मेरी गाउँले बहिनी एकाबिहानै भेट्न आइन् । उनले जे सुनाइन्, त्यो आश्चर्यजनक थियो । धेरै घटना लामो अन्तरालपछि अपत्यारिलाजस्तै लाग्दा रै’छन् । त्यस्तै घटना मेरै गाउँमा घटेको थियो । मैले बिर्सिसकेको थिएँ, अहिले सम्झिरहेको छु र छक्क परिरहेको छु । गाउँकै सम्पन्न परिवारमा जन्मिएकी, राम्रो पढेलेखेकी ती बहिनी २७ वर्षकी भइन् । उनी सुन्दर छिन्, तैपनि उनको विवाह हुन सकेको छैन । विवाहको कुरा चल्दाचल्दै, कहिलेकाहीँ त अन्तिम अवस्थामा पुगिसकेपछि पनि विवाह रोकिँदो रहेछ । यति सुन्दर अनि पढेलेखेकी युवती बिना कुनै अपराध सजाय भोगिरहेकी छिन् ।
०००
२०४० तिरको कुरा हो । शर्माजी र उनकी सुन्दर श्रीमती राधा गाउँकै पुछारमा चिया पसल गर्थे । उनीहरूका गुडियाजस्ता दुई छोरी पनि थिए । राधाको हातको चियाको मुकाबिला त्यो बजारमा कसैले गर्न सक्दैनथ्यो । मीठो चियाको स्वाद र सुन्दर स्त्रीको दर्शनका लागि आउने मानिसको भीडले मात्र पनि उनीहरूको जीवन राम्रैसँग चल्न थाल्यो ।
यस्तैमा एक जना पूर्वबि्रटिस लाहुरे उनको चियापसलमा आउन थाले । लाहुरेको आकर्षक शरीर, प्रशस्त पैसा र लडाइँका सुन्दर कथामा राधा लटपटिन थालिन् । आखिर उनीहरूबीच प्रेमको टुसा पलाउन थाल्यो । राधाभित्र लाहुरेकी दोस्रो श्रीमती र पाँच सन्तानमाथि भए पनि दुलही हुने रहर जाग्यो । उनीहरूबीच पहिले दुई जना भागेर विवाह गर्ने, त्यसपछि दुई छोरीलाई बिस्तारै लिएर जाने, शर्मालाई जारी तिर्नेसम्मको सल्लाह भयो ।
लाहुरेको बाक्लो आउजाउ र मानिसको कुराकानीबाट श्रीमती अर्कैसँग लागेकी शर्मालाई थाहा भैहाल्यो । त्यही रात शर्माजीले राधालाई नराम्रोसँग कुटे । त्यही पीडामा राधाले राति नै घर छाडिन् । भोलिपल्ट गाउँभरि थाहा भयो, पूर्व लाहुरे र राधा विवाह गरेर भारततिर भास्सिए । दिनभरि चियापसल बन्द भयो । शर्माजीलाई कुन मुखले के भनेर सम्झाउने भनेर गाउँलेहरूले भेउ पाएनन् । शर्मा दिनभर छोरीहरूसँग रोएर बसिरहे, घर वाहिर निस्किएनन् ।
भोलिपल्ट बिहान, अनौठो घटना गाउँभरि फैलियो । शर्माले आफ्ना दुई छोरीको घाँटी रेटेर हत्या गरेछन् र आफूले फाँसी लगाएर आत्महत्या गरेछन् । गंगा-जमुना नाम गरेका, गाउँकै सुन्दर अबोध बालिकालाई गाउँकै सोझा भनिने शर्माले कति क्रूर हत्या गरे, त्यसको कुनै हिसाब भएन । प्रहरी, कचहरी र पञ्चायत आ-आफ्नो काममा लागे । गाउँका महिलाहरूले रुवावासी गरेर दिन बिताए ।
घटनाको खाटा बसेपछि दुई वर्षपश्चात् केही जग्गा बेचेर, केही पैसा ख्वाएर सबैको मुख थामथुम पारेपछि लाहुरे र राधा गाउँ फर्किए । बाहिरबाट हेर्दा उनीहरूको गल्ती देखिँदैनथ्यो । किनभने छोरी पाल्ने र शर्मालाई जारी तिर्ने निर्णय पहिलै भएको साक्षी वक्नेहरू गाउँकै भद्रभलाद्मी थिए । तैपनि उनीहरूको प्रेमका कारण तीन जनाले अकालमा मर्नुपरेको ठहर अधिकांश गाउँलेको थियो ।
०००
केही वर्षपछि लाहुरे र राधाको जीवन सरल रूपमा चल्न थाल्यो । लाहुरेले दुवै परिवारलाई मिलाएर राखे । उनीहरूबाट थप दुई छोरी जन्मिए । गाउँलेहरू भन्थे, ‘गंगा-जमुना नै फर्किएर आए । उस्तै सुन्दर छन् ।’ हुन पनि ब्राह्मणी राधा र किराँत लाहुरेबाट वर्णशंकर भएका यी दुई केटी साँच्चै सुन्दर थिए ।
अस्तिका दिन ती दुई छोरीमध्ये जेठी मसँग भेट्न आइन् । उनी भन्दै थिइन्, ‘जुन घटना घट्यो, नराम्रो थियो । त्यसमा मेरा आमा-बुवाको दोष हुन सक्छ, तर त्यतिबेला मेरो जन्म नै भएको थिएन, जसमा मेरो कुनै संलग्नता छैन, त्यसमा मेरो के दोष ? के यहि कारणले मेरो विवाह रोकिनु हुन्छ ?’
०००
यी सबै घटना घट्दा म पनि सानै थिएँ । मारिने ती कलिला गंगा-जमुनासँग खेलेको म पनि अलिअलि सम्झन्छु । गाउँमा गाइने आएर त्यो निर्मम घटनालाई कथा बनाएको र गाएको पनि सम्झन्छु । तैपनि उक्त घटनाले कुनै दोष नै नभएकी एउटी युवतीको जीवनमा असर पारिरहेको देख्दा लाग्छ, यसमा दोष कसको ? पुराना कुरा सम्झी-सम्झी एउटी युवतीको विवाह हुन नदिने समाजको हो कि ? प्रेम गर्ने राधा र लाहुरेको हो कि, आवेशमा आफ्ना कलिला छोरी र आफ्नै हत्या गर्ने शर्माको ?
(स्रोत : Kantipur – Saptahik)