ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु।
हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। त्यसको पहिलो र दोस्रो तलामा इतिहास, दर्शन, धर्म, राजनीति, समाजशास्त्र, साहित्य, मनोविज्ञान लगायतका प्रचुर किताब भेटिन्छन्। तेस्रो तलामा विभिन्न साहित्यिक, गैरसाहित्यिक र मनोरञ्जन जगतका पत्रिका र अखबार राखिएका छन्। त्यससँगै जोडिएको क्याफे छ।
क्याफेमा आरामले बसेर कफीको सुर्की लिंदै लेखपढ गर्न सकिने सुविधाका रंगीन टेबलकुर्सीहरू सजिएका छन्। क्याफेको थप कुरो फ्री वाईफाई पनि हो। त्यसकारण क्याफेका कुनै पनि कुर्सी खाली हुनपाएको देखिंदैन। क्याफेमा हुनेहरू आ–आफ्ना किताबका पानामा, अखबार–पत्रिकाका पृष्ठमा, ल्यापटपका काँचहरूमा कफी सुर्काउँदै घोत्लिरहेका हुन्छन्। क्याफेमा हार्वर्डका विद्यार्थी र प्रोफेसरको बाहुल्य हुन्छ। क्याफेको ठीक माथिल्लो तलाको हलमा अहिले फिलबारे कोही बोलिरहेछ।
फिलबारे बोलिरहेको यो मान्छेलाई सुन्दै गर्दा ऊ कुनै लेखक कवि नै हुनुपर्छ भन्ने मलाई लागेको थियो। नभन्दै, ऊ बोस्टन विश्वविद्यालयमा पढाउने प्रसिद्ध अमेरिकी कवि रोवर्ट प्रिन्स्की रहेछ। कुनै समय फिलले केही वर्ष बिराएर प्रकाशित भएका प्रिन्स्कीका दुई कविता संग्रहबारे निकै राम्रो बोलेको रहेछ। प्रिन्स्कीका कविता संग्रहहरूबारे फिलको परिचय वाचन सुनेका सबैजसो पाठक, श्रोताले प्रिन्स्कीका कवितासंग्रह किनेर उसको हस्ताक्षर लिएका रहेछन्। यस प्रसंगमा आत्मप्रशंसा जस्तो लाग्ने प्रिन्स्कीको भनाइ वास्तवमा फिलकै प्रशंसामा बोलिएका थिए। रोवर्ट प्रिन्स्की फिलबारे बोल्दै गर्दा निकै भावुक भएको थियो। उसका आँखा पनि रसाएका थिए होलान्। म सबभन्दा पछाडि उभिरहेको हुनाले मैले प्रिन्स्कीका आँखाको संवेदित न्यानो पानी नदेखेको पनि हुन सक्छु।
हलका सवासय कुर्सी भरिएको छ। कुर्सीको अन्तिम हार पछाडि बीस पच्चीस महिला पुरुष उभिइरहेका छन्। तिनैमध्येमा म पनि छु। मपछि अरू थपिने क्रम बढिरहेछ। सबको अनुहार फिल बित्नुको संवेदनामा उदास छ। आफ्नो भन्नुजत्ति कुरो सुनाएपछि रोवर्ट प्रिन्स्की अगाडिको हारको आफ्नो पूर्ववत् कुर्सीमा गएर बस्यो। सभासंचालक न्यासनल बुक सेन्टरको म्यानेजर बर्नार्डले अर्को वक्ताको नाम लिंदै भन्यो, ‘नाउ आइ उड लाइक टु इनभाइट अथर एंड प्रोफेसर अफ एमआइटी मिस्टर जुनोट डायज …।’
जुनोट डायज कुर्सीबाट उठ्नेवित्तिकै पछाडि उभिरहेकाहरू उनको झ्लक लिन सलबलाउँदै घाँटी तन्काउन थाले। म्यानेजर बर्नार्डलाई धन्यवाद दिएर फिलबारे डायज बोल्न थाल्यो। फिलले डायजको पुलित्जर पुरस्कार प्राप्त उपन्यास ‘द वन्डरस लाइफ अफ वस्कर वाउ’बारे निकै राम्रो बोलेको रहेछ। यै प्रसंग निकालेर जुनोट डायज अगाडिका कुरा बोल्न थाल्यो। परार डायजकै कथासंग्रह ‘दिस इज हाउ यु लुज हर’ बारे फिलले यै हलमा बोलेको थियो। त्यो बेला यो हलमा उभिने ठाउँसम्म बचेको थिएन। मैले भने चाँडै आइपुगेकोले कुर्सी पाएको थिएँ। कपाल खुइलिएको साँवलो वर्णको डायजले बोके दाह्री पालेको थियो। अहिले पनि उसको चिउँडो त्यस्तै दाह्रीले ढाकेको छ। त्यो बेला फिलले डायजका कथाहरूबारे पूरै एकघन्टा बोलेको थियो। फिलले भनेको थियो– “बोके दाह्री र खाँटी डोमेनिकन लवजको संवाद डायजको आख्यानको ब्रान्ड हो।”
डायज फिलबारे बोल्दै लगभग बीस मिनेट भावुक भयो। र, आफ्नो कुर्सीमा फर्कियो।
खिरिलो ज्यानको फिल स्वस्थ देखिन्थ्यो। उसले मर्ने उमेर अझ् खाइसकेको थिएन। तर, अस्तिको हप्ता एक लापर्वाह ट्रक ड्राइभरले उसलाई सत्तरी पुग्न दिएन। समाचारहरू अनुसार अरू बेला झैं फिल न्यासनल बुक सेन्टरबाट अथर इभेन्ट्सको काम सकेर रातिको नौ बज्ने बेला आफ्नो कार हाँक्दै हाइवे नाइन्टी फाइवबाट याक्टनस्थित आफ्नो घर फर्कंदै थियो। सँगैको लेनमा त्यस ड्राइभरले होम डिपोका सामान ओसार्ने ट्रक कुदाइरहेको थियो। अचानक त्यसले लेन चेन्ज गरेर फिलको कारको बम्परमा हिर्काएछ। साठ्ठी माइलको गतिमा कुदिरहेको त्यो ट्रकको धक्काले फिलको सानो हाइब्रिड टोयोटा पिरुस बल्ड्याङ खाँदै बाह्र फुट पर पुगेछ। डल्लो परेको कारबाट फिलको क्षत–विक्षत लास झिक्न पुलिसहरूलाई डेढ घन्टा लागेछ।
डायजपछि बोल्ने मान्छे बोस्टनको लोकल साहित्यकार रहेछ। म्यानेजर बर्नार्डले ऊबारे यस्तै भन्दै उसलाई फिलबारे बोल्न डाकेको थियो। फिलले उसको पनि किताबबारे बोलेको रहेछ। यै प्रसङ्गमा भावुक हुन खोज्दै ऊ आत्मगर्व प्रकट गर्दैछ। यो आत्ममुग्ध लोकल साहित्यकारको नाम सभासंचालक बर्नार्डले के भनेको थियो, बिर्सेछु। त्यसकारण, मसँगै उभिरहेकी मभन्दा डेढ इन्च अग्ली साहित्यकार नै हो कि जस्ती महिलासँग सोधें, “के नाम यिनको?”
“ओ! हि इज फिलिप जोसेप, भेरी गुड पोएट।”
यो भेरी गुड पोएट फिलिप जोसेप अहिले भन्दै छ, “फिललाई मैले यै हलमा चिनेको हुँ।”
आठ वर्ष अगाडि मैले पनि फिललाई पहिलो पटक यै हलमा देखेको हुँ। त्यो दिन आजको जस्तो न्यानो र खुलेको थिएन। क्रिसमस सकिएको भर्खर एक हप्ता भएको थियो। जनवरीको तीन या चार तारिख हुँदो हो। केही दिन अगाडि मात्र लगभग सात इन्च बाक्लो हिउँ झ्रेको थियो। सडक छेउ र फूटपाथका किनारमा सोरेर थुपारिएका मिनी हिमाल जस्ता देखिने हिउँका सेताम्मे थुप्रा जताततै चुल्याइएका थिए। त्यसयता हिउँ नपरे पनि जाडोको प्रकोप चर्किरहेको थियो। वातावरणको तापमान शून्य डिग्रीमा झ्रेको थियो। त्यस साँझ् त झ्न् शरीरका हाडसमेत छेड्न खोज्ने सिरेटो पैंतीस, चालीस माइलको गतिमा चलिरहेको थियो। बसभित्रको न्यानोबाट ओर्लनेहरूलाई त्यस गतिको सिरेटोले झयाम्म प्रहार गरिहाल्थ्यो। यस्तो दिन बस कुर्नुपर्दाको कल्पना गर्दा पनि जीउ काम्न थाल्छ। तर, आफ्नो वाहन नहुनेहरूले यो भोग्नै पर्छ। म त्यै भोगिरहेको थिएँ।
त्यस साँझ् बसबाट ओर्लनेवित्तिकै म न्यानो खोज्दै न्यासनल बुक सेन्टरभित्र छिरेको थिएँ। अक्सर म अन्तभन्दा यहीं पस्ने गर्छु। यहाँ पस्नु मलाई निकै प्रीतिकर लाग्छ। यद्यपि न म विद्यार्थी हुँ, न पढैया विद्वान्, न पुस्तक जगतसँग सरोकार भएको मान्छे। फिलसँग परिचय हुँदा मैले उसलाई यै भनेको थिएँ। ऊ मुस्कुराएको थियो र भनेको थियो, ‘नो प्रोब्लेम।’
त्यस साँझ् त मैलेे फिललाई संयोगवश देखेको, सुनेको मात्र हुँ। बुक सेन्टरको पहिलो, दोस्रो, तेस्रो तलाको भर्याङ्गहुँदै मानिसको हूल चौथो तलाको भर्याङ्ग उक्लँदै थिए। म न्यासनल बुक सेन्टरभित्र पस्न थालेको एक वर्ष भैसकेको थियो। तर, यसको चौथो तलाको बारेमा मलाई केही थाहापत्तो थिएन। त्यस साँझ् जिज्ञासावश म पनि हूलसँगै चौथो तलाको यो सानो हलमा पुगेको थिएँ। त्यस बेला आजको जस्तै हलका सब कुर्सीहरू भरिइसकेका थिए। पछि पुग्ने मानिसहरू छेउ लागेर उभिन थालेका थिए। देब्रेतिरको कुनोमा राखिएको टेबलमा कफीका चार थर्मसहरू, दुई बिटो कफी कप र चिनीको पाउच राखिएका बट्टाहरू देखिए।
त्यसको भित्तोमा आनन्दको कुरो लेखिएको देखियो– फ्री कफी। त्यसैले रहेछ मसँगै उक्लने केही त्यता लस्किएका। फ्री कफी पढेपछि म पनि थर्मसतिर लम्कें।
कफीको कप लिएर म फेरि अगाडि देखिने ठाउँ आएर उभिएँ। न्यासनल बुक सेन्टरमा मैलेे सित्तैंमा कफी पिउन पाएको यो दोस्रो पटक थियो। पहिलो पटक तल क्याफेमा काम गर्ने नेपाली बैनी तारा ताम्राकारले पिलाएकी थिइन्।
कार्यक्रम शुरू भैसकेको थियो। म फ्री कफीको स्वाद लिंदै अगाडि टोलाइरहेको थिएँ। अगाडि खाली ठाउँ थियो। त्यसको मध्यमा एउटा कुर्सी थियो। त्यसमा एउटी च्यान्टी गोरी सुन्दरी विराजित थिइन्। उनी तिघ्रा खप्ट्याएर बसेकी थिइन्। मिनीस्कर्टले उनको घुँडा मात्र छोपिएको थियो। उनी छेउ उभिएर एउटा खिरिलो ज्यानको मान्छे बोलिरहेको थियो। उसको हातमा हार्डकभरको एउटा मोटो किताब थियो। ऊ त्यै किताब र त्यसको लेखक बोल्दै थियो। उसले बोलेको कुरो सुन्दै गर्दा त्यो किताब उपन्यास रहेछ भन्ने बुझ्ियो। र, त्यसलाई लेख्ने चिल्ला नलीखुट्टा देखाएर कुर्सीमा त्यसरी मौन बसिरहेकी ती महिला चिलीकी निर्वासित लेखिका इसाबेला एलेन्डे रहेछिन् भन्ने थाहा पाइयो। एलेन्डे र उनको उपन्यासबारे उसले पैंतीस मिनेट बोलेको थियो। आफ्नो कुरो टुंग्याएपछि उसले एलेन्डेलाई आफ्नो उपन्यासबारे बोल्न अनुरोध गरेको थियो। र एलेन्डे आफ्नो कुरो राख्न कुर्सी पछाडि धकेल्दै बसेकै ठाउँमा उभिएकी थिइन्।
बोल्न शुरू गर्दा एलेन्डेले उसको नाम लिंदै भनेकी थिइन्, ‘थ्याङ्क्यु फिल।’
त्यसको एकाध दिनपछि म फेरि न्यासनल बुक सेन्टरको त्यो हलमा पुगेको थिएँ। त्यस दिन पनि त्यहाँ कुनै लेखक उपस्थित भएको थियो। र उही फिल त्यस लेखकको नयाँ किताबबारे बोल्दै थियो। हलका आधा कुर्सी मात्र भरिएका थिए।
त्यस साँझ् पनि फ्री कफीको व्यवस्था रहेछ। म हलमा यै आशमा उक्लिएको थिएँ। नभन्दै, हल पुग्नेवित्तिकै देखिने देब्रेतिरको त्यही कुनोको टेबलमा उसैगरी कफीका चार थर्मसहरू, दुई बिटो कफी कप र चिनीको पाउच राखिएका बट्टाहरू देखिए। र, त्यसको भित्तोमा त्यही खुशीको कुरो लेखिएको देखियो– फ्री कफी। म सीधै त्यता गएँ र कपमा कफी भरेर हलको एक खाली कुर्सीमा आएर बसें। र, कफी सुर्क्याउँदै फिलको कुरो ध्यान दिएर सुनेजस्तो गर्न थालें।
फ्री कफीको लोभमा त्यसपछि त म त्यहाँ हुने हरेक कार्यक्रममा लगातारजसो जान थालें। त्यहाँ हुने यस्तो लेखकीय कार्यक्रमको सूचना न्यासनल बुक सेन्टरको ढोकासँग जोडिएको हालसालै प्रकाशित पुस्तकहरू प्रदर्शन गरिने सोकेसभित्र टुडेज अथर इभेन्ट्स भनेर राखिएको हुन्थ्यो। म त्यै सूचना पढेर हलमा फ्री कफीको लागि पुग्थें। त्यहाँको फ्री कफीले मलाई त्यसको नियमित श्रोता बनाइसकेको थियो। कहिले म कार्यक्रम शुरू भैसकेपछि पुग्थें, कहिले अगाडि नै पुग्थें। हप्तामा तीन चार कार्यक्रम हुन्थे। र, हरेक कार्यक्रममा लेखकबारे बोल्ने फिल नै देखिन्थ्यो। म उसलाई केही वर्षदेखि सुनिरहेको थिएँ। ती सब कार्यक्रममा उसले कविता, उपन्यास, नाटक, कथा, संस्मरण, निबन्धदेखि जीवनी, इतिहास, राजनीतिलगायतका गैर–आख्यानात्मक पुस्तक र तिनका लेखकबारे बोलेको सुनियो। त्यसकारण मेरो मन ऊबारे भनिरहन्थ्यो– क्या! विचित्रको प्राणी।
यो विचित्रको प्राणीसँग एक साँझ् म हात मिलाउन पुगेको थिएँ।
त्यो साँझ्को कार्यक्रममा प्रख्यात कथाकार जर्ज सौनडर्स उपस्थित थिए। उनको नयाँ कथासंग्रह ‘टेन्थ अफ डिसेम्बर’ को व्यापार प्रवर्द्धनको सिलसिलामा थियो कार्यक्रम। फिलले जर्ज सौनडर्सको कथाकारिताबारे निकै राम्रो बोलेको थियो। कार्यक्रम सकिएपछि सब जर्ज सौनडर्सलाई घेर्न पुगेका थिए।
म फिल भएतिर बढेको थिएँ। ऊ भित्तामा अडेसिंदै थियो। म त्यतै पुगें र उसको अगाडि हात तेर्स्याएँ।
“राम्रो बोल्नुभयो”, मैले भने।
“थ्याङ्क्यु… ”, मसँग हात मिलाउँदै फिलले सङ्कोच मान्दै भन्यो।
“तपाईं निकै राम्रो समालोचक हुनुहुँदोरहेछ, कतै पढाउनु पनि हुन्छ कि?” मैलेे ऊबारे शुरूदेखिको आफ्नो जिज्ञाशा राखें।
फिलको अनुहारमा संकोच प्रकट भएको थियो। तर, उसलाई मेरो जिज्ञाशा शान्त पार्नु पनि थियो। त्यसकारण भनेको थियो, “म समालोचक, टीचर केही पनि होइन।”
“साहित्यकार, लेखक त हुनुहोला नि?”
“त्यस्तो केही पनि होइन।”
म छक्क परें।
“अनि?”
मेरो अनिमा उसले भन्यो, “म न्यासनल बुक सेन्टरमा यै काम गर्न अनुबन्धित कर्मचारी हुँ, यसदेखि बाहेक तपाईंले सोचेजस्तो केही होइन। अनि तपाईं?” मैलेे अप्ठेरो मान्दै भनेको थिएँ, “म विद्यार्थी, पढाकु विद्वान्, पुस्तक जगतसँग सरोकार भएको मान्छे केही पनि होइन, जिज्ञाशु मात्र हुँ।”
मेरो संकोच बुझदै फिलले भनेको थियो, “नो प्रोब्लेम।”
हप्ताको तीन चार नयाँ किताब पढ्नु, त्यसको लेखक र त्यसबारे कार्यक्रम चलाएर बोल्नु फिलको काम थियो। न्यासनल बुक सेन्टरको यो अथर इभेन्ट्सको काममा फिल पैंतीस वर्षदेखि कार्यरत थियो। मलाई उसले यै भनेको थियो। म उसलाई फ्री कफीको साथमा आठ वर्षदेखि सुन्दै थिएँ। कार्यक्रम सकिएपछिको उसको फुर्सदमा कुनै कुनै बेला म ऊसँग गफ पनि गर्न पुग्थें। त्यस्तै एक मौकामा मैले उसलाई सोधेको थिएँ, “तपाईंबाहेक अथर इभेन्ट्समा काम गर्ने यहाँ अर्को कोही छैन कि क्या हो जहिले पनि तपाईं नै बोलेको देख्छु।”
उसले रुष्ट मुद्रामा भनेको थियो, “एउटै भेडोबाट हजार स्वेटरको ऊन कात्न पल्केका छन् मुनाफा खोरहरू।”
फिलले यो न्यासनल बुक सेन्टरको कर्पोरेट नीति ताकेर भनेको थियो।
पर कुनाको टेबलमा कफीका चार थर्मस, कपहरू र चिनीका पाउचहरू पूर्वतः राखिएका छन्। भित्तामा फ्री कफी लेखिएको कागज पनि टाँसिएकै छ। म त्यतै टोलाएको छु।
अहिले शोक व्यक्त गर्न न्यासनल बुक सेन्टरको मुनाफाखोर सीईओ नै उभिएको छ। ऊ भन्दैछ, “फिलको रूपमा हामीले किताबबारे व्यावसायिक दृष्टिले बोल्ने क्षमता भएको अत्यन्त कुशल व्यक्तित्व गुमाएका छौं…।”
साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१
(स्रोत : हिमालखबर)