कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~

एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे।

समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन सकिरहेको थिएन। तसर्थ, जसरी पनि समाजभित्र रहेको आफ्नो भिन्नताको पुष्टि गर्नु थियो, पात्रलाई।

र, यसका निमित्त एउटा समाधानको बाटो खोजिरहने उसको दिनचर्या नै भएको थियो। यही स्थितिमा उसले सोच्यो एउटा ‘कात्रो’को परिकल्पना।

एउटा कात्रो नै समाधानको बाटो हुन सक्ने बलियो सम्भावना बोकेर, सम्भावना मात्रै होइन निश्चिन्त भएर आफू जिउँदो छँदै एउटा कात्रो खरिद गर्ने पात्रले निधो गयो।

०००

‘गाडी निकाल त!’ ड्राइभरलाई निर्देशन गरेर ऊ कोठाबाट ओर्लियो र एकाबिहानै एउटा पसलभित्र पस्यो, ‘मलाई दस–बाह्र मिटर सेतोे कपडा दिनोस् न!’

पसलेले आफ्नो पारम्परिक आवाजमा बोल्यो, ‘केका लागि होला कुन्नि!’

‘यत्तिकै…’ ग्राहक, अर्थात् पात्र बोल्यो।

‘तैपनि…’ पसलेले उस्तै लबजमा फेरि पनि जिज्ञासा राख्यो।

यसपटक ग्राहकबाट कुनै प्रतिक्रिया आएन। फेरि सोध्यो, ‘सिरकको खोलका लागि हो कि? टेबलपोसका लागि हो कि? कुनै कार्यालयको स्टाफ–डे्रसका लागि हो कि? कि पर्दा लगाउन…?’

‘होइन,’ पात्रले शिर हल्लायो।

अब दोहोर्याकएर सेतो कपडाको प्रयोजनसम्बन्धी अरू प्रश्न नसोधी सेता कपडाहरू राखिएकातर्फ गयो पसले, र त्यहाँबाट धमाधम सेता कपडाका थानहरू झिक्न लाग्यो।

एक–दुई थान झिकिसकेपछि त्यहीँबाट सोध्योे, ‘कस्तो? कुन क्वालिटीको? कोरा कि मलमल?’

‘नैनसुत,’ तत्क्षण जवाफी हमला गर्योन पात्रले।

पसले उसको माग सुनेर एकपटक झस्किएजस्तो भयो। यसकारण कि, सामान्यतः नैनसुतको प्रयोजन पसलेलाई थाहा नहुने भन्ने झन् प्रश्नै थिएन। तथापि पसले–धर्म निभाउनैपर्योो, ‘केका लागि होला कुन्नि!’

‘हैन, तपाईंलाई के खाँचो पर्योत हँ?’ पात्र साँच्चिकै झोँक्कियो, ‘मलाई सामान चाहिएको, तपाईंलाई आफ्नो सामानको पैसा…, कुरै खत्तम भयो!’

मन अमिलो पार्दै पसलेले नैनसुतको थान कपडा झिकेर नाप लिन लाग्यो, ‘एक… दुई…तीन…।’

दस मिटर नापिसकेपछि अडियो।

‘यतिले पुग्दैन, अझै…अझै नाप्नोस्, दुई मिटर!’ पात्रले पसलेलाई त्यत्तिकै अडिरहन दिएन। पसलेले अरू दुई मिटर नाप्यो र कैंचीले कट्कट् काट्यो। काटेको नैनसुत पट्याएर पसलेले प्लास्टिकको झोलामा हालिदियो र त्यो झोला ऊतर्फ बढायो।

निर्धारित रकम भुक्तानी गर्योढ र बाह्र मिटर नैनसुतको पोको बोकेर पसलबाट निस्कियो पात्र।

केही नबुझेझैं, केही बुझ्न खोजेझैं पसलेले लमकलमक लम्किएको त्यो पात्रलाई क्वारक्वार्ती हेरिह्योे। र, त्यो दृश्यबाट अलप भयो पात्र।

अब उसको गन्तव्य थियो— एउटा टेलर्स, जहाँ आफूले खरिद गरेको नैनसुत कपडालाई आफ्नो चाहबमोजिम सिलाउने। अर्थात्, कात्रो सिलाउने।

कात्रो— सामान्य रूपमा सुन्ने मान्छेलाई पनि असामान्य लाग्ने। तर सिलाउनु थियो उसलाई, कात्रो नै सिलाउनु थियो।

सोध्न सकिएला पात्रलाई, कात्रो त मरेेको मान्छेलाई लपेट्ने वस्त्र हो। यति थाहा हुँदाहुँदै पनि मरिसकेको मान्छेलाई लपेट्ने वस्त्र किन सिलाउने? लासले शरीरमा चट्ट मिलाएर लगाउनुपर्ने होइन। न त शृंगारिएर कतै जन्ती नै जानुपर्ने, न कहीँ निम्तो मानेर भोज खान जानुपर्ने।

—त्यसो हो भने किन सिलाउने कात्रो?

—कुन प्रयोजनको लागि सिलाउने?

तर प्रश्न सोध्ने कसले? उसलाई प्रश्न सोध्ने कोही थिएन, उसको सामु।

आइपुग्यो ऊ, उसले सोचेको स्थानमा। एउटा चर्चित टेलर्सकहाँ।

‘नमस्ते!’ टेलरमास्टर जो स्वयं त्यस टेलर्सको मालिक थियो, उसतर्फ एक हात उठाउँदै पात्रले अभिवादन गर्योस।

‘नमस्ते! नमस्ते!’ पान चपाइरहेको मुख पूरै नखोलीकनै चिरपरिचित टेलरमास्टरले आफ्ना दुवै हात जोडेर सदाबहार आवाजमा भन्यो, ‘बिहानै कता पुगेर आउनुभो हुजुर? भन्नुस्, के सेवा गरूँ हुजुरको?’

‘एउटा कपडा सिलाउनु थियो,’ पात्रले जानीबुझी नै कात्रोको नाम लिएन। र, आफूले ल्याएको प्लास्टिकको झोला टेलरमास्टरतर्फ बढायो।

टेलरमास्टरले झोला खोल्यो र निकाल्यो— सेतो, सुग्घर, नैनसुतको कपडा। त्यसलाई खोल्यो र नापो अन्दाज गर्दै सोध्यो, ‘के सिलाउने हुजुर यस्को?’

‘कात्रो!’ पात्रले स्पष्ट भन्यो।

आफू सामुन्नेको मान्छेबाट कात्रोको उच्चारण सुन्नेबित्तिकै टेलरमास्टरले आत्तिएर त्यो कपडालाई टेबलबाट यसरी पर हुत्याइदियो कि मानौं आफ्नो सामु कुनै सर्प फणा उठाएर बसेको होस्।

आश्चर्यचकित भयो पात्र, टेलरमास्टरको यस किसिमको प्रतिक्रिया देखेर। उसले टेलरमास्टरलाई नियालेर हेर्योय, निकै बेर हेरिरह्यो। तर, टेलरमास्टर सालिकसमान स्थिर भएर उभिइरहेको थियो।

‘किन तर्सिएको तपाईं यस्तरी?’ जान्न चाह्यो टेलरमास्टरबाट पात्रले। टेलरमास्टरले एक शब्द निकालेन मुखबाट, केवल क्वारक्वार्ती हेरी नै रह्यो गढेर।

झन्डै एक मिनेट समय बित्यो त्यहाँ, चुपचापमै।

अर्को क्षणमा, टेलरमास्टरले केही सामान्य अवस्थामा तर उही लबजमा अझै जिज्ञासा राख्यो, ‘तपाईंले के भन्नुभएको रे? के सिलाउने रे यो कपडाको?’

‘कात्रो!’ पात्रले आफ्नै शैलीमा जवाफ फर्कायो।

‘तपाईं होशमा त हुनुहुन्छ?’ टेलरमास्टर यसपटक जंगियो, ‘तपाईंको दिमाग त ठिक छ?’

टेलरमास्टरको कडा प्रश्नले पात्र एक छिन रन्थनियो। र, मनमनै सोच्यो, ‘कपडा सिलाउने ठाउँमा आएर आफ्नो आवश्यकताको कुरो गरेको हुँ। के बिराएँ मैले?’ त्यसैले, स्वभावतः उसको मुखबाट शब्दहरू निस्किए, ‘हैन, तपाईंले के भन्न खोज्नुभएको?’

टेलरमास्टरले कडै स्वरमा भन्यो, ‘तपाईंले मलाई के सिलाऊ भन्नुभएको यो कपडाको?’

‘कात्रो! भनिसकेँ त,’ पात्रको आवाजमा सहजता थियो।

यसपटक टेलरमास्टर कड्किएन, तर अझै पनि अविश्वासी पाराले अलिक जिज्ञासु आवाजमा बोल्यो, ‘कात्रो पनि सिलाउँछ कहीँ?’

‘किन र? चाहिने ज्याला लिनुस् न तपाईं!’

टेलरमास्टर केही बोलेन।

‘के तपाईं सिलाउन भ्याउनुहुन्न र?’ टेलरमास्टरको मौनता भंग गर्न खोज्यो पात्रले।

टेलरमास्टर अचानक बम्कियो, ‘सिलाउँदिनँ म कात्रो–सात्रो।’

पात्र छक्क पर्यो , टेलरमास्टरको बोली सुनेर, ‘हैन, भ्याउँदिनँ भने भइहाल्यो नि! रिसाउनुपर्छ र यस्तरी?’

‘रिसाउँदैन त नचाहिने कुरो गरेपछि?’

‘हैन, के नचाहिने कुरो गरेँ मैले?’ पात्रले अनभिज्ञता प्रकट गर्योर।

टेलरमास्टरको उस्तै क्रोधित स्वर थियो, ‘अनि…कात्रो सिलाउने कुरो पनि चाहिने कुरो हो?’

‘चाहिने कुरो त हो नि! मलाई आवश्यक छ त,’ केटाकेटीको जस्तै जिद्दी मिसाइएको स्वरलहरी प्रकट भयो, पात्रबाट।

टेलरमास्टर एक छिन सोचमग्न भयो। उसको अनुहारमा खुबै गढेर हेर्दै कड्कियो, ‘कात्रो भनेको के हो? तपाईंलाई थाहा छ?’

‘थाहा छ, किन नहुनु?’

‘के थाहा छ?’ को प्रश्नचिह्न टेलरमास्टरको अनुहारमा पढ्यो पात्रले, र तत्काल जवाफ फर्कायो, ‘मरेको मान्छेका लागि।’

उसको वाक्य पूरा हुन नपाउँदै टेलरमास्टर बोल्यो, ‘थाहा रहेछ त। अनि थाहा हुँदाहुँदै पनि फेरि किन सिलाउने कुरो?’

‘मलाई आवश्यकता पर्योउ।’

‘तपाईं आफ्नै लागि?’ व्यंग्यात्मकता मिसाइएको लबज थियो टेलरमास्टरको बोलीमा।

पात्रले ‘हो’ को संकेतमा शिर हल्लायो।

‘जिउँदैमा किन आवश्यकता पर्योर तपाईंलाई?’ टेलरमास्टर हल्का मुस्कायो।

‘पर्योै, आवश्यकता पर्योई,’ अलिक तार्किक प्रश्न उठायो पात्रले, ‘मेरो आवश्यकताप्रति तपाईंलाई प्रश्न गर्ने आवश्यकता किन?’

टेलरमास्टर निरुत्तर!

‘भन्नोस्, तपाईं मलाई कात्रो सिलाइदिने कि नदिने?’

जिउँदो मान्छेको लागि कात्रो! टेलरमास्टर अझै पनि असमञ्जस स्थितिमा थियो। त्यसमाथि, सिलाइदिनुपर्ने!

‘ओके म अर्कै ठाउँ जान्छु,’ पात्रले भुइँमा फ्याँकिएको अस्तव्यस्त नैनसुत कपडा सम्हाल्न थाल्यो।

त्यसो त उसलार्ई राम्रोसँग थाहा थियो, कतै पनि आजसम्म संसारमा कसैले कसैसँग कात्रो सिलाइमागेका छैनन्, वा कहीँ कहिल्यै सिलाइएको छैन। तैपनि उसलाई सिलाउनु नै थियो।

यतिन्जेल, टेलरमास्टरले पात्रको क्रियाकलाप एकोहोरिएर हेरिरहेको थियो। पात्रले कपडा त्यही प्लास्टिकको झोलामा हाल्यो र एकपटक टेलरमास्टरको अनुहार घुरेर हेर्योर। उसको आशय अझै पनि ‘सिलाइदिए हुन्थ्यो’ भन्ने बुझ्यो टेलरमास्टरले।

‘लौ हुजुर, तपाईं मेरो आजको पहिलो कस्टमर, बोहनी नै भएको छैन। अब सिलाउनैपर्यो् नि!’ मनले मानी–नमानी टेबलमाथि रहेको फित्ता तान्दै उसलाई बोलायो, ‘यहाँ नजिकै आउनोस् हुजुर, नाप लिऊँ!’

तर ऊ त्यो ठाउँबाट टसमस भएन, त्यहीँबाट बोल्यो, ‘पर्दैन नापसाप लिन।’

‘नाप नलिई कसरी सिलाउने त? तपाईंकै लागि भनेको हैन र?’ टेलरमास्टर हातमा फित्ता लिएर दोधारको स्थितिमा त्यत्तिकै उभिइरह्यो।

टेलरमास्टरको अप्ठ्यारोलाई बुझ्यो पात्रले। त्यसैले झट्ट बोल्यो, ‘कुनै नाप चाहिँदैन, बस् यही कपडा काटेर ठाउँठाउँमा अरू सर्टपाइन्टमा राख्नेभन्दा अलिक ठूल्ठुलो खल्ती राखिदिनुस्!’

अब भने साँच्चिकै दिमागशून्य नै भयो टेलरमास्टर । के भनेको यो? केही अर्थ खुटिन सकेन उसको भनाइको।

टोलाइरहेको टेलरमास्टरतर्फ हेर्दै पात्रले थप्यो, ‘जति बढीसम्म ठाउँ मिलाउन सक्नुहुन्छ त्यति नै खल्ती सिलाउनुस् है!’

‘खल्ती…कात्रोमा खल्ती…घोर कलीजुग! कस्तोकस्तो दिन आयो? अब कात्रो पनि खल्ती भएको?’ टेलरमास्टरले मनमनै सबै देउदेउताको नाम लियो सायद, त्यसैले त उसको मुखबाट प्वाक्क निस्की पनि हाल्यो, ‘हे भगवान्!’

पात्रले टेलरमास्टरको छटपटी देखिरहेको थियो। तर, उसलाई त्यसले रत्तिभर छोएन। छोओस् पनि किन? जब कि उसलाई आफ्नो कामसँग मात्रै मतलब थियो। काम— एउटा कात्रो तैयार गरेर लैजाने काम, बस्!

वास्तवमा टेलरमास्टरको भने त्यतिखेरको छटपटी देखेर सजिलै अनुमान लगाउन सकिन्थ्यो कि आफ्नो व्यवसायप्रति उसले आफूलाई धिक्कारिरहेको थियो। उफ्…किन अँगालेछु यो पेसा? तथापि जसरी पनि उसले आफ्नो ग्राहकलाई सन्तुष्टि दिलाउनु यो परिवेशमा उसको परम् कर्तव्य थियो।

टेलरमास्टरले आफूलाई सन्तुलित बनायो, ‘ठिक छ, मैले सिलाइदिने भएँ तपाईंले भनेजस्तै कात्रो।’ बोलीमा गह्रौंपना थियो, मन नमानी–नमानी उसको हातमा रहेको कपडाको पोको तानेर लियो।

‘कहिले आऊँ म?’ ग्राहकको अनुहारको तेज बढ्यो।

टेलरमास्टरले रुखो स्वरमा भन्यो, ‘भोलि साँझ।’

‘एडभान्स चाहिने को कि?’

‘चाहिन्न, भोलि नै गरूँला हिसाब,’ टेलरमास्टरले आफ्ना दुवै हात जोड्यो। कसरी हुन्छ, त्यहाँबाट उसलाई धपाइहाल्नु थियो।

‘मैले भनेको बुझ्नुभएको छ नि, सकेसम्म धेरैभन्दा धेरै खल्ती ठूल्ठुलो हालिदिनुस् है!’ यति भन्दै पात्र फटाफट निस्कियो टेलर्सबाट।

०००

भोलिपल्ट साँझ।

सिलाइएको कात्रो लिनका लागि पात्र आइपुगिसकेको थियो, टेलर्सकोमा।

टेलरमास्टरले सिलाईवरी तयार गरेको कपडाको प्याकेट उसको हातमा थमाइदियो। र, त्यो थमाउँदा मनमनै भनिरहेको थियो, ‘ना, समात तिम्रो कात्रो!’

पात्रले कपडाको पोको हातमा लिँदालिँदै सोध्यो, ‘मैले भनेजस्तो भयो कि भएन कुन्नि।’ उसले त्यसलाई खोल्न खोज्यो।

‘भयोभयो, खोल्नु पर्दैन, तपाईंले भनेजस्तै सिलाइदिएको छु,’ टेलरमास्टरले रोक्दै उसलाई त्यहाँबाट तुरुन्तै भगाउन खोज्यो।

‘ओकेओके। म घरमै गएर हेरूँला,’ पात्रले आफ्नो पाइन्टको खल्तीमा हात हाल्यो र ज्यालास्वरूप निश्चित रकम भुक्तानी गरेर पसलबाट बाहिर निस्कियो।

ड्राइभरले गाडीको ढोका खोलिदियो। जसरी गाडीबाट निस्किएको थियो उसै गरी गाडीभित्र पस्यो पात्र।

‘कता जाऊँ हजुर?’ ड्राइभर सोध्दै थियो, पात्रले आँखैले घरतर्फ जाने इसारा गर्योि।

गाडी हुइँकियो।

०००

पात्र घर पुग्दा रात परिसकेको थियो। सिधै आफ्नो कोठामा पुगेर उसले बत्ती बाल्यो र सिलाइएको कात्रो हतार–हतार खोल्यो।

वाह!

उज्यालो बत्तीको रोशनीमा चाँदीझैं चम्किएको देखियो सेतो–सफा–सुग्घर नैनसुतको सिलाइएको कात्रो!

त्यसलाई उसले एकपटक राम्रोसँग नियाल्यो।

मुसार्योउ। छातीमा जोडपूर्वक च्याप्यो। र, चुम्बन गर्योल।

आहा, मेरो जीवन! कात्रो च्यापेर उसले निकै बेरसम्म यही क्रियाकलाप दोहोर्यातइरह्यो।

रात धेरै बितिसकेपछि बिस्तारै उठ्यो पात्र। उठ्दा ऊभित्रको मान्छेले एउटा संकल्प लिएर उठ्यो।

परिवारका सबै सदस्य मस्त निद्रामा थिए। चाल मारेर पात्रले टेबलका घर्रा तान्यो र त्यहाँबाट एउटा फाइल निकाल्यो। राजधानीमा रहेको चर्चित एक महँगो अस्पलालको नाम लेखिएको फाइल थियो त्यो। त्यसभित्र रहेको आपनो स्वास्थ–रिपोर्टलाई उसले ध्यान दिएर पढ्यो। एकपटक होइन दुईपटक होइन, कैयन्चोटि दोहोर्यानई–दोहोर्यारई पढ्यो।

डाक्टरी भाषा नबुझे पनि त्यहाँ लेखिएको वाक्यको अर्थ उसले स्पष्टसँग बुझेको थियो। उसलाई थाहा छ, त्यो लेखाइबमोजिम यो संसारमा उसको आयु अब अत्यन्तै कम छ। अर्थात्, उसको दिनगन्ती सुरु भइसकेको छ।

पात्र एक छिन सोचमग्न भयो। आँखा चिम्लिएर ध्यानमग्न भयो।

अर्को क्षणमा— पात्र जुरुक्क उठ्यो र चाल मारेर भित्री कोठातर्फ लाग्यो। जाँदाजाँदै साथमा सिलाइएको कात्रो पनि लिएर गयो। भित्रबाट बिस्तारै ढोका ढप्कायो र छेस्किनी चढायो। कोठाको एक कुनामा पुग्यो जहाँ एउटा फलामे ठूलो बाकस थियो। अर्थात् सेफ। सेफअगाडि पुगेर त्यसमा जडान गरिएको अटोमेटिक ताला घुमाएर खोल्यो। त्यसभित्र उसको श्रीसम्पत्ति थियो। उसको जिन्दगीभरको कमाइ।

एकपटक घोरिएर हेर्योर उसले आफ्ना ती कमाइहरूलाई। निकै बेर हेरिरह्यो। हेर्दाहेर्दै सम्झन लाग्यो—

कति दुःख गरेको थियो उसले यो सम्पत्ति जोड्न। केके मात्रै गरेन उसले?

सबैभन्दा पहिला एउटा साप्ताहिक पत्रिकामा पत्रकारिता गर्ने जागिर खायो। यो जागिर रोज्नुको एउटा कारण थियो। त्यो के भने, सानै उमेरदेखि उसलाई लेखपढ गर्न असाध्यै मन लाग्थ्यो। यदाकदा कविता, गीत, गजल पनि कोरिरहन्थ्यो। लेख्ने सन्दर्भमा, त्यसो त यही इच्छाबमोजिम केही समय उसले अड्डा–अदालततिर तमसुक लेख्ने लेखनदासको काम पनि गरेको थियो।

पछि, ड्राइभरी सिकेर लोकल बस चलायो। चलाउँदाचलाउँदै केही समयमै आफैंले गाडी किनेर चलाउन लाग्यो। एक दिन गाडीले एक मान्छेलाई ठक्कर दियो र घाइते बनायो। उसले सुनेको थियो, मान्छे किचेर अंगभंग बनायो भने जिन्दगीभरि उपचार–खर्च बेहारिरहनुपर्छ, बरु किचेको मान्छेलाई मारिदियो भने परिवारलाई केही क्षतिपूर्ति दिएर उम्कन सकिन्छ। यही सुनाइलाई उसले आफ्नो आदर्श सम्योिच। त्यतिखेर त्यो आदर्श सम्भि्कनुको एउटा खास कारण थियो। किनकि विद्यार्थी रहँदा जब विद्यालयमा कुटपिटका घटना भइरहन्थे, जब त्यस्ता घटनामा कोही समातिएर पुलिसकेस हुने भयो भने त्यहाँ विद्यार्थी राजनीतिले ठूलो मद्दत पुयाउँथ्यो। सम्योना उसले, विद्यार्थी छँदा आफूले गरेको राजनीतिअनुरूप कतिपय गुण्डागर्दीको केसमा ऊ नाइके भएर अपराधीलाई उम्काएको थियो। यसरी, एक किसिमले अपराध गर्नु/गराउनु उसको जीवनको आदर्श बनिसकेको थियो। बस्, यही आदर्शको अनुशरण गरेर ऊ आफ्नो गाडीले किचेर मारेको मान्छेको हत्याकेसबाट उम्कियो ।

त्यसपछि ।

– विदेश जाने सोचमा मेन पावरकम्पनीतर्फ पनि दौडियो।

– यसैबीच अमेरिका जान पाइने लोभमा डिभी पनि भर्योप।

– त्यसपछि कोलड्रिङ्स खोल्यो।

– औषधि पसल खोल्यो।

– मासु पसल खोल्यो।

– होलसेल पसल खोल्यो।

– रेस्टुराँ खोल्यो। रेस्टुँरामा पनि गजल रेस्टुराँ, दोहोरी रेस्टुराँ र पछि मसाजसहितको क्याबिन रेस्टुराँ। र, रेस्टुराँको व्यापार बढाएर देह व्यापारसम्म पुर्या,यो।

– गार्मेन्ट्स खोल्यो।

– पस्मिना, गलैंचाको तान खोल्यो।

– जग्गाको दलाली गर्न थाल्यो।

– ढुकुटी खेल्ने/खेलाउने काम गर्योय।

– कमोडिटी व्यापार, शेयर व्यापार, डलरको व्यापार गर्योट।

– एकल महिला, अनाथ बालबालिका, अन्धा–अपांगको उद्धार गर्ने नामका एनजिओ, आएनजिओ दर्ता गर्यो ।

– सिनेमा बनाउन लगानी गरेर प्रोड्युसर बन्यो।

– जग्गा प्लटिङ गर्ने, अपार्टमेन्टहरू बनाएर बेच्ने काममा हात हाल्यो।

– मेन पावर कम्पनी खोल्यो।

– पार्टनरसिपमा स्कुल कलेज खोल्यो।

– त्यही पार्टनरसिपमा अस्पताल खोल्यो।

– ब्रोडसिटको अखबारमा पनि लगानी गर्योय।

– फेरि, ठूलो लगानीमा बैंक खोल्यो।

– यसबीच राजधानीका प्रमुख स्थानमा जग्गा जोड्यो, घरहरू किन्यो।

यसरी, अकूत सम्पत्तिको मालिक बनेको थियो ऊ।

समय बगिरह्यो। तर, त्यो बहाव एकनासको कहाँ हुन्थ्यो! देशमा माओवादी आन्दोलनले चरम रूप लियो। धमाधम रोजीरोजी निजी सम्पत्तिमाथि कब्जा गर्न थालिए। तसर्थ आफ्नो सम्पत्तिको सुरक्षार्थ बिक्री गर्न सकिए्सम्मका पपर्टीलाई क्यास गराएर र जम्मा गरिएका सुनचाँदी लगायतका धन लिएर ऊ युरोपतर्फ हानियो र त्यो सम्पूर्ण सम्पत्ति स्वीस बैंकमा जम्मा गरायो। साथै ऊ स्वयं विदेशी कुनै मुलुकमा सानोतिनो धन्दा गरेर बस्यो।

समयले कोल्टे फेर्यो्। एक दिन देशमा लोकतन्त्र आएको घोषणा भयो। फेरि सहजताका साथ जिउने आधार तयार भयो, अनि फर्कियो ऊ पुनः आफ्नै देश।

०००

हातमा कात्रो लिएर सेफभित्रको धनसम्पत्ति हेर्दै ऊ आफ्नो विगत सम्भि्करहेको थियो। यतिखेर, जिन्दगीभर कमाएको करिब–करिब सम्पूर्ण सम्पत्ति सेफभित्र रहेको उसले हिसाब लगायो।

अब उसलाई केही पर्खनु थिएन। तिनलाई क्रमशः झिक्दै राख्न लाग्यो कात्रोका खल्तीहरूमा। अन्ततः कात्रोका सबै खल्ती भरिए। बाँकी अझै थियो सम्पत्ति। कता राख्ने होला? कात्रोमा अब ठाउँ नै छैन। एक छिन घोरिएर बस्यो ऊ।

ट्वाङट्वाङ भित्ताको घडीले बाह्र बजाएको संकेत गर्योत। खोई, के सोच्यो कुन्नि उसले! आफ्नो शरीरका सबै कपडा फुकाल्न लाग्यो र ऐनाअगाडि गएर उभियो। आफ्नो जन्मँदाको रूपमा हेर्योी उसले आफूलाई। अहँ, उसलाई आफ्नो त्यो रूप देखेर पटक्कै लाज लागेन, बरु माया लागेर आयो आफैंप्रति। उफ्, यो देहले पनि मृत्यु अँगाल्दै छ!

आफ्नो नांगो शरीरलाई एकपटक सुम्सुम्यायो।

अब… हात लम्काएर तान्यो खल्ती भरिएका कात्रोलाई र आफ्नो शरीरमा बेर्योस। निकै गह्रौं लाग्यो उसलाई आफ्नो शरीर। तत्काल उसको मनमस्तिष्कलाई आभास भयो, कोठाको सिलिङमा झुन्डिएको तर नघुमीकन बसेको पंखाले आमन्त्रण गरिरहेको छ।

भोलिपल्ट—

सञ्चारमाध्यमहरूको हेडलाइनमा, मान्छेको समाजमा कहिल्यै नसुनिएको एउटा समाचारले ठाउँ ओगट्यो- ‘कात्रोभित्र झुन्डिएको मान्छे।’

25 Jul 2015 / ९ श्रावण, २०७२

(स्रोत : NagarikNews )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.