~अभिमन्यु निरवी~
सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार नियाल्न त्यति असजिलो थिएन । चौरको थोरै तल धाराबाट पानी खसिरहेको थियो, एकटकको स्यार्र आवाजमा । पश्चिमपट्टीको छेवैमा नासपातीको चिचिला लागिसकेको रुख हावासँगै यताउता हल्लिदै थियो । साँझ ढल्दै गर्दा बीरबहादुर बा गालामा हात राखेर मलाइ नियाल्दै थिए । उनले केही गमेझैं गरी सोधे,
“बाबुका साउले कति दिया’छन् त ?”
मैले उनको कुरा त्यति बुझ्न सकिन । तर उनी मेरो जवाफको प्रतिक्षामा थिए । म नबोलेको देखेपछि उनले थपे,
“बाबुले त केही भनेनौ ? कति दिन्छन त साउले ? मेरो छोरो नि बाबुजस्तै काम गथ्र्यो ……साउले दश हजार द्या’छ भन्थ्यो । अहिले त छोरै बेपत्ता भो ।”
बेपत्ताको कुरा सुन्नेबित्तिकै त्यो द्वन्द्व र संकटको नमिठो पल सम्झें । र, तुरुन्तै सोधें,
“द्वन्द्वमा बेपत्ता भा’को ?”
उनले भने, “कहाँ हुन्थ्यो बाबु ? त्यस्तै हराल्या’छ …। अर्की जोई ल्याइकन बस्या’छ रे दाङतिर ।”
मेरो अनुमान सही निस्किएन । त्यसैले मन केही खुशी भयो ।
एउटी बिबाह गरेको स्वास्नी घरमा हुँदाहुँदै अर्की ल्याएको बालाई मन परेको रहेनछ । पटक्कै नै । उनी रिसले मुर्मुरिएका थिए । तर कुरा गर्दै जाँदा मैले थाहा पाएँ बा ठट्टा गर्न पनि निकै सिपालु रहेछन् । साठी बर्ष काटे पनि उनको मनमा जोशजाँगर निकै थियो । उनी त्यहाँ रोल्पाको बजिबाङ्गबाट बसाइँ सरेका एकजना विश्वकर्मालाई खोज्न आएका थिए ।
मैले सोधें “बा पनि विश्वकर्मा ?”
उनले हतपत भने “हैन हैन… काँ हुने हो ? …डाँगी हुँ म त ।”
“साँझपख आउनु भो छ । आज यतै बस्नु हुन्छ होला ?”
“काँ बस्ने होला बाबु … एकछिन भेटीघाटी गर्न मात्र आ’हम्” उनले हच्केर भने ।
“बरु घर पो तिँ पारतिर भयास्तो मान्थेँ…. । बिर्सेँ कि क्या हो…? बाबुले एकघरी देखाइलग्ने हो कि ? ” बाले मसँग सहयोग मागे ।
“म याँ को हैन बा”, मैले भनें, “म डुल्न आ’को मान्छे । क्यै था’छैन । ”
“तिँ पर हो बा । अहिले म पुराइदिन्छु”, पौडेल्नी दिदीले भनिन् । त्यसपछि बीरबहादुर बा केही ढुक्क देखिए ।
खासमा म रेडियो कार्यक्रम बनाउने सिलसिलामा त्यहाँ पुगेको थिएँ र पौडेल्नी दिदीसँग पत्रकारिताको भाषामा भन्दा अन्तर्वार्ता गर्दै थिएँ । त्यति नै बेला बीरबहादुर बा आइपुगेका थिए, घर खोज्दै । हामीले गर्दा उनलाई अलमलाएर राखेका थियौं । अझ भनौं मेरो हातमा देखिएको रेकर्डर देखेर उनी अल्मलिएका थिए ।
उनी हरियो दुबोमाथि थचक्क बसेका थिए तर बस्दा पनि आफ्नो रातो सानो झोला भने ढाडबाट हटाएका थिएनन् । तातो दिनमा पनि उनले ऊनीको टोपी लगाएका थिए । निधारमा चिटचिट पसिना थियो । पसिना पुछेर मसँग भएको रेकर्डरलाई देखाउँदै उनले सोधे, “क्या हो नानी यो भाँडो ?”
मैले भनें, “रेकर्डर … ”
“राडर ?” उनी बोले ।
“हैन … रे क.. र्ड ..र, तपाईले अहिले बोल्नुभएको कुरो यसले टिप्छ र पछि जस्ताको तस्तै भन्छ ।”
मैले त्यति भनेपछि उनले बुझेजसरी मुन्टो हल्लाए । शायद बुझे पनि होलान् । त्यसपछि उनले खल्तीबाट आधी भाँचिएको चुरोट निकाले र एकछिन ओल्टाइपल्टाई हेरे । फेरि खल्ती छामे र मतिर हेरे । मैले लाइटर उनीतिर बढाएँ । उनले चुरोटको धुँवा हावामा उडाउँदै एउटा लामो सास फेरे । छोराको कुरा सम्झेर निकैबेर गुनासो पोखे र ठट्यौली पारामा उनले भने,
“दुइटी चैँ बे नगर्नू है । गारो हुन्छ ।”
मैले सोधें, “बाले पनि दुइटी बे ग¥या हो र ?” उनी हाँसे । एकछिन अकमकिए पनि ।
फेरि मैले त्यही कुरा दोहोराएँ…। उनी बोलेनन्….। फेरि मौनता छायो । बाले बजिबाङबाट आएका विश्वकर्माको घर फेरि सम्झिए । अबेला होला कि भन्ने शंका पोखे र केही कुराहरु जो उनको मनमा थिए भनूँ कि झैं पनि गरे । उनको कुरा सुन्ने मेरो उत्कट चाहनाले उनलाइ छोयो क्या रे…?
उनले भने, “सुन्न्या हौ र बाबु मेरा कुरा ?”
मैले भने, “सुन्छु । भन्नु न ।” म उनको कुरा सुन्न आतुर थिएँ । पौडेल्नी दिदी पनि सुन्न पाए हुन्थ्यो झैं गर्दै थिइन् ।
……………………………..
“म १० बर्ष हुँदो हुँ बाको काल हँुदा । आमा एक्लैले म, मेरो दुइटा दाइ र एउटी बैनीलाई हेर्नुपर्ने भो । आमाले बरो दुख्ख गरेर हाम्लाई हुर्काइन् । ठूलाबराका छोरछोरी पर्न जान्थे । मलाई नि जानेस् लाग्थ्यो तर क्यार्नु जानै पाइन । बाख्रा ग्वालो भइकनै बाल्लेकाल बिताएँ । म १४ को हुँदा दाइहरु बिहे गरिवरी छुट्टिए । बार बर्षमै मेरी बहिनीलाई २० बर्षे एउटो जुँगेलाई दिएर पठाइयो । अहिले सम्झिदा पो आङ सिरिङ्ग भएर आउँछ । कसरी बहिनीले त्यो कठोर दिन बिताइहोली …? घरको काम गर्ने बैनीको बे भएसी आमालाई एउटो हात भाँच्या जस्तो भो । अब कामका पथ भए नि मैले ब्या गर्नुपर्ने भो ।”
बीरबहादुर बाले यो कुरा भनिरहँदा बडो गज्जबले चुरोट पनि तानिरहेका थिए । घरी पौडेल्नी दिदी र घरी मलाइ हेर्न पनि उनले भुलेका थिएनन् । उनले मधुर मुस्कानका साथ कुरालाई फेरि जोडे ।
“एकैछिनको हेराहेरमा बिहेको कुरा पनि सकियो कोल्टीबाङको केटीसँग । केटी सानी थि र राम्री पनि । बिहे गरें । तर ऊ मसँग एक महिनासम्म बोलिन । म पनि के कम नबोलिकनै बसें । आमा बुहारीलाइ मायाँ गर त भन्थिन् । मलाई लाज लाग्थ्यो । त्यस्तै गर्दागर्दै एक महिना बितेपछि ऊ माइत गई । दिन बिते, मैनै बिते, आइन । म पनि उसलाई आइज दाता ए भनिकन हात जोर्न जान्न भनेर गइन । जोई नभएसी काम त गर्नुप¥यो…..म घाँसदाउरा पनि जान्थेँ । आमालाई सघाउँथे । आमालाई अचम्म मायाँ गर्थें र रिस उठ्यो भने उपध्रै पनि गर्थेँ । आमा बिस्तारै बुढी हुँदै गएकी थिइन् । फेरि उनकै करले मैले अर्को बिहे गर्नै पर्ने भो । ब्या त गरेँ तर ब्या ग¥या’ छ बर्ष भए नि हामी एक मैना जति पनि सँगै बसेनम् होला । ऊ बढी माइत बस्थी । घर आउने त उसको तीर्थ आ जस्तो.. तै नि ल्याउन गएसी मात्रै ।”
उनले हाँस्दै भने, “जोइपोई त भन्नु मात्रै थ्यो क्या । आमाले भने छोरा ब्वारीको गतिलो सम्बन्ध नदेख्दा सारै पिर गर्थिन् । छ बर्ष त्यस्तैगरी बितेपछि ऊ अर्कैसित गई । खै किन गई ? अहिलेसम्म पत्तो पा हैन । गाउँघरको रीतअनुसार जारी पनि झारेँ । के गर्नु चलनै त्यस्तो । त्यही जारीको पैसाले मैले अलिकति बारी पनि किनें । जग्गा त किनेँ तर न छोराछोरी, न स्वास्नी… । आमा पनि काम गर्न नसक्ने हुँदै गइन् । अब त आमाले पनि बिहेको कर गर्न छाडेकी थिइन् । शायद अब यसको घरबार हुन्न भन्ने सोचिन् होला । आमा थला पर्दै गइन् । एकदिन म दाउरा ल्याउन बन गा’थेँ । घरमा कोई थेनन् । त्यसदिन आमालाई सारै च्यापेछ । पानी दिने मान्छे नभएर खरो परेर मरिन् । त्यसपछि त के कुरा गर्ने र ? आमाको शेषपछि त मलाई गृहस्थी धान्न सारै कस्तो दुख भो कस्तो ?”
यति भनेर उनी निराश भए । उनको आँखा रसाएका जस्ता देखिन्थे । मलाई उनको कुरामा आफ्नै कथाहरु सराबरी मिसिएझै लागिरह्यो । वरिपरि अरु एकदुईजना मान्छेहरु जम्मा भइसकेका थिए । पौडेल्नी दिदी पनि त्यहीं थिइन् । बाले ती केही कुराहरुको परवाह नगरी निधारको पसिना पुछे । उनको कुरोमा जोइपोईको सम्बन्ध र त्यसले उनको जीवनमा ल्याएको दुःख पाइन्थ्यो । उनी आफ्नी जोईहरुको बारेमा नै कुरा गर्न आतुर थिए । त्यसैले उनी एकोहोरो आफ्नो अतीत भनिरहे ।
“मेरो बारेमा गाउँलेहरुले कुरा काट्न थाले । जोई समाल्न नसक्ने समेत भने । सारै दुःख लाग्थ्यो । आफ्नै दाजुभाउजूको बचनहरु सहनु प¥यो । कालापार जाउँ कि भन्ने नि लायो । तर वाँ गएर नि क्यार्दा हौँ र म ? सीपका नाममा केही आउने भए पो ? क्यै सीप नचलेसी घरै बसेँ र खेती किसानी गर्न लाइगएँ । पछि त घरै शून्य, मनै शून्य झैं पो भो त । त्यही कारण दुइटी लगालग ल्याइगएँ । तर क्यार्नु ? बस्ने हुन् र ती ? दुइटै पोइल पो मुन्टिए । गाममा कचरी बसार जारी नि बुझियो । मलाई त केटा मान्छे भन्नेबितिकै रिस उठ्ने पो हुन थाल्यो । धोका दिन त केटीका जातले दिया’हुन् नि । तैनि ति मोराको कारणले दुख्ख पाया हो झै लायो । क्यान ती भुसतिघ्रेहरुलाई मेरा जोई नै उडाउन पर्या हुँदो हो ? अन्त कहीं कन्ने केटी नपा जस्तो । क्यार्नु कचरीमा बजाउन भएन र पो नत्र त तीनका करङ भाँच्न मैले नि जान्या हुँदो हम् । पछि ती जारहरुसँग भेटै भएन । भेट् भया भे त काँ छाड्दा हम् । जति जोई ल्याए नि अर्काले अर्काले लग्देल्छ । पछि हुक्के र अब बिहे नगर्ने सोचें । एकदिन म बराहको मेलामा जलजला पुगिगएँ । अचाक्ली रमाइलो भो त्यहाँ । माथि डाँडामा नि सिम जाग्या’छ । हिन्न नि डर लाग्ने थलथल गर्ने ठाम । म भासिउँला कि भन्ने डर मान्दै वारपार गरें । जेठा नि कति जारो भया हो त्याँ । मान्छे पनि काँ काँबाट आ’हुन् त्यस्तरी, ओइरो पो थ्यो । म पनि त्यसबेला रमाइलोसित खुब घुमेँ । तर अचम्म के भो भने मैले उल्लाई देखें । ऊ भन्या त्यै सबभन्दा पछेट ल्याकी बूढी क्या । झलक्क देख्याथें । कता लागि कता….? भेट्या भए के हुुन्थ्यो तर भेटै भएन । रिस त थ्यो, भएनी तेत्रा दिन सँगै बसियो । एउटै थालाँ नि खाइयो । सधैं मैले खाएसी खान्थी । मायाँ नि जाद्रै गर्थी गर्न त तर क्यार्नु ? यो आइमाईका मनका ठेकान हुनेरैनछ क्या । एउटाले फकाएछ टाप कसि गई ।” बाले अतीत सम्झिँदै भने । उनको आवाजमा केही पीडा थियो तर भन्दै गर्दा उनले आफ्नो पीडालाइ ढाक्ने कोसिस गरिरहेका थिए । बाले त्यतिमै कुरा सकाएनन् र अगाडि थपे,
“मेलाबाट घर पुग्ने बाटो लामो थ्यो । त्यै भएर म बेलैमाथि हिनेँ । आउँदा बाटैभरि त्यै मेलामा देख्या मोरी कान्छी को झल्को आइरह्यो । ब्या गरेपछि सँगै मेलपानीको डाँडामा ग्वाला लाया दिनको खुब याद आयो । दौरासुरुवाल लाएर ट्याक्कै परिकन गा’थेँ । बाटो हिन्नेहरुले पनि यसो पछि फर्केर एक नजर नि हेर्थे । बैंसका बेलाँ त म कम राम्रो थिएँ र बाबु ? तर ती चोथालेहरुले किन छाडेर गए खै ? बुझ्न सक्या भए मै मरिजाम् । जसले हेरे नि म सरासर झन ढल्की ढल्की हिने । चुथ्रा, टिमुर, ओखर, सल्लाका रुखले ढाकेका चिप्ला बाटा काट्दै म हिन्दै थेँ । मैले उसलाई देखें । ऊ भनेकी अहिलेकी मेरी घरकी क्या । देख्नेबित्तिकै गजब मानेँ । ऊ मभन्दा बार बर्ष कान्छी रैछ । पछि कुरा गर्दै जाँदा था पाएँ । ऊ पनि त्यै मेलाँ गएर फर्केकी तर खुट्टा मर्किएर ओरालोमा सुस्त सुस्तै हिड्दै थिई । साथीहरुसँग गा’की रे तर साथीहरुले तल कतै बस्छम् भनेर उसलाई छाड्या रैछन् । मैले उसलाई के भो भनेर सोधें, उसले लाज मानेर मुन्टो निउराएर खुट्टो मक्र्यो भनी । अनि मैले सोधेँ,
“बैनीको घर काँ हो र…. ? ”
“जुङार…. ”
“छरछिमेककै पो परिछौ ….., नाउ के हो तो तिम्र्रो”
“देउसरा…. ”
हिन्दाहिन्दै कुरा धेरै भो । म त्यति छिटो हिडिराको मान्छे, पछि त कछुवाजसरी हिन्न पो थालेछु । गफ गर्न त त्यो बराबर कल्ले सक्दो हो ? तै नि नभया कुरा म गर्दैन । मलाई त्यति वास्ता भएन है । किन भएन भन्दा म त्यो बेलाँ अब ब्या गर्दैन भनेर हुुक्केर बस्या’थें । फेरि मलाई केटी मोरीहरुले कम्ता धोका द्या’थे र ? चा¬चारवटी पोइला गइसक्या थे । तै नि बाटोमा मैले उसलाई सक्दो सहयोग गरें । कहिं कहिं खोलामा त बोके पनि । पछि साथीहरुलाई भेटेपछि उल्टै मलाई पो गिजाउँछन बा । म त रिसाएर हिनें । रिसाउने पनि थिएँ क्या म त । सहयोग पनि गर्नुछ, मजाक पनि बन्नुछ , सहनै सकिन नि मैले ।
त्यसका छ महिनापछि एकजना बूढा मेरा घरमा आए । कता कताबाट साइनो लाएर आफन्त हुँ भने । मैले त चिनिन । जे भएनि घरमा आएसि त पाहुनै त हुन् भनेर उनलाई जे जस्तो थ्यो खानपिन गराएँ । मेरो हालत देखेर उनी निकै चिन्तित भए । बिहे गर्ने हो भने आफ्नी छोरी दिने कुरासम्म गरे । मैले बिहे गर्दिन भनें । पछि बूढाले कुरा खोले । बूढा त छोरी देउसराको करले पो आका रछन् । ऊ मलाई माया गर्दिरहिछे । म दंग परें । चिन्नु न जान्नुको मान्छेलाई किन मनै सुम्पेर बसी होला देउसरा ? मैले के ग¥या थेँ र ? बढी ग¥या त्यै बोकेर खोलो तराया त हम् नि । अनि मैले धेरै सोचेँ । उसले चाहेको भए अन्तै बिहे गर्न सक्दी हो । आफ्नो सारा कुरा बालाई भनेर याँसम्म पठाइछे । अनि म अब ब्या नगर्ने भनेकन बस्या मान्छे के गरम् के नगरम् भो । धेरै दिनसम्म सोचिरहें ।”
यति भनेर उनी सोचमा फेरि डुबे । दुई मिनेट भइसक्यो उनी बोलेनन् । मैले उत्सुकतासाथ सोधें …“.त्यसपछि के भो बा ? ”
उनी मलाई हेर्दै बोले, “त्यसपछि ब्या भो नि । अघि नै भन्या हैन ?”
“ए….अँ त । ”
“अहिले त एउटा छोरा र तिन्टी छोरी नि छन्……, भनिहालें नि त्यै छोरो मोरोले त दुख्ख द्यो नि मलाई ।” उनी फेरि सुस्ताए । “घराँ एउटी बुहारी छे । फेरि अर्को ल्याएर … ?”
मैले थपें “बाको बिंडो थाम्न खोज्या हो कि ? ”
उनी बम्के “क्या कुरा गर्छौ बा, मैले जस्तो स्वास्नी पोइला गएर ल्या’हो र ? त्यो पागलले त विचरा सोझी ब्वारीमाथि सौता पो हाल्यो । मैले पाँचैटी ब्या गरे नि कसैमाथि सौता हालिन .. ” .
“नरिसाउनु न बा……, मैले बुझें नि त ।” मैले सम्झाउन खोजें । त्यसपछि बा चूप लागे । मैले उनको कुरा सुनेर मनमा धेरै कुराहरु खेलाएँ । बा पुराना जमानाका भएपनि सौता हाल्न हुन्न भन्ने मान्यताका रहेछन् । उनको बोल्ने शैली, उनको आत्मबिश्वास र उनको निश्चलता सारै मन प¥यो । उनी चाहन्थे कसैले सौता हालेर एउटी महिलाको जिन्दगी बर्बाद नगरोस् । उनी आफ्नै छोराप्रति नकारात्मक बनेका थिए । भन्थे, “घराँ भा ब्वारीलाई नछुटाई आफैंसँग राख्छुु । अंश नि दिन्छु ।”
म बाको कुरामा कतै हराएको देखेर उनी बिस्तारै भुतभुताए…..,
“..दे अब म जान्छु बाबु । रात पर्न लाइयो ।”
मैले भनें, रात परेर के त झन रमाइला कुराहरु बाँकी होलान् नि ? अब बूढेसकालमा कसैले आँखा लाका कुरा गरौं न हुन्न ?”
बा लौरो समाएर जुुरुक्क उठ्दै भने, “तमिसित कुरा गर्न सकिन्न । कुरा गर्न त बाबु निकै जर रछौ..। अब म गइन्छु बाबु ।” एकछिन वरिपरि हेरेर पौडेल्नी दिदीलाई औंलाउँदै उनले भने, “अई नानी एकघरी मलाई टमाटर लाउने विश्वकर्माका घरसम्म लग्दिन्छौ ?” पौडेल्नी दिदीले उनलाई त्यहींबाट औँलाएर घर देखाइन् र लगिदिन तयार पनि भइन् ।
मैले सोधें, “आज यतै बसिन्छ र ?”
उनले बेवास्ता गर्दै भने ..“.हैन हैन भेटीघाटी मात्रै…. अलिअलि हिसाबकिताब थ्यो । त्यै भेटीघाटी मात्रै हो… काँ बस्लो बा ।”
बीरबहादुर बासँगको रमाइलो कुराकानी पछि म लिवाङमा रहेको होटलमा फर्किएँ । मसँग साथमा मेरो मोबाइल थिएन । म झस्कें । कता खसालें होला ? एकछिन सोच्न थालें । माथि कुरा गर्दा छेउँमा मोबाइल राखेको याद आयो । म राति नै गएँ । मोबाइल जहाँ राखेको थिएँ त्यहीं थियो । त्यहाँ पुगेपछि मलाई टमाटर लाउने विश्वकर्मा कहाँ पुगुँझैं लाग्यो । बारीबारी दौडिएँ ।
माथि खत्रिनी साइँलीको घरतिरबाट आवाज आयो, …को हो हँ मकै रोप्या बारीमा कुद्ने ? त्यस्का खुट्टा त कोरले खाउन् । म वास्तै नगरी विश्वकर्मा दाइको ढोकामा पुगें ।
यसो भित्र हेरेको त बा भात खाँदै भन्दै थिए, “आज बसिकन भोलि व्यानै लाग्ने हम् ।”
छेउँमा बसेर भात खाँदै गरेका विश्वकर्मा दाइले भने, “दुईचार दिन बसेर गए त भइगो नि ।”
(समाप्त)
(स्रोत : Halkaraneoal)