आज बा अलि हँसिलो अनुहारमा मैले देखें । जहिले हो बाको अनुहार रिसाहाजस्तो ठान्ने मैले आफ्नो माग राख्ने उचित समय यतिबेला नै ठानें ।
हुन त म मात्र हैन बासँग बोल्न हाम्रा गाउँघरका सबै डराउँछन् । आमा, दिदी त झन् आवाज निकाल्न पनि सक्दैनन् । तर जायज कुरा अनि बाको मन खाने कुरामा चैं बा पनि सबैसँग साथीको व्यवहार नै गर्नुहुन्छ । बालाई मन नपर्ने कुरा या काम गर्दा सधैं होस पु¥याउनै पर्दछ । बाको अनुहार हेरेर मात्र कामकुरोको सुरुवात गर्नुपर्दछ । यो मैले आमाबाट सिकेको बानी ।
‘बा, बजार जानी हम्, सय रुप्पे दिनु न ।’
मैले बडो कष्टका साथ बाको सामु मुख खोले । बड्डो हिरो साइकलको चेनमा तेल हाल्दै रेडियोमा खबर सुन्दै गरेका बा झस्किनुभएछ कि के हो हात कमाउँदै पछाडि फर्केर पुलुक्क मलाई हेर्नु भो । म लगलग काम्दै बाको नजिकै उभिएको थिएँ । चाहिने काममा पैसो माग्न डराउने म आज बासँग जेब खर्चको लागि पैसा माग्दा नडराउने त कुरै थिएन ।
‘किन चाहियो तँलाई सय रुप्पे ?’
बाले तेलको भाँडोलाई पेटीमा राखेर धोतीको टालोले हात पुछ्दै सोध्नुभयो ।
आज नरे र घने दाइ फिलिम हेर्न बजार जान ला’छन् म नि तिनीहरुसित जानी भनेर के ।’
बाले पैसो दिने या नदिने केही थाहा थिएन । तर, झुठ बोलेर मैले बासँग पैसा झार्न सक्दैन । भोलि बाले त्यो कुरा पत्ता लाउनु भो भने मेरो खैरियत नहुने कुरा मलाई राम्रोसँग थाहा छ । बासँग झुठ बोल्दाको सजाय मैले पहिल्यै भोगिसकेको छु ।
बाले केही भन्नुभएन । बिरोध पनि गर्नुभएन । पैसा दिने मेलोमेसो पनि देखाउनु भएन । दोहो¥याएर बालाई सोध्नुबाहेक अर्को विकल्प मसँग रहेन ।
‘बा, तिनीहरु जान लाइग्या छन् के, ढिलो हुन्च दिनु न छिटो ।’
बाको टाउकोमा फुलेको कपाल उखेल्ने प्रयास गर्दै मैले फेरि माग राखें । यतिका बेर सायद बा पनि सोच्नमा व्यस्त हुनुहुन्थ्यो होला । मैले छोराछोरीलाई धेरै दपसमा राख्नुहुन्न, मनोरञ्जन गर्न पनि दिनुपर्छ भन्ने बाको मनमा लागेछ क्यार ।
‘जा मेरो पाइन्ट लिएर आइज ।’
बाले खोक्दै मलाई अह्राउनु भयो । म ढिला नगरी घरभित्र छिरें र बाको पाइन्ट लिएर हाजिर भएँ, जुन पाइन्टमा बाले पैसा राख्नु भा’थ्यो । हरियो नयाँ एक सयको नोट निकालेर मतिर तेर्साउँदै भन्नु भो, ‘सप्पै नमासेस् नि, बचेको भरे आमालाई दिनू ।’
अहो ! म कति खुशी भएँ हुँला त्यो त मलाई मात्र थाहा थियो । सय रुप्पेको नोट च्याप्प समातेर भित्र छिरें । अनि गएको दसैंमा बाले किन्देको हाफ बाउला भा’ सर्ट, बेलिबटन पाइन्ट र गोल्ड स्टार जुत्ता ठोकें ।
आमाले सिन्दूर हाल्दा हेर्ने ऐनामा यसो पुलुक्क अनुहार हेरें । सबै गजबको देखिएको रै’छु– हिरोजस्तै । तर, कपाल अलि नमिले जस्तो लाग्यो । भान्सामा छिरेर भुटुन खाने तेल सिसीबाट निकालेर लपक्कै टाउकोमा घसें । लरक्क भा’को कपाललाई हातले मिलाउँदै तल खोलामा पर्खेर बसेका साथीहरुलाई भेट्न कुलेलम ठोकें ।
‘धड्कन’ फिलिमको नाम । हिन्दी ! मैले हिन्दी केही नबुझ्ने तर फाइट भने भस्मे मन पर्ने । हलभित्र फिलिम चालु छ । ‘देसी’ भाषामा के–के कुरा गर्छन् अनि फेरि गीत आउँछ । तर, मलाई मन पर्ने फाइट लास्टसम्म पनि आएन । सबैले अहो कति राम्रो फिलिम भनेर बखान गरे । तर, म त टिकटको बीस रुप्पे सम्झिदै मन दुखाएँ । त्यो फिलिम परेछ माया पिरतीवाला । आफूलाई माया पिरतीले के मजा आउनु !
भोक लाग्या जस्तो भो ।
‘जाम् छोला समोसा खान ।’
घने दाइले हलबाट निस्कनसाथ कुरा राखे । मलाई पनि छोलासमोसा मन पथ्र्यो । सबै राजी भयौं र गयौं । मसँग असी रुप्पे थियो । छोलासमोसा तीस रुप्पेमा एक प्लेट बाँकी पचास रुप्पे बचत ! मन खुशी छ । फिलिम राम्रो नभए पनि पचास रुप्पे गोजीमा भर्न पाइन्छ भनेर । बाले बचेको आमालाई दिनु भन्नु भा’छ तर बचेन भन्दिए काम कुरो मिलिहाल्छ ।
ढिला भएको थियो हतार–हतार तात्तातो छोलासमोसा हसुरेपछि घरतिरको बाटो ततायौं ।
आउँदा खोलाको बाटो हिडेर आएका थियौं त्यो बाटो छोटो थियो तर जाने बेला खेतै खेत जाने सल्लाह भयो । प्रत्येक मिनेटमा पाइन्टको गोजीमा हात पु¥याएकै थिएँ, जहाँ मेरो पचास रुप्पे थियो ।
लामा–लामा पाइला चाल्दै हामी खेतको आली अनि कुलाको डिल हुँदै अगाडि बढिरह्यौं । घने दाइ सबैभन्दा अगाडि थिए, त्यसपछि म । मेरो पछाडि रने । अलि पर पुगेपछि घने दाइ कुलाको डिलमा अडेस लागेर सु गर्न थाल्यो । मलाई भने हलभित्रै हो, दिसाले च्यापेको । कति दिसा बारेर बस्नु ? कुलामै दिसा पर्ने गरी डिलमै बसिदिएँ ।
‘छिटो गर न ठूले, ढिला हुन्च के घर पुग्न ।’ घने दाइ कराउँदै थिए ।
‘यस्ता रोगीलाई ल्याए’सी यस्तै हो, नलगम् त भन्या हम् नि मैले ।’ उता रनेले रिस देखाउँदै थियो । मलाई भने हिजो खाएको नयाँ गहुँको रोटीले गर्दा होला पेट कटक्क काटेर उठ्नै मन थिएन ।
तर के गर्नु ? रात पर्न थालिसकेको थियो । कुलाको पानी निकालेर दिसा धुन सकिन्थेन । पानी अलि तल नै थियो अनि हिलो पनि । खेतको डल्लाले पुछपाछ पारेर सरक्क पाइन्ट लाइयो– बेलिबटन पाइन्ट ।
‘कति रुप्पे बचाइस् तो केटा, आमालाई दे है ।’ लाल्टिनको सिसा पुछ्दै बाले मलाई अह्राउनु भो ।
‘सप्पै सक्कियो, अझ पुगिन र घने दाइसँग पाँच रुप्पे माग्या हम् ।’
कति सजिलै झुठ बोल्दिएँ म । तर, मनमा डरचाहिं लागिरहेकै थियो । बा केही बोल्नुभएन । म सरासर घरभित्र छिरें । जुत्ता खोलें, सर्ट खोले अनि पाइन्ट खोल्नुअघि यस्सो गोजीमा हात लगाएको के थिएँ– आफैं खङ्ग्रङ्ग भएँ ।
ला रुप्पे त छैन !
निधारमा पसिना छुट्न लाग्यो । रुन मन लाग्यो । सबै गोजी तीन–चार पटक छामें तर अहँ रुप्पे कहीं थिएन । कसैले चोर्ने कुरा पनि थिएन । कसैले मलाई छोएको पनि छैन, झन् गोजीमा हात हाल्ने कुरै भएन ।
एकछिन सोंचे– जलमा हग्न हुन्न भन्थे तेइ पाप लाग्यो ! हग्न बस्दा कुलामा पैसा खस्यो ।’ म पैसा कुलामै खसेको कुरामा ढुक्क भएँ ।
कत्रो सपना देखेको थिएँ त्यो पचास रुप्पेको बारेमा ! तर, झुठ बोलेर गोजीमा पारेको पचास रुप्पे त्यसैगरी गयो, जसरी मैले बाआमालाई ढाँटे । अनि, कुलाको डिलमा बसेर पानीमा हग्ने उट्पट्याङको सजाय पनि त्यै भो भनेर चित्त बुझाएँ ।
(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)