~तुल्सी थापा~
एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग।
आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको अभिप्राय कसरी बुझोस् त्यस रूखले र त्रस्त बनोस्। वास्तवमा ऊ अहिले बताससँग बात मार्दैछ, घाम ताप्दैछ र कहिले वर्षामा रुझ्न पाउने हो— आकाशतिर हाँगिदै प्रतीक्षारत छ भन्दा हुन्छ। बतास, प्रकाश र वर्षा त उसको अनन्य मित्र नै हुन्। शाश्वत सम्बन्ध छ उनीहरूसँग यो रूखको। ती मान्छेहरू उसका शाश्वत साथीहरूमध्ये पर्दैनन् सायद र तिनीहरू अहिले तम्तयार छन्, उसलाई ढाल्न या भनौं मार्न।
एउटा मान्छे बोकालाई पर्साएजस्तै पानी छम्केर पूजा गर्न थाल्छ, त्यो रूखलाई। मानौं, तिनीहरू कुनै पवित्र काम गर्दैछन् वा यसो भनौं तिनीहरू कुनै गलत काम गर्न लागेकै भए पनि क्षमायाचना गर्दैछन् आफ्ना इष्ट देवतासँग। तिनीहरूले त्यो रूख ढाल्न थुप्रै तर्क गरेका थिए।
जस्तो कि :
—यो रूखले हाम्रो बाटो छेकेको छ। बाटो फराकिलो पार्न यसलाई ढाल्नैपर्छ।
—यो रूख बूढो भइसक्यो, यसका जराहरू कुहिसकेका छन्। यो आफैं ढल्यो भने हाम्रा घरहरू माथि बजारिनेछ।
—यो रूख कुजातको छ, हामीलाई असल जातको रूख चाहिन्छ।
यस्ता बुज्रुकपना देखाउँदै ती मान्छेहरू रूखको फेद काट्न थाल्छन। बूढो रूख ऐया भन्दैन तर बतासले, चराले ओसारेका आफ्ना सयांै बियाँबाट धर्तीको मायामा, हावा, वर्षा र घामको स्याहारमा टाढाटाढा पाखाभरि उमि्रएका बिरुवासँग बिदा मागिरहेको हुन सक्छ, यतिखेर।
डङ्कक्–डङ्कक् बन्चरोद्वारा काटिँदैछ त्यो रूख। केही घन्टापछि गर्लम्म ढल्छ धर्तीमा। चराहरू झस्केर उड्छन्, कमिला र किराफट्यांग्राहरू भुइँमा रिङ्न थाल्छन्। अब त्यहाँ बताससँग हल्लीहल्ली बात मार्ने, प्रकाशलाई आफ्नो हत्केलामा थाप्ने र वर्षालाई सिञ्चन गर्ने हाँगा र पातहरू भुइँमा अचेत पल्टिसकेका छन्। एक झोँक्का बतास सिधै नांगो डाँडामा ठोकिएर फनक्क फर्किन्छ र बरबर रुमल्लिँदै त्यो मृत रूखलाई सुमसुम्याउन थालेको पनि हुुनुपर्छ, विछोडको पीडामा।
ती मान्छेहरू भने ठूलै काम सम्पन्न गरेको भावमा सुस्ताउन थाल्छन्। वास्तवमा ठूलो जुक्ति पुर्याृएर तिनीहरूले रूख ढाल्न सकेकोमा हर्ष मान्नैपर्ने हुन्छ। तर तिनीहरूले हर्ष अनुभव गर्न पाएकै पनि थिएनन् कि— एउटा मान्छेको साह्रै दर्दनाक आवाजमा चिच्याएको सुनिन्छ।
‘के अचम्म! कसलाई के भो?’
अप्ठ्यारो चिन्ता देखिन्छ, बाँकी सबैमा। सबै एक–अर्कातिर पल्याकपुलुक हेर्छन् र छिट्टै आफूमध्येको एक जना साथी त्यहाँ नभएको चाल पाउँछन्। पक्कै रूख ढल्दै गर्दा छल्न नसकी ऊ चेपिएको हुन सक्ने अड्कल सजिलै काट्छन्। दौडधूप हुन्छ। नभन्दै, तिनीहरूको एक साथी रूखको एउटा ठूलै हाँगामुनि रगताम्य अनि अचेत भई चेपिएको भेट्छन्। जिउँदै छ कि मरिसक्यो बुझ्न पुगेका एक पाको उमेरका मान्छेले घाइतेलाई ओल्टाइपल्टाई गरी नाडी छामेपश्चात् मरिसकेको ठहर गर्छ।
‘कसरी भयो यस्तो?’ तर्क हुन सक्दछ।
तर्क भयो—
‘वृक्ष देवता रिसाए हामीसँग।’
‘त्यो मान्छे आफू पापी रहेछ।’
‘पटमूर्ख थियो, ग्वाँच थियो। रूख ढल्दै गर्दा छल्न पनि नजान्ने।’
त्यस मान्छेको मृत्युमा दुःख प्रकट गर्नेभन्दा आक्षेप लगाउने कार्य बढी हुन थाल्छ। तर आक्षेपबाट मात्रै समाधान हुन नसक्ने त्यस समस्याको टुंगो लगाउन तिनीहरूलाई कर लाग्छ।
कि अब के गर्ने? केही त गर्नैपर्छ; ठिक होस् या बेठिक होस्।
सबैभन्दा ठिक त उनीहरूले रूख काट्ने निर्णय गर्नु सम्झेका थिए र काटे पनि। त्यसपछिको परिणाम तिनीहरूले नसोचेको पनि हुन सक्छ।
सुझावहरू आउन थाल्छन् :
—यसो गरौं, यो रूख यति अशुभ रहेछ कि हाम्रो साथीको ज्यानसमेत लियो। हामी पनि मर्न सक्थ्यौं। यो रूख ज्यानमारा रहेछ। यसलाई फेरि पलाउन वा ब्युँतिन दिनु हुँदैन।
—यो त ढलिसक्यो। अब कसरी ब्युँतिन्छ?
—रूखको जरा हुन्छ र जरा धर्तीमुनि हुन्छ। यसको सम्पूर्ण जरा उखेल्नुपर्छ। नत्र यो गाँठा–गाँठाबाट ब्युँतिन्छ। यो ब्यँुतिनु हाम्रो लागि राम्रो हुन सक्दैन।
—हो, यसलाई जरैदेखि उखेल्न थालौं। यसको हाँगाबिँगा पनि टुक्राटुक्रा पारौं।’
वाह! क्या गजबको सहमति हुन्छ र ती सबै त्यो ढलिसकेको बूढो रूखको हाँगाबिँगा टुक्राटुक्रा पार्न र गाडिएको फेदलाई जरैदेखि उखेल्न उद्यत हुन्छन्। असिनपसिन हुन्छन्, सबै। असंख्य जराहरू उखेल्नु सजिलो कुरो पनि होइन। तिनीहरूको प्रयासमा एउटा ठूलो खाल्डो बन्छ त्यहाँ। जरासहितको सिंगो फेद बाहिर उखेलिन्छ। सफलता! जरैसमेत उखेल्न सक्नुको सफलता। तिनीहरू सबैमा विजय भाव देखिन्छ र आफ्नो पुरुषार्थ झल्काउँछन्।
—अब यो रूख फेरि उम्रँदैन।
—फेरि उम्रेर हामीलाई सताउनेछैन।
—यो रूखले यस्तै परिणाम खोजेको थियो।
—अब विजय उत्सव मनाउनुपर्छ।
त्यहाँ ढोल बज्नुपर्ने थियो, नाचगान हुनुपर्थ्यो। अझै भनूँ, भोजभतेर हुनुपर्थ्यो। तर एउटाले भाँजो हालिहाल्यो, ‘त्यो मरेको साथीलाई के गर्ने सोचेका छौ?’
करिब–करिब सबै झसंग हुन्छन्। तिनीहरूले यसतर्फ सोचेकै रहेनछन्। एउटालाई रिस उठ्छ र समस्याबाट पन्छिन खोज्छ, ‘त्यो नाथे मर्योे त, मर्योठ। हाम्रो के दोष?’
‘मरिसकेकोलाई ब्युँताउन सकिन्न क्यारे।’
‘न त मार्न नै पर्छ।’
‘यो रूख पनि अब उमि्रन सक्दैन। त्यो नाथे पनि अब ब्युँतिदैन।’
‘यो रूखले बलि खाँदो रहेछ, खायो, बेसै भो। अब पिरोल्दैन।’
कुनै विद्वत् सभामा भन्दा कम दिमाग खपाउने तर्कवितर्क भएन त्यहाँ। सोच्न सकिने उचाइमा तिनीहरू पुग्छन् र एउटा निर्णय गर्छन्— सर्वसम्मत निर्णय।
‘त्यो मान्छेलाई रूखको जरा खन्दा बनेको यही खाल्डोमा गाड्नुपर्छ। न यो मरेको कसैले थाहा पाउनेछ। न यो रूखजस्तै उम्रेर बाहिर आउनेछ र आफू कसरी मरेको हल्ला गर्न नै पाउनेछ।’
‘गजब!’
‘गजबको दाहसंस्कार। योभन्दा राम्रो दाहसंस्कार अरू कुनै हुनै सक्दैन। रूख काटिनु थियो, काटियो। त्यो मान्छे मर्नु थियो, मर्यों। यहीँ मर्यो।, त्यो त संयोग रह्यो। यसलाई यहीँ गाड्नु उत्तम उपाय हो।’
र, तिनीहरू आफ्नो साथीको लासलाई त्यही खाल्डोमा गाड्न तम्तयार हुन्छन्। ठिक त्यही बेला एक हुल मान्छे त्यहीँ आउँदै गरेको देखिन्छ। यता यिनीहरूले लास गाड्न पाएकै हुँदैनन, न त लुकाउनै पाएका हुनछन्। तिनीहरू यही बेला आइपुग्नु के आवश्यक थियो? अब के गर्ने असमन्जस अवस्थामै नवआगन्तुकको हुल नजिकै आइपुग्छ।
स्थिति रहस्यमय पाएर नयाँ हुलबाट प्रश्न हुन थाल्छ-
‘के हँुदैछ यहाँ?’
‘रूख ढालेको।’
‘अनि त्यो मान्छेलाई के भयो?’
‘मर्यो्।’
‘कसरी?’
‘यही रूखले चेपेर। तपाईंहरू किन नि यता?’
‘हामी यहाँको सबैभन्दा बूढो रूख खोज्दै हिँडेका। यतै कतै हुनुपर्छ।’
‘किन र? त्यो रूखमा के त्यस्तो छ र?’
‘त्यो रूख अति वृद्ध रूख हो। कम्तीमा हजार वर्षको। त्यसको महŒव तिमीहरू बुझ्दैनौ। कतै तिमीहरूले देखेका त छैनौ?’
‘यो ठाउँको सबैभन्दा बूढो रूख त यही हो, ढलिसक्यो।’
‘हो! हो! यहीँनेर थियो, त्यो रूख। हामीले खोजेको रूख यही हो। यिनीहरूले ढालिसकेछन्। तिमीहरूले ठूलो गल्ती गरेका छौ। अक्षम्य अपराध! …त्यो लासलाई के गर्दैछौ?’
‘उसलाई हामी यही रूखको खाल्डोमा गाड्नेछौं।’
‘किन? घर लैजाँदैनौ?’
‘जसका कारणले यो मर्योै त्यही ठाउँमा यसलाई गाड्दैछौं। सबैभन्दा उचित चिहान यही हुन्छ।’
‘राम्रो! त्यो लासलाई यहाँ गाडेपछि यहाँबाट रूख भएर उमि्रन्छ कि उमि्रँदैन?’
‘थाहा छैन, मरेको मान्छे रूख भएर उम्रन्छ र?’
हामीले खोजेको रूख यही थियो। तिमीहरूले यसलाई ढाल्यौ। अब यही ठाउँमा त्यो रूख नयाँ भएर उम्रनुपर्छ।’
‘कस्तो वाहियात! त्यो रूखलाई हामी हटाउन चाहन्थ्यौं, यहाँबाट हटायौं। अब फेरि त्यही ठाउँमा रूख उमार्ने?’
‘यसो गर। पहिले त्यो लासलाई यो खाल्डोमा ओराल।’
‘त्यसपछि के त?’
‘अहिले जे भनियो त्यही गर।’
उनीहरूले आफ्नो साथीलाई गाड्न त्यस रूखको फेदलाई उखेलेर खाल्डो बनाएका थिए। त्यही काम पहिले सिध्याउनुपर्छ। ठिकै त भन्यो। सबै त्यस लासलाई बिस्तारै खाल्डोमा ओराल्न थाल्छन्। एक–दुई जना खाल्डोभित्र ओर्लिसकेका छन्। बाँकी केहीमाथिबाट हात दिँदै गर्छन्। लासलाई खाल्डोमा ओराल्छन्। भुइँमा पल्टाउँछन्।
‘होइन, त्यो लासलाई तिमीहरू जस्तै माटोले आड दिएर ठाडो उभ्याऊ। बिरुवा कसरी रोपिन्छ त्यही गर। तिमीहरू पनि लहरै उभिऊ। हो, हो ठिक त्यसै गरी।’
फसाद् पर्छ रूख ढाल्नेहरूलाई। खाल्डोमा ओर्लिसकेका र खाल्डो बाहिर उभिएकालाई।
यिनीहरू किन हामीलाई आदेश दिँदैछन् र हामीहरू किन यिनीहरूको आदेश पालना गर्दैछौं? सायद हामीबाट गल्ती भयो वा हामी यिनीहरू भन्दा कमजोर छौं। कि यिनीहरूसँग भिड्नुपर्योर, कि यिनीहरूको आज्ञा पालना गर्नुपर्योा, कि त भाग्नुपर्योू— एकैपटक।
सबैलाई यस्तै तर्कनाले गाँजेको हुनुपर्छ। तर सबै अन्योलमा हुन्छन् र फेरि आदेश पड्केको सुन्छन्।
‘सुनेनौ तिमीहरूले? तिमीहरू सबै यो खाल्डोमा ओर्ल र उनीहरू जस्तै लाइन लागेर उभ। चाँडो,’ आदेशको कर्कशा नरोकिँदै अत्तालिएको आवाज सुनिन्छ—
‘भाग… भाग। यिनीहरूले हामी सबैलाई यही गाड्नेछन्। जिउँदै गाड्नेछन्। भाग… भाग …।’
भागदौड मच्चिन्छ। घचेटाघचेट हुन्छ। भाग्न सक्ने भाग्छन्। भाग्न नसक्नेहरू खाल्डोमा घचेटिन्छन्। जिँउदो मान्छेलाई लाससँगै उभ्याएर माटोले पुर्न थाल्छन्— हतारहतार जबर्जस्ती।
मृत्यु, भय र संत्रासको चिच्याहट र आर्तनादसँगै क्रमशः ती खाल्डोमा पुरिँदै जान्छन् र अन्तमा खाल्डो टुमारिन्छ। त्यो ढलेको बूढो रूख र टुमारिएको खाल्डोलाई त्यही चकमन्नमा छाडेर त्यो आक्रामक हुल रूखको हागाहरू काँध, काँधमा बोकेर अघि भागेकालाई खौज्दै दौडन्छन्। लखेटालखेट हुन्छ। चराहरू दच्किन्छन्, बतासका झोँक्का सुरेलिन्छ। लखेट्ने र लखेटिएकाहरू नदेखिने गरी टाढा पुगिसकेका हुन्छन्।
तर, केही जटिल प्रश्नहरू त्यही ढलेको बूढो रूख र मान्छे पुरिएको खाल्डोनेर बेवारिस रुमल्लिँदैछन्-
—के तिनीहरूले गाडेका मान्छे रूख भएर उम्रेलान्?’
—ती गाडिएका मान्छे रूख भएर उम्रे भने, फेरि त्यसलाई ढाल्न ती मान्छे फर्केलान्?
—रूख ढाल्नेलाई गाड्न फेरि त्यो आक्रामक हुल आऊला?
यी प्रश्नहरू आज त्यहीँ हावामा रुमल्लिरहेकै छन्।
(स्रोत : NagarikNews)