ मेरो होशोहवास झण्डै उड्यो । ठुलो तुलमा अरु के के लेखिएको थियो तर तेस्को मुनि ‘बिर शहिद क.कर्मबिर अमर रहुन’ लेखिएको थियो । म आश्चर्यचकित भए । कहिले कुनै पार्टीको सदस्यता नलिएको मेरो साथी मृत्युपश्चात कुनै बिद्रोहीको अमुक शहिद भएको थियो । अनि उसको गुनगान गाइयो । अन्त्यमा शाहिसेनाले बिभत्स रुपमा मारेको टुङ्गो लगाई सभा सकियो । यसरी २४ घण्टामै उसको दुई पक्ष हत्यारा घोषित भए । साचो हत्यारा को हो भनेर कसैलाई थाहा भएन । यो राज पनि उ संगै मर्यो । म चुपचाप उसलाई फेरी मनमनै सम्झिदै घर फर्के ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)