~सुरेश प्राञ्जली~
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ ।
नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य ‘युलिसिस’ मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ मार्फत यो ‘चेतनप्रवाह शैली‘ लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शंकर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।
व्यावहारिक रूपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर बाँचिरहेका हुन्छौं हामी । ‘अल्बर्ट कामु’ र ‘सामुअल बेकेट’ को विसंगतवादसँग अति निकट सम्बन्ध राख्ने लामिछानेका निबन्धहरूले विश्वको परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् । वस्तुलाई उनी आफ्नो अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रंग ठान्छन् । जीवनलाई प्याजको बोक्रासँग तुलना गर्छन् । प्याजको गुदी नभेट्टाए झैं जीवनको सार भेट्टाउन नसकिने भाव व्यक्त गर्छन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति मात्र हो । उनका निबन्धमा विश्वमा बढ्दै गएको वैज्ञानिक आविस्कार एवं अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट प्रभावित निबन्धकार भएकाले चामत्कारिक वैज्ञानिक आविस्कार र त्यसबाट साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् । व्यक्ति शंकर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको ‘पोटे्रट’ हो । जीवनप्रति नैराश्य हुँदाहुँदै पनि आदर्शजीवनको खोजी उनका निबन्धको विशेषता हो । निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पीँढीले भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका अधिकांश विधामा कलम चलाए पनि लामिछानेले लेख्न सुरु गरेको उपन्यास भने अधुरो नै रह्यो । ‘गौंथलीको गुँड’ मा समेटिएका कथाहरूमा ‘अस्तित्वगत चेतना’ को आभास हुन्छ झन्डै ‘जाँ पाल सार्त्र’ लाई चुनौती दिने गरी । ‘विम्ब प्रतिविम्ब’ मा परिचयात्मक निबन्धहरू संग्रहित छन् । त्यसैगरी ‘गोधूलि संसार’ का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । ‘शंकर लामिछाने’ उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् । कवि भूपि शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् ।
बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकामा गुनासो रहिरह्यो । अनि प|mेन्च दार्शनिक रोलाँ बार्थले ‘दी डेथ अफ दी अथर’ को कुरा गरिरहँदा नेपाली लेखक शंकर लामिछानेले भने एक हजार वर्षपछि जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्याइरहने वाक्य हो, ‘म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।’ असलमा, उनी एक इमानदार लेखक हुन् । उनले ‘प्लेगियारिज्म्’ -साहित्यिक चोरी) को आरोप कति सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको ‘आभा गार्देको सौन्दर्यशास्त्र’ नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ! -यस्ता महान् लेखकको यात्रालाई बर्जित तुल्याउने वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आह्वान पनि हो यो ।) विसं १९८४ साल चैतमा जन्मेका यी महान् लेखकको मृत्यु मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । ‘के गरे देखिन् मैले ठीक हुन्छ ?’ भन्दै एकदिन देवकोटाकामा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले ‘रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ’ भनेपछि लामिछाने आफ्नै पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटाले आज पनि अझ बढी फराकिलो भएर सबै लेखकलाई हिँडाइरहेको छ ।
सुरेश प्राञ्जली
(स्रोत : Synergyfm)