कथा : शशीरमाको सल

~मनिषा गौचन~Manisha Gauchan

सिमेलालले फेरि बुरुक्क उफ्रेर हातबाट फुस्केको हाँगा समात्न खोज्यो, तर यसपल्ट पनि भएन। माथिबाट जूनले नियालिरहेको थियो– हल्लिएको हाँगा, रूख, आधारातमा बास छोडेको काग र एउटा उद्देश्य पूरा गर्न तल्लीन मान्छे, सिमेलाल।अलिपरको रूखको ठुटोमाथि उभिरहेको हुचिलका आँखा झ्न् तेजिला भएर सिमेलालतर्फ तेर्सिए। केही बेरमा उसले ठम्यायो– बाँदर हैन, मान्छे रहेछ। ऊ त्यहाँबाट कुलेलम ठोक्छ।

हो, छब्बीस–सत्ताइस वर्षको युवक सिमेलाल मान्छे नै हो। ऊसँग सपना छ, समुद्रपारि गएर पसिनाले पैसा साट्ने। र त्यो पैसाले शशीरमाको खुशी किनिदिने। शशीरमा, उसको आँखामा नाचिरहने स्वास्नी मान्छे। उसको मनको तलाउमा पौडिन आउने जलपरी। उसको सपनाकी रानी। उसलाई यो पनि थाहा छ, शशीरमा अरू कसैकी स्वास्नी हुन्।

शशीरमाको श्रीमान् समुद्रपारि पसिना बेच्दैछन् या जीवन, शशीरमा स्वयम्लाई थाहा छैन। श्रीमान्लाई उनले सयपत्रीको थुँगा दिएर बिदाइ गरेकी थिइन्। आफ्नो फुल्लिन लागेको पेट सुमसुम्याएर ओरालो लागेका श्रीमान्लाई उनले तल थुम्कोमा ओझ्ेल नपरुञ्जेल हेरेकी थिइन्। शशीरमालाई पूर्ण विश्वास थियो, दुई वर्षपछि उनी केही पैसा बोकेर फर्कने छन्। गाउँमै सानो टुक्रा जमीन जोड्ने छन्। छोरा वा छोरी जे जन्मिए पनि तल बजारको बोर्डिङ स्कूलमा राख्ने छन्।

श्रीमान् विदेशिएको पाँच महीनामा शशीरमाले छोरा जन्माइन्र सबैको आँखामा भाग्यमानी ठहरिइन्। उनले श्रीमानको फोनको प्रतीक्षा गरिन्। छोरा जन्मेको खुशी बाँड्न चाहिन्। सुत्केरी गन्धमा श्रीमान्को प्रेम मिसाउन चाहिन्। तर, त्यस्तो केही भएन। उनी एक्लो भइन्। बिल्कुल एक्लो। उनले न सासूले पकाएर दिएको लोकल कुखुराको मासुमा स्वाद पाइन् न आमाले माइतबाट ल्याइदिएको मसलामा।

छोरो हुर्कंदै गयो। श्रीमान् गएको दोस्रो दशैंदेखि तल थुम्कोतिरको बाटो नियाल्ने शशीरमाको नियति बन्यो। उनले व्यग्र प्रतीक्षाका साथ पाँचौं दशैं टारिन्। सासू–ससुराको एक्लो छोरालाई विदेश पठाउन शशीरमा आफैं अघि सरेकी थिइन्। अब त, सासू–ससुराले पनि छोरा नआएको दोष बुहारीलाई दिन थाले।

विछोडको पीडामाथि रातदिनको कचकच असह्य हुन थाल्यो। उनी सात वर्षको छोरो लिएर माइत लागिन्। बुबाआमा र भाइले उनको स्वागत गरे। छोरालाई नजिकैको स्कूलमा भर्ना गरेर आफू पनि गाउँमा भर्खरै खुलेको रिसोर्टमा काम गर्न थालिन्।
गाउँकै सिमेलाल आफूभन्दा तीन–चार वर्ष जेठी शशीरमालाई सपनाकी रानी मान्थ्यो। उनी हिंडेको बाटो, उनले गाएको गीत, उनले धाएको धारा पनि सिमेलाललाई प्यारो लाग्थ्यो। ठूलो भएपछि शशीरमालाई भगाउँछु भन्ने सिमेलालको सपना थियो।

एकदिन, शशीरमालाई घरकाले बिहे गरेर पठाइदिए। आफू गरीब भएको र उमेर नपुगेकोले उनी उम्केको ठानेर सिमेलाल बेचैन थियो। शशीरमा माइत फर्केको कुराले ऊ केही हर्षित भयो। उसलाई शशीरमा झ्नै सुन्दर लाग्यो– व्यवहारले पाकेकी, भोगाइले खारिएकी एउटी परिपक्व महिला।

“तिमी त झ्नै राम्री भइछ्यौ…”, सिमेलालको बोली फुस्किहाल्यो।

“हेर न अझै तिमी भनेको …। म त दिदी पो हुँ”, शशीरमाले हाँस्दै भनिन्।

“मलाई त्यस्तो कहिल्यै लागेन शशीरमा…।”

सिमेलालले ‘शशीरमा’ भनेको मीठो लाग्यो, शशीरमालाई पनि। उनी मुसुक्क मुस्कुराइन्। भनिन् “खै, तिमी पनि के भा’को होला… बिहे गर्‍यौ?”
“छैन। अनि तिम्रो श्रीमान् नि?”

सिमेलालको प्रश्नले शशीरमालाई दुखायो। उनले भनिन्, “साउदी।” “आइराख्नुहुन्छ?”

“गएदेखिन् आउनु’भा छैन …।”

“हो र, शशीरमा?”

उनलाई फेरि पनि मन पर्‍यो सिमेलालले ‘शशीरमा’ भनेको। उनले सम्झिन्– श्रीमान्ले पनि ठ्याक्कै यसरी नै बोलाइरहन्थे, शशीरमा… शशीरमा…
घरी–घरी के–के बहाना बनाउँदै सिमेलालले शशीरमालाई भेट्न थाल्यो– कहिले बाटोमा, कहिले धारा वा पसलतिर। शशीरमाले बुझदै गइन् सिमेलालको चाह, प्रेम र आसक्ति। त्यो देखेर पहिला त अत्तालिइन्, उनी। तर, सम्पूर्ण रूपले समर्पित एउटा जवान पुरुषको अगाडि उनी पग्लिन थालिन्। उनका आँखाहरूले पनि सिमेलाललाई खोज्न थाल्यो। उसको उपस्थिति शशीरमालाई साँच्चै मीठो लाग्न थाल्यो।

शशीरमाको छोरा मावली हजुरबा हजुरआमासँग रत्तिएको थियो। सिमेलालले पनि नाबालकलाई आफ्नै छोरा सरह व्यवहार गर्न थाल्यो– अरूले नदेख्ने गरी। बालक पनि बेला बेला बिस्कुट, चक्लेट दिने सिमेलालसँग रमाउँथ्यो। त्यो देखेर शशीरमा दंग पर्थिन्।

बजार बन्न थालेको पालकोट गाउँमा बढ्दो शशीरमा–सिमेलाल सम्बन्ध धेरै दिन लुक्न सकेन। कतिले शशीरमाको छोरालाई ‘तेरो सिमेलाल बाले आज के ल्याइदिए?’ भन्दै जिस्काउन थाले। त्यस्तो बेला निर्दोष बालक छक्क पर्दै भन्थ्यो, “मेरो बाबा त साउदीमा हुनुहुन्छ।”

गाउँमा चलेको हल्लालाई शशीरमाले जबर्र्जस्त रूपमा बेवास्ता गरिन्। घरमा आमाबुबाले समेत केरकार गर्न थाले पनि उनी चूपचाप काममा लागिरहिन्। एक दिन कामबाट चाँडै फर्केकी उनले घरमा सिमेलाललाई देखिन्। आमाबुबा दुई दिनका लागि शहर गएका थिए। छोरो स्कूलमा थियो। अलि एकान्तमा थियो घर।
“शशीरमा, म तिमीलाई बिहे गर्छु” सिमेलालले भन्यो।

“म तिम्रो हुन सकुँला, तर छोरा तिम्रो हुन सक्दैन सिमे।”

“समयले बनाउनेछ।”

“खै मलाई त विश्वास छैन।”

एकान्तले अनियन्त्रित बनाइरहेको सिमेलालले शशीरमालाई अँगालोमा कस्यो। एउटा पुरुषको यौवनयुक्त ताजा स्पर्श। शशीरमाको शरीर जोडले काँप्यो। उनी बलियो भएर उभिन सकिनन्। विस्तारै सिमेलालतिरै ढलिन्। सिमेलालले उनलाई जुरुक्कै बोक्यो र कुनाको बिस्तरामा पल्टायो।

“अंकल मेरो मम्मीलाई के गरेको?”

एक्कासी बम पड्के झैं भयो बालआवाज। सिमेलाल जुरुक्क उठ्यो। शशीरमालाई छोरो यति चाँडै स्कूलबाट फर्कन्छ जस्तो लागेको थिएन। उनले ढोकामा उभिरहेको छोरोलाई शिर उठाएर हेर्न सकिनन्। उनलाई आफ्नै शरीरले पोल्न थाल्यो। दुवै हातले मुहार छोपेर शशीरमा हुरी झैं बाहिरिइन्। त्यो वेगमा छोराले सल तानेको पनि याद भएन, उनलाई। बालक सोचिरहेको थियो– सिमेलाल अङ्कलले मम्मीलाई किन पिटेको होला…। अचम्मित छोरालाई त्यसै छाडेर उनी अलप भइन्।

छोराले रिसाएको आँखाले पुलुक्क सिमेलाललाई हेर्‍यो। सिमेलाललाई ती आँखाहरू निकालेर किचीमिची पार्न मन लाग्यो।

“अंकल, तपाईंले किन मेरो मम्मीलाई…” वाक्य पूरा नहुँदै सिमेलालले कलिलो ओठ थिच्यो। बालक छटपटिंदै त्यही भुईंमा निदायो। सिमेलालले लामो सास फेर्‍यो। उसले ठान्यो– उसको सपना बिथोल्ने आँखाहरू सदाको लागि बन्द भएका छन्।

यतिबेला सिमेलालका ओठहरू काँपिरहेका छन्, शरीर पसिनाले भिजेको छ। ऊ जसरी हुन्छ त्यो हाँगा फेरि समात्न चाहन्छ। उसले देखेको उचित हाँगा नै त्यही हो। त्योभन्दा पर उसले सोच्नै भ्याएको छैन। ऊसँग समय नै छैन। यही मध्यरातमा उसले काम सिध्याउनु छ। यही समयको प्रतीक्षामा ऊ ननिदाई बसेको थियो। जब वस्ती निदायो सिमेलाल सुटुक्क बाटो लाग्यो। उसको काँधमा एउटा ठूलो झोला थियो।

जूनले देखिरहेको थियो– झोलाभित्र निदाएको बालक र शशीरमाको सल…।

आज पालकोटमा हल्ला छ– आठवर्र्षे बालकले झुण्डिएर आत्महत्या गरेको…।

साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१

(स्रोत : हिमालखबर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.