जिन्दगी कहाँकहाँ दुख्छ
कतिबेला दुख्छ
केका लागि दुख्छ
तर दुख्न चाँहीँ दुख्छ,दुखिरहन्छ
बाध्यता र बिवशताको काँढा बिजाउँदा
आफ्नै मुटु छाम्न असमर्थ
यि कमजोर हत्केलाले
मैले तिम्रो घाऊ छुन सकिन सखी!
सत्य भनुँ!
जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।।
थाहा छ कि म कृतघ्न होइन
तर कृतज्ञताको नाममा केही गरेको पनि त छैन !
सस्तो बिलौना गरिन मैले सखी!
तर पल्पल कुँडिएर बाँचेको जिन्दगीलाई
कसरी निकम्मा भनुँ?
हृदयको पटाङ्गिनीमा संधै
चैतको डढेलो हुर्हुराइरहेको हुन्छ
अभाबको ज्वालामा आँफैँ सल्किरहेको बेला
मानवताको बारीमा कर्तब्यको सिंचाइ
मैले गर्न सकिन
थाहा छ यो मुटु ढुङ्गाको होइन
तर नौनी हुनुको कुनै दृष्टान्त
पेश गर्न सकेको पनि त छैन!
निस्तो बाचा गरिन मैले सखी!
तर परिबन्धको बन्दी जिन्दगीलाई कसरी दुत्कारुँ?
कामना गर्नसक्छु
चाहना गर्न सक्छु
सम्भाबनाको आकाश नियाल्दै
उज्याला ताराको भाकल गर्न सक्छु
पूर्वको रातो क्षितिज हेरेर
उज्यालो घामको प्रतिक्षा गर्न सक्छु
तर आँफै हजार टुक्रामा
बिभक्त मुटु बोकेर
तिम्रो घाइते हृदयमा मैले मल्हम लगाउन सकिन सखी!
म अँध्यारो रोज्ने कालो रात होइन
तर दिउसोको घाम बनी कसैलाई
उज्यालो दिन पनि सकेको छैन
कोरा कल्पनामा उडिन म
नियतिको खोटो सिक्का शायद म
फेरी,
सपनाको स्वर्णमुर्तिलाई कसरी धिक्कारुँ?
हो सखी!
सत्य भनुँ!
जिन्दगी कहाँकहाँ दुख्छ ..दुखिरहन्छ ।।
deepssanu@gmail.com
(स्रोत : Milankosansar)