~रोशन शेरचन~
मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट अलि भित्र रहेछ। लोकल साथी नभएको भए भेउ पनि नपाइने खालको। टुबर्ग, काल्र्सबर्गजस्ता अमूर्त नाम झुन्डिँदा त बियर नछाड्ने हामी, रेड पान्डाको क्युट तस्बिरसँग बियरको बोतल आउँदा उत्तेजित नहुने कुरै भएन। दिनभरको गोष्ठीको थकाइलाई कतै सेलाउनु पनि थियो। मैले छिरङिलाई जिस्काएँ, “कतै रेड पान्डाको हाडखोर त मिसाएको छैन?” ऊ हाँस्यो मात्र।
सफा र चिटिक्कको बारमा ग्राहकहरू पेयपदार्थ लिँदै विश्वकप फुटबल लाइभ हेररिहेका रहेछन्। मैले त्यतातिर त्यति ध्यान दिइनँ। मेरा लागि दुई बोतल चिल्ड रेड पान्डा बियर र छिरङिका निम्ति के फाइभ ह्वीस्की आइपुग्यो। चियर्स ! हामीले भरिएका गिलास ठोकायौँ र आपसी सम्बन्धको जगमा अर्को इँटा थप्यौँ। बियरका तरल इँटाहरू।
केही वर्षअघि ठमेलको एउटा पुस्तक पसलमा लोभलाग्दो तस्बिर देखेको थिएँ, कता हो कता, अनकन्टार लाग्ने चट्टानै चट्टानको पखेरामा, कहालीलाग्दो भीरमा, गुम्बाको मनमोहक दृश्य। कहाँको गुम्बा होला त्यो? त्यस्तो दुर्गम ठाउँमा कसले बनाएको होला? मनभित्र अनेकौँ प्रश्न उब्जिएका थिए। मनलाई उद्वेलित गर्न सक्षम त्यो गुम्बा विचित्रकै अभेद्य दुर्गमा निर्माण गरिएको थियो। धेरै पछि त्यो भुटानको ताक्साङ गुम्बा भन्ने थाहा पाएँ। त्यसलाई टाइगर नेस्ट पनि भन्दा रहेछन्।
बिस्तारै जीवनका सामयिक बाध्यताले सार्वभौमिक सौन्दर्यको त्यो आयाम विस्मृतितिर धकेलियो। दिउँसो गोष्ठीमा आयोजकले एक दिन पदयात्राका निम्ति छुट्याएको बताए। संक्षिप्त परचियसहित दिइएको तस्बिर देखेपछि म अकस्मात् सुखद आश्चर्यले घेरिएँ। ठम्याइहालेँ, त्यो गुम्बा। उस्तै, दुरुस्तै। अग्लो पहरामा, शान्त बसेको वा उभिएको। बुद्धको स्थित प्रज्ञाझैँ।
दुई बोतल रेड पान्डा सिध्याएर होटल र्फकंदा पनि मन गुम्बाबाट फर्किएको थिएन। त्यहाँ पुगिने भइयो भन्ने सम्झँदा नै आनन्दको मात चढ्न थाल्यो। सौन्दर्यप्रदत्त अतिरेक थियो त्यो। मस्तिष्कीय न्युरोनको धावनमार्ग र थिम्पुको फराकिलो बाटोमा मात दगुर्न थाल्यो। केही कदम हिँडिसकेपछि बारबाट दर्शकहरूको करतल ध्वनि सुनियो- गोल। रातको निस्तब्धतालाई च्यात्दै, बैँसको वृक्षको हाँगालाई लछार्दै त्यो ध्वनि थिम्पुको पल्लो किनारसम्म फैलियो। तर, त्यो फैलावटमा म कत्ति पनि थिइनँ। मेरो गोल अर्कै थियो। मैदानको होइन, जीवनको।
१९ जुन २०१४। बिहान ७ बजे। कोस्टर होटलको अगाडि तम्तयार थियो। उकालो चढ्नुपर्छ भनेर म हाफ पाइन्ट र सादा टिसर्टमा निस्किएँ। छिरङिले हाफ पाइन्टमा प्रवेश गर्न दिँदैन भनेपछि कोठामा फर्किएँ र झोलामा पाइन्ट कोचेँ। र, कलर भएको टिसर्ट पनि। मनमनै सोचेँ, पाइन्ट फेर्ने ठाउँ कस्सो नहोला ! कोस्टर मूल सडकतिर मोडियो। थिम्पु सहर उठिसकेको थिएन। चिसो बतास भने मूल सडकमै भेटियो। झ्यालबाट पसेको बतासले हामीलाई स्पर्श गररिहेको थियो। बादलका गुच्छाहरू थिम्पुको एक चोक्टा आकाशमाथि फैलिएको देखिन्थ्यो। थिम्पुखोला कहिल्यै नसुती अविरल बगिरहेको थियो। खोला कस्तो सफा थियो भने पानीरंगले सेतो पृष्ठभमि बनाउँदै किनारको हरियो वृक्षलाई काँधमा बोकिरहेको जस्तो।
दुई हत्केलाझैँ नजिकै उभिएको डाँडाको मध्य भागमा बनेको सुन्दर एयरपोर्टलाई नाघेर भ्यान उत्तरतिर हानियो। छिरङिको स्कुले जीवन पारोमै बितेको रहेछ। ऊ नोस्टालजिक देखिन्थ्यो। स्कुले स्मृतिबाट नोस्टालजिक नहुने विरलै होलान्। स्मृति पनि जाँडजस्तै रहेछ, जति पुरानो उति आत्मीय र मीठो। स्याउका बोटहरू र सल्लाको वनले वरपरको परविेशमा पृथक् सौन्दर्य प्रवाह गरेको थियो। त्यस्तैमा छिरङिले अलिक उँचो स्वरमा भन्यो, “टाइगर नेस्ट।” उत्सुकतामा टाउको घुमाउँदा बादलको सानो उघ्राइबाट त्यो सपनाको गुम्बा चट्टानको अक्करमा टाढा देखियो। रहस्यमयी।
मिस्टिक मोनास्ट्री।
भ्यान हल्का उकालो चढ्न थाल्यो। बिछट्टैको काठले बनेका सुन्दर घरहरू। प्रायः घरका अगाडि कार देखिन्थ्यो। क्याफे, रेस्टुराँ, बारका नामहरू काठमा कलात्मक ढंगले खोपेको देखिन्थ्यो, पर्यटकलाई आकषिर्त गर्न। पर्यटनले यहाँका बासिन्दाको आर्थिक स्थिति सप्रेको देखिन्थ्यो। क्षणभरमै सानो चौरमा भ्यान रोकियो। आयोजक अघि नै आइसकेका थिए। प्याक ब्रेकफास्ट लियौँ। चौरमै बसी खायौँ र ढुक्क भयौँ, भोकले उकालोमा दुःख नदिनेमा।
चौरनजिकै लस्करै क्युरियो पसल देखिए। लौरोहरू पनि बेच्न राखिएका थिए। “ल दाइ, लौरो लिएर जानूस्,” एक महिलाले भनिन्।
“नो थ्यांक्स,” अघि बढेँ। सल्लाको वनमुन्तिर दर्जनौँ घोडा चररिहेको देखियो। भुटानी आठ सय तिरेर घोडामै जान सकिने रहेछ। ध्वजापताकाले घेरिएको ढुंगेधारालाई पार गरेर पहिलो खुड्किलो चढ्दा म गहिरो आत्मसन्तोषमा भरिएँ। पद्मसम्भवप्रति अनन्य श्रद्धाभाव उम्लिएर आयो।
वर्ष दिनअगाडि आमाले भन्नुभएको थियो, “मुस्ताङमा हाम्रै गाविसमा कुरुसाङ्वे गुफा छ, पद्मसम्भवले तपस्या गरेको।” पद्मसम्भवलाई दोस्रो बुद्ध पनि भनिन्छ। आठौँ शताब्दीमा उनी अहिलेको पाकिस्तानको स्वातमा जन्मेका थिए। भुटानमा भने गुरु रिम्पोचेको नामले चिनिन्छन्। उनले बज्रयान बुद्धिजमलाई तिब्बत र भुटानमा फैलाए। आमाको कुराको फेरि सम्झना भयो। नाउरीकोटबाट तल झरेर, फेरि उकालो चढेपछि धौलागिरि हिमालको फेदमा त्यो गुफा भेटिन्छ। नाउरीकोट कोवाङ गाविसकै एक गाउँ। नाउरीकोट कबड्डी सिनेमा नबनुन्जेल गुमनाम थियो। कबड्डीले नाउरीकोटलाई चर्चित तुल्याइदियो। नाउरीकोटकै छेउछाउमा पद्मसम्भवले तपस्या गरेको कुरुसाङ्वे गुफा छ। आफ्नो गाउँको पवित्रभूमि उक्लन नपाए पनि आज अर्को देशमा पद्मसम्भवको दर्शन गर्न जाँदै थिएँ। भुटानमै तीन वर्षअघि म ‘प्रकृति र संस्कृति’ गोष्ठीमा आएको थिएँ। उक्त गोष्ठीमा मैले बुद्धिजम, लामाइजम र सामानिजमका बारेमा केही थाहा पाएँ। रम्िपोचे, खेम्पो र तिबेतोलोजीका अन्तर्राष्ट्रिय विज्ञहरूले भाग लिएका थिए। गोष्ठी मेरा निम्ति अध्यात्मतिर खुल्ने झ्याल बन्यो। फर्केपछि सन्दर्भ सामग्रीहरूको अध्ययन गरँे। स्वयं झाँक्रीको सन्तान भएकाले त्यसमा रुचि थियो। तर, वातावरणीय संरक्षण र बुद्धिजमको अन्योन्याश्रति सम्बन्धको वैज्ञानिकताले मलाई धेरै धकेलेको थियो। डब्लूडब्लूएफ, यूएसका जोन माइसलर र ज्ञाता पुण्यप्रसाद पराजुलीको सहयोगमा पवित्र भू-परििधको नक्सांकन गर्यौँ। यस्ता भू-परिधिलाई बेयुल भन्दा रहेछन्। सबैमा पद्मसम्भवले ध्यान गरेका। पूर्वी हिमालयमा आठवटा बेयुलको पहिचान गर्यौँ। त्यसमध्ये एउटा भुटानमा पथ्र्यो।
गुराँसका निख्रिँदै गएका बोटहरू देखिन्थे। ठाउँठाउँमा ‘ओम मणि पद्मे हुं’ मन्त्र लेखिएका ध्वजापताकाहरू फहराइरहेका थिए। पश्चिमतिर टाढा कुनै गाउँ देखिन्थ्यो, दक्षिणतिर सल्लाको घना वन। काठमा इनामेलले रूख काट्नु हुँदैन, हरियाली जोगाउनुपर्छ भनेर लेखिएको सन्देश यत्रतत्र पढ्न सकिन्थ्यो। बुद्ध धर्मगुरुको त्यो सन्देशले गर्दा होला, काटिएका रूखका ठुटा कतै देखिन्नथे।
मोडबाट टाइगर नेस्ट कहिले दृश्यबाट ओझेल हुन्थ्यो, कहिले देखिन्थ्यो। अक्करे भीरको गुम्बा नजिकिँदै जाँदा मन तरंगित भयो। समवेत् प्रार्थना र बाजाको ध्वनि बाटामै सुन्यौँ। भीरपहरामा ठोकिएर आएको प्रतिध्वनिले खिच्दै लगेको थियो हामीलाई। बाटामा दर्शनार्थीहरू प्रशस्त भेटिए। सबै दर्शनार्थीको समूहमा एक जना भुटानी गाइड देखिन्थे, राष्ट्रिय भेषभूषामा। भुटानमा गाइडबिना भ्रमण गर्न नपाइने नियम रहेछ।
बाटोमा एउटा ढुंगे चौतारा थियो। आमाछोरीजस्ता लाग्ने यात्रु त्यही चौतारामा भेटिए। उनीहरू फोटो खिच्दै थिए। केही क्षण पर्ख्यौं, ठाउँका निम्ति। त्यसपछि टाइगर नेस्टलाई पृष्ठभूमिमा पारेर फोटो खिच्यौँ। मैले सोयसको खिचिदिएँ, उनले मेरो। प्रार्थना र बाजाको ध्वनि तड्कारो सुनिन थाल्यो। साना गुम्बाहरूलाई पार गर्दै बढ्यौँ। सिँढीका खुड्किलाहरू ओर्लियौँ। नजिकबाट त्यो पहरा भयंकर डरलाग्दो देखिन्थ्यो। विशाल, कठोर र छंगासुर।
कंक्रिटको सानो पुल आयो। पुलमा छेवैको झरनाको पानीका थोपाहरू खसिरहेका थिए। पानीका थोपाहरूको बाटो भई गुज्रिँदा मज्जा आयो। त्यो मज्जामा क्षणिक आनन्द थिएन, बरू आत्मिक सन्तोष थियो। अब भने अन्तिम खुड्किला चढ्न थाल्यौँ। प्रवेशद्वारमा पुग्यौँ। आफ्नो वैयक्तिक विवरण लेखायौँ। झोला, मोबाइल आदि खापामा राख्यौँ। मैले त्यही सानो कोठामा पाइन्ट लगाएँ। र, साँचो लिएर उक्लोँ। चिया र बिस्कुटले दर्शनार्थीहरूलाई स्वागत गर्दा रहेछन्। मैले चिया लिइनँ। चन्दाको बिल काँटे। र, गुम्बाको कोठातिर लम्केँ।
पहिलो कोठामा पद्मसम्भवका मूर्तिहरू थिए। आठ अवतारका भिन्न मुद्रामा। टाइगर नेस्ट उनको रौद्र अवतारका निम्ति चर्चित रहेछ। यस अवतारलाई गुरु दोर्जे ड्रोलो भनिँदो रहेछ। दोर्जे ड्रोलोको अवतारमा उनले मान्छेलाई बिगार्ने लोभ, मोह र आशक्तिसँग लडेका थिए रे! उनको हातमा बज्र देखिन्थ्यो, रिसाएर कसैलाई प्रहार गर्न उठाएको। भुटानमा भूतपिचाश र खराब प्रवृत्तिलाई नष्ट गरेका थिए रे! दर्जनौँ बुद्धका मूर्तिहरू थिए। शाक्यमुनि बुद्ध, अमिताभ बुद्ध, अभालोकितेश्भरा बुद्ध आदि। मिलरेपा पनि। डाकिनीहरू पनि।
एउटा बुद्धको हातमा सानो भाँडा देखिन्थ्यो, त्यसमा सञ्जीवनी छ रे! कहिल्यै नमर्ने बुद्ध रे! कालजयी। अर्को बुद्ध आफ्नो कन्र्सोटसँग अभिसाररतजस्तो देखिन्थे। टाउकोमा खप्परको माला बेरेको। भैरवजस्तै। अन्य गुम्बाहरूको पनि दर्शन गर्यौँ। वाल पेन्टिङ गरिएका कलात्मक भव्य कोठाहरू। बटर ल्याम्प बालिएको। सुगन्धले व्याप्त वातावरण। फलफूलले भरिएका डालाहरू। जल ग्रहण गर्यौँ, पवित्र मनले। अन्त्यमा टाइगर नेस्ट हेर्न उक्लियौँ। त्यो साँघुरो थियो। दुई चट्टानको बीचमा चिरिएको भाग थियो र तल पुग्न काठको सानो भर्याङ लगाइएको थियो। त्यसै चट्टानको कतै कप्टेरामा पद्मसम्भवले तपस्या गरेका रहेछन्। ताक्साङ गुम्बाको केन्द्र नै टाइगर नेस्ट रहेछ। त्यहाँ कुनै संरचना बनाइएका छैनन्। त्यसलाई आदिम प्राकृतिक स्वरूपमै राखिएको छ।
पद्मसम्भव बाघमा चढी उडेर तिब्बत आएका थिए रे! तपस्याका निम्ति। त्यतिबेला भुटान दक्षिणी तिब्बतमा पर्दो रहेछ। तिब्बतमा अवस्थित १३ वटा टाइगर नेस्टमध्ये यो एक रहेछ। बाघ पद्भसम्भवकै एक शिष्य भएको किंवदन्ती छ। पद्मसम्भवले ताक्साङमा तीन वर्ष, तीन महिना, तीन साता, तीन दिन तपस्या गरेका थिए रे! चराको गुँड हेर्न त अग्लो रूख चढ्नुपर्छ। यो त फ्लायिङ बाघको गुँड थियो। नामै टाइगर नेस्ट। करबि दुई घन्टाको चढाइले शरीर लोथ भइसकेको थियो। तर, मन कत्ति थाकेको थिएन। अध्यात्मको बाटो भएकाले हो कि ?
प्रकाशित: श्रावण १८, २०७१
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )