रातको ११ बजे।
अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या!
तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त छैन। किनकि यसअघि धेरैपटक यस्तो निर्णय लिइसकेको छु। दुर्भाग्य त्यो निर्णय भोलिपल्ट वा केही समयपछि नै भंग हुने गरेको छ।
आशा गर्छु, यसपटक त्यस्तो हुँदैन।
बाहिर झमझम पानी परिरहेको छ। केही विशेष ठाउँलाई छोडेर काठमाडौं यति बेला निद्रामा मस्त छ। काठमाडौ सुते पनि झरी सुतेको छैन। एकनासले ‘झरी’ सुन्दै छु। असाध्यै मिठो लाग्छ।
झरी झन् सघन हुन थाल्यो। अझ प्रितीकर। त्यसैले आजलाई यति नै। किनकि मलाई खम्बाको बत्तीमा झरीको रूप हेर्दै त्यहीँबाट आएको संगीत सुन्नु छ। थाहा छैन, कति बेला निदाउँछु।
…
न्युरोडमा भेटिए, विदेशमा बिचल्ली परेर फर्केका दुई युवा। कता लैजान भनेर पुर्यााएको थियो कुन्नि, थाइल्यान्डबाट फर्काइएका रहेछन्। भन्दै थिए, ‘त्यहाँ जति दिन बसियो, धेरै कुरा बुझियो। हामी नेपाली त काम नै गर्दैनौं। फुर्सदै फुर्सद। हामीलाई मात्र लाज लाग्छ, यो काम र त्यो काम भनेर।’
बेलुका फर्कंदा माइक्रो कोचाकोच थियो। न्युरोडबाट जमल आइपुग्दा मान्छे थप्दै खलासी भनिरहेको थियो, ‘जम्मा तीन जना उभिएका छन्।’
सानो माइक्रोमा दुई जनाको सिटमा तीनतीन जना त पहिल्यै राखिसकेको थियो। त्यसमाथि तीन–चार जना उभिएका। तर, खलासीलाई त्यतिले पुगेन। उसको लागि जो अपर्याप्त थियो, अरूका लागि ‘अति’ थियो। म जुन सिटमा बसेको थिएँ, बसेको के भन्नु कोचिएको थिएँ; छेउको मान्छे हिक्कहिक्क गरिरहेको थियो। लगातार हिक्कहिक्क गरिरहेपछि अधबैँसे त्यो मान्छेतिर यसो हेरेको त मजाले धोकेकै रहेछ। ह्वास्सै गन्हाउने। कपुरधारासम्म आइपुग्दा एउटै कुराको डर भइरह्यो– कतै उसको हिक्कहिक्क उल्टीमा परिणत हुने त होइन?
माइक्रोमा सिट पाउनु पार्टीको टिकट पाउनुभन्दा ठूलो हुन्छ।
माइक्रोकै कुरा गर्दा केही वर्षअघिको एउटा घटना सम्झन्छु।
रत्नपार्कबाट लगनखेल जानेक्रममा माइक्रो सिंहदरबारअगाडि पुग्दै थियो। एक यात्रुले भाडा तिरिसकेपछि बिल मागे। माइक्रोभित्र हाँसो गुन्जियो। बिल माग्ने यात्रुलाई लक्षित गर्दै अर्का यात्रुले भने, ‘हाम्रोजस्तो सिस्टम नभएको देशमा यसरी बिल माग्नु मुर्ख बन्नुमात्र हो। अबको पचास वर्षमा पनि स्थिति सुध्रनेवाला छैन, ढुक्क भए हुन्छ।’ उनले त्यसो भनिरहँदा माइक्रो सिहंदरबार पश्चिम ढोकाको ठिक अघिल्तिर पुगेको थियो। ‘सिस्टम’हीन देशका सार्वभौमसत्तासम्पन्न नागरिक माइक्रोभित्र कोचिएका थियौं, र अगाडिको सिसाबाट देखिने सिंहदरबारको ढोकातिर उदासीनताको दृष्टि फ्याँकिरहेका थियौं।
…
बाइक दुर्घटनापछि एक महिना थला परेँ। म लेख्न/पढ्न सक्थेँ। तर, त्यसो गरेर मैले त्यो खाली समय सदुपयोग गरिनँ। पछिसम्म पछुतो लागिरह्यो। अझै पनि।
हिजोआज कतै यस्तो स्थिति कतै देखेँ भने सल्लाह दिने गर्छु– दुर्घटनामा पर्नु अवश्य राम्रो होइन। तर यो आरामको अवधि रहेछ। त्यस बेला जीवनमा पढ्नैपर्ने महत्र्वपूर्ण पुस्तक पढ्न सकिन्छ। त्यसो गर्दा खुट्टा भाचिँदाको बेफाइदाभन्दा फाइदा बढी हुन्छ– किताब पढियो भने। यस प्रकारको एकाग्र समय अरू बेला व्यवस्थापन गर्न निकै कठिनमात्र होइन, असम्भव नै हुन्छ। समय व्यवस्थापन भए पनि मानसिक व्यवस्थापन त सायद सम्भव हुँदैन।
…
बेलाबेला कुनै कारणविना पनि भेट्ने गर्छौं हामी।
त्यही क्रममा उहाँले फोन गर्नुभयो। उहाँको परिचय यहाँ नखोलौं। हामी उहाँकै ससुराली खलकको कर्मकान्डवाला अवसरमा गएका थियौं। नयाँ बसपार्क नजिकको मन्दिर क्षेत्रमा। त्यहाँ कर्मकान्ड केके भयो? त्यो महत्र्वपूर्ण कुरा भएन। महत्र्वपूर्ण त त्यहाँ गोरखाबाट आएका मान्छेहरू पनि थिए। उनीहरू गाउँको तस्बिर प्रस्तुत गर्दै थिए, शब्दमा।
भन्दै थिए, ‘गाउँका खेतबारीहरू बाँझा छन्। एक हल गोरुको सात सय रुपैयाँ तिर्नुपर्छ। दिउँसो तेलमा पकाएको रोटी। बेलुका क्वार्टर। एकातिर महँगीले खेती सम्भव छैन भने अर्कोतिर जनशक्ति मासिँदै गएको छ। बूढाहरू पनि अब बिहान र बेलुकी दुवै समय चिया दोकान धाउन थालेका छन् रे। खेतीमा मन छैन।’
हो, गाउँमा युवा ऊर्जा छैन। उनीहरू बेलीविस्तार लगाइरहेका थिए, ‘पहिले स्कुलको एउटा कक्षामा डेढ सयसम्म विद्यार्थी हुन्थे। अब त त्यो घटेर दसदेखि पन्ध्र जना भएका छन्।’
त्यहीँ उहाँले चुरोट अफर गर्नुभयो। मैले खान छोडेको दुई–तीन दिन भइसकेको थियो। म यसलाई लामै समयसम्म निरन्तरता दिन चाहन्थेँ। मेरो कुरा थाहा पाएपछि उहाँ खुसी देखिनुभयो र धाप मार्दै भन्नुभयो, ‘राम्रो।’
अरूले मस्तसित पटकपटक चुरोट तान्दै धुवाँको मुस्लो खुल्ला आकाशमा उडाइरहे। झरी परिरहेको थियो। झरीमा चुरोटको धुवाँ मिठो लाग्दै थियो। चिसो मौसममा चुरोटको सर्को तान्नुमै मजा छ। तर, अहँ मैले यस्तो सोच्नु हुँदैन। मनलाई दह्रो बनाएँ।
तर, साँझ एउटा चुरोट तानेँ– मायाले। अरू थुप्रै दिनलाई पुग्ने गरी।
…
एउटा साथीलाई भेट्न वीर अस्पताल गएको थिएँ। अस्पतालवरपर चिया खाने ठाउँ पाउनै मुस्किल। अलिपर चिनेको मान्छे देखियो। म भने नदेखेजस्तो गरेर अन्य होटलतिर छड्किएँ। किन म त्यस्तो गर्छु? हामी त्यस्तो गर्छौं?
फर्कंदा वसुन्धरा जानु थियो। जमलबाट माइक्रो चढ्ने विचारमा थिएँ। लामो हरियो रङको साझा बस बत्तिँदै आइपुग्यो। केही महिनायता काठमाडौंमा पुन सञ्चालन भएको आरामदायी यातायातको अनुभव किन नलिने? सोच्दासोच्दै पछाडि ढोकाबाट बसभित्र छिरिसकेछु।
सुरुका केही समय साझा टाढाबाट हेर्दा लोभ लाग्थ्यो। क्या सुकिलो। अहिले पनि सुकिलै छ। तर, भित्र दृश्य अलि फरक। दिउँसै पनि मानिसको ठेलमठेल थियो।
बसमा युवाको संख्या धेरै थियो। कोही विदेश जान राजधानी आएका जस्ता देखिन्थे। कोहीचाहिँ विदेशबाट राजधानी आइपुगेका तर गाउँ जान नहतारिएकाहरू!
अर्को अनुमान– तिनीहरू किन राजधानीमा अड्केका होलान्। तिनले विदेश जानेबित्तिकै नियमित पैसा पठाए, ऋण फच्चा भयो। फेरि पनि उनीहरूले पैसा पठाइरहे। तर, उनीहरूको कानमा खबर पुग्यो– श्रीमतीको चाला ठिक छैन। ‘तिम्रो पसिनाको कमाइको उपयोग होइन, अनर्थ हुँदै छ,’ चिसो हावाको हुइँहुइँ यसरी कानमा ठोक्किएर जाँदो हो।
अनुमान मात्रै– त्यसपछि उनीहरूले पैसा पठाउन छोडे। आफैसँग साँचे। भिसाको म्याद सकियो। उनीहरू काठमाडौं फर्किए, तर घर जाने मन भएन। त्यही ‘अनर्थ’को कारण।
हो, तिनै अनुमानित अनुहारहरू साझाको सिटमा बसेर झ्यालबाट सहरको रहर नियालिरहेका छन्। कसैका हातका औंलामा सुनको मोटो औंठी, कसैका गलामा सिक्री देखिन्छ।
त्यही ‘अनर्थ’ र राजधानीको भीडदेखि उनीहरूमा कताकता भयको संकेत देख्न सकिन्छ। बेरोजगारी र अस्थिरताले यस्तै आशंकामात्र होइन यथार्थ जन्माउँदो रहेछ, जो म देखिरहेको छु। भोलि यो क्रम झन् बढ्नेछ।
घच्याक्क साझा बस रोकिन्छ। सिटबाट उठ्दै गर्दा सानो लिफ्टो हेर्छु–
बा २ ख २२…। टिकट नम्बर …७३४७। मूल्य रु १५।
(स्रोत : Nagariknews)