कथा : नगीना बाई

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ……………….

‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। मेन्टुल त कति कति?’ भन्दै गाउँका एक झुण्ड केटाहरु रुपचनको घरमा आएको जन्ती हेर्न दौडिए। पछि पछि बाल बालिकाहरु दौडिए। बालबालिकाहरुको पछि पछि युवा युवतीहरु। युवा युवतीहरुको पछि पछि बृद्ध बृद्धाहरु । ठूलो भीड लागेको थियो रुपचनको घर अगाडि। आँगनमा मानिस जति जति थुप्रिँदै थिए त्यही अनुपातमा रुपचनको छाति तन्किदै थियो। फुट्न मात्र बाँकी थियो गर्वको दबाबले। हात्तीमाथि रण्डी नचाउने हैसियत ऊ बाहेक कसैमा थिएन त्यो गाँउमा । अझै त्यो मौजेमा।

सभ्रान्त कहलिएका वा कहलाइएका महिलाहरु घरको टाट च्यातेर प्वाल बनाई, प्वालबाट दृश्य हेर्दै थिए भने केही बुहारीहरुलाई त्यो दृश्य, त्यसरी सम्म हेर्न पनि छुट थिएन। उनीहरु केवल त्यो दृश्यको वर्णनन् अरुबाट सुनेर आन्नद लिँदै थिए। मर्यादाको सीमा नाघी टाटमाथि टाउको पुर्याएर हेर्ने एक महिलाले भनेको सुनियो ‘क्या गजबको नाच? हात्तीमाथि महफिल लागेको छ। गीत पनि कति राम्रो गाएकी नगीनाबाईले।

अर्की महिलाले उक्त दृश्य हेर्न माटोको ढिस्कोमाथि खुट्टा टेकी टाउको माथि उचालेकी मात्र के थिइन खुट्टा चिप्लिएर भूँइमा थचारिन। खुट्टा नराम्रो गरी मर्कियो उनको।

अन्य केही महिलाहरुलाई भने त्यो नाच हेर्न पूर्ण छुट थियो। पुरुषहरुको त कुरै भएन, उनीहरुले त एक किसिमले अधिकार नै पाएका थिए त्यो नाच हेर्ने। अझै भन्ने हो भने उनीहरुको विशेष आग्रहमा नै रण्डीको नाच आएको थियो, त्यो विवाहमा । भारतको कुनै ठूलो शहरबाट रण्डीको टोली बोलाइएको थियो। खुब प्रख्यात टोली, नेपाल भारत दुबैतिर। त्यो टोलीले रुपचनको हैसियतलाई सार्वजनिक नगर्ने कुरा नै थिएन। हात्तीमाथि नै सबै चिजको व्यवस्था गरिएको थियो। ढोलक, तबला, डुगी, हरमुनिया, झाल, मजिरा अनि सारङ्गी पनि, सबै थोक हात्ती माथिनै। रण्डीमाथि अत्तर बर्साउने अभिभारा दशैंयाले पाएको थियो। र एक किसिमले ऊ ज्यादै खुसी पनि थियो, किनभने अत्तर बर्साउने निहँमा कुनैबेला नगीनाबाईसँग टाँसिने मौका पाएकोमा।

त्यो नाच हेर्न जाने भीडमा म पनि थिएँ। म पनि त्यही गतिमा दौडिदै थिएँ जुन गतिमा म अघिका व्यक्तिहरु। कति बेला त्यो नाचको नजीक पुग्न पाइएला भन्ने उत्सुकता एकतिर थियो भने म जाँदा जाँदै त्यो नाच सकिएर हेर्न नपाइएला भन्ने पीर अर्कोतिर। जसरी भए पनि त्यहाँ पुग्ने धुन म माथि पनि त्यतिकै सबार थियो जति अरुहरु माथि। आमाले कानमाथि कसि दिनु भएको गाँती (कान र टाउको छोप्ने लुगा) खुलेर कता खस्यो थाहा पाउन सकिन। गाँती हराएकोमा आमाले कुट्नु होला भन्ने तेस्रो समस्या पनि थपियो। तर त्यो भन्दा पनि ठूलो डर मेरो लागि के थियो भने नगीनाबाईको नाच छुट्ने हो कि, म त्यहाँ पुग्दा पुग्दै।

विवाहको विधि शुरु भएको हुनाले रण्डीको टोली समयाना भित्र पस्यो। मेरो मन अति नै बेचैन भयो त्यो रण्डीलाई नजीकबाट हेर्न। बच्चा भएको हुनाले हात्तीमाथि हुँदा राम्रो गरी हेर्न सकेको थिइन मैले नगीनाबाईलाई। लुकेर समयानाको छेउबाट नगीनाबाईको नजीक पुगे। मलाई देखेर उनले कुनै प्रतिक्रिया देखाइनन्। बरु निर्धक भइन् म जस्तो बालकबाट उनलाई कुनै किसिमको असुरक्षा हुँदैन होला भनी।

उनले अति स्वभाविक किसिमले मलाई सोधिन ‘यहाँ किन आएको बाबू? तिमी जस्ताले यहाँ आउनु हुँदैन।’

मैले उत्तरमा भने- तिमीलाई हेर्न आएको नगीनाबाई। आज गाउँभरि तिम्रो चर्चा छ। सबै तिमीलाई हेर्न उत्सुक छन्। के बालक के बृद्ध, सबै। अझै पुरुषहरु त अति नै बेचैन छन्, तिमीलाई हेर्न। त्यसैले तिमी पक्कै पनि कुनै अति महत्वपूर्ण चीज हुनुपर्छ भनी मैले ठाने। गाउँभरि आज सबैको मुखमा तिम्रो चर्चा सुनेर म पनि तिमी जस्तै चर्चित हुन पाए कस्तो होला, जस्तो मलाई लागिरहेछ। तर म जस्तो बालक कसरी हुन पाउनु तिमी जस्तो। मैले नगीनाबाईको महत्व त्यसरी दर्शाएकोम उनले कुनै खास प्रतिक्रिया देखाइनन्। उनको आँखामा खुसीको सङ्केत पनि देखिएन। बरु टोलाएर हेरिन् र मेरो टाउकोमाथि हात राखेर कपाल चलाइन्। उनको स्नेह पाए पछि मैले सोधें- तिमीलाई रण्डी किन भन्छन् सबैले? नगीनाबाई?

‘किनभने म नाच्छु, त्यसैले’ उत्तर आयो।

मैले पुन सोधें- हाम्रो गाउँको लौन्डा, रामशरण पनि त नाच्छ नि, उसलाई हेर्न यति मानिस किन ओइरिदैनन् त?

‘किनभने त्यो पुरुष हो’ नगीनाबाईको उत्तर आयो।

गाउँमा अरु पनि त महिलाहरु छन्, उनीहरुलाई हेर्न मानिस यसरी बेचैन भएर किन दौडिदैनन् त? मैले प्रश्न थपें। मेरा प्रश्नहरुबाट उनी दिक्कदार भए जस्तो मलाई लागेन। नगीनाबाईको आँखामा आश्चर्यको प्रकाश प्रतिबिम्वित भए जस्तो मलाई लाग्यो। उनले मलाई अझै नजीक बस्ने संकेत गरिन।

मैले प्रश्नको पेटारो पुन: खोले- त्यस्तो कुनै विशेषता तिमीमा देखिँदैन जसले बेचैनी उत्पन्न गरोस् मानिसको मनमा। तिमी अन्य एक साधारण महिला भन्दा फरक देखिएकी छैनौ। हाम्रो टोलका सुखली, शनिचरी, बडकी भौजी, दुलरी चाची र तिमी बीच कुनै अन्तर छैन। तर पनि सबै तिमीलाई हेर्न किन आउँछन्, हँ?

नगीनाबाईले ‘ए, हो?’ भनेर आश्चर्य व्यक्त गरिन् मात्र। उनले मलाई प्रश्न गरिन ‘तिमी पढ्छौ, बाबू?’

मैले उत्तर दिए- अँ, तिसरा किलासमा।

नगीना बाईले मलाई उठ्न इसारा गरिन अनि भनिन् ‘बाबु तिमी घर गई हाल, तिमी अझै बच्चै छौ, यस्ता कुराहरु बुझ्दैनौ। म उठेपछि उनले फेरि सोधिन् ‘तिम्रो पिताजी के गर्नु हुन्छ नि, बाबु?’ मैले उत्तर दिएँ- हेड मास्टर हुनुहुन्छ, यो गाउँको स्कूलमा।
नगीनाबाईले मेरो टाउको माथि हात राख्दै भारी स्वरमा भनिन् ‘ल, ल गइहाल। तिमीले रण्डीको नाच हेर्नु हुँदैन। पढ्नु पर्छ। यता नबस। एक छिन पछि नाच शुरु हुन्छ। फेरि महफिल लाग्छ। अनि मैले आफूलाई वस्तु झै प्रदर्शित गर्नु पर्छ, त्यो भीडको अगाडि। केही ग्राहकहरु मेरो नजिक आउने छन्, मोलतोल गर्नेछन्, अनि मेरो मोल पनि तोक्ने छन्।’

नगीनाबाई मेरो कुराबाट रिसाएको हो कि, मैले त्यस्तो अनुमान गरे। तर उनीले मलाई घर जाऊ भनेको बाहेक उनको भनाईमा त्यस्तो कुनै रुखोपना लुकेको मलाई लागेन। बरु मैले भने- त्यस्तो केही खास छैन नगीनाबाई तिमीमा जसले सबैलाई आकर्षित गरोस्। यति भनेर म त्यहाँबाट हिँडे।

नगीनाबाईको नाच मेरो दिमागमा अहिले पनि ताजा छ। बरु अहिले, नगीना बाईले त्यसबेला भनेका कुराहरुको अर्थ छर्लङ्ग हुँदैछ।

– विश्वराज अधिकारी

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.