व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~

पहिलो रात

‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ आन्दोलन’मा सक्रिय थिए । काठमाडौँ कब्जा गर्न आएका कमरेटहरु जति पातला थिए, चौर र झाडीमा बास गर्ने भोका लामखुट्टेहरु उत्तिकै पातला थिए । पुरानो सरकारी विद्यालयको भवनलाई कामरेडहरुले आन्दोलन सञ्चालनको सेल्टर बनाएका थिए ।

राति पानी ओइरियो । जमिन भिज्नेगरी पानी पर्नु कृषिप्रधान देशका नरनारीका लागि सुखद थियो । पानीको बाछिटाले कमरेटहरु सुतेको हललाई पनि भेटेछ । दिनभरिको निद्राले सबै ‘भुस’ थिए । घोर निद्रामा तिनले आफू भिजेको चाल पाएनन् । तीन÷चार बजे कमरेट दाप्सेले सपनामै केही छाम्यो । उसले ‘स्युस्यु’ महसुस ग¥यो । उसको हातले पानीको आहाल छाम्न पुगेको थियो । ‘लौ साथी हो उठ, लुगाकपडा सप्पै भिजो ।’ कमरेट दाप्से बिउँझेर कराउन थाल्यो, ‘ए काका, उठ । लौ ए सबै उठ । अब के गर्ने ?’लामखुट्टेका टोकाइले तिनका अनुहार सुनिएका थिए ।

बिहान

टाटेपांग्रे पहिरनको कमरेट कमान्डर आँखा मिच्दै बोल्यो, ‘अब सटकमा हाजिर हुने । बाहिरियालाई सडकभित्र रत्तिभर पस्नै नदिने । यिनरु ..जीहरुले मात्रै मोज गर्नी काठमाडाँमा ? सडकमा हिँडिरहेकालाई बाहिर जान नदिने है ।’ आआफ्ना बाँसका कप्टेरा समातेर अरिंगालको बथानको चालमा सप्पै कमरेटहरु सडकमा निस्किए । रातिको पानी र शरीरको पसिनाको ‘फ्युजन’ले भिजेका तिनका एकसरो पहिरनमा उति मीठो गन्ध थिएन ।

सडकमा गाडी थिएनन् । एकाबिहानै भएकाले होला, पैदलयात्री कम थिए । कमरेटहरुले एकअर्काका बाँसका कप्टेरामा आफ्ना बाँसका कप्टेरा जोडे र साङ्लो बनाए । ‘जा, मैले त टोपी उतै छाडेछु । थुक्क ।’ , हत्केलाले टाउको सुम्सुम्याउँदै कमरेट पात्लेका काका कमरेट सिस्ने बोले ।’ ‘अब के गर्नु ?’ एउटै गाउँबाट आएको दाप्सेले भन्यो, ‘कमान्डरको आदेशबिना त टोपी लिन जान पनि त मिल्दैन रे ।’ ‘हरे, तेरो टोपी छुट्यो । मेरो त पटुकै पो छुटो त । ला..जनै पनि छिनेछ ।’ दाप्सेकै साखै बाउ कमरेट डाँडाघरे बोले, ‘ए दाप्से जा, टोपी र पटुका दुवै लिएर आ ।’ दाप्सेले इन्कार ग¥यो । भन्यो, ‘भन्दैछु । कमान्डरको आदेशबिना मिल्दैन । अहिले पछि आदेश लिएर जाउँला ।’

सडकमा बिस्तारै पैदलयात्री बढ्न थाले तर तिनलाई मूल सडकमा हिँड्न प्रतिबन्ध थियो । सडक छेउछेउ मात्र पैदलयात्रीलाई हिँड्नु भन्ने हाइकमान्डको ‘कासन’ थियो । मूलसडक हुँदै कोही आयो । कमरेटहरु जोसिए, ‘बीचबाट हिँड्ने होइन ।’ परबाट साइकल आयो, कमरेटहरु एकै स्वरमा चिच्याए । साइकल आफू आएकै दिशातर्फ फिर्तान्मुख भयो । अनि कमरेटहरु खुसीले चिच्याए । तिनका पातला मुहारमा विजयभाव देखियो । दाप्से, पात्ले, सिस्ने र डाँडाघरे एउटै लाइनमा थिए, एउटै कमान्डमा ।

आन्दोलन चलिरहँदा समेत कमरेट सिस्ने र कमरेट डाँडाघरे भने हलमै छुटेका तिनका टोपी र पटुकाको नियास्रो मानिरहेका थिए । कमान्डरको आदेश थियो, ‘खाना खाने बेलामा छुट्टी मिल्छ । उति नै खेर गएर टोपी र पटुका खोज्ने ।’

विदेशी नियोग, प्रहरीका गाडी र एम्बुलेन्स आउँदा अलि चनाखो भएर साङ्लो छुटाउनुबाहेक खासै अरू काम थिएन यो कमान्डको । सडकमा बसिरहेकै बेला खुसुक्क डाँडाघरेले सिस्नेलाई भने, ‘ओए.. राति त गज्जबले पानी प¥यो त । गाउँमा पनि प¥यो होला । मेरो त गोरु पनि छैन ।’ ‘अँ त नि’, सिस्नेले पनि चाल मार्दै बतायो, ‘अहिले मकै नरोपे चिसो सुकिहाल्छ , के गर्ने ?’ ‘अहिले पछि भात खान जाँदा खुसुक्क सल्लाह गरौँला ।’

बिस्तारै सडकमा घाम कडा रूपमा प्रस्तुत हुन थाल्यो । पेटेन्द्रियले भोजन माग गर्न थाल्यो । केहीछिनसम्म उभिएर नारा लगाइरहेका कमरेटहरु समेत भोकले लत्रिएर बीच सडकमा बसे । कमरेटहरुबाहेक सडकमा अरु सबै स्थिर थिए ।

दिउँसो

बल्लतल्ल मध्याह्नमा कमरेटहरुको पेटको हड्तालको समाधान भयो । पार्टी प्यालेसको लाइनमा उभिएका सैयौँ कमरेटको लाइनमा यिनले पनि कागजको थाल समाते । यही मौकामा सिस्ने र डाँडाघरेबीच गोप्य रूपमा राति परेको पानी र त्यसका कारण बारीमा आएको परिवर्तनका बारेमा छलफल भयो, ‘अब मकै रोप्न घर जाने’ , डाँडाघरेले भन्यो । सिस्ने बोल्यो , ‘जान त जाने तर हाम्रो आन्दोलनले गाडी पनि चल्या’ छैन । कसरी जानी ? फेरि कमान्डरले जान दिन्चन् र ?’ ‘खुसुक्क जाने नी । केटाहरू यतै बस्लान् । हामी दुईजनाचाहिँ जाने । सहर पनि देखिइहालियो । के गर्नु त अब ? अब हिँडेरै जानी ।’ तिनले आजैको साँझ घर प्रस्थान गर्ने योजना बनाए । तिनीहरू मटर चढेर सहर आएका थिए तर अहिले त तिनका लागि मटर थिएन । हिँडेरै घर जान ती कस्सिए । तिनले हलमा गएर टोपी र पटुकाको खोजी गरे । टोपी भेट्टाइएन । पटुका बेन्चीमै पल्टिरहेको भेटियो ।

सडकमा ‘रोटेसन’ले भोजन कार्यक्रम चलिरहेको थियो । सिस्ने र डाँडाघरे कमरेट फेरि सडकमै गए । भोजनको ऊर्जाले सडकले अर्कै रौनक प्राप्त गरेको थियो । फेरि गानाबजाना चल्यो । ‘मेरा नि बाबै, उपल्लोथोककी देवमाया र शर्मिला पनि नाच्न र गाउन आएका रहेछन् । यिनले यहाँ के–के गर्ने हुन् ! तमासा नै देखाउलान् ।’ तिनले लालदोहरी घन्काउन थाले । दिउँसै सडकमै ‘रतेली’ जम्यो ।

साङ्गीतिक माहोल फेरि थाक्यो । घाम चिरिक्क चक्र्यो । कमरेटहरु पसिनाले भिजे । कोही कमरेट घरका सिँढीको सिँयालमा गए त कोही रूखको तर यो अब्बल आन्दोलन थियो । परबाट पानीको ट्यांकर आयो । आन्दोलनकारीहरूले अन्यथा ठानेर सिठ्ठी लगाए । यो त उनीहरूलाई नै पानी खुवाउन आएको ट्यांकर पो रहेछ । कोहीले बोतलमा पानी थापे, कतिले गर्मीले गर्दा आतुस भएर आफ्नो शरीरै थापे । बरफ र काँक्रो बेच्नेहरू वरपर आइपुगे । केही कामरेडहरूले थपीथपी काँक्रो र बरफ खाएको देखियो । सिस्ने र डाँडाघरेले काँक्राको चिरोको दर्शनमात्र गरे । तिनले खल्ती भने अवश्यै छामे । अनि पानीले घाँटी भिजाए । आखिर यो कठोर क्रान्तिको एउटा रूप थियो ।

ट्यांकरले पानी बाँडिरहेकै बेला कमरेट डाँडाघरेले दुइटै ठिटालाई बताए, ‘तिमेरु पछि आउनू । अब हामी हिँडेरै घर फर्कन्छौँ । बाउबाजे पनि हिँडेरै नेपाल आइपुग्थे । मकै छर्न जान परेन ?’ दाप्से र पात्लेले असहमति जनाएनन् ।

साँझ

साँझ नै दुई कमरेटजन सहर छाड्ने निचोडमा पुगे । तिनले आफ्नो डँडाल्नोमा उनिएको झोला झनै कसे । मटरमा चढेर गाउँबाट सहर छिर्दा तिनको मुहारमा छाएको कान्ति अहिले उति देख्न सकिन्नथ्यो तर यत्रो विशाल आन्दोलन गरेपछि सत्ता पक्षले आफ्नो अडान छाड्ला भन्ने तिनको बलियो अपेक्षा थियो तर एक्कासि घर प्रस्थानको थालनीपूर्व नै चक्रपथमा चिल्ला सवारीको लर्कन देखियो । आमहड्तालमा कसको गाडी ? तिनको आँखा गाडीमै केन्द्रित भो । ‘किन लखेटेनन् हाम्रा कमरेटहरुले यो गाडी ?’ यी दुइँले ठाने तर चिल्ला सवारीमा तिनले पोस्टर र पम्प्लेटमा बारम्बार देखेका एक जब्बर महानायक र अरु सहनायक कमरेडहरु थिए । कामरेड जब्बर विजयभावमा गाडीभित्रैबाट ‘सटकका कमरेट’हरुलाई हात हल्लाउँदै चक्रपथ परिक्रमा गरिराखेका थिए ।

घर पुग्न यिनका लागि अझै दुई दिनको बाटो थियो । भुटेको मकैबाहेक अरु कुनै खाद्यान्न केही नबोेकेका यी सर्वहाराजन केही अतास्सिएका थिए । तैपनि जाने बेला आफ्ना आदिगुरु सडकमै प्रकट हुँदा तिनको आत्मबल बढेको देखियो । तिनले ठाने, ‘अब विजय नजिक छ ।’ अनि झोलाका तुनाले आफ्ना पातला कम्मरमा अझ झनै बेस्सरी कसे र घरतर्फ पाइला बढाए । उनीहरु घरतर्फ लाग्दा पर शिवपुरी फेदमा पिउरीजस्तै कुहिरो डुलिरहेको थियो ।

(स्रोत : Sanghiya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.