बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।
मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान्। साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला!
जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?”
भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला।”
ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें।
“घरमा हुँदा फोन नगर भनेको होइन ? कस्तो नबुझेको ?” उसले हेलो पनि भनिनसक्दै मैले हकारें, “बूढीले थाहा पाई भने मलाई पुर्छे !”
मेरो कुरा सुनेर उसलाई जङ चलेछ । सधैं सुरिली लाग्ने प्रमिला एकाएक बम्किई।
“बूढीको त्यस्तै डर हुने भए के खान लभ गर्दै हिँड्नपर्यो ? म पछि लाग्दै आकी हुँ र ?”
उसले यसरी मलाई अहिलेसम्म हकारेकी थिइन । यसरी पात्तेर बोलेकी पनि थिइन । मलाई पनि झोक चल्यो ।
“धेरै निपुर निपुर नगर, को पछि लाग्यो र तिम्रो ? आफैं हाई भन्दै मेसेज गरेकी हैनौ ? दोष मलाई ? हाउ ह्यान्डसम भन्दै कमेन्ट गर्दै म हिँड्या थें ?”
सासै नफेरी दुई शब्द व्यक्त गरें । मोबाइल टुँटुँटुँ गर्यो । काटिछ ।
मोबाइलको टुप्पामा ६ बजेर १० मिनेट गएको जनाउ थियो । थ्रीजी अन गरें र एउटा ट्विट ठोकें, “फोनै काट्न मरी, तोइट 😛 !”
पसल गएर दूध किनें । एउटा चुरोट सल्काएर टुच्च पेटीमा बसें ।
मोबाइलमा टुंग नोटिफिकेसन आयो ।
यसो हेरें, ‘साधना फेबरेटेड योर ट्विट’ भनेको रै’छ ।
साधना ? लौ सत्यानाश ! बूढीले पो फेब ठोकिछ । अनुहारमा एकाएक कुइरीमण्डल नाच्यो । दिमागले केही मेसो पाएन । हतारहतार डिलिट गरें ।
बूढीले सोधे के जवाफ दिने होला भन्ने चिन्ताले होश उडायो । प्रमिलाको नाम ‘प्रमोद’ भनेर सेभ गरेको थिएँ, तर पनि डिलिट गर्दिएँ । अनि प्रभातलाई डायल गरेर एकछिन कुरा गरें । प्रभात आफ्नै कारणले भयंकर तनावमा थियो । साधनाले नै हिजो एकपटक ऊसँग कुरा गर्न भनेकी थिई । उसले कदाचित मोबाइल हेरी भने पहिलो कल प्रभातकै हुन्थ्यो, बचिन्थ्यो ।
लुसुक्क कोठा गएँ । साधना भान्सामा गीत सुन्दै पकाउँदै थिई । बिस्तारै ढोका खोलेर दूध दिएँ र सुरुसुरु बेडरुम आएँ । साधनाको अनुहार हेर्नै सकेको थिइनँ ।
कोही केही बोलेन । न म, न ऊ । साधना भान्सामै गीत गुन्गुनाउन थाली । सुरुमा नारायणगोपालको ‘एउटा मान्छेको मायाले कति…’ गीतझैं लागेको थियो, होइन रहेछ । लय उही, लिरिक्स फरक रहेछ । उसले गाउँदै थिई, “एउटा मान्छेको ट्विटले कति फरक पार्दछ, जिन्दगीमा …।”
एकछिन त ग्लानीले सिलिङमा झुन्डिऊँ झुन्डिऊँ भो । जुरुक्क उठेर भान्सामा गएँ ।
“हा हा हा, फेब ठोकिछ यल्ले फेरि,” केही नभएझैं सामान्य पारामा बोलें, “त्यही हिजोको कुरा गर्न प्रभातलाई फोन गरेको, काटिदियो साला । ट्विट लेख्दा झुक्किएछु, फाल्दिएँ ।”
म ङिच्च हाँसें । उसको आँखामा विस्मयाधिबोधक चिन्ह झुन्डियो ।
र, पनि उसले मेरो मोबाइल थुतेर हेरिन ।
मैले ऊबाट त्यस्तो कुरा लुकाएको थिएँ, जुन कुरा उसले थाहा पाई भने ज्युँदै मर्थी ।
म उसलाई कहिल्यै मार्न चाहन्नथें 🙂
० ० ०
एकाबिहानैको फोन काण्डपछि लगभग १२ बजेसम्म प्रमिलालाई फोन, टेक्स्ट, अफलाइन मेसेज केही पठाइनँ । ऊ मलाई ज्यानभन्दा बढी माया गर्थी, म नि उसलाई धेरथोर माया गर्थें । हामीबीच घोषित सम्झौता थियो, “मैले हिन्ट नदिँदासम्म उसले फोन, मेसेज केही नगर्ने !”
आज उसले सम्झौता उल्लंघन गरेकी थिई । सम्झौता तोड्नु भनेको सम्बन्ध तोड्नुजत्तिकै ठूलो गल्ती थियो ।
सोच्दै थिएँ, स्मिताको टेक्स्ट आयो, “मैले फेसबुकमा फोटो राखेकी छु नि, हेर न :)”
यसको सोझो आग्रह थियो, “लाइक गर न ।”
मैले फेसबुक खोलेर उसको प्रोफाइल पिक्चरमा लाइक ठोकें । एकधर्सो कमेन्ट पनि लेखें, “वाउऽऽऽ अमेइजिङ सट !”
उत्तिखेरै मेसेन्जरमा पानको पात ठेलेर पठाई ।
“हेर न, १० मिनेट भयो राखेको, ५० लाइक्स पुगिसकेछन् …।”
“वाऊ… कङ्ग्य्राट्स :)” मैले स्माइलीसहित बधाई दिएँ, “कस्ती राम्री देखिएकी मोरी । टोक्दिऊँ ? :P।”
उसले ‘हेहेहे’ लेखेर पठाई । यसको स्पष्ट उत्तर थियो, “आइज मोरा, टोकेर जा ।”
मैले दिउँसो बालुवाटारमा कफी खान बोलाएँ । उसले हत्त न पत्त अर्को पानको पात पठाई ।
स्मिताले शब्दभन्दा बढी स्माइली र इमोजी पठाउँछे । कहिलेकाहीँ लाग्छ– ऊ यस्तै मेसेन्जरभित्र हराएकी एउटा यन्त्र हो, जसमा बनिबनाउ संवेदना त छ, जीवन छैन ।
ऊ मसँग यस्तै च्याटमा भेटिएकी हो । च्याटमा मैले नै बोलाएको हुँ उसलाई । ‘पिपल यु मे नो’ मा चिटिक्क परेकी सुन्दरी देखेर रिक्वेस्ट मैले नै पठाएको हुँ । एसेप्ट भएपछि उत्तिखेरै मेसेन्जरमा ‘थ्यांक्स फर एसेप्टिङ :))’ भनेर पठाएको पनि मैले नै हुँ ।
उत्तरमा ‘यु लुक सो क्युट’ भनेर उसले पठाएकी हो ।
त्यसपछि चल्यो, चलिरह्यो । त्यसयता ऊ र म ४ पटक नगरकोटका डाँडामा हुइँकियौं । कतिपटक उसले मलाई स्कुटीमा बसाली, कतिपटक मैले मागेको बाइकमा उसलाई टाँसें ।
तर, जतिपटक ऊ मसँग नगरकोट गई, त्यतिपटक उसले भद्रकाली गएर सिउँदो भर भनेर कर गरी ।
म सधैं भन्थें, “इस्मु, हामी सधैं बिहे नगरी बस्न सक्दैनौं ? माया त विवाहभन्दा नि पवित्र बन्धन हो !”
ऊ अर्कैतिर फर्केर ठुस्स पर्थी । म आफ्नो बुताले भ्याएसम्म उसलाई फकाउँथें ।
मैले फकाऊँ भनेर ऊ धेरैपटक त्यसै रिसाएझैं गर्थी । भन्थी, “तिम्ले फकाएको कस्तो मन पर्छ मलाई ।”
म पनि थपिदिन्थें, “तिमी रिसाएको नि खुब मन पर्छ मलाई ।”
ङिच्च हाँसेर फेरि भन्थी, “अनि बिहे नगरी पेट बढ्यो भने नि ?”
म एकछिन लजाएझैं गर्थें र भन्थें, “पिरतीको छाता ओढौंला नि !”
ऊ लाजले भुतुक्क हुन्थी ।
० ० ०
टुंग टुंग !
मोबाइल हेरें– प्रमिलाले मेसेज पठाएकी रहिछ, “सरी जानु, नरिसाऊ न ल :(”
मैले केही रिप्लाई गरिनँ । आधा घण्टापछि फेरि टुंग बज्यो ।
“जानु प्लिज, रिप्लाई गर न । अबदेखि कहिल्यै फोन गर्दिनँ, सरी 🙁 ।”
मलाई बिहानको कुरा सम्झेर त्यसै झोंक चलिरहेको थियो । बिनास्माइली लेखें, “इट्स ओके ।”
त्यत्तिले उसको चित्त बुझेनछ, फेरि मेसेज गरी, “कल गरुँ ?”
मैले रिप्लाई नगरी कल गरें । पहिलो रिंगमै उठाई ।
“सरी जानु, नरिसाऊ न । ड्याडीलाई फेरि अट्याक भयो, गंगालालको आईसीयूमा राखेका छन् ।”
त्यसपछि उसको बोली रोकियो । मलाई चसक्क भयो ।
प्रमिलाका बुवालाई यो तेस्रो अट्याक थियो । उनी महाराजगन्जका नामी व्यापारी हुन् । प्रमिला एकमात्र छोरी भएर हुन सक्छ, उनलाई बेलाबेला मुटुमा बज्र परिरहन्थ्यो । प्रमिला भन्थी, “ड्याडीले छोरा पाउन कति ट्राई गर्नुभो तर भएन, त्यसपछि मलाई छोराजस्तै बनाएर हुर्काउनुभो ।”
त्यही ‘छोराजस्तै’ हक्की भएर होला– प्रमिला मसँग नजिकिई ।
त्यो एकदिन–
सुन्धाराबाट बाँसबारी जाने माइक्रो चढें । माइक्रो भन्नुमात्र थियो, काठमान्डूमा मःमः बन्ने राँगा कोचेझैं थियो । म माइक्रोको दोस्रो पंक्तिमा बसेको थिएँ, छेउमा अधवैंशे महिला थिइन् । जमल पुगेपछि माइक्रो अडियो, अटेसमटेस गर्दै एउटी केटी छिरी । माइक्रोको छतबाहेक कतै खाली ठाउँ थिएन र पनि ऊ कसैगरी झुन्डिएका केटा छिचोल्दै मेरो सिटछेउ आई ।
माइक्रोभित्र खुट्टा टेक्न पाउँदा कहिलेकाहीँ अचम्मको सुखानुभूति हुन्छ । यस्तोमा फोक्सोलाई पुग्ने गरी सास फेर्न पाउनु ठूलो उपलब्धि हुन्छ । झन् सिटमा बस्न पाउनुजत्तिको भाग्यमानी यो ग्रहमा अरु कोही हुन्नन् ।
म एकसुरले मोबाइल चलाउँदै थिएँ, वायाँ काँधमा कसैले कोट्यायो ।
“हेलो, तपाईं उठ्नुस् त,” त्यो केटीले हकारेझैं भनी ।
“किन उठ्नू म ?” मैले सहज उत्तर दिएँ ।
“त्याँ लेखेको देख्नुभएन ?” उसले चोर औंलाले माइक्रोको भित्तामा लेखेको देखाई ।
पुलुक्क भित्तातिर हेरें र चुपचाप सिटबाट उठें ।
म ‘महिला सिट’मा बसेको रहेछु, हुलमुलमा यादै भएन ।
लाजले पानीपानी भएर छेउ लागें । वरपरका मान्छे मुसुमुसु हाँसे । भित्रभित्रै लाज रसायो र म निथ्रुक्क भिजें ।
म उठेपछि ऊ टुसुक्क बसी र ब्यागबाट मोबाइल झिकी । म उसकै सिटको सपोर्टमा अडेस लागेर उभिएँ । एकछिन टेम्पल रन खेली र मोबाइल बन्द गरी । अलि बेरमा फेरि मोबाइल अन गरेर फेसबुक खोली । मेरा आँखा उसका मोबाइलमा अडिएका थिए, टक्क । ऊ घरिघरि नोटिफिकेसन हेर्दै मुसुक्क हाँस्थी र भएभरका कमेन्टलाई एकएक लाइक गर्थी । मेरा आँखा कतिखेरै पनि उसको मोबाइलबाट टाढिएनन् । उसले फोटो राखेकी रहिछ, कमेन्ट गनिनसक्नु थिए । उसले हरेक मान्छेलाई मेन्सन गर्दै रिप्लाई गर्दै थिई । कमेन्ट पोस्ट गर्दा मैले उसको नाम ठम्याएँ– प्रमिला डंगोल !
घर गएर हत्त न पत्त सर्च गरें र उसलाई एड गरें । त्यसपछि पहिलो ‘हाई’ उसैले पठाई ।
आज बिहान फोन गर्ने त्यही प्रमिला थिई ।
त्यति धनी बाउकी छोरी भएर पनि ऊ माइक्रोमा त्यसरी कोचिएर किन हिँड्थी, मैले कहिल्यै सोधिनँ ।
० ० ०
स्मिता टुप्लुक्क अमेजन क्याफे छिरी । अस्ति मैले नै ११ सयमा किन्दिएको स्कर्ट लगाएर आइछ । उसको शरीर देखेर मेरो नाभीनेर सधैं गाँठो पर्छ । मलाई स्मिताभन्दा उसको जिउडालले तान्छ ।
मलाई कफी सिनित्तै पारेर गंगालाल जान हतारो थियो ।
मान्छे आउजाउ गरिरहने भएकाले मलाई अरुले चिन्छन् कि भन्ने डर सधैं भइरहन्छ । त्यसैले, उसलाई भित्रको क्याबिनमा लगें ।
“कस्ती राम्री देखिएकी मोरी,” गालामा चिमोट्दै लाडे पल्टिएँ, “क्वाप्पै निलूँजस्ती ।”
ऊ पनि लाडिई । मैले उसको गाला चिमोट्दा सधैं राती हुन्छे, आज पनि भई ।
“निलन्त अनि,” उसले आफ्ना खुट्टा मेरा खुट्टामा खापी ।
उसलाई वर तानें र कानको लोतीनेर सासैसासले भनें, “भोलि ककनीतिर जाम् न, त्यहीँ निल्छु ।”
उसले आँखा चिम्म गरी । मेरा ओंठ उसका कानमै थिए । मैले हरेक पटक उसको कानमा सास फुक्दा उसको धड्कन बढ्छ ।
उसको धड्कन बढ्दा मेरो शरीरमा काँडा उम्रिन्छन् ।
जिब्रोले बिस्तारै कान चलाइदिएँ, उसले मलाई चपक्क टाँसी ।
गोजीमा मोबाइल घ्यारघ्यार गर्यो । भाइब्रेसनमा थियो र आवाज सुनिएन । स्मिता र म असिनपसिन थियौं । वैशाखको गर्मीलाई पर भित्तामा घुमिरहेको पंखाले कसैगरी चिस्याउन सकेको थिएन ।
झिकेर बिस्तारै हेरें– साधनाले गरेकी रहिछ । कामै नपरी उसले फोन गर्दिनथी । फोन काटेर मेसेज पठाएँ, “मिटिङमा छु, अहिले कलब्याक गर्छु ।”
एकछिनमा उसले रिप्लाई गरी, “प्रभातले सुसाइड गरेछ :'(”
मेसेज देख्नेबित्तिकै मुटु ठप्प अडिएझैं भयो । कन्चटका नशामा मेट्रो रेल कुदेझैं भयो । शरीर एकाएक यसरी चिसियो कि मानौं म बरफैबरफमा नांगै चिप्लेटी खेल्दैछु ।
हतारहतार कलब्याक गरें र आत्तिएर सोधें, “के भएर ? कहाँ ?”
साधना पनि उस्तै आत्तिएकी थिई । निकै बेर अडिएर उसले भनी, “कारण थाहा छैन, तर त्यही हो कि जस्तो शंका छ । म त्यतै जाँदैछु ।”
उसको ‘त्यही हो कि’ भन्ने वाक्यले मलाई एकाएक धरहराको टुप्पोबाट भुईंमा खसायो । निधारका हरेक छिद्र रसाएर बगे ।
स्मिता बेखबर थिई । उसका हात मेरा अंगअंगमा सल्बलाइरहेका थिए ।
“घरमै हो ?” काँपेको स्वरमा सोधें । साधनाले ‘अँ’ भनेर फोन राखी ।
हिजो भर्खर प्रभातकी बूढी अञ्जना साधनासामु २ घण्टा रोएकी थिई । प्रभात र उसकै अफिसकी एउटा केटीको अफेयर एक कान, दुई कान हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । प्रभात र अञ्जनाको सम्बन्ध हाम्रोमात्रै होइन, वरपरका हरेक टोलमा उदाहरणीय थियो । दुईबीचको मिलाप आरिसलाग्दो थियो । दुवैले दुवैसामु केही लुकाउँदैनथे । हरेक कुरा साझा हुन्थे ।
तर, प्रभातले अञ्जनासँग एउटा कुरा लुकाएको थियो– जुन मलाईमात्रै थाहा थियो । मलाईमात्रै थाहा भएको ‘त्यही’ कुरा हिजो टोल–टोल हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । त्यो खबर साधनाले पनि सुनी र मलाई भनी, “एकपटक प्रभात बाबुसँग राम्ररी कुरा गर्नुस् न, नाकै काटे यो उमेरमा !”
साधनले त्यसो भनिरहँदा मप्रति उसको बेजोड भरोसा झल्किन्थ्यो । उसलाई लाग्दो हो– मजत्तिको माया गर्ने र सोझो लोग्ने यो संसारमै कोही छैन ।
छैन पनि । म साधनालाई असीमित माया गर्छु ।
मायाको पनि सीमा भइदिएको भए मैले उहिल्यै त्यो लक्ष्मणरेखा नाघिसकेको हुन्थें ।
तर, मैले प्रभातलाई सम्झाउन सक्दिनथें, किनकि म पनि ‘त्यही’ बाटोमा थिएँ कतै ।
सही बाटोमा हिँडेको मान्छेले मात्रै अरुलाई सही बाटो देखाउन सक्छ । अनिश्चित बाटोमा लर्खराउँदै हिँड्नेले अरुलाई कसैगरी सही दिशा देखाउन सक्दैन ।
म पनि प्रभातलाई ‘सही’ बाटो देखाउन सक्दिनथें ।
मलाई अवाक् देखेर स्मिता आत्तिई । मेरा हात थररर काँपिरहेका थिए, उसले च्याप्प समाती ।
“के भो जानु ? कसको फोन थियो ?” न्याप्किनले मेरो निधारको पसिना पुछ्दै लत्रिएको स्वरमा सोधी, “बोल न के !”
म केही बोलिनँ । वेटरले कफी ल्याएर राखिदिएछ, त्यो पनि देखिनँ । जुरुक्क उठेर बाथरुम गएँ । मुखमा पानी छ्यापें । ऐनामा अनुहार पनि हेर्न सकिनँ । लाग्यो– ऐना हेरें भने यसले मेरो आफ्नै अनुहार देखाइदिन्छ । म सोझो आँखाले आफूलाई हेर्न सक्दिनथें ।
बाहिर आएर स्मितालाई भनें, “जानु, तिमी कफी खाँदै गर ल, समथिङ ब्याड ह्याप्पन्ड, म निस्कें ।”
स्मिताले आँखा फट्टाएर हेरीरही । के भो भनेर पटक–पटक सोधी, म नसुनेझैं गरी निस्किएँ । पछाडि फर्केर हेरिनँ पनि ।
बस कुरिनँ, ट्याक्सी चढें । बालुवाटारबाट राष्ट्र बैंक हुँदै नक्साल निस्कियो ।
प्रमिलालाई फोन गर्छु भनेर मोबाइल झिक्दा पो झस्किएँ– गोजीमा मोबाइलै थिएन । ट्याक्सीभित्र आँखाले देख्न सक्नेसम्म सबैतिर खोजें– भेटिनँ । झ्वाट्ट सम्झिएँ– मोबाइल क्याफेको टेबुलमै छोडेछु शायद !
आत्तिएर ट्याक्सी घुमाउन भनें । ट्याक्सी तुफानझैं कुद्यो । दौडिएर क्याफेभित्र छिर्नेबित्तिकै म एकाएक ओइलाएँ ।
स्मिता टेबुलमा घोप्टो परेर सुँक्सुकाइरहेकी थिई । उसको दाहिने हातमा मेरो मोबाइल थियो । मेसेज बक्समा प्रमोद नामको थ्रेड खुला थियो । हातबाट झ्वाट्ट मोबाइल थुतें । स्मिता झस्किएर जुरुक्क उठी र मलाई देखी । त्यसपछि उसका आँखामा आँसुको मूल फुट्यो ।
मोबाइल हेरें । प्रमोद भनेर नाम सेभ गरिए पनि त्यो प्रमिलाको मेसेज थियो । लेखेकी थिई, “जानु, कता छौ ? मिसिङ यु ब्याड्ली, छिटो आऊ न । लभ यु टु टु मच !” मेसेजको अन्तिममा चुम्बनको स्माइली :* पनि ठेलेकी थिई ।
स्मितालाई भेट्न जाँदा म उसकै मोबाइल नम्बरका अन्तिम चार अंक सेक्युरिटी कोड राख्थें, प्रमिलालाई भेट्न जाँदा उसको । दुवैको अगाडि त्यही कोड थिचेर देखाउँदै मोबाइल खोल्थें । त्यसो गर्दा उनीहरु बुझ्थे– मेरो मनमा उनीहरुप्रति कति धेरै समर्पण छ ।
स्मिता र प्रमिलाबीच धेरै असमनता थिए । समानता एउटामात्रै थियो– उनीहरुले माया गर्ने मान्छे–– म ! स्मितालाई म विवाहित भन्ने थाहा थिएन । ऊसँगको पहिलो दिनकै च्याटबाट यो झुटको सुरुवात भएको थियो ।
घात त्यहाँ हुन्छ, जहाँ विश्वास हुन्छ । स्मिताले मलाई विश्वासले शरीर सुम्पिएकी थिई, मैले उसमा घातको नमेटिने छाप हानेको थिएँ ।
उसको अनुहार हेर्न सकिनँ । ऊ थचक्क कुर्सीमा बसेर फेरि घोप्टो परेर रोई ।
म जडझैं उभिएँ ठिंग । न दौडिएर भाग्न सक्थें, न स्मिताको काँध थप्थपाएर नरोऊ भन्न सक्थें ।
यतिबेला मलाई जीवनकै सबैभन्दा गहन तत्वबोध भयो– ‘माया’ भनेको त ‘मानसिक यातना’ पो रहेछ !
पैसा कमाउन सजिलो छ, मान्छे र इष्टमित्र कमाउन सजिलो छ । विश्वास कमाउन सजिलो छ । तर, भरोसा कमाउन सजिलो छैन । सजिलो छ त गुमाउन । अविश्वासको सानो छिटाले भरोसाको पर्खाल निमेषमै भत्काइदिन्छ ।
म त्यही भत्किएको पर्खालझैं लत्रिएकी स्मितालाई हेरिरहें ।
धेरै बेरपछि स्मिता जुरुक्क उठी र सीधा मेरो आँखामा हेरी । मेरा आँखा उसका आँखा, नाक, घाँटी हुँदै पैतलासम्म गएर अडिए ।
“को हो प्रमोद भन्ने ?” हिँक्कहिँक्क गर्दै उसले सोधी, “भन सुमन, मलाई त्यत्ति अबुझ नसम्झ !”
म केही बोलिनँ । मसँग बोल्न बाँकी शब्द केही थिएनन् ।
“सरी इस्मु,” मैले उसलाई अँगालोमा तानेर अठ्याएँ ।
उसले मलाई अँगालोबाट हुत्ताइदिई । म नबोली फरक्क फर्किएर ट्याक्सी चढें ।
ट्याक्सी फेरि बेपत्ता तुफानझैं हुइँकियो । मेरो मनमा पनि त्यस्तै तुफानको हुन्डरी चल्यो ।
छटपटी बढेपछि मन घुमाउन मोबाइल हेरें । आँखा सोझै कल डिटेलमा गएर अडिए ।
त्यसपछि मेरो आँखाअघि एकाएक कालो पर्दा झर्यो । भनभनी रिंगटा लाग्लाझैं भयो ।
फोन भन्थ्यो– १० मिनेटअघि मात्रै प्रमिलालाई फोन डायल भएको छ । मैले गरेको थिइनँ– यसको अर्थ स्मिताले गरेकी थिई ।
हत्त न पत्त कल गरें । दोस्रो घण्टी नजाँदै प्रमिलाई पड्किई, “सुमन, त्यो स्मिता भन्ने को हो ?”
मेरो घाँटीमा एक्कासि सनासोले च्यापेझैं भयो ।
‘हेलो….हेलो….हेलो….केही सुनिएन…’ भनेर झ्याप्प फोन काटिदिएँ ।
उत्तिखेरै ‘प्रमोद कलिङ’ आयो, उठाएँ र सुनेंमात्रै । उताबाट फेरि प्रमिला पड्किई, “भन सुमन, अब ढाँटेर केही फाइदा छैन ।”
“ह्या, कोही होइन हौ,” लामो सास फेरेर बिस्तारै बोलें, “एकजना बहिनी हो के अफिसको !”
प्रमिलाले पत्याइन । झनै जोडले चिच्याई, “नाटक नगर । कोही बहिनीले म गर्लफ्रेन्ड हुँ भन्दैनन् । त्यो स्मिता भन्नेले हाकाहाकी म सुमनकी गर्लफ्रेन्ड हुँ भनी । त्यस्तो मेसेज पठाउनी तँ को भनेर उल्टै मलाई हकारी । तिम्लाई थाहा छ म कति इम्ब्यारेस्ड भएँ ?”
फेरि घाँटीमा उसिनेको सिंगो आलु अड्किएझैं भयो । मुख सुकेर प्याकप्याक भयो ।
“ए दाइ पानी खाम् न,” ट्याक्सी ड्राइभरलाई पछाडिबाट कोट्याएँ । उसले पानीको बोतल दियो ।
उता फोनमा धेरै बेरसम्म सुँक्कसुँक्क गरेको मात्रै सुनियो ।
ट्याक्सी नक्साल काटेर कमलादी छिरिसकेको थियो । वैशाखको घामले मलाई बाहिरमात्रै होइन, भित्र नसा–नसासम्म पोलिरहेको थियो ।
भनें, “सरी !”
त्यसपछि टुँटुँटुँ आवाज आयो ।
० ० ०
प्रभातको घरमा पुलिस आएर सोधपुछ गर्दै थिए । म बरन्डामा भक्कानिएर चिच्याइरहेकी अञ्जनाछेउ टुसुक्क बसेर आँसु झार्दै थिएँ । मान्छेको आउँथे र अञ्जनालाई ढाडस दिँदै आफैं पिलपिल गर्थे । उनी एकछिन चुपचाप लाग्थिन् र फेरि घोप्टो परेर सुँक्सुकाउँथिन् । त्यहाँ आउनेमध्ये धेरैजसो भन्थे, “यस्तो राम्रो खाइलाग्दो जोडीमा कसको आँखा लागेछ ।”
साधना पनि दौडिदै आइपुगी । घोप्टो परेर रोइरहेकी अञ्जनालाई ग्वाम्म अँगालो हालेर आफू पनि भक्कानिई ।
म सबै तमासा हेर्दै थिएँ । उठेर अलि पर गुचुप्प उभिएका मान्छेछेउ गएँ । उनीहरु गुनगुन गर्दै थिए, “पेट बोकेकी रहिछ, अहिले कहाँ छे कसैलाई थाहा छैन !”
पुलिसले मुचुल्का उठाउँदै थियो । भित्र बैठक कोठामा मुखबाट फिँज निकालेर प्रभात लम्पसार परेको थियो । उसको गोजीमा भेटिएको कागज निकालेर इन्सपेक्टरले सरर पढ्यो र सरासर अञ्जनासामु गयो । उनी उठेर कागज हेर्न सक्ने अवस्था थिइनन् ।
“सर, हेर्न मिल्छ ?” इन्सपेक्टरसामु गएर बिस्तारै सोधें, “म उसको नजिकको साथी हुँ, सुमन ।”
इन्सपेक्टरले मलाई भित्र कोठामा लगेर चिठी थमाए । पढेर मेरा आँखा रसाए ।
लेखिएको थियो–
प्रिय अञ्जना !
मलाई थाहा छ, तिमी यो चिठी पढ्न सक्दिनौ । यो पनि थाहा छ– तिमी हरेक क्षण यो चिठी सिरानीमुनि राखेर रोइरहनेछौ । यो चिठीले झार्ने तिम्रो आँसु मैले देख्ने छैन । मेरो सामु उभिँदा खस्ने तिम्रा आँसु म पुछ्न सक्दिनथें । मलाई माफ गर ।मैले जीवनमा ठूलो केही चाहिनँ । सम्पत्तिको पछि म लागिनँ । तिमीजस्ती जीवनसाथी हुनु नै मेरो सम्पत्ति थियो । तर, मैले त्यो सम्पत्ति जोगाउन सकिनँ । म बहकिएँ । मान्छु– म असन्तुष्ट प्राणी हुँ, मेरो मन सन्तोषी छैन । त्यसको मूल्य म आफैं चुकाउँदैछु । तिम्रो आफ्नो सम्पूर्ण जिन्दगी छ, जसलाई तिमीले सुन्दर सपनाझैं सजाएर राखेकी छौ । मलाई लाग्छ– म तिम्रो सपनामा सधैं नचाहिने पात्र बनेर आइरहनेछु । मायासँगै सम्मान मागेर कहिल्यै पाइन्न, म पनि त्यो धृष्टता गर्न सक्दिनथें । मैले हरदम तिम्रो सामीप्यता चाहँदाचाहँदै पनि बहकिएँ, सरी !”
मिनट, घण्टा, दिन हुँदै हप्ता बित्यो । अञ्जना हरेक दिनजसो साधनलाई भेट्न आइरहिन् । उनी नआउँदा साधना पनि भेट्न गइरही । हरेक भेटमा अञ्जना भक्कानिएर भन्थिन्, “मबाट के अपुग भयो र यस्तो भयो साधना ? एकपटक मसँगै सेयर गरेको भए बरु चुपचाप सहिदिन्थें र बिर्सिदिन्थें । कमसेकम लोग्ने आफ्नै साथमा त हुन्थ्यो ।”
उनको कुरा सुनेर साधना पनि पिलपिल गर्थी ।
म चुपचाप सुनिरहन्थें ।
एकदिन अञ्जनाले मसँग सोधिन्, “तपाईं त्यस्तो मिल्ने साथी, केही थाहा थिएन बाबु ?”
उनको प्रश्नले मलाई भित्रैसम्म हल्लायो ।
“थिएन भाउजू,” झुठो बोलें, “थाहा भएको भए यस्तो दुःखै हुन्नथ्यो ।”
उनले तररर आँसु झारिन् ।
“तपाईंजस्तो मान्छेका साथी किन त्यस्ता भए ?” हिक्हिकाउँदै भनिन्, “यही सोचेर मेरो मन पोल्छ ।”
प्रभातको अनुहार सम्झिएर आँखा चिम्म गरें ।
शायद नांगो आँखाले म अञ्जनालाई हेरिरहन सक्दिनथें । उनलाई ठाडो नजरले हेर्नसक्ने ल्याकत मेरा आँखामा थिएन । दुष्कर्मको रापले मलाई जलाएर खरानी बनाइसकेको थियो ।
गोजीको मोबाइल घ्यारर्र गर्यो । बाथरुम जान्छु भनेर निस्किएँ । हेरें– मेसेजको नोटिफिकेसन रहेछ ।
“हाई सुमन, कता गायब ? भेट्ने होइन ?” नचिनेको नम्बरबाट मेसेज रहेछ, “तिम्रो कल आउँछ भनेर कत्ति कुरें– मैले नै बोलाउनुपर्ने ? 🙁 ।”
अनि मैले रिप्लाई लेखें, “हु इज दिस ?”
उत्तिखेरै रिप्लाई आयो, “जुनु ।”
मैले पनि हतार नगरी उत्तर फर्काएँ, “ओहो, के छ ? कता हराको अचेल ? च्याटमा पनि आउँदिनौ !”
“हराको होइन नि, सम्झिए पो हुन्छ ! भेट्ने भन्दाभन्दै तिमीले खबरै गरेनौ :/ !” उसले लाडे पल्टिएझैं लेखी ।
“उप्स :P,” मैले ढिलो नगरी प्रस्ताव गरें, “शनिबार २ बजे हुन्छ ?”
“ओके डन :)” उसले पनि निमेषमै लेखी, “धुलिखेल ?”
मैले ‘ग्रेट, सी यु’ सँगै पानको पात पठाएँ ।
मनमा पुलुक्क खुसीका गुबारा फुले । ऐना हेरें– अनुहारमा अचम्मको लाली छाएको थियो ।
बाथरुमबाट निस्किँदा देखें– साधना हातमा मोबाइल चलाएर बसेकी थिई । अञ्जना थिइनन् ।
मलाई देख्नेबित्तिकै भनी, “अनि कुन होटलमा जाने नि ?”
झस्किएर साधनाका आँखा हेरें । अनुहारभरि अनिश्चयका घेरा कोरिएका थिए । मलाई एक्कासि नांगो बिजुलीको तारले बेरेझैं भयो ।
“हँ ? के भनेको ?”
ऊ केही बोलिन । मोबाइलको किप्याडमा के–के थिचिरही । मलाई वैशाखको घामले यसरी कहिल्यै चर्चरी पोलेको थिएन ।
मेरो मोबाइल फेरि घ्यारर्र गर्यो ।
“कुन होटल जाने भनेको 🙂 ?” मेसेज त्यही जुनुकै नम्बरबाट आएको थियो ।
सरासर गएर साधनको हातबाट मोबाइल थुतेर हेरें । त्यहाँ मैले अघि जुनुलाई पठाएका र जुनुले मलाई पठाएका सबै मेसेज हुबहु थिए ।
१९ भाद्र, २०७२
(स्रोत : Nagariknews )