कथा : ​त्यो पुरुष

~भुपेन~Bhupen

धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो।

समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै मादक लाग्छ त कुनैबेला पीडादायी।

उनी बेडमा पल्टिएका छन्। निदाएका छन्। मेरा श्रीमान्। निदाइरहेको उनको मुहार पनि घरी निर्दोष देख्छु, घरी क्रूर। कतिखेर बलिरहेको मैनबत्तीजस्तै शान्त हुन खोज्छ मन, त कतिखेर निभ्न लागे झैं झर्झराउन थाल्छ।

कसम खाएकी थिएँ एक शब्द नलेख्ने। पाँच वर्ष पुगिसकेछ। जब बिहे छिनियो, त्यही दिनबाटै मैले साहित्य र शब्दको आत्मीयताबाट टाढिने कसम खाएकी थिएँ। तर आजको भेटले पुनः ती सबै बाचाबन्धन टुटाइदियो। सम्हालिन खोजेको मनलाई घरीघरी उनको घुरघुरले क्षण–क्षणमा विकेन्द्रित बनाइदिन्छ। केही आँसुका थोपा खसिदिए मन शान्त हुन्थ्यो कि ! तर मुल सुकेको नदी झैं यी आँखाले पनि वर्षिने आँट गरिरहेका छैनन्।

‘ए चाहना, सुत न बत्ती निभाएर’, उनी तेस्रोचोटी कराए।

उनले जोड गरेपछि आफू अशान्त हुँदाहुँदै पनि मैले उनको मन र शरीर शान्त बनाउनु पर्छ। मेरा सबै आफन्तले सम्झाएअनुसार श्रीमान मेरा भगवान हुन्। बिहेदेखि म उनको भक्त भएँ। मैले उनको पूजा गर्नैपर्छ। मेरो तन मन दुबै उसको मन्दिरमा चढाइएका हुन्। म उनको मन्दिरमा देवी भएर विराजमान छु।

‘चाहना कस्तो नसुनेको तिम्ले? बोक्सीजस्तो रातभर के गरेर बस्छौ? आऊ न सुतौं’, मेरा भगवानको अर्को आग्रह।

अब त केही समय म जानै पर्नेछ मेरो भगवान सामु आफूलाई चढाउन। भगवानमा लिन भएर मैले मेरो स्वत्व गुमाउनेछु। यो कस्तो भगवान? जहाँ मैले आफ्नो स्वत्व गुमाउनुपर्छ? जहाँ पुगेर कैद हुन्छन् मेरा भावना? टुक्रा टुक्रा पारी भाग लगाइन्छन् मेरा सपना? केही समयको आराधानाले शिथिल हुनेछ उसको मन र शरीर। र, जब ऊ निदाउनेछ, मैले मेरो स्वत्व पाउनेछु यो रातमा। अनि पूरा गर्न पाउनेछु बाँकी कथा।
***

आठ वर्षअघिको एक साँझ। दुब्लो शरीर र झुसे दाह्री भएको युवकले मलाई एकोहोरो हेरेको हेर्‍यै गर्‍यो। साँझको समय हतारिँदै हिँडेका मेरा खुट्टा थर्थराउन थालेका थिए– उसको एकोहोरो हेराइले। हेर्दै गँजडीजस्तो देखिने त्यो युवक जब मेरो पछि लाग्न थाल्यो, मैले आफूलाई झन् दौडाउने प्रयास गरें। उसले पनि आफ्नो गति बढायो। ऊ पछि लागेपछि झन डराएँ। घर पुग्न अझै आधा घण्टा लाग्थ्यो। अघि जाला कि भनेर सुस्तरी हिँड्ने प्रयास गरें। तर उसले पनि आफ्नो गति मन्द बनायो। म अडिएर फोनमा कुरा गरेजस्तो गरें। उसले पनि खल्तीबाट मोबाइल निकालेर कुरा गरे जस्तै गर्‍यो। बाटोको छेउबाट मास्तिर सरें। ऊ पनि उसैगरी मास्तिर सर्‍यो। फर्किएर ऊ तिर हेरें। उसले नि फर्किएर पछाडि हेर्‍यो। खै के हेर्‍यो?

साँझ झमक्क परिसकेको थियो। जे त होला भनी सरासर हिँड्दै गएँ। ऊ पनि पछि–पछि आउँदै रह्यो। अब म सामु दुइटा बाटो थिए। एउटा छोटो बाटो अर्को घुमाउरो बाटो। सधैं हिँड्ने बाटो हिँडे ऊ पक्कै पनि मेरो पछि पछि आउनेछ भनी घुमाउरो बाटो हुँदै घर पुग्ने सोच बनाएर अघि बढ्नै लागेकी थिएँ, ऊ खितखिताएर हाँस्न थाल्यो। निरन्तर हाँसिरह्यो केही समय। एकछिन अघिसम्म डराइरहेकी म उसको हाँसोले अर्कै भएँ। मेरो पनि हाँसो थामिएन। झमक्क परेको साँझमा ऊ पनि हाँसिरहेको थियो, उसको हाँसोले मलाई पनि हँसाइरहेको थियो। ऊ रोकिन्थ्यो। म हाँस्न थाल्थें। म रोकिन्थें, ऊ हाँस्न थाल्थ्यो।

ऊ अलि अगाडि बढ्यो। हाँस्दा–हाँस्दै हात अघि सार्‍यो- ‘म अनुभव।’

म बाध्य भएँ आफ्नो परिचय दिन- ‘म चाहना।’ हाँस्दा हाँस्दै ऊसँग हात मिलाउन पुगेछु। पछि उसैले घरसम्म पुर्‍याइदियो। रातमा राम्रोसँग निन्द्रा पनि परेन। एकछिन अघि दिक्क लाग्दो देखिएको उसको दुब्लो शरीर र झुसे दाह्री सुहाउँदो लाग्यो अनिदो रातमा।

त्यसपछिका कैयन् रात ऊ र म सँगै हिड्यौं ती गल्लीहरुमा। अब ऊ सँग भाग्नुपर्ने कुनै कारण थिएन। बरु ऊ नभएको साँझ बाटो लामो लाग्थ्यो। तर प्रायः ऊ आइपुग्थ्यो खुकुरी चुरोटको धुवाँ उडाउँदै। चुरोटको धुवाँमा पनि थरिथरि चित्र बनाउँछु भन्थ्यो। चुरोटको धुवाँमा चित्र? सुरुमा त मैले हाँसेर उडाइदिएँ किनकि म उसले कोरेका ती चित्र देख्दैनथें। अचम्मको थियो ऊ। एकदिन उसलाई चुरोट नखाऊ भनेँ।

‘चाहना, मेरो नाम नै अनुभव। यस्तो लाग्छ– जिन्दगी कैयन् अनुभवको संगालो हो’, मेरो कुरा कति सजिलै उडाइदिन्थ्यो ऊ।

उसले कोर्ने चित्रजस्तै उसका धेरै कुरा मैले बुझ्न सकिनँ। उसका कुरा माकुरोको जालजस्तै हुन्थे। निक्कै उल्झन् हुन्थ्यो उसका शब्दहरुमा। पछि बुझ्दै जाँदा ऊ लेखक पो रहेछ। ऊ दिनमा दुई/चार कविता र कथा कमाउँथ्यो। म जस्तै बिचमै कुरा नकाट्ने इमान्दार श्रोता भेटाए आफ्नो कमाई बाँड्थ्यो।

कपाल र दाह्री महिनौं नकाट्ने। आफन्तका नजरमा दिमाग खल्बलिएको मानिस। घरबेटीको नजरमा महिनौं भाडा नतिर्ने डेरावाल। परिवारप्रति निकै गैरजिम्मेवार। महिनौं घर नजाने। उसँगको संगतबाट मैले उसका बारेमा धेरै थाहा पाएँ। तर उसलाई बुझ्न सक्ने मानिसका नजरमा ऊ एउटा लेखक थियो। अनि मेरा नजरमा?

मेरा नजरमा ऊ के थियो? चुरोटको धुवाँमा उसले बनाएको चित्र जस्तै स्पष्ट चित्र मेरो दिमागमा आउँदैन। ऊसँग म हिँड्न चाहन्थें, बेपरबाह। त्यसैगरी बौलाएर हाँस्न चाहन्थें।

भर्खर पालुवा लाउँदै गरेका मेरा चाहना त्यति बेला निमोठिए, जतिबेला मेरो बिहेको कुरा चल्यो। हुर्कँदै गरेका मेरा चाहना र त्यसलाई पछ्याउने मेरो बाटोसँग बाआमा सहमत हुनुभएन। अक्षर कमाउनेको असुरक्षित भविष्यबारे मैले लामो लेक्चर सुनेँ।

अचम्म लाग्छ– जब नारी खुसी हुन थाल्छे, परिवार आफन्त किन भयभीत भइदिन्छन्? परिवारबाट अनुमोदन नहुने खुसी जब ऊ एक्लै पूरा गर्ने सोच्छे, त्यसले किन दुःखी बनाउँछ आफ्ना भनिनेहरुलाई? अनुभवसँगको संगतले मलाई आफ्नै परिवारमा बन्दी बनाइदियो। हरदम निगरानीमा। म दुःखी हुँदै गएँ, आफन्तहरु खुसी हुँदै।

कहिलेकाहीँ मुस्किलले मौका निकालेर उसलाई भेट्थेँ, आफ्ना कुरा सुनाउँथें। ऊ उसैगरी जोडले हाँस्थ्यो र भन्थ्यो- ‘चाहना, आफ्नो आफन्त आफै भित्र छ, त्यसलाई सुन। त्यसैलाई गाऊ र त्यसमै रमाऊ। तिमीलाई सुन्न बुझ्न नसक्ने मान्छे आफन्त हैन, नातेदार मात्र हुन्।’

सुनिरहन चाहन्थें उसका कुरा। जिन्दगीभर। कतै अल्झाउने, कतै खुसी बनाउने, कतै रुवाउने। तर सपना पुरा हुँदैनन् र त यीनलाई सपना भनिँदो हो नत्र पुरा हुन्थे भने त विपना भनिँदो हो। अरुले ब्यूँझाएर रोकिदिन्छन् सपनाको गति।

सधैं खुसी र सुरक्षित राख्ने युवक र उसको खानदानको लागि म प्रस्तावित भएँ। त्यो पनि अर्कैबाट। र, स्वीकार्य भएँ अर्कैबाट। मेरो जिन्दगीको फैसला अरु कसैले गरिदियो।

उसलाई बताएँ। ऊ हाँसेन त्यो दिन। भन्यो–‘तिमी उड्न चाहन्छौ भने आफ्नै प्वाँखको भर पर। हिँड्न चाहन्छौ भने आफ्नै खुट्टाको। बैसाखीको सहारा लेऊ तर भर नपर। तिम्रा प्वाँख र खुट्टा बाँधिन्छन् भने भुवा भइ उड। उड्दा उड्दै सुदूर आकासमा जाऊ, जहाँबाट तिमीलाई केही समय अरुले नियाल्न नसकून् र तिम्ले अरुलाई पनि नियाल्न नपरोस्। केही समय आफूसँग आफूलाई मात्र उड्न देउ। र ती बन्धनहरुबाट मुक्त भएछौ भने बोलाऊ अनुभवलाई।‘

तर न त म नै उड्न सकें, न त म मेरा बन्धनहरुबाट मुक्त हुन सकेँ। बरु ती बन्धन बढ्दै बढ्दै गए। पाँच वर्षअघि मेरो विवाह भयो। छोरीबाट स्वास्नी भएर, स्वास्नीबाट बुहारी भएर। सायद आमा भएर अब ती बन्धन अझै थपिनेछन्।
***

मैले मेरो ‘भगवान’लाई ढाँटे। अन्योल र दोधारमा थियो मन।

पाँच वर्षपछि आएको अनुभवको फोनले तरंगित र अन्योल बनाइदियो। मन र मस्तिष्कको झगडामा मनले जित्छ क्यार नारीलाई। उसलाई भेट्न गएँ। घरजम भइसकेकी म, कसैकी बुहारी, कसैकी श्रीमती। तै पनि मेरा पाइला रोकिएनन्। त्यही क्याफे जहाँ बिहेअघि हामीले कैयन् चियाका गिलास रित्याएका थियौं। उही टेबुल, जहाँ अनुभवले कैयन् सिगरेटका ठुटाहरु धसारेर निभाएको थियो। पाँच वर्षपछि पनि ऊ त्यहीं थियो। टाढैबाट उसले हात हल्लाउँदा मुटुको ढुकढुकी बढेको चाल पाँच वर्षपछि फेरि पाएँ।

‘उही हाँसो, उही झुसे दाह्री, उही पातलो शरीर, उही लामो कपाल र उही वजनदार बोली।

‘तपाईँ फेरिनुभएनछ है?’, उसका गन्थन सुनेपछि फेरि उसकै बखान गर्न पुगेछु।

‘अँ, म फेरिएको हैन, तिमीचाहिँ फेरिएछौ।’

‘कसरी नि?’

‘तिमीबाट एकैचोटी तपाईँ सम्बोधन गर्ने भएछौ त?

म बोलिन। घोचेजस्तो भयो कतै। उसको कुरामा मुस्कुराएँ मात्र। एक घण्टाको बसाइमा बितेका पाँच वर्षयताका प्रायः धेरै अनुभव साटासाट भए।

मैले बताउन नपाउँदै उसैले प्रशंसा गरिदियो मेरो पति अनि परिवारको। ऊ मेरो श्रीमान्, श्रीमानको खानदान र रवाफको प्रशंसा गर्दा खुसी देखिन्थ्यो। उसको कुरा मैले काट्न सकिनँ। आफ्नो वेदनाका कुरा सुनाएर उसको अनुहारमा अँध्यारो पोतिएको हेर्न मन लागेन मलाई।

अहिले सोचिरहेछु– छुट्टिँदा कति आत्मीय थियो उसको हातको स्पर्श। अनि मेरा हात किन काँपेका थिए त्यसरी?
***

शब्द मात्रै खसेनन् यहाँ आँखामा आँसु आई बसेका छन्।

रातको तेस्रो प्रहरमा छु। रात निक्कै छिप्पिसकेको छ। तर पाँच वर्षपछि आज अनुभवसँगको भेट र यी शब्दसँगको सामीप्यताले एकान्त रात प्रिय भइदिएको छ।

पछाडि फर्किन्छु। मस्तसँग निदाइरहेको मानिस- जसलाई मेरा नातेदारले मेरो श्रीमान घोषणा गरेका थिए- किन किन अर्कै लाग्दैछ, जसले पाँच वर्षअघि मेरा बाआमाको स्वीकृतिमा मलाई अपहरण गरेको थियो। र, म बसिरहेको घरलाई माइती घोषणा गरेर आफ्नो कैदखानाभित्र कैद गरेको थियो। जहाँ म मेरा लागि केही गर्दिनँ। खान्छु अर्कैको इच्छामा, लाउँछु अर्कैको इच्छामा, सुत्छु अर्कैको इच्छामा, हिँड्छु अर्कैको इच्छामा। यहाँ म खुसी भइदिँदा मेरा नातेदार दुःखी भइदिन्छन्। उनीहरुको इज्जतका लागि मैले मेरा सपनाको बलिदान दिनुपर्छ– हरेक दिन।

सोच्दैछु–सधैं पीडा दिने कालो रात आज यति सुन्दर लाग्दैछ भने भोलिको उज्यालो बिहान झन् कति सुन्दर र आत्मीय होला?

सल्यानको कोटबारामा जन्मेका भुपेन पत्रकारिता र साहित्य लेखनमा क्रियाशील छन्। साहित्यमा कथा र निबन्ध उनको मुख्य विधा हो। उनी दाङको मदानी साहित्य समूहमा आबद्ध छन्। 

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.