कथा : जीवनमृत्यु चोकको पसल

~गोकर्ण भट्ट~Gokarna Bhatta

रातको एक बज्न आँटेको हुनुपर्छ। घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन् मान्छेहरु। हार्ने इतिहास बोक्नेहरुका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ सायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरु ताली पिटिरहेका छन्, उनीहरुको देशले आज चौकामाथि चौका बर्साइरहेको छ। तथाकथित राष्ट्रियता झल्किँदैछ उनीहरुको अनुहामा।

भित्र कोठामा एउटा बुढो शरीरले जीवनका अन्तिम कोषहरु उत्पादन गर्ने असफल प्रयत्न गर्दैछ। छेउमैं बसेको छ, जिन्दगीमा एक्लै हुन गइरहेको अर्को व्यक्ति। मलिन, क्लान्त मुहरामा चिम्सिएका आँखाबाट पानी रसाइरहेको छ, मूलको पानी फुटेसरी। खाटमा पल्टिएको बुढो शरीर छट्पटिँदैछ, घरि टाउको यता पल्टाउन खोज्छ, घरी उता। हात चलाउन खोज्छ तर ऊ असफल भइरहेछ बारम्बार। कारण उसलाई जीवन दिने भनेर घोचिएका सुईहरुको पीडाले त्यसो गर्नबाट रोकिरहेको छ। टाउको समेत घुमाउन सक्दैन उसले। नाकमा मास्क लगाइएको छ। छेउमै सिलिण्डर माथि सिसीको सानो जारमा उम्लिएसरि पानी निरन्तर प्रवाहमान छ। यो पानीको गति र उसको छटपटीबीच मानौं केही सम्बन्ध भएजस्तो। पानी चल्न छोड्यो कि ऊ पनि बन्द। सदा सदाका लागि।

बिरामीको छेउमा आँखाबाट अश्रु चुहाइरहेकी बुढीले यताउता हेर्छे। सम्भवतः कुनै सहारा। मान्छेको लागि यतिखेर, यस्तोबेला सबैभन्दा ठूलो सहारा भन्नु नै भरोसा हो। त्यान्द्रो मात्रै किन नहोस्, डुब्दा त्यसले पनि त आँट दिन्छ किनारामा पुग्न। कसैले तँ एक्लै छैनस्, हामी छँदै छौं नि भन्ने शब्दहरु मात्रै पनि उसका लागि पर्याप्त हुन्थे। तर त्यत्ति भनिदिने समेत कोही छैन। झ्यालबाहिर अँध्यारोमा टिल्पिलाइरहेका बत्ती हेर्दै उभिरहेको छोरा बाहेक कोही छैन। अँध्यारोमा उसको विगत नाचिरहेको छ। टाढा कतै देखिरहेका बत्तीमा टोलाउँदै जसोतसो बुवाले आफूले नखाएर नलाएर पनि स्कूलको कापी किनदिएको सम्झिैंदछ उसले। घरी उसको ध्यान कोठामा जाँदैछ। जहाँ भावशून्य, विकल्पहीन जीन्दगी खाटमा पल्टिएको छ। अनि छिन् बिरामी भन्दा झनै गलेकी उसकी आमा।

एकछिनपछि झ्यालबाट कोठातिर फर्किन्छ छोरा। कोठा भन्दा घरको चारभित्ताको प्रतिबिम्ब आउँछ होला। तर यो कोठा भन्दा पनि एउटा हल हो। स्कूल, कलेजको ठूलो कोठा जस्तो। उनीहरुका लागि सारा संसार नै शून्य लागिरहेपनि यो हल भने पक्कै पनि शून्य छैन। यहाँ थुप्रै अर्धश्वासहरु चल्मलाइरहेका छन्। मधुरो बत्तिको उज्यालोमा छोराका आँखाहरु घुमे चारैतिर। छेउकै खाटमा एकजना मान्छे उत्तानो पेट पल्टिएको छ। पेटमा सेतो पट्टि देखिन्छ, छटपटिदै छ ऊ पनि। अर्को बेडमा यस्तै यस्तै छन्, कोही सुतेको अभिनय गरेजस्ता। कोही उँघेका। मानौं कि यहाँ आफूजस्तै अन्य रुग्ण श्वासहरु देखेर सबै श्वासहरु निराशाको अन्तिम स्थितिमा पुगेका हुन। कोठामा मधुरो बत्ती दिने धुलोको पत्रले ढाकिएको बल्ब छ र मान्छेका आसा अनि प्रत्यासाहरुलाई एकसूरमा नचाउँदै तीनचार वटा पंखा नाचिरहेका छन्। १८, २० वटा अर्धश्वासहरु पल्टिएका हरेक खाटमाथि लेखिएको छ, बेड नं. १, २, ३…।

जीवन संसार र मृत्यलोक बीच यो नम्बर नै उनीहरुको अन्तिम चौतारी हो श्वास बिसाउने। यहाँबाट फर्केर मान्छेहरुको संसारमा जाने अथवा मृत्युलोकको अनन्त यात्रामा अघि बढ्ने? यी दुबै विकल्पहरु यी सबै श्वासहरुका अगाडि छन्। हरेकको अन्तिम लालसा अझै मान्छेबीच नै बाँच्ने नभएको होइन। यो बेड मृत्युलोकको पहिलो आधार शिविर नबनिदेओस् भन्ने कामना उसको यानि छोराको पनि छ। उसको प्रत्यासा यो बेड नं. ले उसलाई मृत्युको घेराबाट बाहिर निकालोस् भन्ने हो। ऊ मात्रै किन यो २४ बाई ३६ को हलका २० वर्ट बेड नम्बरहरुको अभिलाषा यही नै छ।

मृत्यु र जीवनबीचको आधार शिविर मान्न सकिने यो हल एउटा अस्पतालको साइनबोर्डले बैधता पाएको छ। चाहे हलसित जोडिएको ट्वाइलेटको भेन्टिलेसन नै यो हल किन नबनेको होस्, चाहे लामखुट्टेका हुलहरुले दिउँसैदेखि मृत्यु संगीतमा नृत्य किन नगरेका होउन, चाहे कोठाको दुर्गन्धले फोहोरको डुंगुरबाट निस्किने गन्धलाई नै किन मात नगरेको होस्, बाहिर साइनबोर्डमा लेखिएको अस्पताल र रिसर्च सेन्टर भन्ने शब्दले यो मान्छेको जीवन जोगाउने ठाउँ हो भनेर परिचय दिने गरेको छ। यो वैध अस्पतालमा हरेक राती कम्तिमा एउटा जीवनलाई मृत्युले किन्ने गरेको कुरा बेजान साइनबोर्डले कहिल्यै बताउँदैन। न त साइनबोर्डले रोगी बिरामीहरुको वित्तीय अनुसन्धानबाहेक अन्य कुनै खोज यस रिसर्च सेन्टर हुँदैन भन्ने कुरा बताउँछ। साइनबोर्डले भित्रको केही बोल्दैन। ऊ पनि चालाक भइसक्यो धेरै।

तर मान्नैपर्छ, यो अस्पताल नियमबद्ध छ। यहाँ अनुशासन छ। अनुशासनको यस्तो नियम सम्भवतः कर्मचारीतन्त्रमा पनि पाइँदैन होला। जस्तो कि, यो अस्पतालमा बिहान नौ नबजी डाक्टर या अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति हुँदैन। उनीहरु नियमका पक्का छन्। यो अस्पतालमा बेलुकी ६ बजेपछि उनीहरुको विदा हुन्छ। राती बस्दैनन् उनीहरु। कोठामा खाँदिएका भेडाहरु मर्न सक्छन्, उनीहरुलाई थाहा छ तर जाबो आशा मारेका रुग्ण श्वासहरुका लागि उनीहरुले आफ्ना श्रीमती र श्रीमानको अंगालोको न्यानो राप किन गुमाउन?

अरु नियमहरु झनै अनुशासनबद्ध छन्। यो अस्पतालमा हरेक दिन कम्तीमा ४ जनालाई चिरिन्छ, र डाक्टर यति कुशल छन् कि अपरेसन उनीहरु एक्लैले गर्छन्। समय पनि बढी लाग्दैन। पिसाब रोकिन्छ या रगत आउँछ भन्ने बिरामी आयो भने दायाँ पेट चर्ररर चिरिन्छ, नसा तानिन्छन्, दायाँ हातको कैंची चल्छ, भित्र खाक्सीजस्तै मासु झिकिन्छ, अनि रोगीलाई त्यही कोठाको कुनै बेडमा थान्को लगाइन्छ। जस्तोसुकै बिरामी होस्, सकेसम्म चिर्न परोस्। चिर्न नसक्ने नै भए भएजतिका एक्सरेहरु गर्न सकियोस्। त्यो पनि गर्न नहुने स्थितिमा कमसेकम सूई त लगाउनै पाइयोस्। किनभने यो अस्पताल हो, समाजसेवा गरिरहेका छैनन् डाक्टरहरु।

व्यवहारमा भने अस्पतालमा साह्रै उदार छ, त्यो कोठामा एकजना बिरामीका लागि दसजना कुरुवा आएपनि पुग्छ। भाषण, गाली जे गरेपनि हुन्छ, चुरोटको धुवाँ उडाएपनि हुन्छ, भित्तामा पान थुकेपनि हुन्छ। यिनै विशेषता (मान्छेहरुका विवशता भन्दा अस्पतालको मानहानी हुनसक्छ) ले गर्दा अस्पतालमा प्रतिदिन ८ देखि १२ जना रोगीहरु चिर्नकै लागि भरिन्छन्। यो हलजस्तो कोठा मानौं इलास्टिक जस्तो तन्किन्छ क्यारे, जति मान्छे आएपनि त्यहाँ ठाउँ छैन भनिँदैन। बिरामीको सेवा गर्नेपर्ने उनीहरुको नियम हो। मान्छे कम भए रोगीको उपचार बढी दिन हुन्छ, कुनैबेला त प्रोटेस्टेन्टको भिडियो एक्सरे गरिएको बिरामी समेत महिना दिन बस्नुपर्ने हुन्छ भने कुनै बेला चिरा लगाएको बिरामी समेत डाक्टरको परिभाषामा तेश्रो दिन घर जान योग्य हुन्छ। गणितको सूत्र जस्तो बढी मान्छे कम दिन, कम मान्छे बढी दिन। अर्थात् बिरामीको सेवाबाट पाइने अमृत अर्थको अन्तिम जोडमा फरक नपरोस्।

अस्पतालको एउटा अर्को नियम पनि छ, अस्पतालमा सुरुमा नै एउटा कार्डमा हस्ताक्षर गराइएको हुन्छ। यो रक्षा कवच हो, योग्य चिकित्सकहरुका लागि। बिरामीका लागि भने यो विवशतापत्र भन्दा फरक नपर्ला। कार्डमा लेखिएको हुन्छ- उपचारको प्रक्रियामा अप्रेसन गर्दा या अरु कुराले गर्दा रोगीको मृत्यु भएमा त्यसको भागीदार चिकित्सक हुने छैन….। हुन पनि किन होस्, डाक्टरले जबर्जस्ती बोलाको हो र? हाम्ले पो लगेको।

र, पाठक महोदय, यही नियमबद्ध, कुशल, समाजसेवारुपी अस्पतालमा भाग्यवश म पनि आइपुगेको छु मेरो बिरामी बोकेर।
त्यसो त हाम्रो गाउँमा अस्पताल नभएको होइन। मैले यत्रो हण्डर खाएर यो नियमबद्ध यमशालामा बुढो शरीर बोकेर ल्याउनु नपर्ने थियो। १६ जना डाक्टरको दरबन्दी छ हाम्रो अस्पतालमा। दाताहरु र अन्तराष्टिय मञ्चमा प्रगति प्रतिवेदन प्रस्तुत गर्न के छैन यो अस्पतालमा। गाइने छैन कि, चिर्ने छैन कि, दाँत उखेल्ने छैन कि, फिजिसियन, सर्जन, चेस्ट, पेडियाटिसियन..। खुट्टादेखि रौं सम्मका डाक्टरको ठाउँ छ दरबन्दीका लागि छुट्टयाइएको। तर बिडम्बनाको कुरा, ५०, ६० लाख खर्च गरेर डाक्टर बनिसकेपछि २०, २५ हजार महिनाको आम्दानी हुने ठाउँमा, त्यसमा पनि देशको पुछार सीमामा के खान जाने डाक्टर। न हाम्रो जिल्लाका कोही स्वास्थ्य मन्त्री भए, न अर्थमन्त्री, न त कुनै पार्टीका नेता नै। त्यसैले यो अस्पतालमा नियम पुर्‍याउन तीनचारजना चिकित्सकहरुको अदलीबदली भइरहेको हुन्छ। तर बिडम्बनाको कुरा, मेरो अस्पतालका डक्टरहरुलाई प्रायःजसो पश्चिमी भाषामा भन्दा “रिफर“ गर्न सारै राम्रो लाग्छ। थाहा छैन, यो रिफरको ब्याक भ्याल्यु कति हुन्छ ?

त्यसैले अञ्चल अस्पतालमा हप्तादिने बिरामी थन्क्याएपछि छैठौं दिन चिकित्सकले मलाई एउटा पर्चा थमाइदिए र भने, “हामीले निकै प्रयास गर्‍यौँ तर भएन। सर्जन पनि त चाहियो। ह्याँ सरुवा भएका सर्जन केन्या गा छ रे युरोलोजिष्टहरुको सम्मेलनमा। यो पर्चा लग्नुस्, रिफर गर्देको छु।“

उपायविहिन भएर अञ्चल अस्पतालको भव्य र बडेमाको भवनबाट निराश हुँदै रिक्सा, तांगा, जीप गर्दै मैले मेरो बिरामीलाई यहाँ ल्याउनु मेरो बाध्यता थियो। म यहाँ आउने दिनहरुमा संविधानमा स्वास्थ्य सेवालाई मौलिक हक र अधिकारका रुपमा सुनौला अक्षरले लेखिँदै थियो। म भने डाक्टरका सुनौला अक्षरको रिफर बोकेर छिमेकी देशको यो सहरमा आइपुगेको थिएँ हिजो मात्रै।

र, यसै अस्पतालमा मैले त्यो बुढोमान्छे, उसकी श्रीमती र छोरालाई भेटेको थिएँ।

बुढो मान्छेको आज पेट चिरिएको रे। विचरा, अप्रेसनपछिको पीडा झेलिरहेको छ।

बुढोको छोरा झ्यालबाट फर्केर बिरामी छेउ आएर उभियो। बुढोको श्वास बढिरहेको छ। आँखा निश्चेष्ट छन्। पेट ढ्याम्मै फुलेजस्तो देखिन्छ। म बुढोको छिमेकी खाटमा मेरो बिरामीसँग बसिरहेको छु। मेरो बिरामीको अहिलेसम्म कुनै सोधपुछ भएको छैन हिजोदेखि। कारण, यहाँ व्यस्त छन् डाक्टरहरु। सोच्छु,– यो भैसी बाँध्ने गोठमा आइपुग्नु मेरो नियती र विवशता रहेछ। हो, हामी सबैको विवशता। सामान्य एक्सरे गर्न समेत आफ्नो ठाउँमा नपाएपछि देशकै होनहार चिकित्सकहरुको सल्लाहमा म त्यहाँ पुगे, हामी सबै त्यहाँ पुग्यौं। थाहा छैन, मलाई दिइएको “रिफर“को पर्चा कति रुपैयाँको चेकमा परिवर्तन हुन्छ होला, तर के गर्ने? कसाई भन्ने थाहा भएपनि बाघबाट जोगिन बाख्रोले मान्छेकै शरण लिन्छ। मेरा लागि पनि त्यस्तै थियो। कि मेरो औकात हुनुपर्यो राजधानी या छिमेकी राजधानीका महंगा अस्पतालमा बिरामी लैजाने, कि मैले घरमैं मृत्यु कुर्नुपर्‍यो। हैन, भने छिमेकी साना सहरका यी अस्पताल भनिने शालाहरुमा ल्याउन बाहेक मसँग अरु के विकल्प शेष थियो र?

बुढोतर्फ हेरे, हिजो म आउँदा बुढो राम्रै देखिन्थ्यो। श्रीमतीसित कुरा गर्दै थियो, बुहारीलाई “धान काट्नुपर्छ, घरमैं बस“ भनेर सल्लाह दिंदै थियो। “तपाईलाई के भएको नि“ भनेर सोधेथे मैले।

“खै, नाइटोको दायाँ भागमा डल्लोजस्तो मासु पलायो, अनि भित्र सारै दुख्न थाल्यो। सहन नसकी यता ल्याको।“ उसको छोराले ओढाएको कपडा बुढोका जीउबाट झिक्दै मलाई देखायो।

“अनि के अप्रेसन गनुपर्ने?“ मैले सोधेथे।

“सबैले त्यै भन्छन्, कति ठाउँ पुगियो भनिसाध्ये छैन। महेन्द्रनगरको अस्पतालमा देखाउँदा यता हुँदैन सीमापारी अस्पतालमा जानु भन्ने सल्लाह दिए डाक्टरले।“

साँझतिर मैले फेरी सोधे– अप्रेसनमा त खर्च लाग्ला नि निकै?

– लाग्छ तर के गर्ने? गर्नै परेपछि। भएको जग्गा बन्धकी राखेर आ का छौं।

– कति भन्छ अप्रेसनको?

– अप्रेसनको कति भन्ने कि कतिको अप्रेसन भन्ने? अनौठो जवाफ दियो उसले।

– कतिको अप्रेसन रे? अप्रेसनको त फिक्स खर्च होला नि?

– “हुनुपर्ने हो तर नहुँदो रहेछ“ उसले भन्यो, “तीनचार ठाउँ पुगियो। यसो जीउडाल हेर्छन, चेक गर्नु छैन, जाँच गर्नुछैन। अप्रेसन गर्नुपर्ने भन्छन्, अनि कति लाग्छ भन्दा लाग्न त जति पनि लाग्छ, तर तिमीसित कतिपैसा छ, त्यतिका अप्रेसन गर्ने भन्छन्।“ वेवशी झल्किन्थ्यो उसको मुहारमा।

– “अनि यसले कति मागिरा छ?“

– सुरुमा चालिस हजार भारु भन्यो, औषधिको खर्च अलग, पछि पैसा छैन त्यति भन्दा “ल, कति छ“ भनेर सोध्यो। आफूसित त्यै दस एघार हजार हो। उसले “ल, जमा गर, भोलि त्यतिको अप्रेसन गरिदिउँला“ भनेको छ।

अचम्म मान्नुपर्दैन, यो पनि यो अस्पतालको एउटा विशेषता हो।

र आज, केही छिन अघि बुढाको दश हजारको अप्रेसन भएछ। आधा घण्टा बन्द कोठामा डाक्टर र बुढो मान्छे मात्रै थिए रे। कोठाबाहिर निस्किँदा बुढाको नाइटो पट्टिले सेतो भएको थियो। मासुको डल्लो काटियो, फालियो या के गरियो? उनीहरुले केही थाहा पाएनन्।

यो अस्पतालको थप विशेषता भन्न बिर्सेँ– तल्लो तलामा अप्रेसन हुने गर्थ्यो भने माथिल्लो तलमा बिरामीलाई एकजना काम गर्ने केटाले काँधमा बोकेर या दुई जनाले हातखुट्टा समातेर लैजाने गर्थे।

अघि मैले त्यो अनौठो दृश्य देखेँ– अप्रेसन गरेको बिरामीलाई काखमा दुबै हातले च्यापेर एकजना मान्छे ठमठम सिंढी चढिरहेको थियो। मान्छे समात्नु ठीक अघि उसले बरण्डामा कुचो लगाउँदै थियो। यति व्यस्त कि मान्छे बोक्नु परेकोले उसले हात पनि धुन पाएन होला। विचरा।
र, यतिखेर त्यही बुढो मान्छे अक्सिजनको सहारामा हिक्क हिक्क गर्दैछ।

“मलाई लाग्दैन यो मान्छे बाँच्छ होला“, मनमनै सोचे तर प्रकटमा भनिन केही।

एक सेकेण्ड, दुई सेकेण्ड, साँझ सात बजेदेखि अहिले ४ घण्टा बित्न थाल्यो। अक्सिजनले अप्ठ्यारो भएको पो हो कि भनेर उसले त्यसको पाइप तान्न खोज्यो। मैले तत्काल नै यसो नगर्नुस् भने। उसले भनेको मान्यो र हातखुट्टा मालिस गरिदिन थाल्यो। तर बुढाको छाती उम्लिरहेको थियो।

म झ्यालपट्टि गएर बसेँ खाटमा। बाहिर निष्पट अँध्यारोमा टाढा केही पिलिक पिलिक बत्ती देखिँदैछन्। मेरो मष्तिष्कमा सोचाइहरुको भूमरी छ। सोच्छु, यो मान्छेका अगाडि कुनै विकल्प छैन। अप्रेसन गरेर डाक्टर घर गइसकेको थियो। सम्भवतः मच्चिदैथियो होला आफ्नो श्रीमतीमाथि।

यता भने उसको बिरामीमाथि काल मच्चिदै थियो। मलाई लाग्यो, काल र डाक्टरमा समानता छ। उता ऊ मच्चिदैछ, उसले च्याप्दैछ यता कालले। दुबैले निरिह मान्छेलाई नै च्याप्दैछन्। म तन्द्रामा डुबे एकछिन्। मनमा एउटा विचार आयो, “डाक्टर मृत्यु हो, मृत्यु डाक्टर….।“ आँखा अगाडि एउटा तस्बिर नाच्यो। एकजना सेतो देवदूत आइरहेको छ, हातमा रुद्राक्षको माला बोकेर। असीम श्रद्धा उत्पन्न हुने देवदूत, मन्त्रमुग्ध भावले मैले हेर्न थाले। अचानक कतैबाट हावा चल्यो र हावासँगै नीला, हरिया, सेता, खैरा कागजहरु खस्न थाले– पचास, हजार, पाँचसय…।

देवदूतमाथि खसिरहेका यी कागजका नोटहरुले क्रमशः आकार बढाउँदै लगे। हेर्दा हेर्दै एउटा थुप्रो लाग्यो र देवदूतको अस्तित्व लोप भयो। हावा रोकिन बन्द भयो। मलाई गर्मी अनुभूति भयो। मानौं कतै ठूलो धुनी जलिरहेको छ। हेरेँ, अघिको थुप्रोको भित्रबाट भूसको जस्तो आगो बलिरहेको छ धुवाँरहित। हेर्दाहेर्दै यो राप एकछिन धपक्क र निभ्दै कालो भयो। कालो, खरानी अघिको कालो। र, त्यसबाट उही अघिको देवदूत बाहिर निस्कियो।

तर यो के? म झन्नै चिच्याउन पुगिनँ। सेताम्ये, मायालु, श्रद्धालु, भगवानको अवतार देवदूतको ठाउँमा एउटा कालो न कालो प्रतिमाले लिएको थियो। शरीरभरी पैसा नै पैसाका सिक्काहरु टाँसिएका। उसले मतिर हेरेर जिब्रो निकाल्यो– अब भने मैले सम्हाल्न सकिनँ, लाग्यो, ऊ मलाई नै निल्न अगाडि बढ्दैछ। म चिच्याउनै के आँटेको थिए, मेरो आँखा अगाडिको कल्पनालाई ध्वस्त गर्दै एउटा चिच्याहट मेरो कानमा ठोक्कियो– यता आउनु त, सलाइन बन्द भयो, बालाई झन बढी भयो।

म आफ्नो तन्द्राबाट ब्युँझिए।

यत्तिकैमा बुहारीको चिच्याहट सुनियो, लौ न, यो सलाइन त बन्द भयो। सबैका आँखा माथि झुण्ड्याइएका सलाइनमा गए। अस्पतालको अर्को विशेषता सलाइन पनि हो। बिरामी आएपछि सलाइन पानी चढाउनैपर्छ भन्ने उनीहरुको नियम छ, केही होस् नहोस् सलाइन चाहियो चाहियो।
साँच्चिकै दुबै पाइपहरु र बोतलबीचको सकेट भल्भमा पानी खस्न बन्द भएको थियो। छोराले प्रयास गर्‍यो, तर केही लागेन, यता हातको सूइ हल्लाई बुहारीले। अहँ केही भएन। बुढीले त्यो सूई झिकेर फेरी लगाई भएन। उनीहरु निकै आत्तिए। लौन के गर्ने कसो गर्ने? उनीहरुका हात नली, सूई, सकेट, बोतलमै खेल्दै थिए। यता बुढोमाथि मृत्यु स्खलित भइसकेको थियो, उसको सम्पूर्ण गर्व र अस्मिता चुर चुर गर्दै। र, उता सम्भवतः मृत्युकै समरुप डाक्टर पनि।

म अवाक भएँ। मेरो बिरामी सुतेको छ, डर लाग्यो, म आजै आएको यो मृत्युशालामा। बुढाको अनुहार विभत्स र डरलाग्दो लाग्न थाल्यो। लाग्यो बुढोको जीवनको मूल्य दसहजार भन्दा बढी रहेछ। दस हजारले किन्न सकेनन उनीहरुले आफ्नो प्रिय मान्छेको जीवन….। उनीहरु रुन पनि सकेनन्। अचानको यो झटका…। बुढी केहीछिन ट्वाँ परिन् र खसिन बुढामाथि….। त्यसपछिको स्थिति म वर्णन गर्न सक्दिनँ, तपाईहरु आफै कल्पना गर्नुहोस्। त्यो रात त्यत्तिकै बित्यो। तर, यो सामान्य थियो हलका अन्य बिरामीका लागि। मानौं उनीहरु अभ्यस्त छन्, मृत्युको यो नाटक मञ्चन हेर्न।

भोलिपल्ट बिहान बेड नं. २७ खाली थियो। हिजो रातीको विभत्सताको कुनै चिन्ह त्यहाँ शेष थिएन। एउटा धोएको तन्ना फेरिएको थियो। बुढोको कुनै निशानी थिएन मानौं कि यो बेड फेरी अर्को जीवनलाई पासोमा पार्न प्रतिक्षामा छ। कसैलाई लाग्दैनथ्यो, यहाँ दुइचार घण्टा अगाडि मृत्युले यही बेडमा मान्छेको गरीबी र विवशतामाथि ताण्डव नृत्य गरेर फर्केका थियो। मैले मेरो बेडतर्फ हेरेँ, यसमा पनि त…। जीऊ सिरिंग भयो।
दस पनि बज्न भ्याएको थिएन होला, एकजोडी मान्छे एउटा आठ वर्षको मलिनो अनुहार भएको बच्चालाई सहारा दिंदै भित्र छिरे। उनीहरुको बोली सुनेँ, “कति राम्रो डाक्टर रैछन्, पैला दस हजार लाग्न्या भन्यो, छैन भन्या त लौ, ७ हजारको अप्रेसन गरिदिन्छु भने।“

त्यो दिन डाक्टरको व्यस्तताका कारण मेरो बिरामीको परीक्षण हुन सकेन। केही पेन किलरहरु पाए बस। साँझ छेउकै नयाँ आएको बच्चा र उसका बाआमासँग कुरा गरे। हप्तादिन अघि नै नाम लेखाएको रे उनीहरुले। अब सात हजारको अप्रेसन चार पाँच दिनपछि रे, मैले हिजो रातीको बुढोको मुहार सम्झिएँ।

त्यो रात पनि त्यत्तिकै बित्यो। थाहा भयो, यो बेड नम्बरको अट्टहास र मान्छेको विवशताको रोदनबीचको लडाईं नौलो रहेनछ। पैसा छ, जीवन छ। पैसा नहुनु नै मृत्युलाई निम्तो दिनु हो। साँझ बिहान खानलाउन धौ धौ पर्नेहरुका लागि एउटा ज्वरो आउँदा समेत हजार दुईहजार खर्च गर्नुपर्छ भने अलि जटिल रोग लागे मृत्यु कुर्न बाहेक के नै उपाय छ र? उता आफ्नो देशमा भनसनु छ, अस्पतालमा टाइम पाउँछ। नेता भए उपचार खर्च पाउँछ। विदेश गएर उपचार गर्न पाउँछ। सोचेँ, हाम्रा नेता जस्तै माथ्लाघरे काइलबा पनि क्यान्सर लाग्दा अम्रिका त छोडौं, काठमाडौं या चितवन नै जान पाएको भए..। सुस्केरा हाल्नु बाहेक के गर्न सकिन्छ। सोचाईमा रातहरु बित्दै गए।

डाक्टरले मेरो बिरामीको प्रोस्टेट यानि की मुत्र थैलीभित्रको एउटा भागको अप्रेसन गर्ने डेट दियो। अप्रेसनको मूल्य चाहिँ सर्जरीपछि मात्रै थाहा हुने अनौठो तर्क दियो उसले। म चुप लागे, डाक्टर र डाइभरसँग के जोरी खोज्नु। जे होस्, अस्पतालमा कुनैपर्ने स्थिति देखियो। तर हरेक दिन उस्तै पीडा, उस्तै विवशता, यो आधारशिविरमा मृत्युको निरन्तर जीत। मान्छेले जति मेहनत गर्दा पनि एक जीवन बचाउन नसक्ने, मृत्युले हरेकपल्ट चौका छक्का बर्साइरहने। दिनैपिच्छे बेड नं. हाँसिरहेको अनि मृत्यु र डाक्टर सँगसँगै मच्चिएको देख्न मेरा लागि असम्भव भयो।

आज मेरो बेड नं. अलि हँसिलो देखिन्छ। कारण, ऊसले आफूमाथि पल्टिएको बिरामीबाट मुक्ति पाउने दिन आइरहेको बुझिसक्यो क्यारे। त्यसैले म बसेको बेड आजै हुने मेरो बिरामीको अप्रेसनको स्वागतमा थियो। म भने मानसिकरुपमा शिथिल भएको छु। बारम्बार मष्तिष्कमा शुरुका साँझको तन्द्राको देवदूत अनि बुढाको मुहार नाचिरहेको छ। मसँग मोलतोल भएको छैन अझैसम्म। डाक्टरले सोध्छ पक्कै कतिको अप्रेसन गरुँ भनेर? मसँग जवाफ छैन, कतिले मेरो बिरामीको जीवन जोगिन्छ।। यो गोठमा भैंसीहरुको मूल्य मैले कसरी तोक्ने? कति तिरियो भने मृत्यु भाग्ला, यसको ग्यारेण्टी कसले दिने?

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.