~कुमारी लामा~
कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज ।
प्रसंग हो, कवि सामना पहाडको नवीन कृति पर्खालभित्रको घाम । उनका कविता यस्तै चुपचाप शब्दहरूका तीखा आवाज हुन् । पर्खालभित्रै भए पनि घामको उज्यालोलाई छेक्ने साहस कसको ? घरको परिधिभित्र थुनिएर पनि चेतनाको उडानलाई रोक्ने कसले ?
पीडा छ तीन पुस्ताको । हजुरआमा, आमा र छोरीहरूको । उनीहरूले ठूलो पाप गरेका छन् घर सम्हालिदिएर, वंश धानिदिएर, सधैँ चुलोचौकोमा आफ्ना चाहनाको हत्या गरेर अनि अन्तत: आफ्नो अस्तित्वको कुरो उठाएर । त्यसैले उनीहरू कहिल्यै पखालिसक्दैनन् आफ्ना पाप । कवि निकै व्यंग्यात्मक भावमा पोख्छिन् :
आखिर आमाहरूले किन गरेका यतिका धेरै पापहरू आजीवन पखालेर नसकिने पापहरू । (समाधि)
सामनाका प्राय: कविता नारीकै परिवेश, भोगाइ र अनुभूति वरपर घुमेका छन् ।
उनी आफ्नी आमा र आफ्नो पीडालाई खुलस्त देखाउँछिन् कविता ‘म र मेरी आमा’मार्फत । आमा र उनको प्रसव पीडाको समान दुखाइले एकअर्काको दु:ख साथै भोगाइसँग नजिक पुर्याएको छ भने छोरीलाई ढाडस दिँदादिँदै आफ्नै प्रसव बेदनाको चिन्तनमा लीन भएकी आमाको ध्यानातीत अवस्था छ ।
सामनाका कवितामा विसंगत वर्तमान र तीतो यथार्थका कलेवर प्रशस्तै भेटिन्छन् । गरिबी र अनिश्चितताले थलिएको युवा पुस्ता जो हरियो पासपोर्ट हातमा लिएर अरब छिर्ने ढोकामा उभिरहेका छन् । युवा वितृष्णाले ग्रस्त छन् । यसै गरी विदेशिने दाउमा छन् ।
अधिनायकहरू छन् । देशमा मात्र होइन, प्रत्येक घरघरमा । जो सधैँ आदेशको भाषा बोल्छन् । उनीहरू जो सिर्जनासँग हरपल त्रस्त हुन्छन् । नयाँ विचार र परिवर्तन पटक्कै मन पराउँदैनन् । ती ढोँगीहरू न घर न देशलाई अघि बढ्न दिन्छन् । यस्ता पीडा पनि समेट्छन् सामनाका कविताले । उनका कवितामा चेतनाको धरातल र उन्मुक्तिको तीब्र हुटहुटी छ । विद्रोहको झिल्का, आक्रोश र अस्तित्व चिन्तन पनि छ ।
कताकता उनका कतिपय कविताले शिल्पगत सुन्दरतालाई धान्न नसकेको जस्तो लाग्छ । केही कविता रुखो र कडा शब्दको जोडघटाउका कारण बग्नुको साटो कठोरता बेहोर्दै अडिरहेझैँ लाग्छन् । लाग्छ, कविता बग्नुपर्छ । कविता भन्नु शब्दहरूको निरन्तर यात्रा हो । बन्न खोज्दाखोज्दै फेरि सोचेजस्तो बन्न नसकेको पीडा पनि बोकेका छन् केही कविताले ।
पर्खालभित्रको घाम
लेखक : सामना पहाड
प्रकाशक : चितवन साहित्य परिषद्
मूल्य : २०१ रुपियाँ
प्रकाशित: भाद्र १८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )