कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~Gokarna Bhatta

बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई ।

नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले अफिसमा सधैं खुम्चिएर बस्थी ऊ । कसैले केही भनी पो हाल्ने हो कि ? केही बिग्रिहाल्ने पो हो, चिन्ताले घेरिएर घर पुग्थी । हरेक नयाँ जागिरेहरुका लागि सुरुका दिनहरु यस्तै हुन्थे, आत्तिने, डराउने र सकेसम्म राम्रो गर्न खोज्ने ।

यो सोह्र वर्षको जागिरमा मैले ऊ जस्ता दर्जनौं केटीहरु यस अफिसमा देखेँ । सुरुमा सबै ऊ जस्तै लज्जालु हुन्थे । कतिसम्म भने बोल्दासमेत इज्जत जान्छ कि भनेजस्तो उनीहरु गर्धन ठाडो पार्न नसक्ने । तर सरुवा भएर जानेबेलासम्म किस्सा र चर्चाको पात्र नबन्ने केटी कमै हुन्थे । त्यसो त अफिसका पुरुष कर्मचारीको अलिखित काम र अवाचित योग्यतामध्येको एउटा यो किस्सा निर्माण गर्नु हुन्थ्यो । अफिसका महिला कर्मचारीहरुका बारेमा चाख नराख्ने, किस्सा निर्माण नगर्ने अनि त्यो परिचर्चा र परिहास्यमा भाग नलिने कर्मचारी सम्भवतः लोकसेवाले पनि नियुक्त गर्न कन्जुस्याईं नै गथ्र्यो होला । तर पनि हाकिमको रवाफले हो या के ले हो, महिला स्टाफ र हाकिमलाई लिएर किस्साको पात्र नबन्ने महिला स्टाफ अझ २५ वर्ष मुनिका कमै हुन्थे । त्यसमा महिलाको दोषको प्रतिशत कति हुन्थ्यो, त्यो कि त हाकिमलाई थाहा हुन्थ्यो कि पात्र बनेकी महिलालाई नै थाहा हुँदो हो । मलाई लाग्थ्यो– किस्सा, किस्सा हो, यसमा सत्यताको अंश होस् नहोस्, यो चर्चाको विषय बन्छ नै । तर समय बदलिरहेको थियो । अचेल हाकिमभन्दा नवजवान पुरुष स्टाफहरुका किस्साहरु बूढा, दाँत खुइलिएका र गाला चाउरी परेका स्टाफहरुले बढी सुनाउने गर्थे । म त्यसै पनि अफिसको गएगुज्रेको र अल्छी स्टाफ, त्यसैले मैले कसैप्रति गर्ने टिप्पणीले खासै फरक पार्दैनथ्यो । उनीहरुका क्रियाकलाप नै मेरा लागि मनोरन्जनको विषय बन्थ्यो । म स्वयं रंगशालामा उत्रिनु आवश्यक नै थिएन ।

कसको कस्तो सारी, कस्तो नितम्ब, कस्तो कपाल, कस्तो चालढाल, कुन अत्तर, कस्तो सैन्डिल, आइतबार के, सोमबार के, कार्यालयका अलिखित फाइलहरुमा दुरुस्त उतारिएको हुन्थ्यो । अझै पनि बूढा रिटायर कर्मचारीहरुको मनोफाइलमा यस्ता रेकर्डहरु दुरुस्तै हुन्छन् होला भलै उनीहरुले आफू काम गरेको अड्डाको नाम समेत किन बिर्सेका नहोउन् । र, लज्जावती, गुणवती ती युवती पनि यो कर्मचारीतन्त्रको ब्यानरमा बन्दै आइरहने चलचित्रकी नव नायिका बन्न आइपुगेकी थिई ।

सुरुका दिनहरु उसका लागि र अरुका लागि खासै सहज भएनन् किनभने उसका लागि नयाँ कार्यालयमा बोल्ने केही कुरा थिएन र चर्चाका स्क्रिप्ट लेखनकर्ताहरुका लागि उसको टिप्पणी गर्ने कुनै व्यवहार थिएन । न ऊ हाकिमकोमा जान्थी, न त कुनै नवजवान स्टाफसँग नै उसको घनिष्ठ व्यवहार हुन्थ्यो । आउँथी, फाइल पल्टाउँथी, कागजातका टिपोटहरु रजिस्टरमा उतार्थी, खाजा घरबाटै टिफिनमा ल्याउँथी क्यारे क्यान्टिन गाको खासै देखिदैनथ्यो र पाँच बज्न दुई मिनैट बाँकी छँदा कसैतिर नहेरी सरासर घर लाग्थी ।

‘तर आखिर यो नेपाल सरकारको कार्यालय थियो, यहाँ नियमिततामा आकस्मिता र त्यसले निरन्तरता पाउनु एउटा नियम नै हो । समय यसरी नै बित्दै गयो । यदाकदा ऊ देखिन्थी तर त्यति ध्यान मैले दिएको थिइन ।

तीन महिनापछि होला, दाँतमा अड्केका सुपारीका टुक्राहरुलाई रजिस्टरको कभरको टुक्राले निकाल्ने कोसिस गर्दैगर्दा मेरा आँखा उसको क्याबिनतर्फ घुम्न पुगे । यो बीचमा मैले उसलाई नोटिस नगरेको रैछु । ‘केटी छुपारुस्तम रैछ’ भन्ने चर्चा यदाकदा चल्थ्यो तर मैले यो नियमित गन्थन हो भन्ठानेर ध्यान दिएको थिएन । उसले रातो टिसर्ट लगाएकी थिई । पाइन्ट मैले देख्न पाइनँ, उसको शरीरको तल्लो भाग टेबलले ढाकेको थियो । म छक्क परँे, मैले पाइन्टको बेल्ट लगाएको बहाना गरेर अलि उभिएर उसलाई पूर्णरुपमा हेर्न खोजेँ । पाइन्ट नै रहेछ । जिन्सको चुज पाइन्ट । आज पहिलोपटक उसले पाइन्ट लगाएकी थिई सायद ।‘काठमाडौंको हावाले छोएछ । लौ, अब यो पनि अलिखित फाइलको पछिल्लो नायिका बन्ने भई’ मनमनै सोचें ।

– भोलिपल्ट उसको पहिरन झनै गजब थियो । कुर्ता सुरुवाल लगाएकी थिई तर मैले सोचे बिचरीले जसोतसो यति साँघुरो सुरुवाल त लगाई तर फुकाल्छे कसरी होली । उसको सिंगो जीउको भूगोल यो कपडामा स्पष्ट झल्किंदै थियो ।

– हप्तादिनपछि उसको कपालको रंग र रुप परिवर्तन भयो । कालोको बीचमा केही नयाँ राता पालुवाहरु देखा परे । अनि घुम्रेको ठाउँमा सिल्की बन्यो । मैले सोचे वसन्तको आगमन भएछ । र, क्यान्टिनमा, क्याबिनमा ऊ अब यत्रतत्र छाएकी थिई । हाकिमले समेत उसमा चासो लिन थालेको थियो । हाकिमका आँखा र नवँ स्जवान स्टाफहरुका आँखाबीच कहिलेकाहीं मूकयुद्ध चल्थ्यो । तर यो अलिखित थियो, त्यसैले यसमा युद्धकै सम्भावना कम थियो । दुबै पक्षसँग प्रतिरोध गर्ने कुनै बहाना नै थिएन कारण साँध दुबैले मिच्न खोजेका थिए ।

‘एवं रितले दिनहरु बित्दै गए । एकदिनको कुरा, रातभरि उडुसले हैरान पारेको, दिउँसो अफिसमा झ्याप निन्दा परेछ । अचानक एउटा आवाजले म झस्किएँ । लाग्यो, मलाई कसैले बोलाइरहेछ तर आँखा भने अझै आन्दोलनरत थिए । तर आँखाभन्दा नाकको प्रतिरोध बलियो भयो, नाकले अनौठो सुगन्धको मजा लिइरहेको थियो । विचरा आँखाहरु नखुली सुखै भएन । हेर्छु, मेरो अगाडि एउटा फाइल हातमा लिएर उही लज्जावती, गुणवती उभिएकी छे । यसो अनुहार हेरें प्यान्टिन, सनसिल्क र वाटिकाको सम्मिश्रणमुनि लेक्मेमिश्रित ओठ र पेप्सोडेन्ट अनि कोलगेटको मन्द मुस्कान छरिएको छ र उसको गालामा हलुका लाली चढेको छ । सुलुत्त परेको घाँटीमा सनस्क्रिन लोसनको चमक देखिएको छ । यसो तल हेरें, उसका नङहरु फेरि सोनाटोले रंगिएका छन् ।

मलाई लाग्यो– विज्ञापनका विभिन्न पाटपुर्जाहरु एसेम्बल भएर मेरो अगाडि उभिएका छन् । हाई गर्दै र मैला दाँत सकेसम्म लुकाउन खोज्दै मैले भने– ए तपार्इं के थियो ? ‘यो एउटा फाइलको व्यहोरा मिलेन, तपाईसँग भएको रेकर्डबाट मिल्छ कि ?’ ‘विचरा फाइलहरु’, खिइएर, धमिरोले खाएर दोस्रो विश्वयुद्धमा हिटलरको क्याम्पबाट जसोतसो जोगिएर आएजस्ता छन् । धुलो टक्टक्याउँदै मैले फाइल हेरेँ । मलाई ऊ केहीछिन बसिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । त्यसैले मैले जानी जानी अर्को फाइल खोलेँ । भेट्ने कुरै थिएन तर मलाई बहाना चाहिएको थियो ।

‘एकछिन बस्नुस्, म हेर्दै गर्छु’, प्रकटमा मुस्कान छर्दै मैले भनेँ, तर बोल्दा ह्वास्स गन्हाउला भन्ने कुरामा सचेत थिएँ । कारण, मैले पास, मेन्टोस आदि केही चपाउन पाएको थिएन । ऊ यसरी म कहाँ आउँछे भन्ने थाहा भएको त म विज्ञापनमा देखाउने सबै सामान एक एक गरी अघिल्लो रातीदेखि नै चपाउँथे, रातभरि पेप्सोडेन्ट, कोलगेट, डाबर, डाबर लाल दन्तमन्जनले दाँत चम्काउँथे । नवरत्न, वाटिका, डाबर, हेयर एण्ड केयर, पेन्टिन, सनसिल्क आदिले कपाल चम्काउँथे होला । ‘थुक्क मेरो भाग्य । कतै मेरो पसिनाको अमिलो गन्धले नभागिदेओस् ।’ तर ऊ भागिन । चोर आँखाले लिपगार्ड पोतिएका ओठहरु हेर्दै मैले तेस्रो फाइल पल्टाएँ । विवरण भेटियो । उसको फाइलसँग मिलान गरे । ऊ हिँडी । दश मिनेटको उसको आगमन मानौं मेरो सोह्र वर्षको ठूलो उपलब्धि थियो ।

समय बितेको पत्तै भएन । ऊ आएको वर्ष दिनपछि तीनजना नयाँ नवयुवतीहरु नयाँ स्टाफ भएर आए । सुरुआती दिनहरुमा सबैले एउटै शपथ लिएका हुन्थे । तर महिना दुई महिना बित्दा नबित्दै एउटै पार्टीमा सामेल भए । इष्र्यामा डुबेका उमेर पुगेका महिलाहरुका अगाडि सेवाग्राही आउँदा उसले खानुपर्ने टोकाईको उत्पादन ती तीनजना रुपवतीहरुले गर्ने गर्थे भन्ने मेरो ठम्याई थियो ।

र, अब तीनैजना सँँगै हिँड्ने गर्थे क्यान्टिनमा । उनीहरुका गफहरु फरक हुन्थे । लोकसेवा आयोगको परीक्षाका नयाँ सेलेबसहरु तयार हुँदै थिए– ‘ब्युटिपार्लरमा के, कहाँ र कसरी जाने ?’, ‘कस्तो सेम्फोको प्रयोग, अवधि र प्रकारहरु’, ‘सारी, ब्लाउज र आइसेडोको सम्बन्ध’, ‘नङ पालिस र हेयर रिमुभर प्रयोगका तरिकाहरु’, ‘आइ सेडो र यसका प्रकारहरु’, ‘घरेलु फेसियलका आवश्यक तत्वहरु’, ‘शनिबार के कसरी बहाना गरेर पे्रमी भेटने रहस्यहरु’, ‘माइली, रमा, उर्मिला, गीता, इन्दू, बबिता, कमला, दिक्षा, श्वेताले के कसरी आफ्नो जीवनमा प्रेमका बगंैचा हुर्काइरहेछन्’ भन्ने विषयका सिकाईहरु आदि इत्यादि । जति मेरो रिटायर हुने अवधि आइरहेको थियो, अफिसमा बस्न त्यत्तिकै मन लाग्दै गइरहेको थियो ।

महिनामा एक दुई चोटी मैले पुनः सुन्दरतापानको अवसर पाउँथे । त्यही विवरण मिलान नहुँदा । लाग्थ्यो, मसँग जादूको कुनै तरिका हुन्थ्यो भने तीनजनाकै दराजका फाइलका विवरणहरु बिगार्थे र सद्दे विवरण आफ्नो दराजका फाइलमा थन्क्याउँथे । र, पनि यदाकदा बिना जादू पनि फाइलले मेरो साथ दिन्थ्यो नै ।

तर अब मलाई आफ्नै रुपलाई लिएर चिन्ता हुन थाल्यो । एकदुईपल्ट विवरणसम्बन्धी विमर्श गर्दा उनीहरुमध्ये एउटीले नाक रुमालले ढाकी । उसलाई रुघा लागेको पनि हुनसक्थ्यो होला, तर मैले सोचे, यो हो न हो, मेरै मुखको गन्धले गर्दा हो । कहिल्यै टिभी र त्यसका विज्ञापनहरु नहेर्ने म राूति श्रीमती र बालबच्चा सुतेपछि आवाज सानो गरेर टिभी हेर्ने थाले । तर यसले मेरो समस्या झन जटिल बनाइदियो । रातभरि टिभी हेरेँ । भोलिपल्ट पसलबाट सामान किनेर त्यसको उपभोग गर्ने मेरो इच्छा पूरा हुन सकेन । रातभरि हेर्दा पनि मैले दाँतका लागि, कपालका लागि, अनुहारका लागि, घाँटी, कमर, खुट्टा आदिका लागि के प्रयोग गर्ने ठम्याउन सकिनँ ।

सुरुमा दाँतको विज्ञापन हेरेँ– पेप्सोडेन्ट । आहा, हो त नि यसले पो दाँतको रक्षा गर्छ । तर निमेषभरमै मेरो रक्षाकवच चकनाचुर भयो । कोलगेट ‘टिङटिङ बज्ने दाँत त यसले पो बनाउँछ । अझ केटीहरु झनै नजिक हुने रे, लौं पेप्सोडेन्ट भन्दा त कोलगेट नै ठिक रैछ । तर मेरो मष्तिष्कमा पुनः रिंगटा चल्यो, कारण थियो डाबर लाल दन्त मन्जन.. १२ आयुर्वेदिक जडिबुटी तत्वले बनेको । रामदेवको जमानामा यो पो काइदा रैछ । हेर्दै गए, फेरि उही श्रृंखला ।’

त्यही हालत तेलले ग¥यो के किन्ने के नकिन्ने ? साबुन.. लक्सदेखि लिरिल, विदेशीदेखि स्वदेशी, के लगाउने कसरी कुन ? केही ठम्याउन सकिनँ । सेम्पोको त झन् कथा नै बेग्लै । एक घण्टाको अवधिमा मैले नौ वटा सेम्पोका उत्पादनहरु हेरँे । सबै राम्रा, सबैमा क्या राम्रो सिल्की कपाल, कालो न कालो, हावामा फरर्ररर उडिरहेको । सबै राम्रो ।

त्यो रात म राम्ररी सुत्न सकिनँ ।

भोलिपल्ट राता आँखा पार्दै अफिस पुगेँ । दिन त्यत्तिकै तनावमा बित्यो । नवजवान केटाहरुका चिल्ला कपाल हेरेँ, चट्ट परेको शर्ट हेरेँ, जुत्ता टिलिक्क परेका । आखिर यिनीहरुले कसरी त्यस्तो टिपटप पर्न जान्छन हँ ? कि सोध्ने हो ? मनले प्रश्न गर्यो । तर आफ्नो छोराका उमेरका केटाहरुसँग कपाल कसरी त्यस्तो ठाडो तर मिलेको बनाएको, कुन ब्रान्डको सर्ट लगाएको, सेन्ट कुन कम्पनीको, जुत्ता कुन कम्पनीको, सेम्पो, क्रिम, कसरी सोध्ने ? म नै भोलिदेखि चर्चाको पात्र बन्छु । आँट आएन सोध्ने । त्यसै झोक्राएर बसे । यो भएन, राम्रो नराम्रो छुट्टयाउनु प¥यो । श्रीमतीलाई कुनै शंका नहोस् भन्ने कुरामा सतर्क हुँदै त्यो राति पनि म विज्ञापन हेर्न बसेँ । तर उपाय लागेन । अफिसमा अरुहरु पनि बिस्तारै जाँगरिला हुँदै आइरहेका थिए । अफिसले कार्यविस्तार गरेको थियो र थप नव युवतीहरुको प्रवेश सुनिश्चित थियो भन्ने कुरा सबैले थाहा पाइसकेका थिए त्यसैले ।

त्यो राति पनि उस्तै भयो । मैले फिटराइटदेखि बाटा, हाइटेकदेखि शिखरसम्मका जुत्ताहरु हेरेँ । दीपकराज गिरीजस्तो बन्न मन लाग्यो, कुनै बेला जोन इब्राहम बन्न मन लाग्यो, घरि विपाशा, जुही, ऐश्यर्याका कपालहरुले मोहित पारे । अहं हुंदै भएन । यसरी राम्रो बन्ने चाहनाले मलाई झन संकट र द्विविधामा कस्दै गइरहेको थियो । तर जहाँ राह त्यहाँ चाह भन्ने उखान त्यत्तिकै बनेको रहेनछ ।

भयो के भने एकदिन अफिसबाट छिट्टै घर आएर बसेको बेला कान्छी छोरीले मसँग गणितका हिसाब सोध्न आई । कुनै जमानामा जसोतसो चिट चोरेर हाइस्कुल पास गरेको मैले के नै पो बताउँथे होला र, तर छोराछोरीका लागि त बुवाआमा जहिले पनि ठूलै हुन्छन् । ‘के हो यो ?’ मैले सोधँे ।

गणित हो, यो औसत निकाल्न सिकाइदिनुसन् । उसले सोधी । के हो औसत भनेको, पहिला परिभाषा भन्त् । मैले उल्टै उसलाई सोधे । र, हजारौं मनको भारीले थिचिएको मेरो मन छोरीको उत्तरसँगै कपासजस्तै हलुका बन्यो । ल, उपाय पत्ता लाग्यो, ल उपाय पत्ता लाग्यो, मेरो हर्षको सीमा थिएन । छोरी विचरा ट्वाँ परेर मलाई हेर्न थाली ।

तेस्रो दिन तलब बुझेर म सोझै डिपार्टमेन्टल स्टोर गएँ जीवनमा पहिलोपटक । म अहिले गर्वित छु, मैले उपभोग गर्ने सामान उत्पादन गर्ने सम्पूर्ण कम्पनीहरुको शेयर ममाथि छ । सबैले ममाथि हक जताउँछन् । मेरो टाउको, अनुहार, नाक, कान, घाँटी, नंग, खुट्टा सबैमा कुनै न कुनै कम्पनीको लगानी छ । म अहिले कतै छैन बरु ढाकिएको छु यत्रतत्र सर्वत्र । कहिलेकाहिं कुनै सुन्दर युवती बाटोमा हेर्दा सोच्ने गर्छु, यसको कपालमा कुन कम्पनीको कति लगानी होला, यसका सुकोमल ओठहरुमा कसको शेयर होला । यो सिंगो सुन्दरतामा गरिएको लगानीको बजार मूल्य कति होला ?

र कहिलेकाहिं सोच्छु, मैले सबै कम्पनीहरुलाई प्रयोग गरेजस्तै एउटा देशका मान्छेहरुले जन्मदेखि मृत्युसम्म यी कम्पनीहरुका उत्पादनहरुको प्रयोग गर्दा लाग्ने मूल्य एउटा आर्थिक वर्षमा शिक्षा या स्वास्थ्यका लागि विनियोजित बजेटसँग तुलना गर्दा कस्तो नतिजा निस्केला ?

(स्रोत : Ruprekha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.