~कुमारी लामा~
औंलामा पुतपुताइरहेको छ चुरोट । लुंगी बेरिएको एक मुठीको शरीर । लट्टासरिको जुरो बनाएको कपाल । रहलपहल सपनाहरू दौडिरहेका थकित आँखा । एक आम ग्रामीण महिला । उनको नाम— तारा तामाङ ।
तर यिनी राई, गुरुङ, अधिकारी, भारती या अन्य जातिको पनि हुन सक्छिन् । किनकि यो गाउँका सबैको भोगाइ समान छन् ।
भोगाइका बाबजुद साझा कुरा अर्को पनि छ, त्यो हो सपना । सबैका आँखाहरू भरिएका छन्, केही थान सपनाहरूले । तर ती सपनाहरू आँखाबाट हातसम्म आइनपुग्दै आँसु बनी बगिजान्छन् । सायद यो नियति हो सपना देख्नेहरूको ।
तारा तामाङका केही सपनाहरू छन् । घरमा मटान थप्दा लिएको रिन तिर्नु र केटाकेटीलाई गाउँमै भए पनि बोर्डिङमा पढाउनु । त्यसको लागि उनले आफ्ना श्रीमान्लाई विदेश पठाउने निधो गरेकी छिन् । राहदानी बनाएर पेस पनि गरिसकेका छन्, मेनपावरमा । खुसीको सीमा नै छैन उनको । रिन गरेरै बनाएको भए पनि उनको मुडुले घरमा अहिले घुमाउने मटान छ । उनलाई त्यो मटान हेरिरहूँ लाग्छ । कत्रो रहरले बनाएको । त्यहीँ एक छिन सुस्ताउँदा पनि उनलाई संसार नै उज्यालो लाग्छ ।
ताराको जाँगरले सबैलाई चकित पारेको छ । कतिले त कुरा नि काट्छन् । लोग्ने चैं स्वास्नी अनि स्वास्नी चैं लोग्नेजस्तो ! किन लोग्ने नै लोग्ने जस्तो हुनुप¥यो त । स्वास्नी आँटिलो र बाहिरफेरो काम गर्ने भए पनि के बिग्रिन्छ त ? म मनमनै गुन्छु । तारा साँच्चै तारा नै भएकी छिन्, त्यस गाउँमा । तरकारीको विकास लाउन नि भ्याउने, भैंसी, कुखुरा नि उत्तिकै चाकर गर्न सक्ने । सानो काठीकी उनी गाउँभरि गरालु भनेर चिनिएकी छिन् । सपना ठूला बोकेकी सानी तारा । तर सपनाहरू सजिलै कहाँ पूरा हुन्छन् र । लाग्छ, सपना भनेको जेली फिस हो जो देख्दा साह्रै सुन्दर तर एकदमै चिप्लो । हातमा आइनपुग्दै चिप्लिजाने । सम्झन्छु— केरलाको एक दुर्गम गाउँमा बालुवा निकाल्दै गरेका नजिब र उनको सपनालाई । उनको सपना भन्नु नै साउको रिन तिर्नु र घरमा एउटा कोठा थप्नु । बस् ।
मान्छेपिच्छेका सपना । कसैका निकै ठूला अनि कसैका स–साना । तर अफसोच कहिलेकाहीँ साना नै भए पनि सपनाहरू साह्रै महँगो पर्न जान्छ । नजिब सपनालाई पछ्याउँदै अरबको मरुभूमिमा बधुँवा मजदुर हुन पुग्छ । बाख्रा गोठालो । मालिकको यातना, भोक, प्यास र बालुवाको तातोले उनका सपनाहरू सारा डढाइदिन्छ । (बेन्यामिनको उपन्यास खबुजको पात्र हो नजिब ।)
मलाई डर लाग्दैछ, ताराको सपना पनि त्यसरी नै तुहिने त होइन जसरी नजिबका सपनाहरू बिलाएका थिए । डर र अनिश्चितताका बाबजुद पनि हाम्रा आँखाहरू कहाँ सपना देख्न छाड्छन् र । त्यही एउटा सपना न रहेछ जीवनलाई अगाडि बढाउन सहज पार्ने । त्यसैले होला ताराको मनभरि अनेक कुराको ओइरो लाग्छ ।
—लोसे पाराको लोग्ने परेपछि घरको सबै जिम्मेवारी आइमाईले नै लिनुपर्ने रैछ । गर भनेर भाग नलगाइदिएसम्म डेक चल्दैन बूढा । घरव्यवहार सबै मैले नै धान्नु पर्ने । गाउँघरमा आइपर्ने बिहे, बर्तमन्, बर्खी, चाडपर्व सबै मेरो जिम्मा । कति ढुक्कको छ मेरो बूढा । के कसरी गर्जो टार्ने पनि छैन । यसो गरौं उसो गरौं पनि छैन ।
तर जस्तो भए पनि मलाई सजिलै छ । अर्काको लोग्नेले जस्तो रक्सीजाँडले बहुलाएर धुरुक्क त पार्दैन । सोझो छ । कहिले त कस्तो माया लाग्छ ।
अब त पन्ध्र वर्ष भइसक्यो यिनैसँग दिनरात बिताको पनि । बिहेको दिनमा देख्दा त जग्गेबाटै भागूँ लागेको थियो तर के गर्नु बाउआमाको इज्जत । कस्तो जालीको खलक रैछ । भाइलाई देखाएर दाजुसँग बिहे गरिदिने । सम्झिँदा नि मन कटक्क खान्छ । अब त के पो दुःख मान्नुछ र सारा सृष्टि त भइसक्यो यिनैसँग । तीनटा छोरछोरी भए । घरबार राम्रै छ । छरछिमेकले राम्रै भनेका छन् । सबैभन्दा ठूलो कुरो बूढा सोझो छ । जे भने पनि मान्छ ।
समय पनि कति छिटो बित्दो रैछ । यो घरमा भित्रिँदा म कति सानो थिएँ, केही नबुझ्ने, नजान्ने । अब त म पनि बूढी भएँ । पैतिस वर्ष लागिगएँ । यही घरमा भित्रिएपछि बिस्तारै बूढीसासू, सासू अनि अन्तिममा ससुरा पनि गए । आ–आफ्नो बाटो । कर्म भोगेर गए । सबैको बर्खी गरियो । अब त रित्तोरित्तो लाग्छ घर पनि । त्यत्तिका जाहान थिए, उः बेला । ऐले मेरै परिवारमात्रै । देवर पनि आफ्नै व्यवहारतिर लागे । बाटो त लाग्नै पर्ने नै रैछ आ–आफ्नो । आफैले दुःख गरी खाको राम्रो । मेरो त ठूलो जिम्मेवारी छ । तीनटा केटकेटीलाई बोर्डिङमा पढाउनु कम्ता खर्च लाग्छ । अनि भखंैरै त बनाको यो मटान पनि । एक लाख पो छ त साउको रिन । तर के भो र मेरो बूढो पनि अब विदेश जान्छ । म पनि खेतीपाती गर्छु । कुखुरा–बाख्रा पाल्छु । सल्टिजान्छ नि यति जाबो रिन त !
यसरी सपनाहरूसँग भलाकुसारी गर्दै गर्दै झरेकी थिइन् तारा त्यस दिन बारीमा । मल छरिसकेर काउली काट्दै थिइन् । उसको काम गरिरहेको ज्यानलाई हेक्का नै भएन आफू हल्लिएको हो कि भुइँ । काममै लागिरहिन् । तर, वारिपारिबाट मान्छेहरू कराउन थालेपछि भने उनलाई पनि लाग्यो जमिनै हल्लिरहेको छ । घर र केटाकेटी झलक्क आए उनको मनमा । हंशले ठाउँ छोड्यो ।
यसो आँखामात्रै के उठाएकी थिइन्, उनको सातो उडिगो । घर देखिएन । देखिन् त केवल धुलोको मुस्लो । खुट्टा र मन एकैपटक लड्खडाए । तीनटा भुरा, कुखुरा, बाख्रा, भैंसी सबैसबै त थिए घरमा । बतासको वेगसँगै फाल हान्दै पुगिन् घर ।
केटाकेटी त उफ्रिएर निस्किएछन् बाहिर र थुप्रिएका रहेछन् लिच्चीको बोटमुनि । तीनै जना डरले निलोकालो र आसुँसरि । केटाकेटी त फुत्किएछन् तर बाँधिएका बाख्रा र भैंसीले त के गरोस् नै । सबै गोठभित्रै । भरेभोलि कोरल्ने ओथारो दिएको माउ कुखुराधरि भित्रै ।
साउनमा ब्याउने भैंसी । बरा दोजिया । पशु नै भए पनि गर्भिणी । दुई ज्यान । सोच्दा नि मन घोच्छ । दसैंको गर्जो टार्ने पशुपंक्षी । तारा त झन्डै पसिगएको गोठमा भैंसी निकाल्छु भन्दै…। अरूले थामेर मात्रै । कत्रो सपना देखेर पालेको बस्तुभाउ सकिएपछि मान्छेलाई खरो त हुन्छ नै । केही महिनामा ब्याउने भैंसी त्यसरी थिचिएर ड्वाँ… ड्वाँ… कराइरहँदा पनि निकाल्न नसक्नु । सक्नु पनि कसरी । गोठलाई जम्मै थिचेको छ, घर ढलेर । केही घन्टापछि सबै मिलेर निकाल्दा त कक्रिसकेको रैछ भैंसी त । दाम्लो चुडाउँन बल गर्दा रगताम्मे भएको गर्दन, फिँजसरिको मुख अनि उक्सिएको ठूलो न ठूलो पेट…
दुहुना भैंसी त लाखभन्दा पनि माथिमा बिक्री हुने थियो । ताराको परिवारको धेरै व्यवहार सल्टिने थिए । तर एक निमेषमै धुलोमै मिसिगए सबै । उनलाई खुसी दिने चिजहरू एकएक आँखा अघिल्तिरबाट टाढाटाढा भए, यात्रामा छोडिहिँडेको मनोरम दृश्यहरू जस्तै ।
ठूलो रहरले रिन काढेरै भए पनि घुमाउने मटान हालेकी थिइन्, अघिल्लो वर्ष । मुडुलो घरमा कति बस्नु अर्काले देख्दा नि लाजै भो भनेर आँटै गरेर । पन्ध्र दिन लाएर कर्मीहरूले उनले भनेजस्तै मटान हालिदिएका थिए । काम सकेको दिन घच्चीको भाले काटेर ख्वाएकी थिइन् सबैलाई । खुसीले हलुका भएको मन उडेर रनवन घुमी फर्केको थियो । त्यस साँझ मटानबाटै आकाशमा टिमटिमाएका ताराहरू हेरेकी थिइन् । पारि गाउँतिर पिलपिलाएका बत्तीहरू भन्दा कता हो कता उज्यालो भएको थियो उनको मन ।
त्यस बेला थाहाशंका नै कहाँ हुनु र यस दिनको । एक्कासि डगमगाउँछ जमिन । उनको गोठ र घर दुवै बेस्सरी हल्लिन्छ । ढुंगामाटोको गारो के अडिरहन सक्नु र ! भित्ताहरू चिरा पर्दै ढल्न थालेपछि केही क्षणमा नै गल्र्यामगुर्लम्म खस्छ छानो । छानोसँगै मटान पनि सोहोरिँदै घरको छिँडीमै दबिन आइपुग्छ ।
उनले साह्रै रहर गरेर बनाएको मटान आँखा अघिल्तिर माटोमा बिलाउँछ ।
गाउँभरि त्रास र सन्नाटा फैलाएर केही क्षणमा नै थामिन्छ भुइँचालो ।
तर, त्यति सजिलै थामिएला र ताराको मनमा गएको भुइँचालो !
३० असोज, २०७२
(स्रोत : Nagariknews)