संस्मरण : भूपि–पारिजातको राल्फा संवाद

~रामेश~

हुलाक प्रशिक्षण केन्द्रको जागिर। सानो कोठाभित्र तीव्र वेगमा टाइप गरिरहेको हुन्छु। निकै बेरपछि टाइप गरेका प्रतिहरू हाकिमज्युको टेबलमा राखिदिएर बबरमहलबाट सुस्तसुस्त पुतलीसडकतिर लाग्छु। पारिजात दिदीले भन्नुभएको थियो, ‘रामेश भोलि तिमी आऊ है। मेरो लेख तिम्रो अक्षरले सारिदेऊ। अनि पत्रिकामा पुर्याहउन पनि गइदेऊ।’

पुतलीसडकको साँघुरो लामो गल्ली पार गरेर दिदीको भुइँतले कोठामा पस्न खोज्दा बाहिरैबाट अलि कडाखाले स्वरमा उहाँको आवाज सुनिन्छ। कोठाभित्र नपसी बाहिरैबाट कुरा सुन्न एकाग्र हुन थाल्छु। त्यसरी सुन्नु राम्रो होइन– थाहा छ तर दिदीलाई नभेटी जान हुन्न। बाहिर जानु पनि कहाँ जानु?

‘ती गीतबारे तिम्रो के धारणा छ? तिमीलाई सुनाउनकै लागि पनि मैले यहाँ उनीहरूलाई निकैपल्ट बोलाइसकेँ । तिमीले धेरैपटक राल्फाका गीतहरू सुनी पनि सक्यौ तर तिनका बारे किन केही बोल्दैनौ?’ प्रश्न कडा छ दिदीको।

‘राल्फा भाइहरूले गाएको गीत मलाई निकै मनपर्छ,’ प्रश्नको शालीन जवाफ सुन्छु। स्वर भूपि दाजुको भएको पनि ठम्याउँछु। अरू कसैको उपस्थितिको आभास हुँदैन।

‘राम्रो भए ती गीत राम्रा छन् भनेर किन भन्न सक्दैनौ? तर तिमीले भनेका छैनौ र सायद भन्दैनौ पनि। मेरोअगाडि अरू धेरै गीतको बखान गरेका छौ तिमीले– लय, गायन, स्वर, भाव र प्रस्तुतिहरूको निकै तारिफ गरेका छौ। तर राल्फाका गीतबारे राम्रो–नराम्रो किन केही भन्दैनौ? के साँच्चै राल्फाका गीत चर्चा गरिन पनि योग्य छैनन्?’

‘साँच्चै भन्छु, राल्फाका गीतहरूलाई नराम्रो भन्न मिल्दैन। तर राम्रो भन्न पनि निकै कठिन छ। अनि फेरि केही भन्न आँट गर्नेे कल्ले? के कारणले राम्रा छन् र के कारणले नराम्रा, यसको समीक्षा र व्याख्या गर्न हामी जस्तोलाई कठिनै पनि पर्छ। बरु संगीतमा राम्रो ज्ञान भएका अम्बर गुरुङ, गोपाल योन्जन, नारायण गोपालहरूले के भन्छन्, उनीहरूलाई सोधी हेर न,’ नरम स्वरमा भूपि दाइ बोल्नुहुन्छ।

‘उनीहरूलाई पनि सुनाएको छु। तर केही बोल्दैनन्। आफूआफूमा के भन्छन्, त्यो मलाई थाहा छैन। तर मसँग राल्फाका गीतबारे केही प्रतिक्रिया दिँदैनन्। मलाई लाग्छ– कि ती राल्फाका गीतसँग डराउँछन् कि त्यसको चर्चै नगरी निष्प्रभाव पार्ने नियतमा चुप्प बस्छन्। वा यस्ता पनि गीत हुन् र? यस्ता गीतलाई पनि गीत भन्ने? चर्चायोग्य छन् र यस्ता गीत? भन्ने सोच राख्छन्।’

‘मसँग पनि उनीहरू राल्फाका गीतबारे केही बोलेका छैनन्। तर सायद यी गीतप्रति ठोस धारणा बनाउन त्यति सजिलो छैन! सधैं सुनिने चलनचल्तीका गीतभन्दा ती नितान्त फरक भएर पनि होला। शब्द रचना, संगीत सिर्जना र गायनवारे झट्ट केही भन्न नसकिने खालका गीत छन् ती।’

‘उसोभए, ती सबै दुरूह, क्लिष्ट, अमूर्त वा निरर्थक व्यर्थका गीतसंगीत हुन् त?’

‘बालुवा, किथ्रा, मरुभूमि’, ‘सिमल माझी घाटहरू’, ‘हजार इन्द्रेणीहरूको एउटा रूख’, ‘रिङलाबेम्बो’जस्ता गीतबारे तुरुन्तै कसैले केही टिप्पणी गर्न सक्दैन। साँच्चै भन्छौ भने यस्ता गीत नेपालमा आजसम्म न कसैले लेखेका छन्, न संगीतबद्ध भएका छन्; न त गाइएकै छ। तर राल्फाहरूले गाउन सुरु गरे। यिनीहरूले नेपालमा पहिलोपल्ट अमूर्त र छन्दहीन कवितालाई लयले सजाए। अर्कोतिर अनेकौं अर्थहीन नौला शब्दको रचना गर्दै त्यसलाई पनि संगीतले सिँगारेर आफ्नै पारामा गाउन थाले। यस्ता गीतबारे म एक्लै कसरी बोल्न सक्छु? स्वयं तिमी आफैंले पनि सोच्ने र बुझ्ने कुरा हो,’ …एक छिन कोठा शान्त हुन्छ। केही समयपछि फेरि दिदीको आवाज सुनिन सुरु हुन्छ–

‘यस्ता गीतहरूले नेपाली स्रोताहरूको मथिंगल त अवश्य हल्लाउँछ नै। तर के सधैं माया भन्ने शब्दलाई सस्तो र मूल्यहीन बनाएर त्यसमै लेपिएका झर्कोलाग्दा स्वर सुन्दै गतिशील समय एकनासले मौन बस्न सक्छ? रुग्ण, जीर्ण अनि हजारौं समस्याले थिचिएर निस्सासिएको कुनै मानव आत्मा केवल जाली प्रेमको गीत गाउँदै र सुन्दै निरन्तर रमाइरहन सक्छ?’

भूपि दाजु र पारिजात दिदीको सवाल–जवाफ चलिरहँदा आफैँ पनि अचम्ममा डुबिरहेको हुन्छु। हामीले गाएका गीतलाई बाहिर कतिसम्म, कुन ढंगमा लिइँदो रहेछ! त्यसको चर्चा परिचर्चा कसरी चल्दो रहेछ!

‘तिमी नै भन, राल्फाको गीतहरूमध्ये तिमीलाई कुनचाहिँ गीत बढी मनपर्छ?’ दिदी भूपि दाइलाई अकस्मात् सोध्नुहुन्छ।

‘कोसीछेउ उभेको सिमल जत्ति नि बाँच्दिनँ म’, ‘बालुवा, किथ्रा, मरुभूमि’, ‘सिमल माझी घाटहरू’। तर राल्फाभाइहरूका यस्ता प्रयोगात्मक गीत गाउन र बुझ्न धेरै कठिन छ। पारम्परिक ढंगका सामान्य स्थायी–अन्तरामात्र भएका गीतभन्दा फरक छन् ती। गीतका शब्दशब्दमा, लहरलहरमा भावअनुसारको सांगीतिक लयरचना गरिएको थाहा लाग्छ। जसलाई सम्झन, सिक्न निकै समय र मेहनत गर्नुपर्छ। मेरो अनुभवमा गीतलाई सामान्य रूपमा मन पराउन पनि धेरैपटक सुन्नुपर्छ। यसैले निकैपटक सुनेकाले यस्ता गीतबारे सामान्य धारणा बनाउन सकेको हुँ। केही लयहरूसँग परिचित पनि भएकोले सामान्य गुन्गुनाउन सक्छु। तर समग्रमा अझै पनि ती कस्ता गीत हुन् बोलिहाल्न सक्दिनँ।’

‘ल ठिकै छ, यी त भए कलात्मक अनि कवितागीतका कुरा। सारा देश र जनतालाई मुट्ठीमा राखेर कज्याउने क्रूर शाही पञ्चायती व्यवस्थाको विरोधमा गाइएका राल्फाका गीतबारे तिमी के सोच्छौ? तिमी त क्रान्तिकारी विचारमा लागेर तात्नु तातेको मान्छे– के त्यस्ता विद्रोही गीतलाई तिमी सपोर्ट गर्छौ? ‘मेरो बूढो हिमालको देश’, ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू’, ‘बजाउन बाँसुरी कान्छा’, ‘खै मेरो स्वतन्त्रता’, ‘चेगुभेरा’, ‘धनुबाँसको मुरली’जस्ता थुप्रै परिवर्तनकारी गीतलाई तिमी के भन्छौ? कि त एकपटक आफू सर्वहाराको राजनीतिमा हाम्फालेकाले ‘उद्देश्यहीन, सिद्धान्तहीन गीत’ भन्दै उपेक्षा गर्छौ वा ‘अल्लारे जोसका आवेगी अराजक गीत जसले कुनै समाधान दिने हैसियत राख्दैन’ भनेर बेवास्ता गर्छौ? कस्तो चैं गीत गाए तिमी राल्फाको पक्षमा वकालत गर्छौ?’

निकै बेर गम खाएपछि भूपि दाइको शिष्ट स्वर सुनिन्छ, ‘राल्फाका विद्रोही गीतहरूले हात्तीको जिउमा चिस्स सानो घाउ चैं लगाऊला तर त्यत्तिले मात्र हात्तीले टेर्दैन कि! सम्पूर्ण आततायी शक्तिले लेस शाही सत्तालाई राल्फाका विद्रोही गीतले कति नै प्रभाव पार्ला र! अँ…पछिपछिसम्म संगठित ढंगबाट यसरी नै गीत गाउँदै गए सायद शाही शक्तिको आयु चैं घटाउँदै लान सक्ला कि! तर त्यस्ता गीत गाएर हिँड्ने राल्फागायकको आयुबारे तिमीले के सोचेका छौ कुन्नि? सत्ता कति क्रूर हुन्छ तिमी बुझ्छौ हैन? अनि पुराना गीतसंगीत सुन्ने बानी परेकाहरूले खै कसरी स्वीकार्लान् यस्ता नौलाखाले संघर्षशील गीतहरू! तर पछिपछि बिस्तारै यसका भावमर्म, उद्देश्य र लयस्वरलाई बुझेर आत्मसात गर्दै गए भने जनपक्षधर स्रोताले आत्मगौरव र परिचयको रूपमा ग्रहण गर्न सक्छन्।’

भूपि दाजु र पारिजात दिदीको प्रश्नोत्तरको गम्भीरताले मलाई कहिले उम्लेको पानीलेे, कहिले बरफपानीले छोएको अनुभूति गराइरहन्छ। तर हामी राल्फा गायक, संगीतकार र गीत लेखक साथीहरू आफूले गाएको गीतको गहनता बुझ्दाबुझ्दै पनि सायद यति लामो सोच, यसका दूरगामी प्रभाव र सम्भावित खतराबारे सोचेर गाइरहेका थिएनौं। हामी त आफ्नो सिर्जनामा मगनमस्त थियौं। हामी यति आनन्दित भएर गाउँथ्यौं; लाग्थ्यो– त्यो आनन्दअघि सारा दुःख, पीडा, यातना, मृत्यु सबै मूल्यहीन छन्।

‘अनि प्रेमगीत पनि गाउँछन् नि राल्फाहरू। सुनेका छौ?’

‘केही त सुनेको हुँला तर सबै सुन्न पाएको छुइनँ।’

‘कुर्नु कुरिसकेपछि पर्वतले जून पायो’, ‘इन्द्रेणीको गलबन्दी साइँला हजुरलाई’, ‘तिमीलाई खोज्न आएँ यो खोलाको तीर’, ‘हेर्दाहेर्दै थाके आँखा’, ‘बाँसुरी नबजाऊ साइँला’, ‘हाम्रो अँगालोबीच क्षितिज कहाँ मान्यो र बाँधिइन’, ‘मायाले दिए सयपत्री फूल’जस्ता स्वस्थ, सरल, सुन्दर र सार्थक प्रेमगीत अनगिन्ती छन् राल्फाको गीतिभण्डारमा। मञ्जुलसँगै मेरा केही गीतलाई रायन, रामेशले सुमधुर लयद्वारा सिँगारेका छन्। म निर्भीक भएर भन्न सक्छु– ‘नेपाली प्रेमगीतबारे कोही सोधखोज गर्न आए मायाप्रेमको गरिमा, मूल्य र महत्त्वबोध गराउने सार्थक प्रेमगीत राल्फासँग धेरै छन्। जसलाई अहिलेका प्रेमगीत गाउने गायक गायिकाहरूका लागि एउटामात्र गाउन पाए गौरवान्वित हुन पर्याप्त हुनेछ।’

‘हो, मैले सुनेका राल्फाका गीतमा शब्दभाव, सांगीतिकता यति सरल, सुमधुर र कर्णप्रिय छन्, जसले अन्तरमनलाई आनन्दको सुखमार्गमा डोर्या्उने अपूर्व क्षमता राख्छ। पूर्वाग्रह नराखी भन्नुपर्दा केही प्रणयगीतसँगै त्यस्ता केही गीतको नाम अहिले पनि सजिलै भन्न सक्छु– ‘मेरो प्यारो ओखलढुंगा’, ‘कोसीछेउ उभेको सिमल’, ‘ओलाङ्चुङगोला’, ‘भोल्गाकी सानी नानी’, ‘बालुवा, किथ्रा, मरुभूमि’, ‘नाचुँनाचुँ लाग्थ्यो,’ ‘पहाडको रानीवनमा’। अरू गीत पनि होलान्, जसलाई मैले सुन्न सकेको छुइनँ। यस्ता गीतको म सदा प्रशंसा गर्छु। तर अरूले सुन्न नपाएका त्यस्ता गीतको वर्णन र प्रशंसा म एक्लैले गर्दा ‘कतै म एक्लो त पर्दिनँ’ भन्ने आशंका पैदा हुन्छ। यसै सन्दर्भमा मैले लेखक ध्रुवचन्द्र गौतम भेटेको छु, जो संगीत बुझ्छन् र राल्फाका गीतको खुलेर प्रशंसा गर्छन्। अनि अर्को सत्य– यदि सञ्चार माध्यमबाट राल्फाका गीत निरन्तर बजिरहने हो र स्रोताले निरन्तर सुनिरहने हो भने त्यसले गीत सुन्ने स्वाद र स्तर बदल्न सक्छ। तर सरकार र धनपतिहरूको असहयोगले राल्फाले त्यो अवसर सायदै पाउला!’ भूपि दाइ आफूभित्र डुब्दै, उत्रँदै कताकता हराउँदै एकनासले बोलिरहनुहुन्छ।

‘प्रयोगात्मक कविता गीत, नौला शब्दरचित अमूर्त गीत, सुमधुर–सुगम–सरल आधुनिक गीत, सामन्ती सत्ताविरुद्ध जाइलाग्ने विद्रोही क्रान्तिकारी गीतमात्र होइन विशुुद्ध नेपाली माटोमा सिर्जित नेपाली आत्मा बोकेका ठेट नेपाली लोकगीत गाउनुका कारण पनि यिनीहरू देशभरि चर्चित र प्रिय छन्। यिनीहरूलाई भेट्नुभन्दा पहिला यिनले रेडियोबाट गाएका लोकगीत सुनेर नै म प्रभावित भएकी हुँ। आखिर राल्फा समूह बन्ने प्रमुख आधार पनि तिनै लोकगीत भए,’ दिदीको स्वरमा आत्मविश्वास झल्केको हुन्छ।
म बिस्तारै भित्र पस्छु। अभिवादन गरेर बसेपछि दिदी भन्नुहुन्छ, ‘मलाई लाग्छ यी बिउबिरुवाको स्याहार र संरक्षण तिमी–हामीले गर्र्नुपर्छ। यिनीहरूले फुल्नफल्न पाए नेपाली गीत संगीतलाई यिनका कृतिले गौरविलो बनाउनेछन्। यिनका परिवर्तनकारी गीतले समाज र देशलाई उज्यालोतिर डोर्यागउन सघाउनेछन्। यिनीहरूमा केही त्यस्तो क्षमता मैले भेटेकी छु। तर म यिनको अन्धप्रशंसक चैं होइन। तर यिनका गीतिरचना, संगीत अनि गायनको नौलो शैली सुनेपछि यति भन्न विवश छु। विवशमात्र हैन, मैले मेरो कर्तव्य सम्झेकी छु। सारांशमा मैले नेपालमा प्राप्त गरेको जुन परिचय र पहिचान छ त्यो शक्तिले म यिनीहरू र यिनका कृतिलाई देशभर परिचित गराउन चाहन्छु।’

केही समयपछि भूपि दाजु, पारिजात दिदी र राल्फाका अन्य शुभेच्छुकको प्रयत्नमा दार्जिलिङमा गएको ठूलो पहिरोमा परेकाहरूको सहयोगार्थ पुलिस क्लब हल (जुन ठाउँ पाउन पञ्चायती व्यवस्थाका विरोधी राल्फाका लागि असम्भवजस्तो नै थियो) मा पहिलो गीति कार्यक्रम ‘नीलो जून’ सम्पन्न भयो। त्यहाँ भूपि दाजु, पारिजात र सुकन्या दिदीका साथै नियमित रूपले दिदीको कोठामा हाम्रा गीत सुन्नेहरुको छनोटमा गीतहरू गायौं। कार्यक्रमपछि स्रोताहरू अनौठोे प्रसन्नतामा देखिन्थे।

राति पारिजात दिदीको कोठामा सबै जम्मा भएका थियौं। स्रोताहरूलाई कस्तो लाग्यो– सबैले आफूलाई लागेको कुरा भने। लोकगीत मन पराउनेले ‘झिल्लीमाइ’, ‘रामराम रेलिसिक्री’, ‘केको चोइटा’, ‘रेसम’, ‘मजम फूल’, ‘ए नि लैलै’, ‘सेमुना’जस्ता गीतलाई मज्जाले सुने। सुगम संगीत रुचाउने ‘कोसीछेउ उभेको सिमल’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘भोल्गाकी सानी नानी’, ‘भन रानी कहाँ बस्छौ पहरा कि भीर’, ‘पहाडको रानीवनमा’जस्ता गीतमा आनन्दित देखिए। ‘हजार इन्दे्रणीहरूको एउटा रूख’, ‘सर्पजस्ता अनुभूतिहरू’, ‘हाम्रो अँगालोबीच क्षितिज’, ‘सिमल माझी घाटहरू’ सुन्दा कसैले भने– ‘हामीले नबुझेका हौं कि, यिनैले नबुझ्नेखाले तथानामका गीत गाएका हुन्?’ ‘रिङलाबेम्बो,जावागेल्मा’ गीत सुन्नेहरूले चकित पर्दै भने– ‘यो चैं कुन भाषाको गीत हो?!’ ‘तिम्रो नाममा पशु हुन मलाई स्वीकार छैन, तिम्रो नाममा बलि हुन मलाई स्वीकार छैन’ भन्दै पञ्चायती व्यवस्थालाई ‘आदिम पशु’ भनेर गाएको सुन्दा त्यहाँ आएका केही हाकिम जागिर जाने डरले आत्तिएर हिँडे। ‘धनुबाँसको मुरली’ गाउँदा कसैले भने– ‘यी त जनता सुर्याोउने गीत पो गाउँदा रहेछन्।’ हामीले कार्यक्रममा इजराइली गीत ‘हाबा नागिला’ र स्पेनिस ‘ग्वान्तानामेरा’ पनि गाएका थियौं।

कार्यक्रम हेरेका स्रोताहरूको भनाइ वा प्रतिक्रिया सबैले आ–आफ्नै ढंगले सुनाइसकेपछि पारिजात दिदीले भन्नुभयो, ‘नीलो जून’ गीति कार्यक्रमबाट उद्घाटित राल्फाको यो अभियान अब देशैभरि पुर्या्उने कोसिसमा हामी हुनेछौं। नेपाली इतिहासमा एउटा नयाँ आयाम थप्न, देशलाई नयाँ परिचयले परिचित गराउन यो एउटा नयाँ सुरुवात हुनेछ। चाहे हामी होऊँ वा नहोऊँ– यो अभियानले नेपाली जनताको भलो गर्ने, न्याय, समानता, समृद्धि र सम्मानका लागि उठिरहनेहरूलाई साथ र समर्थन दिइरहनेछ। राल्फाको भविष्यबारे त थाहा छैन! तर दुःखद वर्तमानलाई भत्काएर सुखद भविष्यका लागि राल्फा–अभियान निरन्तर अघि बढिरहनेछ।’

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.