~कल्पना बान्तवा~
‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’
सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो।
अघि नै ब्युँझिसकेकी गौरी तर्सेर उठी। उठेर बस्दा भनन रिंगटा लाग्यो। मुख पनि तमतमाइलो भयो। खाटमा बसेर एकाएक हातका औंला भाँच्दै पछिल्लोचोटि पर सरेको दिनगन्ती गर्न थाली। अचानक विचित्रको ओजले उज्यालियो उसको अनुहार। अनि, आफैंलाई भनी, ‘गौरी, तँ त आमा बन्न लागिछस्!’
हत्त न पत्त लुगासुगा तानतुन पारेर कपाल सम्याउँदै बाहिर निस्की ऊ। बढारकुँढार सकेपछि भान्सामा पसेर सासूलाई चिया–खाजा तयार पार्न थाली। आफू ब्युँझेदेखि नदेखिएको लोग्ने खोलातिर गयो होला भन्ठानी।
उदयपुरको भित्री गाउँमा छ, गौरीको घर–संसार। इन्द्रध्वज तामाङ भनेर चिनिने लोग्नेलाई ‘इन्दु’ भनेर पुकार्छे ऊ। अजातकी बुहारी घर भित्रिएलगत्तै शिरका स्वामी बितेका र गतिलो कमाइ नभएको कान्छो छोरा इन्द्र पनि टाढिँदै गएको गुनासो गरिरहन्छिन्, गौरीकी सासू– घर आएका आफन्तसँग।
गौरीको गाउँमा पहाडे–मधेसी छ्यासमिस छन्। गाउँदेखि आधा घन्टाको पैदल दुरीमा शीतला माईले दागेको अनुहारजस्तो सडक पसारिएको छ। त्यही सडकको मर्मत–सम्भारसम्बन्धी ठेक्काको काम गर्दै छन्, इन्द्रका काका समरजीत। इन्द्र उनलाई सघाउँछ।
कच्ची बाटो हुँदै कहिलेकाहीँ थोत्रे सरकारी जीप धुलो उडाउँदै गाउँ आइपुग्छ। सिँगाने भुराहरू जीपको पछिपछि कुदेर जात्रा गर्छन्। नत्र त, धैरैजसो साइकल र बयलगाडा नै कुद्छन् त्यो धुलौटे डगरमा।
अल्छीले बिहानभरि गिजोलिरह्यो गौरीलाई। कोखमा बस्न आएको सन्तानको मायाले भावुक बनेकी ऊ इन्द्रसँग भागेको दिन सम्झन्छे–
त्यो दिन, सानिमाले विनाकसुर गौरीलाई भुत्ल्याइरहँदा–पिटिरहँदा, उसका बाबु हुक्का तानेर हेरिबसेका थिए। बाबुसँग बेस्सरी चित्त दुखाएर त्यो रात भोकै–प्यासै रुँदै सुतेकी गौरीलाई घरका सारा मान्छे दुस्मन लागेका थिए। मरेकी आमालाई झलझली सम्झेरै रात काटी उसले।
भोलिपल्ट बिहानै खोला किनारको बूढो सिमलको रूखमुन्तिर बसेर रुँदै भाग्यलाई धिक्कारिरहँदा अचानक अगाडि ठिङ्ङ उभिन आएको इन्द्रले भनेको थियो, ‘गौरी, कतिन्जेल यो सब सहेर बस्छ्यौ? आफ्नो ठान्छौ भने खुरुक्क यै घडी हिँड मसँग।’
गौरी निकै बेर टोलाएकी थिई। छोरी तामाङ केटोसँग भाग्दा आफ्नो ब्राह्मण कुलमा अभिमान गर्ने बाबुले कसरी सहलान् भन्ठानेर कहाली लागेको थियो उसलाई। तर आफूलाई माया गर्ने मान्छेको हात समाएर नौलो संसारको यात्रा थाल्नु नै उचित ठानी उसले।
०००
ब्रिटिस सेनाका भूतपूर्व जवान गौरीका जेठाजू बेलायत बस्न थालेको निकै वर्ष भयो। बिहे भइसकेका नन्द–आमाजू आ–आफ्नै घरव्यवहारमा व्यस्त छन्। इन्द्रको भागमा दीर्घरोगी बाबु, बृद्धा आमा र पुर्ख्यौली घर परेका थिए। दाजुभाइ छुट्टिएलगत्तै बाबुको घाँटीको क्यान्सर झनै बिग्रँदै गयो। भएभरको पैसा तुर्दा पनि बचाउन सकिएन।
बाबुको उपचारमा एक टुक्रो खेत र कोठेबारी धितो राखेर बैंकबाट लिएको कर्जाको भारले थिचिएको इन्द्र धक फुकाएर हाँस्न पनि सक्दैन। भारतीय सेनाका भूपू सुबेदार स्वर्गीय बाबुको पेन्सनको भरमा दुःखसुख गुजारा गर्दै छ, उसको परिवार।
बाह्रखरी मात्र चिनेकी गौरी स्वध्ययनका भरमा बिहेपछिको दुई वर्षमा मात्रा फुटाएर लेखपढ गर्न जान्ने भई।
दस पास गरेपछि इन्द्रले भने दाजुजस्तै लाहुरे बन्न चाह्यो। डोकोभरि ढुंगा हालेर नाकठाडो उकालोमा ठमठमी हिँड्दै लाहुरे तालिमको अभ्यास गर्न थाल्यो। गौरी पनि उसलाई यामानका फलामका गोला उचाल्न, सिमेन्टीका बोरामा बालुवा भर्न सघाउँथी।
‘भोलि–पर्सी लाहुरे भएर फर्कंदा तिमीलाई झम्केबुलाकी ल्याइदिन्छु है! साँच्चै, यो सलक्क परेको नाकमा झम्केबुलाकी कति सुहाउँदो हो नि?’ इन्द्र जिस्काउँथ्यो। गौरी सानो ढुंगा टिपेर उसलाई हान्थी।
तर, तीनपटकसम्म पनि लाहुरे तालिमको मेडिकल जाँचमै फेल खाएर विरक्तिएको थियो इन्द्र।
०००
चुलोमा बसालेको कसौंडीमा छड्किँदै गरेको भात हेर्दै टोलाइरही गौरी। व्याकुल मनले धर नदिएपछि आफ्नो गर्भ रहेको कुरा अप्ठ्यारिँदै सासूलाई बताई।
‘लौ जा त! गुराँसको हाडेबोटमा दुई वर्षपछि पालुवा लागेछ?’ सासूले भनिन्।
सासूका कुराले गौरीको मन कटक्क खायो। टुहुरी गौरी सासूमा आमाको ममता पहिल्याउने भगीरथ प्रयास गर्थी, सासू भने गौरीलाई निचा देखाउने ध्याउन्नमा हुन्थिन्, सधैं। दुई–दुई वर्षसम्म गौरीले पेट नबोकेकेका ‘बाँझी’ भनेर व्यंग्य गर्थिन्। तर गौरीले सासूलाई कहिल्यै मुख फर्काइन। लोग्नेसँग यसबारे कहिल्यै गुनासो गरिन।
‘लौ लौ, अरू जे भए पनि खानदानको रीत बिगार्न पाइँदैन बाबै! यो कुलको पहिलो सन्तान सबै छोरै भएर जन्मेका छन्। यति कुरा याद राखेस्।’
सासूका कुरा सुनेर फिस्स हाँसी गौरी।
खानपिन सकेर सासू सत्संगतिर लागिन्।
दिउँसोको टन्टलापुर घाममा धापिएर लखतरान इन्द्र घर आयो। सडकमा ह्युम–पाइप ओछ्याउने काममा अल्झेको रहेछ।
आँगनमा गएर केही बेर कल पेल्यो इन्द्रले। चिसो पानी आउन थालेपछि तात्तिएको टाउकामा डोलले पानी खन्याउँदै नुहाइरह्यो।
लोग्नेलाई पिरामा बसाएर अघिल्तिर खाना राखिदिई गौरीले। छेउमा बसेर लोग्नेले खाएको मायालाग्दो गरी हेरिरही र पटेरको पंखा हम्किरही। गौरीभित्र आमा बन्न लागेको अनौठो उमंगले बुर्कुसी मार्दै थियो। तनमनमा अटेसमटेस खुसी लोग्नेसँग बाँड्न अधैर्य ऊ, कहिले हर्षित त कहिले द्रवित बन्दै थिई।
‘इन्दु!’ उसका गाला लाजले राँकिए।
‘भन न!’
‘म दुई जिउकी भइछु, इन्दु!’ हम्कँदै गरेको पंखा फ्यात्त भुइँमा फालेर गौरीले लोग्नेको पिठ्यूँपछाडि मुन्टो लुकाई।
‘हो र…?’ खाँदै गरेको इन्द्रलाई झन्डै भात सर्कियो। देब्रे हातले गौरीलाई तानेर अँगाल्यो। जोइपोइका खुसी भान्साघरको भुइँ, भित्ता र छानोभरि छरिए।
‘अनि, आमाले के भन्नुभो त? बाँझी हैन मेरी गौरी भनेर चाल पाउनुभो कि?’ इन्द्रले हाँस्दै सोध्यो।
‘अँ, पुर्खादेखिको थिति बिगार्न पाउन्नस्, पहिलो सन्तान छोरै हुनपर्छ भन्नुभो,’ गौरीले पनि हाँस्दै बताई।
आफ्नो दयनीय हालतले विरक्तिएको इन्द्रलाई बाबु बन्ने हर्षले बेग्लै खाले उत्साहमा डुबायो। काकासँग केही रुपैयाँ कर्जा लिएर कुनै व्यवसाय सुरु गर्ने योजना मनमनै बुन्यो।
तर, आमा बेस्सरी रिसाइन्, ‘सापटी लिएको पैसा डुब्यो भने के गर्छस्? पाटीको बास गराउने विचार छ मलाई यो बुढेसकालमा? दुनियाँ संसारमा तेरी स्वास्नीले मात्र बच्चा पाउँदै छे? हाम्ले नौ–नौ वटा बच्चा दाउरा घाँस गर्दागर्दै पायौं, खै कतै केही गर्नुपरेन त! पाँच वटा खेर गए पनि चार जना त बाँचेकै हुन्। सँगैका दौंतरी अरब गएर घरखेत जोरिसके, यो जोइटिंग्रे भने बाबु हुन लाग्दा पनि स्वास्नीकै फरिया समातेर बस्न खोज्छ।’
घरको खस्कँदो अवस्था, आमाको सधैंको कचकच र टुप्पीसमेत डुबाइसकेको ऋणका कारण मन मारेर बाध्य भयो इन्द्र, खाडीको लाहुरे बन्न। तिहारपछि हानिने भो ऊ, अरबतिर।
०००
दसैंको अन्तिम रात। झलमल्ल पोखिएको छ जून– चारैतिर।
कोही ‘कोजाग्रत पूर्णेका दिन कौडा छुनैपर्छ, एक हात त हान्नैपर्छ!’ भन्दै जुवाको खालमा जमेका छन्। कोही ‘दसैंमा धर्ती छाडेर पुण्य कमाउने आज अन्तिम रात त हो!’ भन्दै लिंगेपिङ वरिपरि झुम्मेका छन्।
गौरी र इन्द्र परालको टौवामा पल्टेर, अदृश्य टेकोमा अडेका झैं पूर्णचन्द्रलाई नियाल्दै छन्। इन्द्र परदेसिने कुराले दुवैको आधामासु भएको छ।
अचानक इन्द्र हाँस्छ।
गौरी सोध्छे, ‘किन हाँसेको?’
‘मरिगए भन्दिनँ।’
गौरी ठुस्किन्छे। इन्द्रलाई पर धकेल्छे, ‘भन न! किन हाँसेको?’
गौरीको अनुहारबाट पराल पन्छाउँदै इन्द्र बोल्छ, ‘त्यै, आमाले छोरै पाउनुपर्छ भन्ने कुरा सम्झेर।’
‘हा–हा–हा,’ गौरी हाँस्छे।
‘साँच्चि गौरी! हाम्रो छोरा हुन्छ कि, छोरी होला है?’
‘खै! आमाको इच्छा पूरा भइदिए हुन्थ्यो!’
‘म त तिमीजस्तै सुवानी छोरी होस् भन्छु! तर जे जन्मे पनि त्यो मेरो मुटुको टुक्रा हुनेछ गौरी!’ इन्द्रले लामो सास फेर्यो ।
‘इन्दु! तिम्रो काखमा छोरी राखिदिन पाए मलाई पनि सन्तोक हुन्थ्यो,’ गौरीको सुस्केराले इन्द्रको अनुहार छोयो।
‘ए हो र? हजुरले भनेजस्तै हुने भए त!’ इन्द्र जिस्काउँछ।
गौरी आनन्द मानेर हाँसिदिन्छे। ती दुईको हाँसखेल हेर्नमा मग्न पूर्णेको जून हतारिएर बादलभित्र लुक्छ।
०००
‘टि्रङटि्रङ…’ साइकलको घन्टी बजाउँदै घरछेउबाट हुँइकेको रबियालाई उदास आँखाले आँगनबाट हेरिरही गौरीले।
रबियाका बाबु महिकर चौधरी बजारको पुछारमा रहेको पिसिओ चलाउँछन्। बाहिरबाट आउने फोनका लागि मान्छे बोलाउँदैमा ठिक्क छ, रबियालाई।
इन्द्रले घर छाडेको सुरुवाती दिनमा डगरको बाटोमा गुज्रने रबियालाई हरेक दिन रोकेरै सोध्थी गौरी, ‘रे रबिया! इन्दुको कुनै फोन आएको छ कि? तैंले भन्न भुलेको त होइन?’
रबिया भन्थ्यो, ‘हे भौजी, भरम परेछ तपाईंलाई। आइहाल्छ, किन चिन्ता लिनुहुन्छ? इनराको फोन आएपछि त कुदेर भन्न आइजान्छु!’
तर महिना दिन नाघिसक्दा पनि इन्द्रको फोन आएको थिएन।
एक दिन रबिया बाटैबाट करायो, ‘गौरी भौजी! आधा घन्टामा इनराको फोन आउनेवाला छ।’
ओह! गौरीको रोमरोम हर्षले पुलकित भो। जिउमा काँडा उमि्रयो, आँखा सररर रसाए, त्यसैत्यसै। उसलाई कानले सुनेको कुरामा विश्वासै भएन। गएको दुई महिनापछि, पहिलोपल्ट लोग्नेको आवाज सुन्न पाउने खबर उसलाई सपनाको कुराजस्तो लाग्यो। वाकवाकी लागेर बेकम्मा बनेको ज्यानमा नाचूँ–नाचूँ लाग्ने स्फूर्ति सञ्चार भो!
उसकी सासूले पनि कोठाबाट निस्केर रबियालाई सोधिन्, ‘एई रब्या! के भनिस् रे? इन्द्रे आफैं बोलेको हो फुनमा? अर्थोक के–के भन्थ्यो त, भन्–भन्!’
‘हो हो। आफैं बोलेको। गौरीलाई बोलाई दे रबिया भने। फस् ट्यामको फोनमा कल्ले लम्बेचौडे बात गर्छ? भौजीसँगै फोनमा बतियाउँछ बाँकी बात। भौजी! ट्याममा आइलिनु, पछि फेरि ‘रबिया फोन आएन?’ भन्दै मेरो दिमाग नचाट्नु,’ रबियाको बोलीमा भाउजूप्रति सहानुभूति छताछुल्ल पोखियो।
आफ्ना निम्ति सञ्जीवनी बुटीजस्तो सुसमाचार ल्याइदिने रबियामा हनुमानकै झल्को देखी गौरीले। उसले आँखैले त्यो किशोर देवरप्रति आभार दर्शाई।
रबिया आफ्नै धुनमा सिटी बजाउँदै फर्क्यो।
‘मोरो रब्या! कसैलाई नभ’को हतार यसैलाई हुन्छ जहिल्यै।’ सासू अनुहार उज्यालो पारेर कोठाभित्र छिरिन्। थैलोभित्र हात छिराएर गुरुमन्त्र जप गरिरहेकी उनको हातको गति पनि तीव्र हुँदै गयो।
गौरीलाई कस्तो–कस्तो लागेर आयो। रोऊँ–रोऊँ जस्तो। ऊ कोठाभित्र पसी।
अधीर गौरीले कोठाभित्रको भित्तेघडीतिर नजर लाई– फोनघर पुग्न पाँच मिनेट पनि बढी हुन्छ। बाँकी बचेको समय कसरी बिताउने– छटपटी जाग्यो उसमा। एकनासले घडीको सेकेन्ड सुई सरेको हेरिरही।
यतिका दिनपछि कसरी कुरा गर्ने होला इन्दुसँग? निधारमा पसिनाका फोका उमि्रए।
अनायास उसका हात पेटमा पुगे। एउटा ढाडस पलायो मनमा र सन्तानको साथले निकै बलियी भएकी ठानी, आफूलाई। मायाले पेट मुसारी र सुस्तरी बोली, ‘नानी! तिम्रो बाबाको फोन आउँदै छ रे!’
०००
‘गौरी…? फोनबाट निस्केर इन्द्रको स्वर गौरीको आङभरि छायो शीतलहर बनेर।
‘गौरी…? किन नबोेलेकी? कस्ती छौ? आमालाई कस्तो छ?’ लोग्नेको स्वरको कम्पनले गौरीको मन भित्रसम्म चिरियो।
‘हामी ठिकठाक छौं। तिमीलाई कस्तो छ नि? सन्चै त छौ?’ आत्तिएर सोधी।
‘सन्चै छु। तर यहाँ बलको काम ज्यादा गर्नुपर्छ, त्यसमाथि उत्पातै गर्मी। अनकन्टार मरुभूमिमा प्रायः फोन लाग्दैन, त्यसैले तिमीहरूलाई फोन पनि गर्न सकिनँ,’ इन्द्र एकसुरले बोलिरह्यो।
‘बु‰यौ गौरी? ऋण तिर्न पुग्ने पैसाको जोहो हुनासाथ यो चुतिया ठाउँ कहिल्यै नफर्कने गरी छाड्ने विचार छ, मेरो। दिनरात ज्यान घोट्दा पनि मेहनतअनुसारको कमाइ नहुँदा मनै मर्छ!’
इन्द्रले यसो भनिरहँदा गौरीका आँखाबाट आँसुका बलिन्द्र धारा खसिरहे।
‘चाँडै नै केही पैसा र एउटा मोबाइल फोनसेट पठाउँदै छु। त्यसपछि त तिमी दुई जिउकी मान्छेलाई हस्याङफस्याङ गर्दै फोनघरसम्म आउनु पर्दैन नि!’ इन्द्रले भन्यो।
‘फोनसोन अहिल्यै पठाइहाल्न पर्दैन इन्दु! कति नै टाढा छ र फोनघर?’
‘हुन्छ, उसोभए अलि पछि पठाऊँला। तर आमाको, आफ्नो र पेटको बच्चाको राम्रो हेरविचार गर्नु। मेरो पटक्कै सुर्ता नगर्नु। अब तिमीहरूसँग वर्ष दिनपछि मात्र भेट्न पाउनेछु। मलाई सम्झेर कहिल्यै नरोए है गौरी! आमाका कुराले मन नदुखाउनु। अहिलेलाई फोन राख्छु!’
०००
म्याराथन धावकझैं समय बेतोडले आफ्नो ट्र्याकमा कुदिरह्यो।
गौरीको स्वास्थ्य इन्द्र गएदेखि त्यति राम्रो छैन। प्रायः बिरामी भइरहन्छे। यस्तो बेला लोग्ने साथमा नहुनु जस्तो नमिठो अरू केही नहुँदो रहेछ भन्ने लाग्छ उसलाई। आफ्नो अवस्था बताएर परदेसमा दुख गर्दै बसेको लोग्नेका मनमा चिन्ता थप्न पनि चाहन्न।
उसलाई खानै रुच्दैन। दुब्लाउँदै गएकी छ। गर्भको सन्तानको मायाले जबर्जस्ती थोरै खान्छे, तर वान्ता भइहाल्छ। बरु चुलोको पोलिएको माटो टोक्न–सुँघ्न मन लाग्छ उसलाई। रगतै नभएजस्तो पहेँलो हुँदै आएको छ, उसको जिउ।
एक दिन सासूले समरजीत काकालाई बोलाएर भनिन्, ‘कान्छा नानी! बुहारीदेखि देउता–कुलपितृ बिखुसी छन्। चराले चारो टिपेझैं छ यसको खान्की, त्यो पनि जिउमा लागेको हैन। उडेको चरा खसाल्ने यो उमेरमा जोगिनीजस्ती देखिन्छे। तिमी आएर साता दिनजति चण्डीपाठ गरिदेऊ कान्छा!’
तर कति पाठपूजा गरेर पनि गौरीलाई बिसेक भएन।
गौरीलाई अब बाँचिन्न कि जस्तो अत्यास लाग्छ हरघडी। खाली इन्द्रलाई सम्झन्छे। उक्सेको पेट सुम्सुम्याएर एकान्तमा रोइरहन्छे। इन्द्र टुप्लुक्क अघिल्तिर झुल्केला झैं झझल्को लागिरहन्छ उसलाई।
भगवान्लाई पुकार्छे, ‘हे भगवान्! मलाई जाती बनाइदेऊ। इन्दुलाई चाँडो फर्काईदेऊ। जस्तै दुख सहन परे पनि लोग्ने र सन्तानसँग बाँच्न पाए म यो जीवन हाँसेरै बिताउनेछु।’
गौरी हाँस्न चाहन्छे, बाँच्न चाहन्छे। तर एक्लो र हतास वर्तमानका पीडा उसको अन्तरमा नराम्ररी जरा गाडेर बसिसकेका छन्। ऊ शारीरिक–मानसिक रूपमै कमजोर हुँदै गइरहेकी छ।
०००
समाचारको हेडलाइनझैं एक्कासि गाउँमा हल्ला फैलियो– ‘उदयपुरका इन्द्रध्वज तामाङको खाडी मुलुकमा आकस्मिक निधन!’
समरजीत काका ‘यो बेकारको हल्ला हो’ भन्दै खाडीमा फोन गरेर इन्द्रको अवस्थाबारे खोजीनीति गर्न थाले।
खबर सुनेर गौरीकी सासू बिचेत भएर ढलिन्। छरछिमेकका आइमाई उनको अनुहारमा पानी छम्कन र पंखा हम्कन थाले। होसमा आउनासाथ सासू छाती पिटीपिटी रुँदै बिलौना गर्न थालिन्।
गौरीको दिमागले यो उडन्ते खबरलाई झट्टै पत्याएन। तर कमजोरीले गालेको उसको ज्यानमा भने त्यसले भयानक प्रभाव पार्योब। महिनै नपुगी बेथा लागेर बेस्सरी रगत जान थाल्यो। आठ महिनामै उसले छोरी जन्माई। रगत बग्न रोकिएन, अचेत हुने र बौरिने लागछोडबाट गुज्रन थाली गौरी। उसलाई स्वास्थ्य केन्द्र लाने तयारीमा जुटे, छिमेकी।
यत्तिकैमा रबिया बेतोड कुद्दै आएर स्वाँस्वाँ गर्दै बोल्यो, ‘गौरी भौजी! आमा! उहाँ इनरा ठिकठाक छ। ऊ जो पासपोर्ट छ नि? हो, उसैको अदलाबदलीको कारण यो सब बखेडा भै लिएछ…।’
गौरीका आँखाबाट तररर आँसु झरे। रबियाको बोली उसलाई पवित्र देववाणीझैं लागे। तर नवजात छोरी र लोग्नेसँग बाँचिरहने उसको चाहनालाई रगत निखि्रसकेको ज्यानले धान्न सकेन। हेर्दाहेर्दै उसका आँखाका ढकनी बन्द भए। सासले मात्र लोग्नेलाई पुकारिरही– इन्दु! इन्दु! इन्दु …!
नश्वर शरीरलाई त्यागेर गौरीको सास अनन्तको हावामा विलिन भयो।
०००
खाडीको मालिकबाट तुरुन्तै छुटकारा–पत्र नपाएकाले दुई महिनापछि बल्ल देश फिर्न सक्यो इन्द्र।
ओछ्यानमा निदाइरहेकी छोरीलाई हतारिएर काखमा लियो। छोरीका कलिला हातखुट्टा, गाला, खानेमुख र निधार सुम्सुम्याएर भक्कानियो। छेउमा उभिएकी आमाले उसको केश मुसारेर सान्त्वना दिन खोजिन्। तर इन्द्र झन् व्याकुल बन्यो।
‘आखिर छोरी नै दिएर गई पापीनीले!’ ऊ बर्बरायो।
उसका आँखा टेबलमाथि ठडिएको गौरी र आफ्नो फोटोमा पर्योर। हाँसिरहेकी फोटोकी गौरीलाई छोरीसँगै छातीमा टाँसेर डाँको छाडेर रोयो इन्द्र। विह्वल छोराको पीडा देख्न–खप्न नसकेपछि नातिनी बोकेर आमा कोठाबाट बाहिरिइन्।
इन्द्रका आँखामा सजीव उत्रिए, गौरीसँग बिताएका सुखदुःखका दिनहरू।
फेरिएका पासपोर्टका कारण खाडीमा मर्ने कैयौं नेपालीका शव महिनौंंसम्म देश ल्याउन नसक्नु, क्षतिपूर्तिको दाबी गर्न नसक्नु, प्रियजनको मृत्युको खबरले अधमरो हुँदा पनि तत्काल घर फिर्न नपाउनुलाई अभागी नेपालीको नियति मानेर लामो खुई काढ्यो उसले।
खाटमाथि राखेको सुटकेश खोलेर सानो थैलो निकाल्यो। थैलोबाट मोबाइल फोनसेट निकालेर बाहिर राख्यो। एउटा ठूलो च्याप्टे फुली र झम्केबुलाकी पनि थैलोबाट निकालेर टेबलमा राख्यो। फोटोकी गौरीको नाकमा बडो प्रेमले ती फुली र बुलाकी टाँसेर हेर्योन। कहिल्यै पूरा नहुने रहर सलबलाएका उसका आँखा आँसुले पुरिए।
त्यही सुटकेशमा पसारिएको पासपोर्ट हातमा लिएर लामो सास फेर्दै इन्द्रले पन्ना पल्टायो। आँसुले धमिलिएको उसको दृष्टि त्यही पानामा गाडियो, जहाँ फोटो त स्वयं उसकै टाँसिएको थियो तर नाउँ, थर, वतनमा प्रस्ट लेखिएको थियो– बिसनदेव कुशवाहा, गगनगन्ज, सर्लाही।
(स्रोत : NagarikNews)