काठमाडौंको कुनै परिचित स्थान।
युवायुवतीको भीड। भीडमा मैले उसलाई देखेँ। उसले पनि मलाई देखी। तर, देख्नेमध्ये पहिलो म नै थिएँ। मैले देखेको एकाध सेकेन्डपछि मात्र उसले मलाई देखेकी थिई।
देखेको केही समय नबित्दै हामी बर्षौं पुराना साथी भइसकेका थियौं। यो मेरो बुझाई हो। उसको बुझाई पनि त्यस्तै भएको उसले मलाई तत्कालै सुनाएकी थिई। त्यो कसरी सम्भव भयो? विवरण लामो छ। म विस्तृतमा जान चाहन्न। तर, त्यस्तो हुन्छ। हामी त्यसका सबैभन्दा बलिया प्रमाण हौँ। त्यो उसले नै भनेकी थिई।
पहिलो भेट र भेटको सुरुवात नै मीठो। सम्झँदा पनि आयु नै लामो हुन्छ जस्तो। उत्साह र हार्दिकता दुवै उत्तिकै। केहीबेर हामी उभिएरै मस्त थियौं। त्यसपछि शीतल खोज्दै एक कुना लाग्यौं। बाल्यकालदेखि भविष्यसम्मका कुरा भए। जीवन र जगतको चिन्तन पनि।
एक अर्कामा जब विश्वास, हार्दिकता र इमान्दारी हुन्छ, संवादमा लोभलाग्दो मज्जा आउँछ। हामी त्यही मज्जामा थियौँ। यसरी हाम्रो जीवनमा एउटा अर्को सुनौलो पाना थपिएको थियो। म यहाँ त्यही त सेयर गर्दैछु, पाठकलाई। जीवनको एउटा प्रिय पाना। जहाँ प्रेम नामको चरा सम्बन्धको रुखमा बसेको थियो।
छुटिट्नअघि उसले बिस्कुट खाई। दूधचिया पनि खाई। बेढंगले च्यातिएको प्याकेटको खोलमा बाँकी रहेको बिस्कुटको धुलो चाहिं मैले चियाको अन्तिम सुरुपसँग खाएँ।
त्यस्तो भइसकेको थियो हाम्रो सम्बन्ध एकै छिनमा।
उसका आँखा र आवाज दुवै उत्तिकै हिस्सी। विचारमा पनि अर्कै खालको हिस्सी महसुस गर्दै थिएँ म। तर, म पछिल्लो समय उसले भनेको एउटा शब्द बढी सम्झन्छु। भनेकी थिई, ‘मलाई मेल अर्ग्यान देख्नेबित्तिकै के हुन्छ? हुन्छ? समग्र पुरुष जातिप्रति घृणा लाग्छ। म लल्याकलुलुक हुन्छु। मसँग पीडा हुन्छ। प्रतिरोधको भावना पनि हुन्छ। तर, प्रतिरोधी शक्ति हुँदैन।’
यस्तो कुरा सिधै पहिलो दिन नै नभए पनि हामी त्यतातिर पहिलो दिन नै प्रवेश गरेका थियौं। जब स्वयम्भूका डाँडाहरुमा हामी अग्लिदै थियौं, ऊ एक्कासी भन्दै थिई, ‘फिजिकल्ली मलाई अरु खासै प्रब्लम त छैन तर पिसाब पोल्ने रोग छ। यदाकदा।’
त्यो उसले किन भनेकी थिई? म बुझ्न सक्थेँ। त्यो हाम्रो मित्रतामा आत्मीयताको अभिव्यक्ति थियो। कुनै बन्देज र बारबिनाको। तर, कुरा मैले नै उठाएको थिएँ, ‘अहिलेका जोडी एकान्तमा मात्र होइन, जताततै जे पनि गर्न पछि पर्दैनन्।’
छेउमा जोडीहरु लोभलाग्दो गरी ‘चुम्बन’मा मस्त थिए। मौसम सफा भएको दिन हिमालको सौन्दर्य अझ स्पष्ट देखिन्छ, युवतीहरुको जवानी त्यसरी प्रष्टै देखिएको थियो। त्यो मेरा आँखाले खिचेको दृश्य थियो।
उसका स्त्री आँखाले खिचेको दृश्य अर्कै हुनसक्थ्यो। ऊ युवकहरुमा त्यस्तो अनुभव गर्दै थिई कि? तर, न मैले सोधेँ न उसले नै बताई।
बरु मेरो मनोवादलाई भत्काउँदै उसले भनी, ‘अहिलेका केटाकेटी सिधै हामफाल्छन्। र, एवोर्सन् सामान्य बन्दै छ।’ ऊ पनि अर्कै ढंगले मेरो आशयमा स्वयम्भुका सिँडी झैं उक्लिँदै गई।
यौन अब हाम्रो गफको सामान्य र स्वाभाविक बिषय बनिसकेको थियो।
‘म यौनप्रति सकारात्मक छु। तर, त्यो सुरक्षित र गोप्य हुनुपर्छ’, मैले भनें।
उसले सहमतिको टाउको हल्लाई।
वाह! केटीसँग सेक्सका गफ गर्नुको आनन्द बेग्लै। मलाई मात्र हो कि सबैलाई यस्तै हुन्छ?
म उसलाई नजानिँदो तरिकाले तयार गर्दै थिएँ कि? अन्यथा म किन त्यस्ता प्रश्न वा प्रसङ्ग ल्याइरहेको थिएँ। यो यतिबेला मलाई लागेको कुरा हो।
तर, त्यति बेला मलाई ऊ र मबीचको संवाद अश्लील लागेन। लाग्ने कुरा नै के भएको थियो र? यत्ति हो, हामी सम्बन्ध, प्रेम र यौनबारे थप खुल्दै थियौं। उदार साथी हुनुको अनुभुति हुँदै थियो मलाई। उसलाई पनि त्यस्तै भएको उसले मलाई पछिल्ला भेटहरुमा सुनाएकी थिई।
भीडभाडमा हामी परिचित भएका थियौं एक्कासी। तर, तत्कालै त्यहीँ एकान्त जस्तो अनुभुति साझा बन्दै थियो। संयोगले त्यही दिन हामी बाटो परेकोले स्वयम्भूको डाँडा उक्लिएका थियौँ। देखेकै पहिलो दिन। भेटेकै पहिलो दिन। बोलेकै पहिलो दिन। पहिले भेटमै अनुभुतिले सम्बन्ध पुरातात्विक भइसकेको थियो।
‘बाटो छेऊमा स्वयम्भू। कसरी छलेर अगाडि बढ्नु? म स्वयम्भू जान मन पराउँछु। तिम्रो विचार के छ?’ हावामा सोधेको प्रश्नमा उसको उत्तर थियो, ‘जाने र?’
त्यसपछि मैले मोटरसाइकल स्वयम्भुको पश्चिम पार्किङमा लगेको थिएँ। र, पहिलो चोटि हामी संयुक्त रुपमा उक्लिदैं थियो।
छेउछाउका क्युरियो पसल अनि अलि परसम्म फैलिएको ‘ऊँ माने पेम हुँ’ को लगातार ध्वनी। एउटा डाँडाबाट अर्को डाँडासम्म फैलिएका धागाहरुमा हावाले फरफराइरहेका विभिन्न रंगका बुद्धिष्ट मन्त्र लेखिएका ध्वजा। हरिया रुखहरु।
यात्रा साँच्चै फुलजस्तै मगमगाइरहेको थियो। हाँसो पनि उस्तै सुस्तरी पोखिरहेकी थिई ऊ। कन्भर्स जुत्तामा चुपचाप–चुपचाप चलेका उसका पाइलाहरु। ऊ डान्सकी अब्बल विद्यार्थी रहिछ।
ऊ स्वयम्भुका यताउता सबैतिरका मूर्तिहरुतिर गई।
म अलि वरै रहेर उसलाई र उसका चालहरुलाई हेरेको हेर्यै भएँ।
जीवनका साह्रै सुन्दरमध्येका दृश्यहरु!
उसले त्यो दिन कुर्ता सुरुवाल लगाएकी थिई कि पाइन्ट र टिसर्ट? तर, उसले सल भिरेकी थिई। कालो र सेतो रङको छिर्केमिर्के सलको कडा सम्झना छ मसँग।
अहिले याद आयो। उसले टिसर्ट र पाइन्ट लगाएकी थिई। छातीको साइज पनि मलाई याद छ। तर, कलात्मक। हन्ड्रेड पर्सेन्ट।
ऊ मूर्ती अगाडि मूर्ती झैं उभिई। र, सुरु भयो उसका अनेक हाउभाउ। उसको प्रस्तुति मोहक थियो। उसले विभिन्न मुद्रा प्रस्तुत गरी। ढुङ्गाको मूर्ती पनि मुद्रामै थियो। तर, मान्छे जब मुद्रामा देखिन्छ, कति गहिरो संकेत र सन्देश दिन्छ, मैले पहिलोपल्ट आनन्दपूर्वक अनुभुति गरेँ। जीवनमा मलाई पहिलोपल्ट मूर्ती र मुद्राबीचको सम्बन्ध ज्ञान भयो, त्यसरी।
मूर्ती अगाडि उभिएर मूर्तीजस्तै मुद्रामा उभिएकी ऊ, उसको शरीर, शरीरका अंगहरु र उसले फिलिंग्स्मा आएर त्यसको अर्थहरु बताएको उसको कलामिश्रित आवाजसहितको त्यो क्षण मेरो आँखैमा छ। आँखाभन्दा बढी मनमा। उसले मलाई दिएको त्यो सबभन्दा गहिरो इम्प्रेसन हो।
म सम्झन्छु, गोप्यजस्ता लाग्ने जीवनका कति पानाहरु उसले त्यसै दिन खोलेकी थिई। खोल्न त मैले पनि खोलेकै थिएँ, आफ्ना पानाहरु। फिल इन द ब्ल्याक्स्को शैलीमा। तर, उसको कुनै व्याकरण थिएन। जसरी म उसलाई खोल्दै थिएँ, ऊ खुल्दै थिई। रहस्यात्मक, कलात्मक र सरल।
साँझ बाक्लिँदै गर्दा हामी छुटि्टसकेका थियौँ।
छुटि्टएपछि मैले उसको अनुहार सम्झन कोशिस गरेँ। मलाई उसको मूर्ती मुद्रा मात्र याद भयो। ताण्डव, भैरव, उन्मत्त र अरु थुप्रै मुद्राहरु।
क्रिडाको उच्चतामा पुगेको बेलाको भगवान नृत्यमुद्रा क्या लाइभ! उसले मलाई साह्रै आत्मिय ठानेर त होला, आफू एक्लै भएको बेला पनि अभिनय गर्न लाज लाग्ने मुद्राहरु बिना अप्ठ्यारो नै गरेर देखाई। मान्छे–मान्छेमाझ। तर, यो पहिलो दिनको कुरा होइन, अलिपछि।
आहा! त्यो मुद्राले घाइते बनाएको थियो मलाई।
बेलुका फेसबुक खोलेर खोजें, उसको नाम। ऊ त्यहाँ पनि भेटिई। तर, एकाध तस्बिर मात्र रहेछन्। एउटा तस्बिरमा ऊ परीभन्दा कम थिइन। नृत्यपोशाकमा थिई ऊ त्यो तस्बिरमा। त्यो तस्बिर मैले पटकपटक हेरेँ।
…
केही दिनपछिको दोस्रो भेट पनि दास्रो भेटजस्तो थिएन। धेरै पुरानो भेट थियो त्यो। कुनै साझा कामले हामीलाई भेटाएको थियो, दोस्रो पटक। यद्यपी हामीले समय मिलाएर प्रायोजित रुपमै भेटेका थियौं।
ऊ संगीतमा एमए गर्दै रहिछ। बीएमा उसले संगीत, नृत्य र नाटक पढेकी रहिछ।
उसले कलेजका बीए पढ्दाताकाका कुरा गरी।
एउटा तवलाबादक शिक्षक रहेछ। उसले एक दिन एकान्तमा तवला बजाउँदै भनेछ, ‘म तिमीलाई एउटा कुरा भन्छु।’
त्यसपछि उसले तबला बजाउन छाड्यो। तबलाको कुरा गर्न छाड्यो। र, कुरा सुरु गर्यो, विद्यार्थीसँग आफ्नो विगत सम्बन्धबारे, ‘केटीहरु एकदम भोका हुन्छन्। कतिपय मेरा विद्यार्थी पनि। उनीहरुले आफ्नो भोकबारे मलाई बताए। र, उनीहरुकै आग्रहमा मैले उनीहरुको भोकलाई मजाले मेटाएँ। त्यसपछि भोकखेल धेरै समयसम्म धेरैजनासँग चलिरह्यो।’
यति भनेर उसले भूमिका पो बाँधेको रहेछ। त्यसपछि उसले सिधै प्रस्ताव गरेछ, ‘अब तिमीलाई पनि त्यस्तो केही छ भने भन। म तिमीलाई पनि सहयोग गर्छु। तिम्रो भोक मेटाउँछु। तिम्रो शरीरको भोक। तिम्रो मनको भोक।’
तवलामा हात राखेरै उसले यो सब भनेको थियो रे।
त्यसपछि पेट दुखेको अभिनय गरी त्यहाँबाट ऊ ओझल भई, एकै छिनमा आउँछु है भन्दै। त्यो कलेजकै एउटा कोठामा दिउँसै भएको घटना थियो। उसले सजिलै गरी मजाले भनेको थियो रे।
उसले मलाई त्यो सब सुनाइरहँदा त्यो संगीत शिक्षकको तबलाबारे सोच्दै थिएँ। त्यस्ता भोकखेलका कति साक्षी भइसकेको होला त्यो तबला। नि:शुल्क नीलो नग्नता।
उसको बाल्यकाल सुखद रहेन। बुवा नामको पुरुषप्रति उसको प्रेम थिएन। बाबुसँग छोरीको प्रेम नहुनु कति भयानक स्थिति हो? मसँग प्रश्नमात्र छ। उत्तर झन् भयानक हुन्छ भन्ने मलाई थाहा छ। यहाँ पाठकलाई म फेरि अन्याय गर्छु। र, त्यो विगत शब्दमा अदृश्य नै राख्न चाहन्छु। क्रुरताको गहिरो खाडल म पाठकलाई बाँड्न चाहन्नँ।
आमासँग थिई ऊ। मामाघरमा हुर्केकी रहिछ। मामा यस्तो परेछ, सानैदेखि उसको संवेदनशील अंगमा आँखामात्र होइन, हात समेत लगाउने। यो उसले पछि मात्र बुझि। झन् भयानक!
यस्ता अनेकौं घटना अहिले पनि फ्ल्यासब्याकमा आउँछ रे।
पुरुषविरोधी फ्ल्यासब्याकका अनौठा अनेक कोलाज सुनाई उसले।
आकारमा स्त्री भए पनि सारमा ऊ स्त्री हुन सकेकी रहिनछ।
तेस्रो भेटमा उसले भनी, ‘सबै केटाहरु उस्तै हुन्छन्। मौका पाए छाड्दैनन्। मौकाको पर्खाईमा मात्र हुन्छन्।’
तर, ऊ मलाई अलग ठानिरहेकी थिई।
‘म पनि त्यस्तै हो। फरक यत्ति हो कि बाध्यतामा पारेर म अगाडि बढ्दिन’, मैले भनें, ‘स्वकारोक्तिबीच सम्बन्ध सुन्दर हुन्छ। त्यो स्वर्ग हो। त्यो हाम्रो लागि जीवनभर एउटा सुन्दर सम्झना हुनेछ। तिमी बदलिनेछ्यौ।’
ऊ र मबीचको कुराकानी एक छिनलाई ‘पज’ गर्छु।
बरु फेरि उसकै फ्ल्यासब्याकमै जाउँ।
सोह्र बर्ष हुँदा उसको पहिलो चोटि यौनसम्पर्क भएछ। तर, ‘वार्मअप’सम्म राम्रै थियो। ऊ आकर्षित थिई। ऊ उत्सुक पनि थिई। जब उसले ‘मेल अर्ग्यान’ देखी, त्यसपछि उसलाई अनायास के भयो भयो?
उसलाई पीडा भयो। शारिरीक र मानसिक दुवै।
केटो पछाडि हटेन। उसको अर्जुनदृष्टि डगमगाएन। उसले विजय मनाएरै छाड्यो।
लाशवत् विजय!
ऊ रुन सकिन। उसले प्रतिकार पनि गर्न सकिन। उसले आफुलाई विवश मात्र पाई।
बीस बर्षमा आइपुग्दा अर्कै केटासँग उसको त्यस्तै स्थिति बन्यो। त्यो उसको रहरबाटै सुरु भएको थियो, सुरुमा। तर, बीचमा आइपुग्दा ऊ अर्कै भइसकेकी थिई। फेरि पनि ऊ उस्तै विवश थिई। प्रतिकारहिन। तर, घाइते।
‘म पनि चाहन्छु। तर, किन मलाई त्यस्तो हुन्छ?’ उसको प्रश्न।
मैले भनें, ‘तिमी सबैभन्दा पहिले शतप्रतिशत केटी बन्न सक्नुपर्छ, मनैदेखि। त्यसको लागि तिमीले फेरि त्यस्तै स्थितिको सामना गर्नु पर्छ, प्रारम्भिक रुपमा। तर, जब तिमी घृणाको मोडमा आइपुग्छौ, त्यतिबेला तिमीलाई असल साथी चाहिन्छ।’
म भन्दै गएँ मेरो योजना-
त्यो विवश हालतबाट सेफल्यान्ड गर्ने पुरुष चाहिन्छ तिमीलाई। यौनलाई पूजाको स्वरुपमा ढालेर तिमीलाई नर्मल बनाउनु पर्छ। त्यसको लागि म तयार छु।
यो नठान, यौनको लागि यौनसम्पर्क म गर्नेछु तिमीलाई।
तिमीलाई त्यो भयानक मोड वा अनुभुतिबाट मुक्त गर्दै तिमीलाई शतप्रतिशत केटी हुनुको शतप्रतिशत अनुभव गराउन चाहन्छु।
त्यसका लागि एक दिन हामी कतै टाढा जान्छौं। तर, त्यहाँ हामीले त्यही गर्छौं वा गर्नुपर्छ भन्ने कुनै जरुरी छैन। यदि हामी त्यो स्थितिमा कदमकदाचित पुग्यौं भने मलाई थाहा छ, सुरुमा तिमी उत्साहित हुनेछौ। र, बीचमा जब तिमीले ‘मेल अर्ग्यान’ देख्नेछौ वा स्पर्श गर्नेछौ, त्यतिबेला तिमी विकर्षणको घोर अवस्थामा पुग्नेछ्यौ।
मेरो परीक्षा त्यहीँनेर हुनेछ।
त्यहाँ म असफल भएँ भने तिमी फेरि अर्को एकपटक नराम्ररी घाइते हुनेछौं। तिमी पुरुषलाई झन् बढी घृणा गर्न थाल्नेछौ।
तर, विश्वास गर, म तिमीलाई प्रेमपूर्वक प्रेमको स्थितिमा पुर्याउने छु। फूलका कुरा गरेर। जूनका कुरा गरेर। त्यसो गर्दा पनि तिमी मेरो पुरुषसँग खुसी हुन सकिनौ भने म आफूलाई शतप्रतिशत नियन्त्रण गर्नेछु।
यो एक प्रकारको थेरापी हो। शरीर र आत्माको माध्यमबाट गरिने विशेष प्रकारको थेरापी। तिमीलाई थाहा छ, यद्यपी म प्रोफेसनल थेरापिस्ट वा डाक्टर होइन।
तिमी चाहन्छ्यौ भने मात्र, अझ यसरी भन्छु, हार्दिकतापूर्वक चाहन्छ्यौ भने मात्र म तिमीलाई तिमीले चाहेको सबैथोक गर्नेछु।
कतैबाट फर्किदै गर्दा साझाबसको पछिल्लो सीटमा म नजिक भएर उसलाई यी सब कानैमा ठोक्किएर भन्दै थिएँ। सुस्तरी। आवाजले भन्दा बढी सासले।
त्यसो भन्दै गर्दा जाडो महिनाको त्यो दिन उसले मेरा हात र औलाहरु आफ्ना दुवै हातले चलाएर तताइरहेकी थिई।
ऊ खुशी र संशकित दुवै थिई, त्यति बेला। त्यो मेरो ‘रिडिङ’मात्र पनि हुनसक्छ। सिधै मेरो आँखामा आँखा नेहरी बरु थोरै झुकाएर भन्दै थिई, ‘मलाई कस्तो डर लागिरहेको छ!’
ऊ मेरो थेरापीमा रिहर्सल गरिरहे झैं भएकी थिई। भन्दै थिई, ‘रातै बिताउन अलि गाह्रो होला तर बहाना बनाएर म तपाईंले भनेजस्तो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मिलाउन सक्छु। तपाईंले भनेजति दिन।’
म उसलाई खासमै उद्धारै गर्न चाहन्थेँ। यौन मेरो लोभ थिएन। मैले उसलाई बुझेको छु भन्ने लागेर उसलाई उपचार गर्न चाहन्थेँ म। उपचार पुण्यको काम हो। पूजाको काम हो। प्रेमको काम हो।
पुरै एक्लै एकान्तमा बिना दुरी उसको मनबाट पुरुषप्रतिको अविश्वास मेट्न चाहन्थेँ म। एक अर्कामा पुरै समर्पित भएर। बिना दूरीमा रहेर।
…
मनको योजना खोलेँ यहाँ।
कुनै दिन के मैले उसलाई उपचार गर्नेछु? के त्यो उपचार नै हो?
तर, त्यो उसको उपचार हो कि मेरो?
प्रकाशित मिति: शुक्रबार, आश्विन ८, २०७२ १२:४६:५९
(स्रोत : Setopati)