कथा : छोइएको छडी

~राजेन्द्र थापा~Rajendra Thapa

‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे…अरे… अरे! दूर रख्, दूर… तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले ठोक्नुभयो, फटाफट। ‘आ… उ…’ गर्दै कराइरह्यो, तीन कक्षाको दुब्लो, कालो, मैलो– मरिक बेचन।

हात त त्यसै पनि झा बाउन–देवताको पास ल्याउन के साहस गर्न सक्थ्यो र डोमको बच्चाले! तैपनि बारबार छडीले मार्दा ‘दूर रह, दूर रह डोम’ भन्न कहिले पनि भुल्नुहुन्न, झा सर।

मरिकले जवाफ त सही नै दिएको हो। सरले सोध्नुभएको थियो, ‘जिराफ कुन महादेशमा पाइन्छ?’

मरिकको जवाफ थियो, ‘अ फ रिका!’

‘साला डोमका बच्चा’ भन्नेजस्तो भाव देखाउँदै उद्धारका लागि झा सरले हृदयेश त्रिपाठीतर्फ हेर्नुभयो। तुरुन्त गर्वपूर्वक शिर उठाएर त्रिपाठीले अंग्रेजी टोनमा बतायो, ‘एफ्रिका।’

झा सरले हर्षनाद गर्नुभयो, ‘देख् त देख्! ब्राह्मणको बच्चाले कति शुद्ध अंग्रेजी बोलेको छ! ब्राह्मण भनेको ब्राह्मणै हो। उसको त जिभमै सरस्वती माताले विराजमान गर्नुहुन्छ। अ फ रि का रे! नेपालमा छ र एफ्रिका, नेपालीमा बोल्छस्, अ फ रिका? साला गधा डोमको बच्चा। तब त म कहन्छु नि प्रधानाध्यापकज्यूलाई बारबार– यी दुसाध, डोम, चमार और मुसहरका छोराहरूलाई के पढाउनु! जति पढाए पनि बुझ्ने–समझनेवाला छैनन्। समयको बर्बादीमात्र। बरु भैंसालाई पढाए पास गरिहाल्छ, इम्तिहानमा पनि फटाफट… हाहा। मलमूत्र साफ करने अलावा यी अछुतका बुद्धिमा ज्ञानको कुरा आउनै सक्दैन। दिना भद्रीजस्तो देवता त यिनका कुलदेवता! अछुतका देवता भी अछुत। अनि कहाँ से आउँछ त बुद्धि?’

उमेरले एघार काटे पनि तीनमै पढिरहेको लल्कु सदाले मन्द आवाजमा भन्यो, ‘सर, देवता त सबै उही हो भनेर पाण्डे सरले पढाउनुभएको छ नि। देवता पनि अछुतको अलग…’

लल्कुलाई बीचमै टोक्दै झा सर चिच्याउनुभयो, ‘अरे त्यो बनारसी पन्डाको सन्तान शशिभूषण पाण्डेको सर्टिफिकेटै दरभंगाको हो। त्यसलाई के जानकारी छ? ब्राह्मणको देवता ब्राह्मणैजस्तो उच्च हुन्छ। शूद्रका लागि ब्रह्माजीले आफ्नो मलमूत्रबाट शूद्र देवता उत्पन्न गर्नुभएको हो। मलमूत्रबाट उत्पन्न देवताको बुद्धि त मलमूत्रैबाट बन्ने हो। लौ खाइहाल् तँ पनि तेरै अछुत देवता दिन भद्रीको परसाद सम्झेर,’ झा सरले लल्कु सदाका टाउका र शरीरमा दुई–तीन बार फटाफट ठोके, छडी।

लल्कु सदासित उठेको रिस थामिनसक्नु भइरहको बेला, अचानक फुच्चे समीर यादवले भन्यो, ‘सर, मेरो आमाले त हरिजनहरूलाई भगवान्को पयरबाट उत्पन्न गराएको भन्नुहुन्छ, मलमूत्रबाट त हैन।’

झा सर रिसाएर समीर यादवलाई छडीले ठोक्न अघि बढ्नुभयो। तर अचानक अडिएर छडी टेबुलमा राख्दै सुनील श्रीवास्तवलाई भन्नुभयो, ‘ए सुनील जा त। ट्युबवेलमा यो छडी धुलार शुद्ध बनार आइज। यी कुत्ताहरूले छोइदिए मेरो छडी। छिटो ले, यो शूद्रको नेता बन्न खोज्ने यादवलाई पनि ठिक पार्नुपर्ने छ। डोमको साथले डोमै भइसक्यो यो यादवको बच्चा पनि।’

सुनील ठाकुरले धोइपखाली छडी ल्याएपछि दो छडी समीर यादवलाई खिलाइहाल्नुभयो, झा सरले। ‘अब त बुद्धि सामने आइहाल्यो होला तेरो? लाठीले नठोकी यादवहरूको भि बुद्धि आगे ललाटमा कहाँ आउँछ र?’

अचानक छुट्टीको घन्टी बज्यो ट्वाङट्वाङ। हाहा गरेर कराए सबले। अनि झोलमा बस्ता मिलाएर हिँड्न थाले।

सर कराउनुभयो, ‘ठहर् ठहर् ठहर्, पहले होमवर्कको कापी बुझाइहाल् सबले, फटाफट। भोलि शनिश्चर छ।’

केटाहरूले पनि हारालुछ गरेर टेबुलमा कापी थुपारे। ‘अरे अरे अरे, तिमीहरू हरजनहरूले पनि किन राख्छौ कापी यहाँ? कति बार कहूँ, तिमीहरूको कापी, बस्ता, पुस्तक म छुँदैन भनेर। अरे ए, तिमी हरिजनहरू सबले निकाल् आ–आफ्नो कापी। रविबार तिमीहरूको मात्र यहीँ कक्षामा अलगै चेक गर्नेछु। निकालिहाल् फटाफट, साला हरिजनहरू।’

शोभाकान्त सरले यसो भनेपछि रमेश मरिक र चन्द्र मुसहरले कापी निकाले। अरू अछुत भनिनेहरूले त कापी राखेकै थिएनन्। उनिहरूको होमवर्क झा सरले कहिले पनि हेर्नुहुन्न। त्यसैले धेरैले झा सरको होमवर्क गर्दैनन्।

कक्षामा कहिलेकाहीँ मात्र परैबाट ‘के गरिस् तैंले, भन् त?’ भनेर होमवर्क सोध्ने गर्छन् कुलीन जातका कतिपय सरले। अछुतहरूलाई त सबै जातका सरहरूले अपमान गर्ने नै भए। तर बाहुन सरहरूका लागि भने यादव, कायस्थलगायत सबै जातका विद्यार्थीलाई समेत छिनछिनमा जातको नाम लिएर होच्याउनु सामान्य छ।

गुरुहरूबाटै हर क्षण जातकै उचनिचता बोलिने तथा हेपिने गरिन्छ। यसैकारण विद्यार्थीबीचमा पनि आपसमै हेला र भेदभावको आगो व्याप्त छ। हरिजनहरूलाई पछाडि बेन्चमा मात्र बस्न दिइन्छ। त्यहाँ पनि कोही अरू साथमा बस्दैनन्। खेल्दा पनि अछुतका साथ पर्न खोज्दैनन् कोही पनि। फुुटबलसमेत छोइन्छ, यिनीहरूको दिमागमा।

‘सब डोमहरूले पाइखाना साफ गरेर मात्र घर जाओ। माथि टिचरको पनि साफ गर्न नभुलिहाल्। अलि बुद्धि लगाएर मलेर साफ गर्नु। फोहर रह्यो भने पर्सि देखाउँछु तिमीहरूलाई त्यै दिना भद्रीको बाउको सादी, स्साला शूद्रहरू!’ यसो भनेर शोभाकान्त झा सरले कक्षाकोठा छाड्नुभयो।

अरू विद्यार्थीहरू भागाभाग घरतिर लागे। हरिजनहरू सफाइतिर। यो नियमित हो यहाँको। सरकारबाट आउने पाइखाना सफाइ गर्ने कर्मचारीको बेतनले चमेना खान्छन्, कुलीन जातका सरहरू।

००

झा सरको छडीले बेचनको हातभरि घाउ लागेको छ। रगत बगिरहेको छ। तर पनि पाइखाना सफाइ गर्योउ उसले। स्कुल छाडँूछाडूँ लाग्यो। यस्तै अपमान र कुटपिटका कारण उसका अन्य धेरै दलित साथीले छाडिसके।

बुद्धिलाल हरिजनले सबैभन्दा पहिले छाड्यो। उसको त कहानी अझ बेग्लै छ। शशिभूषण पाण्डे सरले क्लासमा चमार जातलाई होच्याउने उखान प्रयोग गरेर क्लासलाई हँसाउनुभएको थियो। सर निस्केपछि साथीहरूले पनि उही उखान प्रयोग गरेर बुद्धिलाल हरिजनलाई गिल्ला गरे। लफडै भयो।

प्रधानाध्यापक र अरू शिक्षककहाँ रिपोर्ट गरियो। उनीहरू आफैं क्लासमा आए। अनि उल्टो सरहरूले बुद्धिलाललाई नै कुटे। पछि गाउँका अरू हरिजनहरूको सहयोगमा कानुनी बाटो लिन खोजियो। प्रहरीले मुद्दा दर्ता गर्नै मानेन। त्यसपछि बुद्धिलाल स्कुल आउनै छाड्यो।

सर र साथीहरूबाट भएको जातीय अपमान, दमन र कुटपिटका कारण विशाल मरिकले पनि स्कुल छाड्यो। त्यसपछि रमेश मरिक, अजय मरिक, निरज मरिक, आकाश मरिक र मनीष मरिकले पनि पढ्न छाड्यो। अब दशरथ मरिक र बेचनमात्रै डोम जातका बाँकी छन्, कक्षा तीनमा।

बेचन पढाइ छाड्न चाहँदैन। दस वर्षको उमेरमा तीन कक्षा पढ्दै छ। उ मेटि्रक गर्न चाहन्छ। पढेपछि यो गाउँ नै छाडेर काठमान्डु गएर काम गर्ने सपना छ उसको। मधेसमा दलितहरूको कुनै अस्तित्व छैन भन्ने चेत आएको छ आजभोलि ऊ र ऊ जस्ता अरू दलितमा। मधेस आन्दोलनपछि त झन् ब्राह्मण र यादवहरूको राज बढेको छ, दलित र गरिबमाथि। यादवहरू नयाँ राजा! ब्राह्मण त त्यसै पनि देवता, उहिलेदेखि नै!

यस्तो सोच्दै बेचन घर पुग्यो। आमा काजल मरिकले घाउ देखेर कराई। तर के भयो सोधिन। किनकि उसलाई थाहा छ, के भयो भनेर। यी नियमित घटना हुन्, जुन आफैंले पनि खेत खलिहान, दुकान, कुवा, मन्दिर जताततै भोगिरहेकी छे। तेह्र वर्षमै सादी गरेकी उसले चौधमै बेचनलाई पाएकी हो। काजल आफैं चौबीसकी भई।

साँझमा मरिकलाई धेरै ज्वरो आयो। ऊ काँप्न थाल्यो। पानीपानी भनेर बेचन कराउन थाल्यो। रक्सी टन्न गोदेर आएको लोग्ने किशोर मरिकले सब पानी पोखाइदियो। गाउँको ट्युबवेलबाट दलितहरूले पानी तान्न पाउँदैनन्। गाउँबाहिरको कुलोबाट लिनुपर्छ दलितहरूले।

डोमनी काजल दुई मट्का शिरमा राखेर अँधेरोमै हिँडी, अछुतहरूको कुलाबाट पानी लिन। घरबाट निस्कनेबित्तिकै अचानक बाघ हो कि खै के हो, कुनै जनावर करायो। काजललाई डर लाग्यो। छोरालाई कुट्ने शोभाकान्त झा सरको घरको ठिक सामुन्नेको सवर्ण (कुलीन) हरूको ट्युबवेलको नजिक पुगी। त्यहाँ दलितहरूलाई बन्देज छ। तर यतैको पानी भर्ने विचार आयो। आसपास कोही देखिन।

काजलले आवाज ननिकाली बिस्तारै ट्युबवेलको ह्यान्डल मार्दै पानी भर्न थाली– तुर्रर तुर्रर…। मन ढुकढुक छ। कोही आइहाल्छ कि? छिनछिनमा चारैतिर हेर्दै छे। यौटा मट्का भरियो। अर्को पनि भरी। शिरमा यौटा मट्का राखी। अचानक कसैले उसको हात पक्रियो।

औंसीको रातमा मान्छे चिन्न सकिन। त्यो मान्छेले भने काजललाई चिनेछ र भन्यो, ‘साली डोमनी, दिनमा छोराले मेरो छडी छुन्छ, रातमा तँ तेस्की अम्मा आएर हामी ब्राह्मणहरूको ट्युबवेल छुन्छस्?’

काजलले पनि चिनी। लल्याकलुलुक भई। पिसाबै चुहियो डरले। अब के हुन्छ थाहा छ उसलाई। अहिले नै हल्ला गरिन्छ। उसलाई रस्सीले बाँधिन्छ। पानीले शरीर भिजाएर सिस्नो लगाइन्छ। लाठीले कुटिन्छ। भोलि बिहानै ठूला जातहरूको पञ्चायत बसिन्छ। ट्युबवेल चोख्याउन बीस हजारको जुर्माना गरिन्छ। तिर्न नसक्ने भनेपछि बनिया लक्ष्मी कायस्थले तुरुन्त घरको गिरवीको कागजात बनाएर पञ्चायतलाई जुर्माना तिरिदिन्छ। थोरबहुत सबैलाई बनियाले परसाद बाँटिहाल्छ। एक सालबाद ब्याज चौराएर घरजमिन आफ्नो नाममा गरिहाल्छ, बनियाले। यसरी गाउँबाटै निकालिन्छ। नियमित सिलसिला हो यो, दलित र गरिबका लागि मधेसमा। देखेेकी छे, बारबार काजलले यस्ता दुर्दशा। यो दुर्दशा अब ऊ आफैं भोग्दै छे, यसपटक।

काजलले कामेर भनी, ‘ब्राह्मण देवता, माफ गरिहाल्नुस् यसबार। बेचन बिमार छ, उसको बापले शराब पिएर पानी पोखिदिएको छ। रातको बखत उता जान गाह्रो छ। शेर कराएको छ। हजुर माइबापले जे भन्नुहुन्छ म गरिहाल्छु। हफ्ताभर फिरी काम गरिदिन्छु। माफ देदो सरकार, माइबाप!’

अझै काजलको हात ब्राह्मण देवताले छाडेका छैनन्। काजलको कुरा सुनेर देवता खुसी भए। नरम आवाजले भने, ‘हप्ताभर किन दुःख गर्छेस्, काजोल? दस–ग्यारह मिनेट दुख्ख गर्।’ यसो भन्दै तान्दै काजललाई उखुबारीमा घिसारेर लगे।

काजल कराई, ‘ब्राह्मण देवता म डोमनी हो। छोइन्छ। हजुरलाई पाप लाग्छ। त्यसो नगर्नुस् नगर्नुस्। सर पेसाब चुहेको छ। छोइन्छ, छोइन्छ।’

‘छडी हो र छोइनलाई लाटी? छुने जगहै हो नि। बुद्धु लड्की! तँमाथि मेरो आँखा परेको बहुत साल भयो। सिनेमाकै काजोलजस्ती पो छिस् तँ। चुप लाग्। फटाफट। कराइस् भने…।’ काजलको मुख थिचिसकिएको थियो। उसको आवाज बाहिर आउनै पाएन।
ठिक एघार मिनेटपछि सरले यौटा भरेको मट्का आफैंले बोकेर काजलको शिरमा राखिदिए। अर्को मट्का त अघि नै सरले समाउँदै खसेर फुटिसकेको थियो।

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.