कथा : मेरो अधूरोपन

~मधुवन पौडेल~Madhuban Paudel

पुराना कागजपत्र केलाउँदा चार–पाँच पानाको पाण्डुलिपि भेट्टाएँ । मैले त्यसमा आफ्नै जीवनको कथा लेखेको थिएँ ।

गर्भे टुहुरो अनि दाजुले आफ्नै सन्तानजस्तै गरी हुर्काउनुभएको म । मैले दाजुको छहारीको सौभाग्य पनि धेरै वर्षसम्म पाइनँ । सधैँकी बिरामी भाउजूले छाडेर गएपछि त म र दाजुको सम्पूर्ण समय सुयोगकै स्याहारसुसारमै बित्यो । अनि, एक दिन दाजुले पनि छाडेर जानुभयो ।

दाजु जीवित हुँदा एकाधपल्ट सरकारी जागिर खाने प्रयास गरेको थिएँ तर सरकारी जागिरप्रति आफ्नो वितृष्णाका कारण उहाँले मलाई अनुमति नै दिनुभएन । कुनै अर्को उपाय पनि थिएन मसामु । हाकिमले उहाँलाई विद्रोहीको मतियार भएको अपराध–लाञ्छना लगाएर जागिर खोसिदिए, जुन त्यतिबेला अक्षम्य अपराध हुने गथ्र्यो ।

यिनै दिनमा उदिता र मेरो भेट भएको थियो । ऊ कलेजमा मभन्दा दुई वर्षपछाडि थिई अनि विश्वविद्यालयमा मैले विद्यावारिधि गर्दा ऊ पुन: त्यहीँ पुगेकी थिई । यसरी हाम्रो सम्बन्ध गहिरो हुँदै गएको थियो । तर, नियतिमा अर्कै लेखिएको रहेछ, उदिताको बिहे अन्तै भयो । म पनि पहिले सुयोगको पढाइ अनि आफ्नै पढाइ र संस्थामा व्यस्त भएँ । तिनै एकल दिनहरूमा फेरि एक दिन उदितालाई भेटेको थिएँ । मनमा असमञ्जस थियो, त्यसपछि मैले एउटा सिंगो रात छर्लंग बिताएर यो पाण्डुलिपि तयार गरेको थिएँ ।

अहिले सम्झन्छु– सबै कुरा अर्कै भइसके । विद्रोहको पुन: नामकरण भएर जनयुद्ध भइसक्यो । सुयोग पढाइ सकेर अमेरिकामै बसिसक्यो र दिनको एकपल्ट कुरा गर्ने गर्छ । उदिता आफ्नै छोरो च्यापेर र मलिन मुद्रामा रुने गर्छे । बेपत्ता भएको उसको लोग्ने अझै फर्केको छैन । मेरी सहकर्मी विपना पहिलेजस्तै फतर–फतर गरिरहन्छे ।

यस्तै कुरा मनमा लिँदा लिँदै म पाण्डुलिपि सर्सर्ती पढ्न थाल्छु । उदिता चुलबुले त छँदै थिई, आँखाको भाकाले पनि कुरा गर्न खप्पिस थिई । त्यो दिन मैले उसको आँखाको भाका बुझ्न सकिनँ । सोधपुछ गर्ने भन्दाभन्दै अहिले १० दस वर्ष नाघिसकेछ । केही समय मैले उसलाई खोजेर रहस्य खोतल्ने प्रयास पनि गरेँ । तर, मेरा सबै प्रयास व्यर्थ भएर गए । अनि, म पनि आफ्नै संसारमा व्यस्त भएँ र उसलाई बिर्सें । मैले जस्तै उसले पनि बिर्सिहोली जस्तो लाग्थ्यो मलाई ।

उदितालाई आज अकस्मात् भेट्दा मेरा सबै पुराना घाउ बल्झिएझैँ लाग्यो मलाई । तर, सामान्य औपचारिकताभन्दा बढी केही खोतल्ने आँट नै आएन, उसका दुवै आँखामा १० वर्षअगाडिको भाका भएजस्तो लाग्यो मलाई । उसको काखमा लुटपुटिएको बच्चो छटपटिएर काखबाट बाहिरिन खोज्दै थियो तर उदिताले आफ्ना दुवै हातले बच्चालाई अँठ्याइरहेकी थिई । आज उसका आँखामा केही भाका देखिनँ मैले ।

“मेरो सानी भाउजू ! उहाँको माइती काठमाडौँमै हो ।” विपनाले उदितालाई चिनाएकी थिई ।

“उदितालाई म चिन्छु नि ! के छ तिम्रो हालचाल उदिता ? तिमी त बेपत्ता नै भयौ । हुन त म पनि गोरखधन्दा, सुयोग र पढाइमै अलमलिएँ !” मैले सोधँे ।

“ए ! मलाई त थाहै थिएन ! मैले सुमन सरसँग काम गर्छु हिजोआज भन्दा पनि भाउजूले केही भन्नुभएन,” विपना बोलिहाली ।

बिचरी उदिता फिस्स हाँसी मात्र, केही बोलिन, मलाई अभिवादन गरेर ऊ घरभित्र पसी । उसले पुराना कुरा लुकाएकी रहिछ ।

१० वर्षको अन्तराल धेरै पनि हो । उसले सायद मेरो प्रसंग उठ्दा कुनै टिप्पणी गर्नु आवश्यक ठानिनँ होला । मलाई पनि विपनालाई लागेजस्तै आश्चर्य लाग्नुपर्ने हो । तर होइन, मैले त्यस्तो केही सोचेको थिइनँ । जस्तै आधुनिकताको कुरा गरे पनि स्वास्नीमान्छेको मानसिकता र समाजको मान्ने/नमान्ने कुरा आउँथे । मैले चिनेकी छु भन्दा ‘कहाँ चिनेकी ? कसरी चिनेकी ?’ आदि अनेक प्रश्नको ओइरो लाग्ने सम्भाव्यता बुझेर पनि चूप लागेकी होली । हाम्रो आफ्नो समाज त हो ! मैले यही सोच्दै चित्त बुझाएँ ।
एकछिनपछि उदिता नोकरलाई चियाको प्लेट बोकाएर बाहिर बरन्डामा निस्की । यसपल्ट उसले आफ्नो कपाल केही मिलाएर आएकी थिई, चप्पलको ठाउँमा हल्का स्यान्डल र निधारमा सानो टीका थपिएको थियो, काखको बच्चा पनि थिएन ।

“बाबु सुत्यो कि ?”
“छैन, बुबासँग बस्यो ।” उदिताको शिर निहुरिएको थियो । मलाई आश्चर्य लाग्यो, पहिले त ऊ आँखा जुधाएर मात्र कुरा गर्थी ।

“दाइलाई उनीहरूले लगेको वर्ष दिन भयो, केही खबर पनि छैन । बुबाको मतलब, मेरो बुबा !” विपनाको मेरो कौतूहलको अन्त्य गरिदिई । ‘उनीहरू’को अर्थ राजनीतिक विद्रोहीतिर थियो ।

मैले उदितालाई नियाल्दै चियाको प्लेट हातमा लिएँ । उसको आँखामा साँच्ची नै पहिले जस्तो कुनै भाका लुकेको थिएन । मैले धेरै बेर नियालिरहने धृष्टता गर्नु उचित ठानिनँ ।

“बिचरी सानी भाउजूलाई कत्रो पिर ? एक त काठमाडौँकी रैथाने– यहाँ मधेसमा । त्यसमा पनि हामी पश्चिमेलीसँग राम्ररी घुलमिल हुन निकै गाह्रो भो उहाँलाई । जागिर हुँदो खान पनि मान्नुभएन । वर्षको एकाधपल्ट काठमाडौँ जानुहुन्थ्यो, अहिले झन्डै दुई वर्ष भयो । आमा बित्नुभएको, अब त जाने इच्छा पनि त्यति गर्नु हुन्नथ्यो । अहिले दाइको केही खबर पनि छैन ।”

“कहाँ ? कसले लगेको ? केही थाहा लाग्यो त ?”

“उहाँ अलि कडा र स्पष्ट वक्ता हुनुहुन्थ्यो । बिहे भएकै वर्ष यतै बैंकमा जागिर खानुभएको थियो तर जतिपल्ट सरकार फेरियो, उतिपल्ट सरुवा भइरहने क्रमले दिक्क पनि हुनुभएकाले आफैँ निस्कनुभएको हो कि जस्तो पनि लाग्छ । के गर्ने सर ? हिजोआज एउटा कुनै पक्ष नसमाए सबैको नियति उहाँकै जस्तो हुन्छ । खास गरी सरकारी जागिरमा !”

विपना निकै पुखली थिई । सुने–जाने अनुसार पढ्न लेख्न पनि निकै तेज भएकीले मैले पहिलोपल्ट देख्दा नै उसलाई छानेको थिएँ– बिनाकुनै सिफारिस र दबाब ! नयाँ पुस्ताका सबैलाई सरकारी जागिर भन्नासाथ अलिकति होच्याउने, अलिकति चिढ्याएजस्तो म अनुभव गर्थें । उनीहरूको दृष्टिमा सरकारी जागिर भनेको बेकम्मा मान्छेहरू जुट्ने ठाउँ हो, जहाँ भ्रष्टाचार, अकर्मण्य, नैराश्य व्याप्त छन् । कस्तो मानसिकता हो यो कुन्नि ? विपना र ऊजस्ता धेरैसँग कुराकानी गर्दै म यस्तै विचार सुन्ने गर्थें ।
“अनि त एक दिन दाइ फर्कनुभएन, अझै फर्कनुभएको छैन । कसैले भन्छन्– दिक्क मानेर हिन्दुस्तान लाग्नुभो अनि कोही भन्छन् राजनीतिक प्रतिबद्धताले अल्पिनुभो । तर, उहाँ कहाँ बेपत्ता हुनुभयो, कसैलाई थाहा छैन ।”

विपना एकोहोरो बोल्दै थिई । मचाहिँ उदिताकै विषयमा सोच्दै थिएँ । मेरो डेराबाट निस्केपछि ऊ रन्थनिएर घर पुगेकी थिई अनि मलाई फोन गरेर तथानाम भनेकी थिई । मैले वास्तवमा उदिताको आँखाको भाकाबाट अलिकति समर्पण, थुप्रै माया र केही विवशता पढेको थिएँ । तर, मेराअगाडि बुझपचाउनुसिवाय अर्को उपाय थिएन । भर्खर पढाइ सकिएको र जागिरको जोहो पनि नभएको अनि भतिजाको भविष्य बनाइदिनुपर्ने जिम्मेवारी लिएर बसेको थिएँ म । मेरासामु उदिताको उन्मत्त र छचल्किँदो बैँश थाम्ने कुराभन्दा दाजुले बित्नुअगाडि हात समातेर गर्नुभएको गुनासोको वजन
बढ्ता थियो ।

“तेरी भाउजूको नासो तेरो पोल्टामा हालिदिएको छु । जसरी आमाले तँ पिलन्धरेलाई मेरो काँधमा राखेर परलोक सिधार्नुभएको थियो, त्यसै गरी म पनि सुयोगलाई तेरो जिम्मामा छाडेर जाँदैछु ।”

त्यसबेला सुयोग आठ वर्षको थियो । कहाँ छुट्टी बिताउन घर पुगेको मान्छे म, सुयोगलाई लिएर थप जिम्मेवारीसाथ फर्केको थिएँ । साथमा घरको पुरानो शुभेच्छुक सोमबहादुर नभएको भए त म के पो गर्थें हुँला ? उसका जोईपोइले आफ्नो सन्तानजस्तै गरेर हुर्काए सुयोगलाई । तर, साँझ परेपछि ऊ मेरो साथ छोड्न मान्दैनथ्यो । उसका लागि म बाबु, आमा, काका, दाजु र खेल्ने साथी सबै थिएँ । कुनै दिन एकछिन ढिलो भयो भने ‘सान्दाजु, म हजुरसँग बोल्दिनँ’ भनेर ठुस्किएर बस्ने गथ्र्यो ।

त्यस्तो अवस्था थियो मेरो भर्खर एमएको पढाइ सक्दा । उदिताले मेरो बाध्यता नबुझेकी पनि होइन तैपनि उसले मलाई पर्खिनँ । मैले सुयोग र उदितामध्ये सुयोगलाई छानेँ भनेर ऊ मसँग चिढिएकी थिई कि वा उसलाई आफ्नी फुपूको छोरीले पनि भड्काएकी थिइन् ।

“हेर् उदिता ! यस्तो लाउने–खाने उमेरमा त्यो घरमा पसिस् भने त तँ बाईसै वर्षमा बूढी हुन्छेस् है ? सुमनले तँलाई उसको भतिजोलाई भन्दा बढी माया गर्दैन † मैले त भन्दिएकी छु ।”

उदिता आफैँले मलाई भनेकी थिई यी सब कुरा । हुन पनि मैले उदितालाई स्पष्ट भनेको पनि थिएँ, मेरा लागि पहिलो काम सुयोगको भविष्य बनाउनु हो ।

“१० कक्षामा पढ्ने भतिजोलाई पनि पाँच वर्षको बच्चाजस्तो गरेर त्यति सारो चिन्ता किन गर्ने ? आफ्नो जिन्दगी पनि त हेर्नुपर्छ नि !” उदिताको यस्तो अभिव्यक्तिले म तर्सिएको थिएँ ।

“दुई–तीन वर्ष त हो नि उदिता ! अनि त उसलाई म अमेरिकातिर पठाइहाल्छु त्यति हतार किन ?”
मेरो काखमा मुन्टो राखेकी उदिता फिस्स हाँस्थी अनि भन्थी, “यसपालि नेपालगन्ज फर्केपछि बुबाले मेरो बिहे गर्ने भन्नुभएको छ । मैले तिम्राबारेमा बताइदिएकी छु । उहाँलाई पनि तिमीले बातैपिच्छे सुयोगको रट लगाउने गरेको सुन्दा त्यत्ति चित्त बुझेजस्तो छैन ।”

उदिताको कुरा मैले धेरैपल्ट सुनेको थिएँ । ऊ एउटै रट दोहोर्‍याउने गर्थी । अनि, एक दिन मैले उसलाई स्पष्ट भनिदिएँ, “उदिता हाम्रो माया अलकनन्दाबाट निस्केको गंगाजस्तै शुद्ध र पवित्र छ । जसले जे भने पनि तिमीले एउटा कुरा बुझ्नुपर्‍यो । मसँग जीवन बिताउने भए सुयोग मेरो मात्र होइन, तिम्रो पनि जिम्मेवारी हो । नत्र… म के गर्न सक्छु र !”

“मैले भनेको हुन्छ ? बुबाले पनि त मान्नुपर्‍यो नि !” उदिताको बुबा केही वर्षअघि सेनाबाट निवृत्त भएर नेपालगन्जबाट सुर्खेत जाने बाटोमा खेती गरेर उतै बसोवास गर्न पुगेका थिए । ऊ चाहिँ त्यसपछि फुपूको घरमा बस्न गएकी थिई । त्यहीँबाट उसले एमए सिध्याई । वास्तवमा उदिताको कुरो ठीक पनि थियो । उसका बाबु आफ्नी छोरीको घरजम भएको हेर्न चाहन्थे, खास गरी पढाइ सकिएको कारणले पनि होला ।

मेरो घरमा आएको अघिल्लो दिन उसलाई फुपूले आफ्नै एउटा इष्टमित्र पर्ने केटाको फोटो देखाएकी थिइन् रे ! मधेसमा बसाइँ सरेको त्यो केटा मभन्दा सुन्दर र सम्पन्न थियो ।

उदिताले त भनेकी पनि थिई, “बुबाले मान्नुभएन सुमन ! मैले अब त बिहे गर्ने निधो नगरी नहुने भो । तिम्रो के विचार छ, स्पष्ट भन ! नत्र मैले त्यही केटासँग बिहे गर्ने सहमति दिनुपर्ने हुन्छ ।”

मैले केही निधो दिन सकिनँ, उदिताको बिहे त्यही केटासँग भयो । म पनि आफ्नै संसारमा व्यस्त भएँ । तर, सधैँ सोचिरहन्छु– म एउटा अधूरो जीवन बाँचिरहेको छु । उदिता पनि अधूरै जीवन बाँचिरहेकी छ सायद !

प्रकाशित: कार्तिक २३, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.