कथा : उ देश फर्कियो

~सन्तोष पौड्याल~Santosh Paudyal

बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त खुट्टा राख्ने ठाउँं पनि हुँदैन। बिशाल सरासर किचनको पुछारमा पुग्यो। मेसिन अन गर्‍यो र युनिफर्म लगाउन क्याबिन छिर्यो। फटाफट पोशाक मिलाएर फर्किदा मेसिन दुरुस्त भईसकेको थियो। टेबलभरी जुठा भाँडाको डुङ्गुर लागेको थियो। कुक र सेफहरुले यो चहियो, उ चहियो भन्न शुरु गरिहाले। सेकेन्ड पनि खेर नफाली उसले भाँडा घिस्न सुरु गर्‍यो।

घर नछाडुन्जेल सात बजेसम्म सुत्ने बिशालको सानैदेखिको बानी थियो। गाउँभरीका केटाकेटिले डेरिमा दुध पुर्याएर साइकलको पछाडि एक मुठा घाँस बोकेर आइपुग्दा पनि उ सुतिरहेको हुन्थ्यो। घाम माथि आइसकेपछी चिया बोकेर आमा ओच्छ्यान पुग्थिन्। अनेकथरी गाली गरेपछी उ आँखा मिच्दै उठ्थ्यो।

“नपढेर सुतिराख् । भोलीपर्सी भाँडा माझ्दा सम्झेलास् नि।” आमा सधैं भन्थिन्।

“ह्या किन पढ्नु पर्‍यो? बा जस्तै नेता बन्छु नि” उसले भन्थ्यो।

बिशालका बा प्रधान त्यो क्षेत्रका ठुला नेता हुन। देशमा बहुदल पछीको जेठो प्रजातान्त्रिक पार्टीको नेता। संसद र राज्यमन्त्री भैसकेका।

……………

ब्रेकफास्टका भाँडा माजिसक्दा बिहानको दस बजिसकेको थियो। बिशाल बाहिर निस्कियो। सिमलको भुवा झै हिउ उडिरहेको थियो। ट्याक्टरहरु बाटोमा नुन छर्न र हिउ सोहोर्न ब्यस्त देखिन्थे। बाटाभरी लाइट बलेका थिए। बटुवा मुस्किलले देखिन्थे। लामा गाडी र ट्राम सडकका सङ लागेका थिए। सडकपेटी हिउ ओढेर मस्त निदाए जस्तो देखिन्थ्यो। त्यही पेटिको मेचमा ऊ अढियो र निलओठमा मालब्रो च्याप्यो। उसले फ्याकेको धुवाले कलात्मक आकृति बनायो र अलिपर पुगेर हरायो।

“युरोपको जीवन पनि यही धुवा त रहेछ नि” मनमनै बिचार गर्‍यो “सुन्दर बनाउछु भन्दाभन्दै बिलिन भईने”।

खल्तिबाट अाइफोन झिक्यो र फेसबुकमा आँखा घुमायो। ग्रुप मेसेज आएको रहेछ “नेक्ला एडेड यु इन अ ग्रुप”।

स्क्रिन तलपट्टी घोट्यो। मेसेजमा लेखेको थियो “नेप्लिज कम्युनिटी इन लण्डनको आयोजनामा भोली संसद भवन अगाडि नाकाबन्दिको बिरोधमा धर्ना दिने। उसको आँखा मोबाईलको दाँया सिरानमा पर्‍यो। ब्रेकको दश मिनेट सकिएछ। भित्र छिर्यो।

खानेकुरा पकाएका बडेमानका डेक्ची, बर्नर, बर्नर स्ट्यान्ड र डडेर कटकटिएका बर्नर प्लेटहरुले टेबल ओगटिएको थियो। हातमा युटिलिटी ग्लोब्स लगायो। र साबिक कै रफ्तारमा काम सुरु गर्‍यो। केहीबेर मै लन्चका प्लेटहरु आउन सुरु गरे। ऊ असिन-पसिन भयो।

दिउसो तीन बजे उसको सिफ्ट सकियो।

……….

टाउकोदेखी घुँडासम्म आउने घम्लङको ज्याकेट लगाएर बिशाल मार्बल आर्च अन्डरग्राउन्ड प्लेटफर्म अाइपुग्यो। ऊ पहिलो पटक २०१० को समरमा यस प्लेटफर्म हुँदै क्यासियोबरी हाउस पुगेको थियो। पहिलो पटक लण्डन देख्दा उसलाई स्वर्ग पुगेजस्तो लागेको थियो। सफासुग्घर बाटो, फरकिला पार्कहरु, बाटोको छेउछाउमा फक्रिएका रङिबिरङी टुलिप फुल। आधा शहर ओगटेका म्युजियमहरु। चोक-चोकमा ठडिएका शालिकहरु। साच्चै जिवित लाग्यो यो शहर उसलाई।

टलक्क टल्किदै आएको मेट्रोले उसको ध्यान मोड्यो। ऊ मेट्रोभित्र छिर्यो। बिशाल बसेको अघिल्तिर हातमा टि-स्केल र ड्राफ्टर बोकेका एक जोडी आएर बसे।

“यो के हो?” बिशालले सम्झियो।

“यो टि-स्केल अनी यो ड्राफ्टर”। बिशालले आमालाई बुझाएको थियो “यस्ले नक्सा नाप्ने काम गरिन्छ। नक्सा भनेको घर, पुल, बाटोको सानो चित्र।”

त्यो दिन आमाको आँखामा बिचित्रको सन्तुष्टी देखिन्थ्यो। झर्नै खोज्दा आँचलले आँखामै लुकाएर राखिन्। बिशालले नदेखे झै गर्‍यो। उनले गाउँभरी छोराको बढाइ गर्दै हिड्थिन्। भन्थिन “मेरो छोरो त इन्जिनेर बन्ने भो, पुल बाटो, ठुल्ठुला घर बनाउने काम गर्ने रे!”

त्यस दिन यता अबेर सम्म सुत्ने बिशाललाई उसकी आमाले कहिल्यै भनिनन् “नपढेर सुतिराख् । भोलीपर्सी भाँडा माझ्दा सम्झेलास् नि।”

एकघन्टा मेट्रो सयर गरेपछी ऊ क्यासियोबरी हाउस पुग्यो। कक्रक्क परेको ढाडलाई बिस्तारामा अड्याएर ल्यापटप चलाऊन थाल्यो।

……….

आईतवार। बिदाको दिन। बिशाल अबेर उठ्यो। अनलाइन खबरहरु हेर्यो। फेसबुके राष्ट्रियता देखेर उसलाई वाक्क लागेर आयो। खाजा-ज्युनार गरेर संसद भवन अगाडि हुने धर्नाको लागि तयारीमा जुट्यो।

११ बजे घरबाट संसद भवनतिर सोझियो। १ बजे सबै जम्मा भए। एकछिन नाराबाजी र धर्ना भयो। ज्ञापन पत्र बुझाईयो। टाउकेहरुले भाषणबाजी गरे। सबैले फोटो-सेसन गरे, मानौ यो फोटो महोत्सब हो। धमाधम सबैले फेसबुकमा अपलोड गरे। अनी अरु कार्यक्रममा झै नेता-सराप्ने सत्र सुरु भयो।

एउटा नागरिकको देशप्रतिको जिम्मेवारीको बारेमा कसैले बोलेन। राष्ट्रको लगानिमा उच्च-शिक्षा हसिल गरेर युरोपमा भाँडा मस्काउने बिबेक-दोसलाई कसैले हेरेन। देश-निर्माणको एक इट नागरिक पनि हो भन्ने कसैले बुझेन। प्रयास नगरि केही प्राप्त हुन्न भन्ने कसैले सोचेन।

हरेकका बोली र बयानमा पनि कुनै भेद थिएन त्यहा। एउटा कुरा भने अचम्म थियो। जती उफ्रेर नेता सरापे पनि धेरैजसो कुनै न कुनै पार्टीको प्रबास संगठनका सदस्य थिए। कामबाट फुर्सद मिल्ने बित्तिकै पार्टीका झन्डामुनी स्वार्थ-जिलो गर्न जम्मा हुन्थे। हरेक महिना नेपालमा लेबी भर्थे।

उसले उपस्थित सबैको मुहार पढ्यो। सबैजसो उच्चशिक्षित थिए। आर्टस, एजुकेसन पढ्ने कम र बिज्ञान ब्यवस्थापन पढेका धेरै । केही डाक्टर र इन्जिनियर । चिने जती सबैलाई आफ्ना आँखाभित्र राखेर हेर्यो। सबैको नित्य कर्म होटेल, रेस्टुरेन्टमा भाँडा माझ्ने वा डिपार्टमेन्टल स्टोरहरुमा एकबिहानै मोप लाउने वा फ्युल स्टेसनमा पेट्रोल भर्ने । कुनै नेपालीलाई काममा बिभेद गरेको छैन लण्डनले। चाहे कोही डाक्टर होस् वा इन्जिनियर लगाउने काम समान।

उनिहरु सामाजिक सन्जालमा नेपालको झन्डा राख्नुलाई नै राष्ट्रप्रेम मान्छन्। छापामा आएका नेताका नकाम टिप्पणी पढेर क्याप्सनमा गाली कोरी पोस्ट गर्नुलाई राष्ट्रियता ठान्छन्। अनी देशमा केही हुन्न भनेर डिग्रिका खातलाई सुटकेसको एक किनारामा पोको परेर अर्को बिहानै ठुला ठुला स्टोरहरुमा मजदुरी गर्न जान्छन। कसले भन्दिने यिनिहरुलाई रास्ट्रियताको परिभाषा यो भन्दा धेरै फराकिलो छ भनेर। अनी भनेर पो के बुझ्छन् यिनिहरु, ब्रह्मज्ञानी जो आँफैलाई मान्छन्। अरु सब बकबास। बिशालले पनि लण्डनका लागि पाइला उचाल्दा यसै गरेर नेपाललाई सरापेको थियो। नेपालमा जन्मनु प्राकृतिले आफुप्रती गरेको अन्याय मानेको थियो । सपनाको देश लण्डन पुगेर टुरीष्ट भिषामा मात्र नेपाल आउने प्रण गरेको थियो।

…….

२०५२ सालमा बिशालले भर्खर एस एल सी टेकेको थियो। राजनीतिमा निष्ठा र नागरिकमा इमान्दारिको खडेरी पर्दै थियो। आपसमा बाझिने सिध्दान्त बोकेका पार्टीहरु घाँटी जोडेर सरकार बनाउथे। बिपक्षी देश-बिदेश पाउलगी गरेर ढाल्थे र आफु सत्तासिन हुन्थे। फेरी अर्को चक्र सुरु हुन्थ्यो। संसद हरु डमिका पोशाक जस्ता भएका थिए। पैसा हुनेले किनेर आफुनुकुल प्रयोग गर्ने। राजनीतिमा अर्थले ठुलो अर्थ राख्न थाल्यो।

तिरो तिर्न समेत कर्मचारीलाई चिया खान दिन पर्ने बेला आयो। कान्छाबाको पाटो बेच्दा भातिजोले कमिसन खान थाल्यो। फिस तिरेपछी डाक्टरले गर्वमै छोरी निमोठ्दियो। पैसाले जे पनि र जस्तो पनि गर्न मिल्ने जुग जन्मियो।

यसै गन्जागोलको बिचमा उ साइन्सको प्रबिणताधारी भयो र इन्जिनिएर बन्न काठमाडौं आयो। देश आगोमा गुज्रिरहेको थियो। सालीकहरु धमाधम ढल्दै थिए। संचारका स्तम्भ धुलिसाफ हुँदै थिए। कति कुमारीका झिल्ली च्यातिए। कति जवानका घाँटी रेटिए। कति दुधेबालकका स्तन सुके। कुनै हिसाब थिएन।

वाकमेनको ठेसो कानमा कोचेर बिशाल क्याम्पस झर्दै थियो।

“प्रधानसहित जिल्लाका सबै कार्यकर्ता कम्युनिष्टमा प्रबेश” थापाथलीको सडकपेटिमा समाचार सुन्यो। उसलाई अचम्म लागेन। हिजोआज उसका बालाई गाउँघरमा हिंड्न पनि मुस्किल परेको थियो। साँझमा आउने पाउनाले भनेको नमाने सफाया गर्छु भन्थे। बिहानै सेना आएर सहयोग नगरे गोली ठोक्छु भन्थे। डडेलो मुनिको दुलोमा बसेको मुसाको झै बन्यो जीवन। भित्रै बसे भोकले मरिने, बाहिर आए पोलिएर मरिने। यसैबिचमा प्रधानले मध्यमार्गी बाटो रोजे। उदार कम्युनिष्टको छबी बनाएको पार्टीमा छिरे। अनी वन र ब्यारेक दुबैको आँखी हुनबाट जोगिए।

बिशालले जसोतसो इन्जिनियर पास गर्‍यो। उसले एक-डेढ बर्ष एन्जिओमा जागिर खायो। काम नहुने, रिपोट धेरै गर्नुपर्ने। १० घरमा सोलार जोढ्यो, २५० घरको रिपोट बनाएर पठाउनु पर्ने। फर्जी नाम सम्झनैको हैरान। तलब लिने दस हजार, सहिछाप लाउनु पर्ने पच्चिस हजारमा। उसलाई बिरक्त लागेर आयो। अली अली पढेको पनि माटिने हो कि? भन्ने चिन्ता पर्‍यो। उसले हठातमा जागिर छोड्ने निर्णय गर्‍यो। उ फेरी राजधानी छिर्यो र सरकारी जागिरको तयारीमा जुट्यो।

आशालाग्दो तयारीपछी परिक्षाका लागि रात्रीबसमा काठमाडौं छोड्यो। ९ बजे गाडीले लमइ पुर्यायो।

“१ घण्टामा तुलसिपुर।” मनमनै बिचार गर्‍यो “११ बजे परिक्षा”।

अली अगाडि पुग्दा जिपले १४ बर्षको बच्चालाई किचेछ। गाडीको जाम लाग्यो। तोडफोड मच्चाउदै एकहुल बजारतिर आए। पुलिसले नियन्त्रणमा लिन खोज्यो। ढुङ्गा, अश्रुग्यास, रबरका गोली हानाहान हुन थाल्यो। आन्दोलनकारीले अनिस्चितकालिन बन्द घोषणा गरेर माग तेर्स्याए। मृतकलाई शहीद घोषणा, घाइतेलाई क्षतिपुर्ति र दोसीलाई कारवाही। बिशाल बाटोमै अल्मलियो। दिनभरको जात्रा सकेर राती काठमाडौं फर्कियो।

ऊ धेरै पटक जागिरका लागि भौतारियो। सुन्य- सुन्य भयो। हरेस खाएन। बरु दृण अठोट लियो र आफ्नै उद्यम गर्न कस्सियो। अरुका लागि जागिर सृजना गर्ने सोच बनायो। तराइको जमिन धितोमा राखेर ऋण काड्यो। बालाजुमा सोलार बत्ती निर्माण गर्ने लघु उद्योग खोल्यो। तीन महिना त ईलमले ठिकै गती लियो। त्यसपछी ऊ पारीजिवी पोथ्राले बेरिन थाल्यो। घरबेटीले एक्कासी एक चौथाइ भाडा बढाउने उर्दी गर्‍यो। हप्तै पिच्छे गुण्डाहरु पैसा उठाउन ओइरिन थाले। यो ग्याङ त्यो ग्याङ सम्हाली नसक्नु भयो। छ महिना पुग्दा त कर्मचारीलाई तलब ख्वाउन नसकिने भयो। जसोतसो १ बर्ष घिस्रियो। १३ महिनामा टाट पल्टियो।

उसँग पाखुरी छन बजार्नलाई, तर कता पर्ने हो देख्दैन। हिंड्नलाई गोडा छन् बलिया, तर अगाडि दलदल छ कि फराकिलो राजमार्ग थाहा छैन। ज्ञान छ गिदीभरी तर बिसाउने ठाउँ छैन। आँखामा कुइरीमन्डल लाग्यो। अब चाही साच्चै दिशाबिहिन भयो। मन बुझाउन केहि पाएन। आँखा अगाडि उसले घर मात्र देख्यो। आफ्ना बा-आमा देख्यो। बह पोख्न बतास्सिएर घर पुग्यो। संबिधान-सभाको चुनाव मुखमा आएको थियो। घर अगाडि टेन्ट लगाएर कुनै पार्टीको कार्यक्रम हुँदै थियो। ऊ भित्र हेलियो। थाहा पायो, प्रधान त दल-बल लिएर पार्टी प्रबेश गर्दै रहेछन्। ऊ तिनछक पर्‍यो।

कुरा २०३० सालतिरको हो। बिशालका बा भर्खर पहाड छोडी तराइ झरेका थिए। त्यो बेलामा तराइका गाउँ गाउँमा जमिन्दारहरुले राज गर्थे। पञ्चयातको आडमा सर्वजनिक सम्पत्ति र श्रोतहरुमा उनिहरुको हालीमुहाली चल्थ्यो। आफुहरुलाई राजासाहेब भनेर चिनाउथे। प्रत्येक क्षेत्रमा एउटा राजासाहेब हुने गर्थ्यो। माथिबाट कोही आयो भने तिनै राजासाहेबको घरमा बस्थे। आउने पाउनालाई माछा, लोकल कुखुरा, हरिण र बदेलको मासु ख्वाएर चाकरी गर्थे। बेलाबखतमा पाउर पनि पठाउँथे। बोलिचालिमा सिपालु बिशालका बाले तिनै राजासाहेबकोमा चाकरी गर्ने काम पाए। राजासाहेब र आसेपासेलाई सर्जाम जुटाउने उनको काम थियो। काम गर्दै जाँदा उनी राजासाहेबका खास मान्छे बने । समय टहल्दै गयो। पञ्चायत ढालेर बहुदलिय प्रजातन्त्र स्थापनाका लागि तराइमा थुप्रै समुहहरु जन्मन थाले। उनिहरुको मुख्य निशानामा तिनै पुजिपती, शोषक जमिन्दार पर्न थाले। गाउँभरी चेतानाको ज्वार उठ्न थाल्यो। प्रधानपञ्चको चुनाव आउने बेलासम्म त राजासाहेबको पक्षमा गाउँभरमा राजासाहेब र बिशालको घर बाहेक कोही पनि भएन।

चुनावमा उमेद्वारी दिए कारवाही गर्ने घम्की आउन थाले। राजा हच्किए। उनलाई दुबिधा भयो। चुनावमा नउठ्दा डरायो भन्ने झ्याली पिटिने, उठ्दा ज्यान जोखिममा पर्ने। राजासाहेबले जुक्ती निकाले। बिशालका बालाई आफ्नो तर्फबाट अघी सार्ने।

एक बिहान बिशालका बालाई बोलाएर आफ्नो योजना सुनाए। बिशालका बाले छेउ-पुच्छर केही बुझेनन्। मालिकको आज्ञा शिरोपर गरे। चारैतिर राजासाहेबको नोकर नै राजासाहेबको बिरुद्धमा उठ्यो भन्ने हल्ला पिटाइयो। चुनाव नहुल्जेल राजासाहेब र बिशालका बा देखिने गरी भेटघाट गर्न बन्द गरे। मतदाताका आँखामा छारो हालियो। बिशालका बाले बहुमतले चुनाव जिते। त्यसदिन यता उनको नाम प्रधान भयो।

प्रधानले राजासाहेबको ईशारामा काम गर्न थाले। गाउँ वरिपरिका सरकारी जमिन र जलाशय आफ्नो नाममा दर्ता गरे । बनजङ्गल मासेर दार बेचे । राजा सँग मिलेर उनले तिनपुस्तालाई पुग्ने सम्पत्ति जोडे। प्रधान भएको केही बर्ष मै उनी नयाँ राजा भएर उदाए।

पैचालिस सालसम्म अाइपुग्दा राजासाहेब गाउँबाट हिडिसकेका थिए। पञ्चायत कमाएर कुबेर बनेका उनी राजधानी सरेका थिए। सम्पत्तिको त गाउँमा पनि के अपुग थियो र। बहुदलबादीले काट्लान् कि? भनेर उनी राजधानी भासिएका थिए। प्रधानले अन्नको आयस्ता उतै पठाइदिन्थे।

सालको अन्त्यतिर प्रधानलाई पनि गाउँमा अली सास्ती बेसाउनु पर्ला कि जस्तो भो। बिहानै, सम्साझै र रातिबिखयमा नयाँ नयाँ मान्छे हरु गाउँको फन्को मार्न थाले। उनका हरुवा-चरुवा सबैलाई भड्काउन थाले। उनले थाहा पाए, उनकै मान्छेहरु पाटिमा लागेका छन रे। राती राती मिटिङ बस्छन् रे। उनलाई आफ्नै धारमा घेरिए झै लाग्न थाल्यो। राजनीतिमा लागेर बल, बैभब आर्जिसकेका उनका गिदिका केश्रा अली अली बुद्दीले पनि ओसिला भईसकेका थिए।

उनले जुक्ती निकाले ” यो तालले गाउँमा बस्न गाह्रो हुने भो। भन्नेबित्तिकै यहाँको जायजेथा बिक्री हुँदैन। राजासाहेब झै तत्कालै काठमाडौं बस्ने गच्छे पनि छैन। अब नयाँ पटिमा लाग्नुपर्छ।”

भित्रभित्रै ठुलो पार्टीको सदस्य बने।

बहुदल पछीको पहिलो चुनावलाई डिलमा बसेर हेरे। आफ्नो पार्टीलाई खुला मनले आर्थिक सहयोग गरे। चुनावको नतिजा आयो। लगानी खेर गयो। तर उनको पार्टी देशकै ठुलो पार्टी भएर उदायो। दोश्रो चुनाव “जसको लाठी, उसको भैंसी” बन्यो। पैसाको खोलो नबगाइ चुनाव तर्न गाह्रो पर्ने जमाना आयो। राजनीतिमा लखतरान परेका प्रजातन्त्रका हिमायाती हुँ भन्नेहरु पनि बिना पैसा चुनाव नजितिने निक्यौलमा पुगे। सबैको आँखा प्रधानमा पर्‍यो। उनी संसद हुँदै राज्यमन्त्री बने।

मन्त्री भएपछिका केही बर्ष प्रधानले एकछत्र राज गरे। जब देशमा गृहयुद्ध मच्चिन थाल्यो, उनलाई गाह्रोसारो पर्‍यो। बेला-बिसेक हेरेर उदार कम्युनिष्टतिर लागे। र ज्यानसम्म जोगाए।

देशको राजनीति थिग्रिन थाल्यो। शान्तीबार्ता हुँदै संबिधानसभाको चुनावसम्म अाइपुग्दा उनी फेरी अग्रभागमा देखिए।

धन र जन कमाएका उनले उमेदवारका लागि दाबी गरे। पार्टीमा तिब्र बिबाद भयो। पन्चायती पृष्ठभूमि भएको चैतेलाई टिकेट दिए जिल्लामा बागी उठ्ने खतरा देखियो। पार्टी पछाडि हट्यो। उनलाई चुनाबी टिकेट नदिने हल्लाले बजार तात्यो। नयाँ पार्टी तात्तातै अफर लिएर आयो। हाम्रो पार्टीमा कार्यकर्ता सहित पसेमा टिकेट पक्का। कदाचित हारियो भने समानुपातिकको कोटामा संसद पद ग्यारेन्टी।

अबिर र माला थाप्दै गरेका आफ्ना बालाई हेर्दै बिशालले सम्झियो “पञ्चायतबाट सुरु भएको उनको राजनीति आज क्रान्तिकारी कम्युनिष्टसम्म अाइपुग्यो।”

बिशाल खाना खाएर सुत्यो। पटक्कै निद्रा परेन। यो देश कता जादैछ? उसले घोत्लिएर सोच्यो। मगजमा केही आएन। राज्यका बागडोर सम्हालेका नेताहरुको मुहार आँखाको ढकनीमा ल्यायो। सबैको मुहारमा आफ्नै पिताको आकृती पायो। न निष्ठा, न सिद्धान्त, न त कुनै बिचार। कुर्ची वरिपरिको राजनीति गर्नेले देश कसरी देख्छ? आँफैसँग सवाल पोख्यो। यस्तासँग अपेक्षा गर्नु नै भुल हुनेछ। उत्तर पेस गर्‍यो।

कर्मचारी, प्रहरी, प्रशासन, शान्ती-सुरक्षा सबैतिर निराशा पायो। नागरिक देखी नेतृत्वसम्म कोही असल देखेन। सबै भ्रष्ट। सबै देशद्रोही। सबै नालायक। घर देखी शहरसम्म पदपिचासहरु देख्यो। द्रब्य-दरिद्रहरु मात्रै देख्यो।

यो देशको केही हुने वाला छैन। यो देशमा केही हुने वाला छैन। निष्कर्ष निकाल्यो। उसले लण्डन गएर सुखी जीवन बिताउने निर्णय गर्‍यो। २०१० को अगस्टमा लण्डनका लागि नेपाल छोड्यो।

………..

बिशाल साँझ सात बजेतिर क्यासियोबरी हाउस अाइपुग्यो। मनमा कुराहरु खेलिरहे। कानमा राष्ट्रियता, स्वाभिमान र स्वाधिनता बजिरहे।

उसमा बिचार पलायो “जुन नेपालीले डिग्रीलाई सिरानीमा राखेर कुइरेको जुठोमा लट्पटिन्छ, त्यसलाई राष्ट्रियताको बारेमा बोल्ने नैतीक अधिकार छैन। जुन नेपालीले आफ्नो पाटो बाँझो राखेर हिउ परेको पिज्जा ओभनमा सेकेर खान मज्जा मान्छ, उसलाई स्वाभिमानको कुरा गर्ने अधिकार छैन। देश नेताले कम र नागरिकले बढी बनेको हुन्छ। देस माटोमात्र होइन, माया हो, भावना हो। देश सिमाना मात्र होइन, असिमित सम्भावना पनि हो।“

उसले गम्भिर भएर सोच्यो “आखिर जती भोग-बिलास गरे पनि, जती पाउन्ड कमाए पनि यो त मुतको न्यानो पो हो। क्षणभरका लागि। ठुला महल, सुमुन्द्रतट र सफा पार्क अगाडि खिचेका तस्बिर मेरा ग्लानी छोप्न काम आएका होलान। मेरो स्वाभिमान कदपी ढाक्न सक्दैनन। दुरबाट देखिने मेरो तामझामले केवल अरुको आँखामा कालो पोतेको छ। अब यो आडम्बरलाई पालेर मेरो बिबेक नै कालो बनाउनु हुँदैन।”

“ज्ञान, योग्यता र सिप लत्याएर भाँडा माझि सुख काटेको छु भन्ने भ्रमबाट अब म मुक्त हुनै पर्छ। अझै ढिला भएको छैन, मैले आफ्नै मन माझ्न सक्नुपर्छ। होइन भने बर्सौँसम्म नेपालीले यही नियती भोग्नु पर्नेछ। अब प्रत्येक नागरिकले जिम्मेवारी बोध गर्ने बेला आएको छ। गफ र गालीमा धेरै जुग पल्टायौ हामी। अब देशभित्रै सम्भावना र श्रमको गतिमा लाग्नु पर्छ। म जस्ता पलायनहरु सबै देश फिर्नुपर्छ। छेपारो झै रङ बदली सधैंभरी सत्तामा टासिएर देश लुट्नेलाई अब बिस्थापित गर्नुपर्छ। जनतामा भ्रम फैलाएर माकुरो झै देश खानेलाई नङ्याउनु पर्छ। आफ्नो देश आँफै बनाउनु पर्छ।

बिशालले अन्तिम पटक सोया सस र ओलिभ ओइल हालेको बेलायती पास्ता खाएर सुत्यो।

एकबिहानै झोला बोकेर ऊ देश फर्कियो।

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.