जमुनिया मर्यो !
चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।
भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।
यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।
“दैवा रे दैवा !” दुवै हात छातीमा बजार्दै मन्ते त्यही खटियामा बुंग ढल्यो ! आँखा चिम्म गरेर जाँतो झैं दाह्रा किट्यो । हात थरर्र काँपे । करेन्ट लागेर कुप्रिए झैं कक्रक्क पर्यो ।
“भौजी…भौजी…” भीम चिच्यायो ।
भित्रबाट जमुनियाकी आमा फेकनीदेवी दौडिंदै आई । खटियामा ढलेको मन्ते र उसलाई समातेको भीम देखेर ऊ टक्क अडिई– मूर्ति झैं ।
“हाय रे दैवा ! कथि भैगैल ?”
फेकनी आत्तिएर मन्तेसामु गई र गालामा थपथपाएर जगाउन खोजी । मन्ते नउठेपछि बतास झैं भित्र कुदी र लोटामा पानी ल्याएर छम्किई ।
“कथि भेलै भैया, यी कथि भेलै ?” आँखाबाट बलिन्द्रा झर्दै फेकनीदेवीले भीमलाई सोधी ।
ऊ केही नबोली भुईंतिर सोझियो ।
फेकनीले मन्तेलाई जोडले हल्लाएर बोलाई । ऊ चालचुल गरेन ।
जुठेल्नाका भाँडा पुत्ताउने घाममा टलक्क टल्किंदै थिए । अलि पर्तिर अर्को घरबाहिर केटाकेटी लंगरखुट्टी खेल्दै थिए । बतास पनि उस्तै पुत्ताउने तातो थियो ।
अलिबेरमा मन्ते भक्भकाउँदै उठ्यो र फेकनीलाई देखेर भक्कानियो । जीवनमा कहिल्यै आँखा नभिजाएको मन्तेको आँसु देखेर फेकनीका ओठ पनि थरर्र काँपे ।
“बर्बाद भेलै चुट्की ! जमुनिया, जमु…” मन्ते भक्भकाउँदै बोल्यो र बर्रर आँसु झरेर भुईंमा ढल्यो । त्यसपछि फेकनी ढली ।
० ० ०
गाउँभरिबाट मान्छे जम्मा भए । गाइँगुइँ बाक्लियो । वरपर कानेखुशी चल्यो । कानबाट कान हुँदै खबर मैदानसम्म पुग्यो– जमुनिया पुलिसको गोली लागेर मर्यो रे !
भर्खरका तन्नेरीहरूले पाखुरा सुर्किए । बूढापाकाले आँखा भिजाए ।
फेकनी अझैं होशमा आइसकेकी थिइनँ । गाउँभरिबाट जम्मा भएका महिलाले उसलाई पानी छम्किंदै थिए । मन्ते कुनामा घोप्टो परेर सुँक्कसुँक्क गर्दै थियो ।
बाहिरको गाइँगुइँ एकैछिनमा हल्लामा परिणत भयो । एकजना ठिटो जोडतोडले कराउँदै थियो, “गोली मारेबाला पुलिसके पकडिके जिन्दा जलाए पडतै । कथी तकैछी अहाँ सब चलु हमर जोरे ।”
ऊ अगाडि सरेझैं गर्यो । उसलाई रोक्दै अर्को अधबैंसे बोल्यो, “बाबुमाई के सम्हाले परतै । खुन के बदला खुन हेतई, रुक् !”
ऊ पछाडि सर्यो ।
अलि पाको देखिने बूढोले भीमलाई भीडतिर बोलायो । भीम असिनपसिन थियो । अहिलेसम्म उसले मुख खोलेको थिएन ।
“कि भेलै ? के मारलै जमुनिया के ?” भीमको काँधमा हात राखेर उसले सोध्यो ।
भीमले लामो सास फेर्यो र आँखा चिम्म गर्यो । दुई–तीन पटकसम्म उसले त्यसै गर्यो ।
“हम पान बनबै छलियै, जुलूस एलै । कथि कथि नारा लगवैछलै । तखन्ते पुलिस एलै । जमुनिया सबसे आगु छलै । उहे गरिबके मार नैपैैभी कहि के नारा लगवैछलै । आओरो सब ओकरा साथ् दके नारा लगवैछलै ।”
भीमले अम्खोराबाट घटघट पानी खायो । उसको मुख सुकेर प्याकप्याक थियो ।
“पुलिस लगभग ५० मिटर दूर छलै । जमुनिया जेबीसँ चक्कु निकालिक चिल्लाव लगलै । मार कहलकै आ पत्थर लके सोझे पुलिसके मार लगलै । हम देखेते देखते रहगेलीयै । पुलिस टियर ग्यास फेकलकै, सबगोडा एने ओने भाग लगलि । कनिकाल बाद जमुनिया सब गोडेके एक जगह बोललकै आ फेरु पत्थर उठाक पुलिस के मार लगलै ।
पुलिस गोली चललकै । कनिके देरमे सबओर हल्ला हुव लगलै । पुरे रास्तामे धुलधुल भगेलै । ओत्ते बेसी आदमी कत् हेरेलई, कत् हरेलई । ओत्त जमुनिया असगरेके गोली लागिक खसल छलै । तब हम दौडिक एम्हर एलियै ।”
भीमले एकैसासमा सम्पूर्ण घटना भनिसक्दा झुम्मिएका सबै चकित परे । उनीहरूका लागि यो अर्को अपत्यारिलो खबर थियो । जमुनिया जुलूसमा गएको कुरामै उनीहरूले विमति जनाए । किनकि जमुनिया यस्ता जुलूस र आन्दोलनको सर्वकालीन विरोधी थियो ।
ऊ सधैंजसो भन्थ्यो, “जुलूस सुलुस कुछो नहि हेतै लडिका सब निमनसँ पढ् । पढ भी त जीवन बन्तौ ओना जीवन जुलूसमे दौडके खतम हेतौ । पढे के समयमे जुलूस मे लगवहि त खाक बडका आदमी होइभि ?”
जमुनियाका यस्तै कुरा सुनेर कतिपय ठिटा स्कूल जान थालेका थिए । राजनीति गर्नुभन्दा पहिले आफू बलियो हुनुपर्छ भन्ने जमुनिया आफूले भने एक अक्षर पनि पढेको थिएन । र, पनि ऊ कहिल्यै जुलूसमा कुदेन ।
शहर गएर कुकर र छाता मर्मत गर्थ्यो र पैसा बेलुकी फेकनको हातमा थपक्क राखिदिन्थ्यो । हिजो अबेर फर्किएर पनि उसले फेकनीलाई तीन सय रुपैयाँ थमाउँदै भनेको थियो, “आइ तीन सय राख माय कोनोदिन लाखमे झुम्वही ।”
अनि फेकनी मन्तेलाई हेर्दै मुसुक्क हाँसेकी थिई ।
त्यही मान्छे आन्दोलनको अग्रपंक्तिमा गएर गोली खायो ।
गाउँलेहरूले कसरी पत्याऊन् ?
भीडको आक्रोश बढ्दै गयो । ठिटाहरूको रगत उम्लियो ।
“हिनम् केटा हो, अाजै वार कि पार कर्नुपर्छ”, लखनले नेपाली लवजमा बोल्दै पाखुरा सुर्कियो ।
उसको पछिपछि अरू ८–१० जना लागे । तन्नेरीको एउटा हूल दाह्रा किट्दै आँगनबाहिर निस्कियो र छिनभरमै अलप भयो ।
उनीहरूको हूल ठीक त्यहाँ पुग्यो, जहाँ जमुनिया ढलेको थियो । तर, त्यहाँ जमुनिया थिएन । मान्छेहरू घरका छतमा देखिन्थे । बजार मुर्दा शान्तिमा सुतिरहेझैं लाग्थ्यो ।
उनीहरू सरासर बजारको पुछारमा रहेको अस्पतालतिर हान्निए । त्यहाँ एउटा समूह पहिलेदेखि नै जुलूस लगाइरहेको थियो । त्यो जुलूसका कसैलाई पनि ठिटाहरू चिन्दैनथे । भीडले एकोहोरो नारा लगाइरहेको थियो, “मृतक जमुनियालाई शहीद घोषणा गर, हत्यारालाई कारबाही गर् । मधेशी मुक्ति जिन्दावाद !”
ठिटाहरू छक्क परे । जीवनमा अहिलेसम्म नदेखिएका मान्छेले जमुनियालाई शहीद घोषणा गर्न भन्दै नारा लगाइरहेका थिए ।
ठिटाहरू मुखामुख गरिरहँदा त्यहाँ अर्को सानो जुलूस आयो– झन्डा फहराउँदै । झ्न्डामा ‘मधेशी टाइगर्स’ लेखिएको थियो ।
बतासझैं हुर्रिंदै उनीहरूले सोधे, “बाँडी कहाँ छ ?”
त्यहाँमध्ये कसैले पनि जमुनियाको शव देखेको थिएन । पोस्टमर्टम भइरहेको सूचना मात्रै उनीहरूसँग थियो ।
आधा घण्टाजति गाइँगुइँ मात्रै चलिरह्यो । पोस्टमर्टम सकेर दुई–तीन जना मान्छे बाहिर निस्किए ।
टाइगर्सको समूहले जमुनियाको शव निकाल्न अह्राएपछि मुक्तिवाला समूह फन्कियो । टाइगर्सको नाइकेजस्तो देखिने मान्छेले भन्यो, “जमुनिया हमरे सबके आदमी छलै, हमही सब लेजवै ।”
मुक्तिको नाइके अघि सरेर बोल्यो, “जमुनीया दु वर्ष से हमर सबके सदस्य रहलै, आ हमरा सबके तरफ से शहीद भेलै, हम सब शवयात्रा करे आयलछि ।”
गाउँबाट आएका ठिटाहरू चूपचाप आँखा फट्टाएर दुवै पक्षका कुरा सुनिरहे । ती बलिष्ठ समूहअघि उनीहरू निम्छरो देखिए ।
“तोहरा सबके राजनीति इहा न चलतौ, इ एरिया हमरा सबके है, हमर आदमीके हम सब चिनैछि,” टाइगर्सको नाइके कड्किएर बोल्यो ।
माहोल विस्तारै तात्यो । ठिटाहरू चूपचाप छेउ परे ।
प्रहरी साइरन बजाउँदै अस्पतालको गेटनेरै आएर घेरा हाल्यो र क्रमैसँग बन्दूक तेर्स्याएर उभियो । दुई वटै समूह हच्किए । पछाडिबाट प्रहरीको भ्यानमा अर्को फोर्स आयो र सबैलाई समातेर क्रमैसँग भ्यानमा हाल्यो । भ्यानमै दुवै नाइकेले पुलिससँग केही खासखुस गरे र झन्डासहित ओर्लिए ।
अनि केही बेरमा पोस्टमर्टम घरबाट जमुनियाको शव लिएर बाहिर निस्किए र बरन्डामा राखे । त्यसपछि दुवै नाइकेले आ–आफ्ना पार्टीका झन्डा ओढाए ! ठिटाहरू अक्क न बक्क भएर हेरिरहे ।
एकैछिनमा त्यो भ्यान धूवाँ पुत्ताउँदै गेटबाहिर गयो र हरायो । केही प्रहरीले जमुनियाको शव उठाएर मूर्दाघर लैजाँदै थिए, लखनले मुख खोल्यो, “सर, जमुनिया हाम्रो गाउँको साथी हो, लैजान आएको ।”
दुईतारे सईले आँखा तरेर उसलाई हेर्यो र चर्को नजर फ्याँक्यो ।
“अघि भ्यानमा जानेहरूले नि त्यै भन्थे, हल्ला नगरी बाहिर जाओ नत्र जाउला तिमरु पनि खोरमा !” सईले पुस्तैनी दुश्मनझ्ैं वचन लगायो, “मुचुल्का सुचुल्का उठाएपछि बाउ–आमा जो छ, लिएर आओ !”
लखन लुसुक्क परेर पछि हट्यो ।
० ० ०
गाउँबाट आगो भएर निस्किएका ठिटाहरू फर्किंदा निभेको कोइला जस्ता भइसकेका थिए । उनीहरूको ताप र राप सेलाइसकेको थियो ।
जमुनियाको घरमा ठूलो भीड जम्मा भइसकेको थियो । मन्तेका आँसु सुकिसकेका थिए, फेकनी अझै पनि घोप्टो परेर हिंक्कहिंक्क गर्दै थिई । उनीहरूसामु केही नचिनेका सुग्घर मान्छे थिए ।
“जे हुनुथियो भैगयो, हम्ले न्याय दिलाएरै छाड्छौं तपाईंहरूलाई”, चिटिक्क परेको सेतो धोती र गम्छा भिरेको एकजनाले मन्तेलाई सम्झउँदै थियो ।
“मधेश मुक्ति आन्दोलनमा ज्यान गुमाएर जमुनियाजीले शहादत प्राप्त गर्नुभएछ । हामी वहाँको रगत खेर जान दिन्नम् । जमुनियाजी हम्रो पार्टीका सक्रिय कार्जकर्ता हुनुहुन्थ्यो, उहाँ हम्रो पार्टीको पहलो शहीद हो ।”
यो तेस्रो समूह थियो, जसले जमुनियालाई आफ्नो कार्यकर्ता भनिरहेको थियो । लखनलाई जङ चल्यो । भीड पन्छाउँदै अघि आयो र करायो, “कौन सार मर्दावा छै ? आदमी मरेत खान कत् छेलिल्ही जे अखैन एल्ही ?”
सेतो धोतीवाला मान्छे करेन्ट लागेर पछारिएझै भयो । एक्कासि कसैले मुखै छाडेर त्यसरी गाली उसकै बाउले पनि कहिल्यै गरेको थिएन । बाउ त बाउ भइगए, उसका संगीले पनि गरेका थिएनन् ।
उसको पछिल्तिर रहेका दुई जना तिघ्रेले फरक्क फर्किएर लखनलाई समाते । त्यसपछि ठिटाहरू पनि अगाडि सरे । हात हालाहाल जस्तो अवस्था देखिएपछि सेतो धोतीवालाले रोक्यो र केही नबोली बाहिर निस्कियो । ऊसँगै एकहूल मान्छे गुनगुन गर्दै पछिपछि लागे ।
० ० ०
जमुनियाको शवयात्रा शुरू भयो शहरमा । यतिखेरसम्म मन्ते र फेकनीले उसको अनुहार देख्न पाएका थिएनन् । सयौं मान्छेको लावालस्करले नारा लगाउँदै जमुनियालाई शहर घुमाए । मधेश आन्दोलनका मसिहा भन्दै उसको स्तुतिगान गरे । चौराहाबाट शुरू भएको यात्रा शहर घुमेर चौराहामै आएर कोणसभामा परिणत भयो ।
अनि शुरू भयो अर्को चटक ।
भाषण गर्दा एक जना नेताले फ्याट्ट भन्दियो, “शहीद जमुनियाको बलिदानीको उच्च कदर गर्दै यो चोकको नाम आजदेखि जमुनिया चोक राखिएको छ ।”
श्रोताहरूमा गाइँगुइँ चल्यो । कानेखुशी गर्न थाले ।
दुई वर्षअघि मात्रै शहीदको सम्झ्ना भन्दै यो चोकको नाम राखिएको थियो— शहीद रामजनम चोक । यही चोकको नाम फेरिएको त्यो तेस्रो पटक थियो । वीरेन्द्रको नाम फेरेर गणतन्त्र चोक बनाइएको थियो, पहिलो मधेश आन्दोलनपछि रामजनम चोक बनाइएको थियो ।
जिल्लास्तरका नेताले भाषणै गरेर भन्दिएपछि कोही चुइँक्क बोलेन ।
कोणसभा सकिएपछि बल्ल परिवारको सोधखोज भयो । शहर र गाउँको दूरी चार किलोमिटरजति थियो । सल्लाह भयो— शवयात्रा गर्दै गाउँ मटिया लैजाने । लस्करसहित जमुनियालाई मटिया पुर्याइयो । उसको अनुहारभरि अबीर र फूल थियो ।
जम्मा भएका सबैले अबीर र फूल चढाए । मन्ते र फेकनीले जमुनियालाई ग्वाम्म अँगालो हालेर भक्कानिए । एकैछिनमा फेकनी सेता आँखा पल्टाउँदै बुंग ढली । महिलाहरूले उठाएर भित्र लगे । मन्ते झ्न् जोडले चिच्यायो । उनीहरूसँगै वरपरका अरूका आँखा पनि रसाए ।
केही बेरपछि मलामी उठ्यो र गाउँभन्दा १० मिनेट टाढा खोलातिर लाग्यो ।
खोला पुगेर भीमले जमुनियाका लुगा खोल्यो र ल्याएर मन्तेलाई दियो । रगतले लतपतिएको लुगा देखेर मन्तेले फेरि आँखाबाट बरर्र आँसु झर्यो । रगत सुकेर कलेटी परेको पाइन्ट सुम्सुम्यायो । पाइन्टको गोजीमा कागज रहेछ, निकाल्यो । जतनसाथ पट्याएर राखिएको पत्रिकाको टुक्रा थियो । पढ्न सकेन, भीमलाई बोलायो ।
भीमले एकैसासमा पढ्यो, “मधेश आन्दोलनमा ज्यान गुमाउने शहीदका परिवारहरूलाई प्रादेशिक सरकारमार्फत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । शहीद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी पनि प्रादेशिक सरकारले नै बहन गर्ने निर्णय मोर्चाले गरेको छ ।”
त्यसपछि भीमले अरू पढ्न सकेन । मन्ते शिरमा बज्र परेझैं निस्लोट भयो । उसका आँखाभरि जमुनियाको चित्र नाचिरह्यो । हिजो राति जमुनियाले फेकनीसामु भनेको सम्झ्यिो र धेरै बेरसम्म घोप्टो परिरह्यो ।
एकैछिनमा चिताबाट धूवाँ पुत्तायो । मन्तेले पत्रिकाको त्यो टुक्रा बलिरहेको आगोमा फ्याँकिदियो । जमुनियासँगै कागजको धूवाँ पनि आकाशतिरै विलायो कतै !
मंगलबार, कार्तिक ३, २०७२
(स्रोत : हिमालखबर)